मारुती सिमेन्टको ठगीधन्दा पर्दाफासः उद्योग सञ्चालक राठी छोरा लिएर फरार, व्यापार प्रबन्धक पक्राउ
नेपालबहस संवाददाता
असार १६, २०८० शनिबार १५:५५:१४
१५ असार, काठमाडौं । लामो समयदेखि नक्कली र कम गुणस्तरको सिमेन्ट उत्पादन गर्दै देशभरीका उपभोक्ता ठग्दै आएको मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी यति बेला छोरा अनुज राठीलाई साथमा लिएर फरार भएका छन् । एक सातादेखि प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।
उनलाई प्रहरीले खोज्नुको कारण हो, गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर उपभोक्तालाई ठगी गर्नु । यस उद्योगबाट उत्पादन हुने सिमेन्टको गुणस्तर नपुगेको भन्दै पटक पटक उजुरी परे पनि सम्बन्धित निकायले कारबाही गरेको थिएन । गुणस्तरका कर्मचारीलाई रकम खुवाएर राठीले कमसल सिमेन्ट बजारमा पठाउँदै आएका थिए ।
पछिल्लो समय सप्तरीमा मारुती सिमेन्टका सञ्चालकले आपराधिक कार्य गरी उपभोक्तालाई विश्वासघात गरेको उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरी राठीको खोजी गरिरहेको छ । सञ्चालकका बाबुछोरा नै भागपछि मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक ज्योति जोशीलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । सोही मुद्दामा पक्राउ पुर्जी जारी भएका मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा उद्योगका प्रबन्ध निर्देशक अनुज राठीसहित ७ जना अहिले फरार छन् ।
राजविराज–४ का दिवाकर साहले दिएको जाहेरीका आधारमा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई मारुती सिमेन्टका व्यापार प्रबन्धक ज्योति जोशीलाई तीन दिनअघि नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । प्रहरीले बुधबार नै पाँच दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान गरिरहेको छ ।
राजविराज–४ का दिवाकर साहले आफ्नो घर निर्माणका क्रममा मारुती सिमेन्टको प्रयोग गरेको र सो सिमेन्ट प्रयोग गरी घर बनाउने क्रममा मसल बनाउँदा सिमेन्टको बढी परिणाम राख्दा पनि इटा नसमातेको र बनाएको भर्याङ नै लडेपछि सिमेन्ट गुणस्तरहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी आपराधिक विश्वासघात मुद्दामा जाहेरी दिएका थिए ।
सोही जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भई जोशीलाई विराटनगरबाट पक्राउ गरी सप्तरी ल्याइएको छ । प्रहरी अनुसार उक्त मुद्दामा मारुती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर राठी, प्रबन्ध निर्देशक अनुज राठी, मारुती सिमेन्टका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री वितरण गर्ने राजविराज २ का नरेश साहसहित अजयकुमार साह फरार रहेको सप्तरी प्रहरीले जनाएको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएका उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।
गुणस्तरहीन सिमेन्टका कारण आफ्नो भर्याङ ढलेको तथा घर नै क्षतिग्रस्त भएको राजविराज–४ का दिवाकर साहको भनाइ छ । घरधनी साहले क्षतिपूर्तिको माग गरेपछि त्यसमा कुरा नमिल्दा उनी प्रहरीमार्फत मुद्दा प्रक्रियामा गएका हुन् । प्रहरी उजुरी परेको थाहा पाउनासाथ राठी भागेका हुन् । अहिले उनी भारतमा लुकेर बसेको अनुमान गरिएको छ । बाँकी अरू पनि भारत तिरै भागेको बताइएको छ ।
(यस समाचारमा मारुती सिमेन्ट उद्योगका संचालक नन्दकिशोर राठीको तस्वीर हुनुपर्नेमा प्राविधिक गलतीवश उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीको तस्वीर पर्न भएकोले सोको भूलसुधार गर्दै तस्वीर परिर्वतन गरिएको छ । यसबाट उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठी ज्यूमा पर्न गएको असुविधाका लागि क्षमायाचना गर्दै सच्चाईएको छ । सम्पादक)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार