सेना काण्डमा हारेका प्रधानमन्त्रीको नजर प्रहरीतिर, महानिरीक्षकविरुद्ध गुटबन्दीमा गृहमन्त्री नै सक्रिय
नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १४:५२:४१
११ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानसँग जोडेर नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने तयारी गरेका छन् । प्रहरीको नेतृत्व परिवर्तनलाई लिएर सत्ता गठबन्धनबीच पनि घमसान टकराव देखिएको छ । नेतृत्व परिवर्तन गराउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नै प्रहरी संगठनभित्र एआईजीहरुमा गुटबन्दी गराउन सक्रिय देखिएकाे आरोप लागेको छ । यसले प्रहरी संगठनमै ठूलो विष्फोट हुने स्थिति देखिएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार गृहमन्त्री श्रेष्ठले एआईजी श्याम ज्ञवालीलाई साथमा लिएर नेपाल प्रहरी भित्र गुटबन्दी गरिरहेका छन् । यसले प्रहरी संगठनभित्रको विवाद छताछुल्ल भएर विष्फोट हुने अवस्थामा पुगेको छ । गृहमन्त्रालयको नेतृत्व गरिरहेका गृहमन्त्री श्रेष्ठ संगठनभित्रको विवाद मिलाउन भन्दा बिथोल्न बढी सक्रिय देखिएकाे आरोप लागेको छ । गृहमन्त्रीले साथ लिएका काठमाडौं उपत्यका प्रहरी प्रमुख ज्ञवाली र महानिरीक्षक वसन्त कुँवरबीच पनि अहिले राम्रो सम्बन्ध छैन । ज्ञवाली आईजीपीकाे रेसमा कुँवरसँगै प्रतिस्पर्धी थिए ।
एआईजीबाट आईजीपी बनाउँदा पनि प्रधानमन्त्री प्रचण्ड कुँवरलाई बनाउने पक्षमा थिएनन् । कांग्रेस सभापति देउवाले पहिलो रोलक्रममा रहेकालाई छाडेर तलकालाई प्रहरी संगठनको प्रमुखमा लाँदा नराम्रो सन्देश जाने भनेर दवाव दिएपछि उनले कुँवरलाई आईजीपी बनाउन बाध्य भएका थिए । अहिले उनी कुँवरलाई संगठनको नेतृत्वबाट हटाएर ज्ञवालीलाई जिम्मा दिने तयारीमा छन् । तर, ज्ञवालीलाई आईजीपी बनाउन सहज भने छैन ।
महानिरीक्षक कुँवरलाई संगठनमा असफल बनाउने प्रयास गृहमन्त्रीमा श्रेष्ठ आएपछि सुरु भएको हो । अहिले गृहमन्त्री श्रेष्ठले अति महत्वपूर्ण सूचनाहरूसमेत कुँवरसम्म पुग्न दिएका छैनन् । यसअघि प्रहरी संगठनभित्र आएका सूचना पहिले महानिरीक्षकलाई दिने र महानिरीक्षकले गृहमन्त्री र प्रधानमन्त्रीसम्म पुर्याउने चलन थियो । महानिरीक्षकलाई असफल बनाउने कार्यमा गृहमन्त्री श्रेष्ठलाई महान्यायाधिवक्ता दिनमणी पोखरेलले पनि साथ दिएका छन् । पोखरेल र ज्ञवाली छिमेकी हुन् । पोखरेल, ज्ञवाली र गृहमन्त्री श्रेष्ठबीच राम्रो साँठगाँठ छ ।
स्रोतको भनाइमा नक्कली शरणार्थी प्रकरणका सूचना पनि यी तीन भित्र मात्रै रहन्थे । महानिरीक्षक कुँवर टोपबहादुर रायमाझी र बालकृष्ण खाँण पक्राउ परेको खबर पनि पछि मात्र पाउने गर्थे । प्रहरीले कसलाई कति अनुसन्धान गर्ने, कस्को बयान कसरी लिने भन्ने पनि यी तीन जना बीचमात्र छलफल हुने गरेको थियो । उनीहरुहरुले नै अदालत पुग्नुभन्दा पहिले बयान बाहिर पठाउने काम गरेका थिए ।
गृहमन्त्रीले गुटबन्दी गराएपछि शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक वसन्त कुँवर र काठमाडौं उपत्यका प्रहरी कार्यालयबीच समन्वय बिग्रिएको छ । अनुसन्धानमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार भएदेखि नै उनलाई उम्काएको आरोप आईजीपी कुँवरमाथि छ भने दवावमा बयान फेर्न बाध्य बनाएको आरोप ज्ञवालीमाथि लागेको छ । तर, प्रधानमन्त्री प्रचण्ड किन प्रहरी नेतृत्व फेर्न खोजिरहेका छन भन्ने खास कारण देखिएको छैन ।
गृहमन्त्री श्रेष्ठ र महान्यायाधिवक्ता पोखरेल जसरी भएपनि ज्ञवालीलाई आईजीपी बनाउनु पर्छ भन्ने अडानमा छन् । प्रहरीमा गुटबन्दी गराएको भन्दै अहिले संगठनभित्र ज्ञवालीका विरोधीहरु पनि सक्रिय हुन खोजिरहेका छन् । कुँवरलाई यो प्रकरणमा दोषी देखाउने ज्ञवाली झन दोषी भएको उनीहरूको भनाइ छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी श्याम ज्ञवालीमाथि पनि संगठनको अर्को पक्षले प्रश्न उठाएको छ । अदालतबाट म्याद थपेर सिंहदरबार हिरासतमा राखिएका सचिव पाण्डेलाई सोधपुछका लागि भन्दै पटक–पटक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी लगेर बयान फेरेको आरोप लगाइएको छ ।
प्रहरी परिसरले अनुसन्धान अधिकृतसमेत तोकेर बयान लिइरहेकोमा माथिल्लो कार्यालयमा लगेर भेटघाट गराउनु नियम विपरीत भएको प्रहरी अधिकारीको भनाइ छ । यो बीचमा हिरासतमा रहेका पाण्डे र बाहिरको शक्तिबीच सन्देश आदानप्रदान गर्न उनै ज्ञवालीले सघाएका थिए । यसरी शरणाथी प्रकरणबाट प्रहरीमा गुटबन्दी सिर्जना गराएर विवादमा ल्याउने काम भने गृहमन्त्री श्रेष्ठ र महान्यायाधिवक्ता पोखरेलले नै गरिरहेकाे देखिन्छ ।
शरणार्थी प्रकरणको अनुसन्धानमा जनस्तरबाटै प्रशंसा भइरहेका बेला गृहमन्त्री किन र के का लागि खेलेर प्रहरीमा दुई कित्ता बनाउन खोजेका छन भन्ने प्रश्न को उत्तर पनि छैन । एक प्रहरी अधिकारीले भने, ‘महानिरीक्षक परिवर्तन गर्नकै लागि संगठनलाई नै ध्रुवीकरण गराउनु उचित थिएन ।’ प्रहरीको नेतृत्व फेर्ने कुरा प्रधानमन्त्रीले कांग्रेस सभापति देउवासँग पनि गरेका थिए । देउवाले अहिले फेर्न नमिल्ने भनेपछि संगठन र आईजीपीलाई बदनाम गराउने खेल सुरु भएको स्रोत बताउँछ ।
महान्यायाधिवक्तासहित माओवादीको एक तप्का ज्ञवालीलाई महानिरीक्षक बनाउन कुँवरलाई हटाउने खेलमा लागेको छ । यसैको दवावमा प्रधानमन्त्रीले पनि प्रहरी संगठनमा हात हाल्ने प्रयास गरिरहेका छन् । तर, ज्ञवालीलाई महानिरीक्षकमा लान भने सजिलो देखिएको छैन । उमेर बढाएर प्रहरी सेवामा प्रवेश गरेको विवादमा ज्ञवाली छन् । उमेर गुज्रिएपछि प्रहरी सेवा प्रवेश गरेको आरोप ज्ञवालीमाथि कायमै छ ।
२०५१ चैत ५ मा सेवा प्रवेश गरेका ज्ञवालीको उमेरसम्बन्धी विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगिसकेको छ । अख्तियारले उमेरसम्बन्धी छानबिनका क्रममा जवाफ पठाउन गृह मन्त्रालयलाई निर्देशन दिए पनि गृहमन्त्री श्रेष्ठले यसमा कुनै विवाद नभएको जवाफ अख्तियारलाई पठाएको बताइएको छ । गत फागुन २६ मा पाँच डीआईजीहरू एआईजीमा बढुवा हुँदा वसन्त कुँवर पहिलो र ज्ञवाली यसै पनि पाँचौं नम्बरमा सिफारिसमा परेका थिए ।
उतिबेलै ज्ञवाली पनि नेतृत्वका लागि प्रतिस्पर्धामा थिए । तर, अख्तियारबाट विवाद किनारा नलाग्दै कुँवर आईजीपीमा बढुवा भए । प्रधानमन्त्री प्रचण्डको पनि उनैलाई आईजीपी बनाउने सोच थियो । तर, देउवा बाधक भए । स्रोतका अनुसार कुँवर आईजीपी भएको अर्को महिना वैशाख १४ मा अख्तियारले ज्ञवालीको उमेरसम्बन्धी अनुसन्धान तामेलीमा राखेर भोलिपल्ट प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो ।
यसरी प्रधानमन्त्रीले व्यक्ति केन्द्रित पक्ष र विपक्ष गर्दा गुटबन्दीको असर सिंगो संगठनमा परेको छ । व्यक्ति केन्द्रित लाभकै लागि संगठनलाई ध्रुवीकरण गर्ने जिम्मा प्रधानमन्त्रीले गृहमन्त्रीलाई दिएका छन् । प्रहरीको नेतृत्व गर्नु पर्दा पनि ज्ञवालीभन्दा अरू सिनियर अझै बाँकी नै छन् । एकै लटमा बढुवा भएका एआईजीहरू किरण बज्राचार्य, टेकप्रसाद राई, दीपक थापा बाँकी नै छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीले पहिले सेना चलाउँदा पाएको असफलतालाई पनि मुल्यांकन गरेको देखिँदैन । हतासमा नेतृत्व फर्ने कुराले संगठनलाई थप कमजोर बनाउन देखिन्छ ।
प्रहरी अधिकारीको भनाइमा यदि प्रहरी प्रमुख कुँवर नक्कली शरणार्थी प्रकरणमा संलग्न छन र उनी संलग्न भएको पुष्टि भए कारवाही गर्न सकिन्छ । उनी दोषी भए कारवाहीमा जाने नै छन् । उनीमाथि कारवाही हुँदा स्वतः प्रहरीको नेतृत्वमा अरु पुग्छ नै । तर, प्रधानमन्त्रीको तहबाट कारणबिना नै दोषी देखाएर प्रहरी नेतृत्व फेर्न उद्धत हुनु उचित देखिँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
लेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार