समाजवादी मोर्चाः एक टाउको दुखाई राजनीतिको अवसान
आज निर्माण भएको मोर्चा कम्युनिष्ट समाप्त हुने गतिलो अन्तिम अस्त्र हुनेछ । किन की, भारतपरस्त, धर्म र जातको राजनीति गर्ने उपेन्द्रको पोखरीमा प्रचण्ड र माधव नेपालपनि संगै डुब्नेछन्
विनोद त्रिपाठी
असार ४, २०८० सोमबार १८:३:५३
२०८० साल असारको पहिलो आइतबार । देशको केन्द्रीय राजधानीको केन्द्रविन्दु कालीमाटी । सडकभरी पोखिएका गोलभेँडा ! गोलभेँडा थिचिएर राताम्मे भएको सडकमा देश दुखिरहेको थियो । यो रंग किसानको पसिना थियो । जुन पसिनामा उनीहरूको श्रमको रगत थियो । आज त्यही रगत सडकमा पोखिएर रातै बनेको छ । देश दुखिरहेको छ । किसानहरू रोइरहेका छन् ।
यो रुवाई तबबाट शुरु भयो, जब यहाँ राजनीति मोर्चा गठन हुँदै गए । जति जति राजनीति मोर्चाहरु बनाइए, उति उति रगत र पसिना बगिरह्यो । जसले बगाउन उक्साए, उनीहरू सधैं शासक बनेर जनतालाई पीडा दिइरहे । जसले रुने नियति पाइरहे, उनीहरू सधैं कालीमाटीमा पोखिरहे । आजसम्म नेपालको राजनीतिले दिएको उपहार यही मात्र हो ।
कसैले भन्ला, तिमी बोल्न लेख्न पाएका छौ, यही हो, हाम्रा मोर्चाले दिएको ! तर, उनीहरूलाई के थाहा, तिमीलाई राजनीति गर्ने अधिकार दिन ज्यान दिएका यिनै जनता हुन् । यिनै किसान हुन् । यी सारा उपभोक्ता हुन् । गोलभेंडा थिचिएका रक्तरंग देखेर न प्रधानमन्त्रीको मन पोल्यो, न कृषि मन्त्रीको ! बिचौलिया पालेर हुर्किएका यी नेताहरूका मोर्चा अहिले कसाइका कारखाना मात्र भइरहेका छन् ।
किसानलाई मूल्य नदिने र उपभोक्तालाई महंगी बढाउने तिम्रा मोर्चाहरु अब सकिनुपर्छ मात्र होइन, खरानी हुनुपर्छ भनेर तिम्रै हजारौं कार्यकर्ता लामबद्ध लागेर विदेशिएका छन् । हिजो जुन–जुन नागरिकलाई उपयोग गरेर मिल्कायौं, आज तिम्रा लागि सबैभन्दा प्रधान शत्रु उनीहरू नै छन् । बन्दुक बोकायौ, आन्दोलनमा लगायौ, नेता बन्यौ अनि राज्य लुट्यौ । जनता लुट्ने यस्ता मोर्चा रुपी अस्त्रहरू अब निष्प्रभावी हुनेछन् । यो मोर्चामा अब बारुद हुने छैन । हिजो बारुद रुपी मोर्चा बनाएर जनतालाई मार्यौ, आज जनताले तिम्रा षडयन्त्र यसरी बुझेका छन्, कि अब जुनसुकै रुपका मोर्चाहरु यहाँ पड्कने छैनन् । बरु सेलाएर जानेछन् । नारायणी नदीमा बगाइदिनेछन् । चुनावसम्म पर्खेर हेर, हालत के हुनेछ !
उपेन्द्रको पासोमा मोर्चा
गौर हत्याकाण्डबाट राजनीति पगरी गुथेका उपेन्द्र यादव नेपालका एक खास ‘नटवर लाल’ प्रमाणित भइसकेका व्यक्ति हुन् । यी कम्युनिष्टको राजनीति गर्छन् र मधेशको सहानुभूति बटुल्छन् । तर, यिनले जनताको राजनीति गर्दैनन् । यिनले त जातीय र गुटगत अस्त्र निर्माण गर्छन् । यिनैको भड्खालोमा जाकिएर अब कहिल्यै उठ्न नसक्ने गरि बाबुराम भट्टराई जाकिइसकेका छन् । अब बनेको यो मोर्चा त्यो अन्तिम भड्खालो हुनेछ, जहाँ पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपालहरु अझ तल जाकिने छन् । त्यहाँबाट यी कहिल्यै माथि उठ्ने छैनन् ।
सत्तालिप्साकाे परिचय बनाएका उपेन्द्रसँग मधेशी जनता मात्र हैरानमा छैनन्, यिनीसँग संगत गरेका सबै नेताहरू रुष्ट हुँदै आएका छन् । उपयोगवादको सिद्धान्तलाई मूलमन्त्र बनाएर राजनीति गर्ने उपेन्द्रको सहभागी हाल निर्माण भएको समाजवादी मोर्चाका लागि विषालु हुने निश्चित छ । यिनैको कारण यो मोर्चाको उद्देश्य पुरा हुने त कल्पनै नगरौँ, नेपालको कम्युनिष्ट आन्दोलन पुरै तहसनहस हुने निश्चित छ ।
उपेन्द्रको राजनीति ०३२ देखि कम्युनिष्ट मैदानबाट शुरु भएपनि यी कहिल्यै कुनै एक पार्टीमा अडिएनन् ।यसका खास दुई कारण थिए, पहिलो अवसरवादी, दोस्रो असहिष्णु । यी जुन पार्टीमा बस्छन्, त्यो पार्टी कि चकनाचुर हुन्छ, कि त्यो पार्टी समाप्त हुन्छ । पछिल्लो पटक बाबुरामको नयाँ शक्ति नामक एक पार्टी यसको उदाहरण हो । ०६३ साल ७ गते रौतहटको गौरमा भिडन्त निम्त्याएर २७ जना माओवादी समर्थकलाई मार्न उक्साउन लगाउने यिनी माथि लागेको आरोप अहिलेसम्म गलत पुष्टि हुन सकेको छैन । यो हत्याकाण्डपछि यी सधैं नेपालको राजनीतिमा सत्ताको वरपर मात्र रहेनन्, केन्द्रविन्दुमा रहे ।
देश दोहनमा पहिलो खेलाडी र जातीय भड्काव राजनीतिमा प्रथम सावित भएका उपेन्द्र कहिले कांग्रेस शक्तिलाई त कहिले कम्युनिष्ट मोर्चालाई उपयोग गरेर सत्ताको चास्नीमा डुबिरहे । ०७९ मंसिरको चुनाव हारेर गठबन्धन बदलेका यिनले अनेक तिकडमबाजी लगाउँदै ०८० बैशाख १० को चुनाव जितेरै सत्ता निर्माणको भान्छे बनेरै छोडे । सत्तालिप्साकाे परिचय बनाएका उपेन्द्रसँग मधेशी जनता मात्र हैरानमा छैनन्, यिनीसँग संगत गरेका सबै नेताहरू रुष्ट हुँदै आएका छन् । उपयोगवादको सिद्धान्तलाई मूलमन्त्र बनाएर राजनीति गर्ने उपेन्द्रको सहभागी हाल निर्माण भएको समाजवादी मोर्चाका लागि विषालु हुने निश्चित छ । यिनैको कारण यो मोर्चाको उद्देश्य पुरा हुने त कल्पनै नगरौँ, नेपालको कम्युनिष्ट आन्दोलन पुरै तहसनहस हुने निश्चित छ । किनकी, विगतका अनेक काण्डले यो प्रमाणित गरिसकेको छ ।
भारतले पेल्ने, चुँ नबाल्ने ! मोर्चा कि मर्चा ?
नेपालको संस्कृतिमाथि प्रहार हुँदा चुँ नबोल्ने यो मोर्चा र यसमा आबद्ध दलहरू किन चाहियो ? के यिनले नेपालको रक्षा गर्छन् ? यिनले गर्ने राजनीति सत्ता टिकाउने दाउ मात्र सिद्ध भएको छ । सत्ता स्वार्थका लागि रचिएको यो मोर्चा रक्सी बनाउने मर्चा जस्तै नशालु हुनेछ ।
अहिले नेपालमा मात्र होइन, दक्षिण एसियामै भारतको छिमेकी देशहरूसँगको सम्बन्धका विषयमा जोडतोडले बहस चलिरहेको छ । यो बहसमा नेपाल भारत सिमानादेखि राष्ट्रिय सवालहरू जोडिएका छन् । जब भारतले अखण्ड भारतको नक्सा जारी गर्यो तब, सबैभन्दा चिन्ता नेपालमा छायो । चिन्ता नेतामा होइन, जनतामा परेको छ । अहिलेसम्म कुनै नेताले यो विषयमा कुनै विज्ञप्ति जारी गरेनन् । जनताको सहानुभूति बटुल्न कुनै कुनै नेताहरू यस बारेमा बोले पनि कुनै पनि दलले संस्थागत विरोध गरेका छैनन् ।
तर, आज स्वतन्त्र जनप्रतिनिधि बालेन शाहले मात्र त्यो साहस गरे, जसले नेपालको सार्वभौम परिचय मजाले दिने तरंग पैदा गरिदिए । भारतलाई चुनौती दिएर बालेनले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यालयमा राखिदिए । तर, यी मोर्चाका कुनै पात्रले आफ्नो देशको पक्षमा बोलेनन् ।
नेपाली कांग्रेस र एमालेका विषयमा अर्को आलेखमा उल्लेख हुनेछ । तर, यो आलेखमा आज गठन गरिएको समाजवादी मोर्चा र यसमा आबद्ध दलहरूका चर्तिकला वाञ्छनीय हुने भएकोले मोर्चाको औचित्य केका लागि प्रश्न गरिएको हो । माओवादी त्यो पार्टी हो, जसले भारतमा बसेर युद्धको तयारी गर्ने र भारतीय विस्तारवादको गाली गर्दै राजनीति अभीष्ट पुरा गरिरह्यो । तर, जब यो पार्टी कांग्रेस एमाले जस्ता पार्टीको गठजोडमा पर्यो तब माओवादी सबैभन्दा भारतपरस्त पार्टी बन्यो । यसको पछिल्लो उदाहरण हो, नक्सा विवाद र आदिपुरुष हिन्दी फिल्म । यी दुवै विषयमा माओवादीको मुल नेतृत्व बोलेको छैन । बंगलादेश र पाकिस्तान सरकारले भारतसँग जवाफ माग्दा नेपाल भने चुपचाप छ । आदिपुरुष फिल्ममा ‘भारतका राजा जनककी छोरी सीता’ घोषणा गर्दा माओवादीले सम्हालेको संचार मन्त्रालय बोल्दैन ।
उल्टो माओवादी मन्त्री रेखा शर्मा सेन्सर बोर्डले पास गरेको फिल्म चल्न दिनुपर्ने विज्ञप्ति जारी गरेर भारत भक्त बनिन् । एउटा बालेन शाहले छेडेको अभियानले आज देशभर आदिपुरुष फिल्म चल्न बन्द भएको छ ।नेपालको संस्कृतिमाथि प्रहार हुँदा चुँ नबोल्ने यो मोर्चा र यसमा आबद्ध दलहरू किन चाहियो ? के यिनले नेपालको रक्षा गर्छन् ? यिनले गर्ने राजनीति सत्ता टिकाउने दाउ मात्र सिद्ध भएको छ । सत्ता स्वार्थका लागि रचिएको यो मोर्चा रक्सी बनाउने मर्चा जस्तै नशालु हुनेछ । जुन नशाले यी सबै दललाई तहसनहस बनाउने निश्चित छ ।
मोर्चाका पात्रहरूले भन्न सक्छन्, वामपन्थी मत एकीकृत गर्न यो गरिएको हो । तर, यो जस्तो दिवास्वप्न केही हुनेछैन । ०७५ जेठ ३ गते एमाले र माओवादी एकीकृत भएर बनेको नेकपा फुटाएर अल्पमतमा जाकिने अधिकांश पात्रहरु यही मोर्चामा छन् । किन की, नेपालका कम्युनिष्टहरूमा उपेन्द्र प्रवृत्ति रोग यसरी फैलिएको छ कि, एकले अर्कोको सफलता र नेतृत्व कदापी स्वीकार्न सक्दैनन् । देश दोहनमा खरो उत्रन सक्ने यी नेताहरू भोगविलासमुखी छन् । यी न जनताको लागि न मुलुकको लागि हुन् । केवल मुलुक दोहन गरेर समाजलाई भ्रष्टीकरण गर्ने भ्रष्टाचारका सरदार मात्र हुन् ।
अन्तमा...
०६८ सालमा प्रधानमन्त्री भएका बाबुराम भट्टराई विकासको नयाँ मोडेल देखाएर लोकप्रिय बनेका थिए । तर, यो प्रशंसा धेरै टिकेन । किन की, जब यी जातीय, धार्मिक र संस्कृति विषयमा नेपाल भित्र अधर्मको खेती गरे, तब यिनको सामाजिक छवि पुरै समाप्त भएर गयो । उनको मात्र समाप्त भएको छैन, उनको सन्तानलाई पनि राजनीति गर्न अब चुनौतीको पहाड बनिरहेको छ । गत मंसिर ४ को चुनावमा उनकी छोरी मानुषी भट्टराई लज्जाजनक हार व्यहोर्नु नै बुवा बाबुरामको गलत कदमको परिणाम थियो ।
आज, काठमाडौंका मेयर बालेन शाह एक्लै यो देशको सार्वभौमिकतामा बोलेका छन् । तर, एकजना कम्युनिष्ट नेताहरूले यो बोल्ने आँट गरेका छैनन् ! त्यसैले, यस्ता अराष्ट्रिय भावनाबाट दीक्षित कम्युनिष्ट मोर्चाको उपयोगिता अब केका लागि भन्ने जोडदार बहस शुरु हुनेछ । जुन बहसमा मोर्चाका सबै नेताहरूको हार हुने निश्चित छ ।
आज बाबुराम प्रवृत्ति यो समाजवादी मोर्चाका अधिकांश अनुहारमा देख्न सकिन्छ । नेपाल विश्वमा खास पहिचान भएको मुलुक हो, जुन सबैभन्दा बहुसङ्ख्यक हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित छ । यसलाई बेवास्ता गरेर भड्काउको राजनीति गर्नेहरू अब नेपालको धर्तीमा टिक्न सक्दैनन् । हो, अमेरिका, रसिया, चीन, जापान जस्ता ठूला मुलुकहरूमा स-साना सांस्कृतिक हस्तक्षेपले खास अर्थ राख्दैन । तर, नेपाल र भारतको रुप, रंग र ढंग समान भएकोले भारतीय हस्तक्षेपको ढटेर चिर्न सक्नुपर्छ । यो पहिचानको सवाल हो ।
अझै पनि विश्वले नेपाललाई भारतीय आँखाले हेर्ने कठपुतली नजर विद्यमान छ । यसमा सार्वभौम मुलुकको पहिचानलाई ध्यान दिएर जोडदार प्रतिकार गरिएन भने कुनै दिन नेपाल भारतमा विलीन हुनेछ । आज, काठमाडौंका मेयर बालेन शाह एक्लै यो देशको सार्वभौमिकतामा बोलेका छन् । तर, एकजना कम्युनिष्ट नेताहरूले यो बोल्ने आँट गरेका छैनन् ! त्यसैले, यस्ता अराष्ट्रिय भावनाबाट दीक्षित कम्युनिष्ट मोर्चाको उपयोगिता अब केका लागि भन्ने जोडदार बहस शुरु हुनेछ । जुन बहसमा मोर्चाका सबै नेताहरूको हार हुने निश्चित छ ।
यही हार नै आउने ०८४ सालको चुनावमा पत्तासाफ हुने मुल कारण बन्नेछ । आज निर्माण भएको मोर्चा कम्युनिष्ट समाप्त हुने गतिलो अन्तिम अस्त्र हुनेछ । किन की, भारतपरस्त, धर्म र जातको राजनीति गर्ने उपेन्द्रको पोखरीमा प्रचण्ड र माधव नेपालपनि संगै डुब्नेछन् । त्यसपछि किसानको गोलभेँडा सडकमा फाल्न बाध्य पार्ने कम्युनिष्ट समाजवादी मोर्चाको अवसान भएर नयाँ प्रजातान्त्रिक शक्तिको उदय हुनेछ । धन्यवाद ।
विनोद त्रिपाठी
लामो समय व्यवसायिक पत्रकारितामा डटेर लागेका पत्रकार त्रिपाठी विभिन्न मुलधारका राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाइनहरुमा सम्पादकको भुमिका निर्वाह गरिसकेका छन् । हाल त्रिपाठी नेपालबहसका नियमित स्तम्भकार हुन् ।
लेखकबाट थपबिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
ठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार