कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
![केदार भट्टराई (काका)](
https://nepalbahas.prixacdn.net/media/albums/Kedar_Bhattarai_0uOymgetS5.jpg
)
केदार भट्टराई (काका)
असार ५, २०८० मंगलबार १४:५०:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/shekhar_zlSJ2XErpn_Acsq8wayTf.png)
५ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला प्रधानमन्त्री बन्ने हल्ला एकाएक बजारमा आएको छ । अहिले भइरहेको सत्ता समीकरण बदलिएर नयाँ समीकरण बन्ने र त्यसबाट नेता कोइरालाकाे नेतृत्वमा नयाँ सरकार गठन हुने चर्चा उच्च राजनीतिक तहमा गाइगुई चलिरहेको छ । यसैको तयारीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर गएको टिप्पणी सो तहमा हुने गरेको छ ।
नेपाल र छिमेकी मुलकमा समेत समय समयमा आउने राजनीति उतारचढावलाई नजिकबाट नियाल्ने र त्यसैको सेरोफेरोमा रहेर विश्लेषण गर्ने तहमै अहिले नेपालको राजनीतिक समीकरण बदलिने चर्चा चल्नुले पनि सिंगापुरमा यससम्बन्धि खिचडी तयार भइरहेको राजनीति वृतमा चर्चा छ । यसबारे कांग्रेस र एमालेबाट भने कुनै संकेत आएको छैन ।
उच्च राजनीतिक स्रोतले दिएकाे जानकारी अनुसार सिंगापुर पुगेको तीन दिनपछि कांग्रेस सभापति देउवा निरन्तर भेटघाटमा छन् । सिंगापुरमा उनले काे को सँग भेटघाट गरिरहेका छन भन्ने पनि खुलेको छैन । स्रोत भन्छ, देउवासँगको छलफलमा नेकपा एमालेका तीन जना प्रतिनिधि पनि सहभागी छन् । केही भारतीय प्रतिनिधिको पनि यति बेला सिंगापुरमै बास छ ।
कांग्रेस सभापति देउवा उपचारका लागि सिंगापुर जाने समयमै खास उपचारका लागि भने देउवा त्यहाँ नगएको बताइएको थियो । देउवाको सिंगापुर बसाइबारे कांग्रेसका उनी निकटका नेताहरूले पनि खास जानकारी पाएका थिएनन् । स्रोतको भनाइमा सोमबार राती सिंगापुरमा रहेका देउवासँग एमाले अध्यक्ष केपी शर्मा ओलीको फोन वार्ता भएको छ । यो फोन वार्ताबारे बालकोटबाट कुनै सूचना चुहिएको छैन ।
१३ वर्ष अगाडि पेटमा समस्या भएपछि देउवाले सिंगापुरको एक अस्पतालमा उपचार गराएका थिए । त्यसपछि प्रत्येक दुई वर्षमा फलोअप गर्नुपर्ने भएका कारण देउवा सिंगापुर गएको भन्ने अहिले सबैमा जानकारी छ । तर देउवा नियमित फलोअपका लागि मात्रै सिंगापुर गएको नभइ त्यहाँ उनले राजनीतिक भेटघाटसमेत गरेको र त्यो भेटघाटले नेपालको सत्ता परिवर्तन गराउन भूमिका खेल्ने चर्चा भने सुरु भएको छ ।
सिंगापुरमा देउवाले भारतीय जासुसी संस्था ‘रअ’ का प्रतिनिधिसँग भेट गरेको कुरा भारतीय सञ्चारमा पनि आएका छन् । तर, यसैले मात्र नेपालको सरकार परिर्वतन हुन्छ भन्ने गतिलो जवाफ दिन सक्दैन । नेपालको पछिल्लाे राजनीतिक परिवेश हेर्ने हो भने पनि सत्ता गठबन्धनमा केही उतावचढाव देखिन थालेको छ । गठबन्धनको माहोल बिगार्ने कुरामा एमालेले विशेष जोड दिएको छ । एमालेले संसदीय गतिविधिमै पनि माओवादी नेतृत्वको सरकारलाई असफल बनाउन प्रयास गरिरहेको छ ।
सभापति देउवा र ‘रअ’का प्रतिनिधिबीच भेटवार्ता भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सशंकित बनेका छन् । देउवा र भारतीय जासुुसी संस्थाका प्रतिनिधिबीच नयाँ सरकार गठन गरेर संविधान संशोधन गर्ने विषयमा समेत छलफल भएको बताइन्छ । एमालेको प्रस्तावलाई लिएर सिंगापुरमा रहेका देउवाले नेपाल फर्किएपछि ठोस कदम चाल्ने स्रोतको भनाइ छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किने बित्तिकै एमालेसँग सहकार्य गर्ने तयारीमा छन् । उनी अहिले उपचारको क्रममा पत्नी डा. आरजु राणासहित सिंगापुरमा छन् । यो बीचमा एमाले नेतृत्वले माओवादीसँगको गठबन्धन तोडेर नयाँ रुपमा अघि बढ्न सभापति देउवालाई प्रस्ताव पठाएको उच्च स्रोतको दाबी छ ।
सोमबार मात्र बनेको समाजवादी मोर्चा देउवा फर्किएको केही समयमा नै सरकारबाट बाहिर पुग्ने दावी गरिएको छ । प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष प्रचण्ड माधव नेपाल, उपेन्द्र यादव र नेत्रविक्रम चन्दसहितको समाजवादी मोर्चा नेपाल घोषणा भएपछि कांग्रेस पनि गठबन्धनप्रति सशंकित देखिन थालेको । एउटा गठबन्धन हुँदा हुँदै अर्को गठबन्धन गठन गरेर कांग्रेसलाई तर्साउन खोजिएको नेताहरूले बताउन थालेका छन् ।
पछिल्लो समय एमाले अध्यक्ष ओली पनि मुलुकलाई राजनीतिक अस्थिरताबाट बाहिर ल्याउनको लागि एमाले र कांग्रेस मिल्नुपर्ने पक्षमा छन् । उनले यो बीचमा आफ्ना विश्वासपात्रमार्फत सभापति देउवासँग सम्पर्क बढाएका छन् । देउवा र ओलीबीच तत्काल सत्ता सहकार्यको लागि शेखर कोइरालालाई प्रधानमन्त्री बनाएर जान सकिने बारे छलफल भएको स्रोतकाे दावी छ ।
एमाले नेतृत्व पंक्ति भित्र पनि देउवालाई प्रधानमन्त्री बनाउन भन्दा शेखरलाई प्रधानमन्त्री बनाएर जाँदा नयाँ सन्देश जाने पक्षमा सकारात्मक बनेका छन् । एमाले नेतृत्वले प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्नको लागि हरेक विकल्पमा छलफल खुला राखेको छ । अझ समाजवादी मोर्चा बनेपछि एमालेले जति सक्दो चाँडो कांग्रेस नेतृत्वमा सरकार भएको हेर्न चाहिरहेको छ ।
नेपाली कांग्रेसभित्र पनि एमालेले आगामी निर्वाचनसम्म कुनै गडबडी नगर्ने प्रतिबद्धता जनाउने हो भने अहिलेको गठबन्धनकै पछाडि लागेर कांग्रेसलाई हिँडिरहनु पर्ने बाध्यता नभएको मत बलियो बन्दै गएको छ । पछिल्ला चार दिन यता बालकोटमा पनि कांग्रेस नेतृत्वको सरकारबारे चर्चा हुन थालेको छ । देउवा स्वदेश फर्किएलगत्तै एमाले–कांग्रेस सहकार्यको लागि सम्भवतः पहल सुरु हुनेछ ।
सिंगापुरमा भइरहेको भनिएको संविधान संशोधन गराउने विषयमा पनि कांग्रेस एमाले सरकारलाई सहज हुने देखिएको छ । एमाले सरकारमा नगइ कांग्रेसलाई साथ दिने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई कांग्रेस नेतृत्वको सरकारमा सहभागी गराउने आन्तरिक खेल भित्रभित्रै चलिरहेको छ । चर्चा भएजस्तै कांग्रेस नेता शेखर कोइराला नेतृत्वमा नयाँ सरकार बनेमा रास्वपाको सहयोगले संविधान संशोधन सहज हुनेछ ।
वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्नको लागि पहल गर्ने कुरा देउवा आएपछि सुरु हुने दावी गरिएको छ । कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्न एमाले र राष्टिय स्वतन्त्र पार्टीबीच पनि मोटामोटी सहमत भइसकेको बताइन्छ । कांग्रेस, एमाले र रास्वपाको गठबन्धनमा सरकार बने त्यो सरकार दुई तिहाइ बहुमतको सरकार हुनेछ । जसको पहिलो प्राथमिकतामा संविधान संशोधनको एजेण्डा राखिएको छ ।
नेपालको संविधान २०७२ मा राखिएको प्रावधानअनुसार यो संविधान संशोधन गर्न संघीय संसदको दुई तिहाइ बहुमत चाहिन्छ । संविधानको भाग ३१ धारा २७४ मा संविधान संशोधन सम्बन्धी प्रावधान राखिएको छ । यो प्रावधानअनुसार संविधान संशोधन गर्न संघीय संसदको दुवै सदनको कूल सदस्य संख्याको दुई तिहाइ बहुमत चाहिन्छ ।
कांग्रेस, एमाले र रास्वपा मिल्दा प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पुग्ने भए पनि राष्ट्रिय सभामा रास्वपा नभएको र कांग्रेस एमालेको सिट पनि केही कम भएकोले दुई तिहाइ बहुमतका लागि १० देखि १२ सिट अपुग हुन्छ । यो अपुग संख्या पूर्तिका लागि राप्रपा समर्थन दिन तयार भइसकेको छ । राप्रपाका सांसद थपिँदा संघीय संसदकै दुई तिहाइ बहुमत जुटाउन सहज हुने देखिएको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार