ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय तह
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १२:४२:४०
७ असार, गलेश्वर । म्याग्दीमा रहेका तीन सय वर्ष भन्दा पुरानो देवल, ऐतिहासिक स्थल र प्राचीन सम्पदाको संरक्षण गर्न थालिएको छ । यहाँका स्थानीय तहले धार्मिक तथा ऐतिहासिक महत्वका देवल, ऐतिहासिक स्थल र प्राचीन सम्पदाको मर्मत सम्हार गरेर संरक्षण गर्न थालेका हुन् ।
सदरमुकाम बेनीलगायत जिल्लाका छ वटै स्थानीय तहमा रहेका पुरातात्त्विक तथा शिखर शैलीका देवल र प्राचीन सम्पदा प्रचारप्रसार र संरक्षणको अभावमा नासिँदै जान थालेपछि स्थानीय तहले मर्मत गरी संरक्षण गर्न थालेका हुन् । लोप हुने अवस्थामा पुगेका र ओझेलमा परेका त्यस्ता सम्पदाको संरक्षण र पुनः निर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।
जिल्लाका ताकमकोत, ज्यामरुककोट, घतान, पुलाचौर, राखु भगवतीलगायत स्थानमा रहेका कैयौँ प्राचीन देवल र सम्पदाको संरक्षण र प्रचारप्रसारमा स्थानीय निकायले काम गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।
“बेनीबजारमा रहेका कोत मन्दिर, बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको देवल तीन सय वर्ष पुराना ऐतिहासिक विरासतका धरोहर हुन्”, स्थानीय नैनकुमार श्रेष्ठले भने । पुराना प्राचीन सम्पदाको बारेमा नयाँ पुस्ता अनभिज्ञ रहेकाले यीनको संरक्षण गरी नयाँ पुस्तालाई जानकारी दिनुपर्ने उनको भनाइ थियो ।
ऐतिहासिक धरोधरको संरक्षण र प्रचारप्रसारमा नगरपालिका र वडा कार्यालय सक्रिय रहेको बेनी नगरपालिका–७ का वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । उनका अनुसार वि.सं १७५४ मा तत्कालीन पर्वते राजा बलेबम मल्लले निर्माण गर्न लगाएका यी देवल पाञ्चायन शैलीमा निर्माण गरिएका छन् । पुराना इँटाबाट निर्मित यी मन्दिरमा शिवलिङ्ग, नारायण, गणेश र भगवतीका मूर्ति छन् ।
“बेनी बजारको सबैभन्दा पुरानो मानिएको बालमुक्तेश्वर मन्दिरको अस्तित्व नामेट हुँदै जान थालेको थियो । नगरपालिकाले प्राचीन सम्पदाको सूचीमा राखेपछि बल्ल यसको संरक्षण हुने भएको छ”, स्थानीय अविरकुमार श्रेष्ठले भने । बजार विस्तार हुने क्रम बढे्सँगै आधुनिक र ठूला घर निर्माण हुँदा बालमुक्तेश्वर मन्दिर छोपिएको उनले बताए ।
“यहाँको पुरानो सभ्यता बोकेको मन्दिरको बारेमा अहिले धेरैजसो अनभिज्ञ छन्”, श्रेष्ठले भने, “वि.सं २०३७ मा बालमुक्तेश्वर मन्दिरको अगाडि लक्ष्मी नारायण मन्दिर निर्माण गरिएपछि सो मन्दिरको महत्व पनि छोपिँदै गएको छ ।” उनका अनुसार वि.सं २०३४/३५ सालसम्म मन्दिरमा रहेको ताम्रपत्र अहिले हराएको छ ।
अन्नपूर्ण गाउँपालिका–६ मा कालीगण्डकी नदी र घारखोलाको दोभानमा रहेको जलेश्वर शिवालय मन्दिरको पनि मर्मत गरी संरक्षण गर्न थालिएको छ । पाञ्चायन शैलीमा निर्माण गरिएको उक्त मन्दिर २०६३/६४ सालमा बेनी–जोमसोम सडक निर्माणका क्रममा सेनाले सोही मन्दिरसँग जोडेर दुर्गा भगवतीको मन्दिर निर्माण गरि दिएपछि जलेश्वर शिवालय अस्तित्व विहीन बनेको थियो ।
“प्राचीन मन्दिरमा राखिएका ताम्रपत्र, घण्ट, भाला, हातहतियारलगायत ऐतिहासिक र पुरातात्त्विक महत्वका चिज हराउँदै गएका थिए, अहिले वडा कार्यालयले पुरातात्त्विक महत्वका सम्पदाको संरक्षणका लागि चासो दिन थालेपछि आशा जगाएको छ” ज्यामरुककोटका हरिप्रसाद शर्माले भने ।
पुरातात्त्विक महत्व बोकेका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा पुरातात्त्विक विभागले पनि ध्यान दिनुपर्ने बेनी नगरपालिका–२ का ७८ वर्षीय डिलबहादुर कार्कीले बताए । उनका अनुसार बडादसैँ, चैते दशैँ, कृष्ण जन्माष्टमी, श्री पञ्चमी र तीजका बेला उक्त ठाउँमा पूजापाठका साथै मेला लाग्ने गर्छन् ।
ऐतिहासिक महत्व बोकेका स्थानमा रहेका ढुङ्गेधारो र कुवाको संरक्षण गर्न वडा कार्यालयबाट बजेट विनियोजन गरेर पहल थालिएको बेनी नगरपालिका–२ का वडाअध्यक्ष याम बहादुर कार्कीले जानकारी दिए । पुरातात्त्विक सम्पदालाई सूची करण गरी संरक्षण र सम्वर्द्धनका लागि पहल सुरु गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार