भैरहवा विमानस्थलमा भारतीय सुरक्षाकर्मी राख्नुपर्ने भारतको शर्त
यस्तो छ प्रधानमन्त्री प्रचण्डकाे भ्रमण तालिका
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार ११:७:०
१७ जेठ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भएको ६ महिनापछि औपचारिक रुपमा भारत भ्रमणमा जान लागेका छन् । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डकाे यसपटककाे भ्रमण राजकीय हुन सकेन । भारतले प्रचण्डको भ्रमणलाई खास महत्व नदिएको अवस्था छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तय भएको केही दिनमा भारतले लुम्बिनी र कपिलवस्तु भारतीय भूमिमा रहेकाे नक्सा जारी गरेको भएपनि नेपालले त्यो विषयमा कुनै एजेन्डा तय नगरी प्रधानमन्त्री भएको ६ महिनापछि उनी पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् ।
उनको भ्रमण एजेण्डामा सीमा सम्बन्धी कुनै व्यवस्था छैन । उनको भ्रमणमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिने विषय उल्लेख छ तर भारतले यो विषयमा आफ्ना सुरक्षाकर्मी राख्नुपर्ने सर्त राखेको छ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण गएको बेला अन्तर्राष्ट्रिय विमानस्थलहरुको रुटको बारेमा पनि छलफल हुने एजेण्डा तय गरेपछि भारतले त्यसका लागि आफ्ना सुरक्षाकर्मी राख्नुपर्ने सर्त अघि सारेको स्रोतको दावी छ ।
भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन कुनै अप्ठ्यारो नभएको तर प्रवेश रुट दिँदा सुरक्षाको प्रत्याभूति हुने गरी नेपालले विश्वास दिलाउनुपर्ने सर्त अघि सारेको स्रोतले जनाएको छ । ‘सुरक्षाको विश्वास दिलाउन नसके भैरहवा एयरपोर्टमा भारतले आफ्नो मान्छे राख्न पाउनुपर्ने सर्त पनि अघि सारेको छ,’ नागरिक उड्डयन प्राधिकरण स्रोतले भन्यो ।
बुधबार दिउँसो १ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाजमार्फत प्रधानमन्त्री प्रचण्ड दक्षिणी छिमेकी मुलुक जान लागेका छन् ।
प्रचण्डसँगै भ्रमणमा ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित भारत जानेछन् । भारतले प्रधानमन्त्रीको भ्रमण टोलीका लागि ४७ जनाको कोटा दिएको थियो । तर, भोलि प्रधानमन्त्रीसँग जानेहरूको ११५ भन्दा नाघ्ने स्रोतले बताएको छ । ४७ जनाभन्दा बढी पाहुनाको खर्च भारतले नव्यहोर्ने भएको छ । भारत भ्रमणमा जाने मध्ये २५ जना ‘उच्चस्तरीय’ को नाम मन्त्रिपरिषदले स्वीकृत गरेको छ । उनीहरुमध्ये प्रधानमन्त्रीको सचिवालयका मात्रै १० जना रहेका छन् ।
भ्रमणमा प्रधानमन्त्री प्रचण्डसँग उनकी छोरी गंगा दाहाल, राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेश मल्ल, निजी चिकित्सक युवराज शर्मा भारत जाने छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका एकएक जना सुरक्षा गार्ड पनि प्रधानमन्त्रीको टीममा परेका छन् । मन्त्रिपरिषदले ५ जना मन्त्रीको भ्रमण स्वीकृत गरेको थियो । पछि कृषि मन्त्री बेदुराम भुसाल थपिएको स्रोतले बतायो । भ्रमण टोलीमा समावेश मन्त्रीहरूमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, कृषि तथा पशुपक्षी विकास मन्त्री डा.बेदुराम रहेका छन् ।
त्यस्तै मुख्यसचिव शंकरदास बैरागी टोलीमा रहने छन् । भ्रमण टोलीमा समावेश ८ सचिवहरूमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका दिनेशकुमार घिमिरे, गृह मन्त्रालयका दिनेश भट्टराई, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका धनराज ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मधुकुमार मरासिनी, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका गोविन्द शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका केशव शर्मा, वन तथा वातावरण मन्त्रालयका रेवतीरमण पौडेल रहेका छन् ।
प्रचण्ड बुधबार दिउँसो दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारका एकजना राज्यमन्त्री लगायत विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नेछन् । विमानस्थलबाट प्रधानमन्त्री प्रचण्ड सिधैं भ्रमण दलका लागि बस्न तय गरिएको होटल आइटीसी मौर्य पुग्नेछन् । त्यही बुधबार नै प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस. जयशंकरले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री मोदीको खासगरी छिमेक नीतिमा मन्त्रीकै हैसियतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल निर्णायक मानिन्छन् । बुधबार नै भारतीय विदेश सचिव विनय मोहन क्वात्राले पनि सोही होटलमै प्रधानमन्त्री प्रचण्डसँग वार्ता गर्ने कार्यतालिका रहेको छ ।
त्यसपछि उनी बुधबार साँझ दिल्लीस्थित नेपाली राजदूतावास पुग्नेछन् । त्यहाँ प्रधानमन्त्री प्रचण्डको सम्मानमा दूतावासले ‘रिसेप्सन’ आयोजना गरेको छ । जहाँ प्रधानमन्त्री प्रचण्डले भारतमा रहेका प्रवासी नेपालीहरूलाई सम्बोधन गर्ने कार्यक्रम बनेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने । भ्रमणको दोस्रो दिन अर्थात जेठ १८ गते बिहिबार भने प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । मोदीसँग बिहीबार दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्डले बिहान ११ बजे दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
हैदरावाद हाउसमा हुने औपचारिक भेटवार्ता बिहान ११ बजेका लागि तय भएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड बिहिबार बिहानै महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्न जाने कार्यक्रम बनेको स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले मोदीसँग बिहान ११ बजे भेट तय भएको बताए । उनले मोदीसँगको भेटमा दुई पक्षीय र बुहपक्षीय वार्ताहरू हुने बताए । हैदरावाद हाउसको दुई पक्षीय वार्तापछि त्यहीँ संयुक्त पत्रकार सम्मेलनमा प्रचण्ड र मोदीले सम्बोधन गर्ने कार्यक्रम पनि बनेको छ ।
संयुक्त सम्वोधन पछि मोदीले प्रधानमन्त्रीको सम्मानका लागि दिवाभोजको आयोजना गर्नेछन् । त्यसपछि बिहीबार नै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ । बिहीबार साँझ प्रधानमन्त्री दाहालले होटल मौर्यमै नेपाल र भारतका उद्योगी व्यवसायीहरूलाई सम्बोधन गर्ने कार्यक्रम बनेको छ । भ्रमणको तेस्रो दिन शुक्रबार भने प्रधानमन्त्री प्रचण्ड भारतको मध्य प्रदेशको उज्जैनमा महाकालेश्वर मन्दिरको दर्शन र इन्दोर शहरको भ्रमणमा निस्कनेछन् ।
दिल्लीबाट करिब डेढ घण्टाको उडान दुरीमा रहेको इन्दोर मै त्यस दिन प्रधानमन्त्री प्रचण्डले रात बिताउने तयारी छ। भारतको सबैभन्दा सफा शहरको रुपमा चिनिने इन्दोरमा प्रधानमन्त्री प्रचण्डलाई फोहोरमैला व्यवस्थापनबारे जानकारी दिने कार्यक्रम तय भएको छ । शनिबार इन्दोरबाट दिल्ली आएपछि विमानस्थलबाटै प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्कने तय भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा रक्सौल–वीरगञ्ज–सिमरा नाका धेरै व्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाका बारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरूको बारेमा छलफल हुने भएको छ ।
विद्युत आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत व्यापार गर्ने कुरामा पनि नेपालले भारतीय पक्षसँग प्रधानमन्त्रीको भ्रमणका क्रममा जोड दिने तयारी गरेको परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए । तर भारतले बंगलादेशसँगको विद्युत व्यापारबारे कुनै पनि प्रस्ताव तयार नगरेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार