प्रचण्ड सपनाः दलालीकरण बढाउँदै लगेको राजनीतिकले समाजवादी बाटो हिँड्न सक्ला र ?
भेषराज पोखरेल
असार २७, २०८० बुधबार ७:०:१८
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवाद उन्मुख अर्थतन्त्र हुनेछ भन्ने संविधानको प्रावधानलाई पुनः सम्झिएका छन् । उनले कम्युनिष्ट लेखकहरूलाई पुरस्कृत गर्ने क्रममा समाजवाद उन्मुख अर्थतन्त्र बनाउनुपर्ने भन्दै श्रष्टाहरुलाई त्यतैतिर आफ्नो कलम चलाउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीको भनाइ सुन्दै गर्दा चरम दलालीकरणलाई बढाउँदै लगेको राजनीतिक क्षेत्र समाजवादको बाटो कसरी हिँड्न एक्ला र ? भन्ने प्रश्न उठेको छ । अझ उनले भ्रष्टाचार विरुद्ध र सुशासनका लागि श्रम संस्कृतिको विकास गर्नुपर्ने भन्दै पुरातन कम्युनिष्ट संस्कारलाई सम्झेका छन् ।
पछिल्लो समय विश्वका चर्चित कम्युनिष्ट राष्ट्रहरूले पुरातन श्रम संस्कारलाई त्यागिसकेका छन् । उनीहरूले पूँजीवादको आक्रामक उपयोगबाट अर्थतन्त्र मजबुत बनाउन लागिरहेका छन् । नेपालले अब पनि युवाहरू देशमा बस, श्रमदान गर, नेतालाई सधैं माथि उठाऊ भन्नु कत्तिको औचित्वपूर्ण होला ?
क्रोनिक पूँजीवाद र राजनीतिक क्षेत्रले फैलाएको चरम दलाली करणका कारण पिल्सिएको युवा जनशक्ति अहिलेको आर्थिक, सामाजिक संरचनामा नेपालमा रोजगारी दिए पनि यहाँ बस्न सक्ने अवस्था छैन । सिक्रोन पूँजीवादमा चरम दलाली करण मिसिएपछि साधा, आफ्नो काममा विश्वास गर्ने, भ्रष्टाचार तथा घूसखोरीविरोधी युवाहरूले कुनै रुपमा पनि आर्थिक, सामाजिक प्रगति गर्न सक्दैनन् । यस्तो अवस्थामा कस्तो समाजवाद उन्मुख अर्थतन्त्र बनाउने हो ? के प्रधानमन्त्रीले कुनै समय कम्युनिष्टको मसिहा मानिने माओवादी केन्द्रका नेता, कार्यकर्तालाई दलाली करण छाडेर समाजवादी बाटो हिँडाउन सक्छन् ?
गत वर्ष अर्थतन्त्रका बाह्य पक्ष कमजोर बन्न पुग्यो, अहिले कामका लागि विदेशिने युवाहरूको संख्या बढ्न गयो । अहिले युवाहरूले काम गरेर नेपाल पठाउने रेमिट्यान्सको मात्रा बढेर गएको छ । जसले गर्दा अर्थतन्त्रको बाह्य पक्ष सुधार हुन पुग्यो । यो आर्थिक वर्षको ११ महिनामा ११ खर्ब १२ अर्ब रेमिट्यान्स भित्रिएकै छ । जुन गत वर्षको भन्दा २२ दशमलव ७ प्रतिशत बढी हो ।
यसले गत वर्ष घट्दै गएर चिन्ताको अवस्थामा पुगेको विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य वृद्धि गराएको छ । यो आर्थिक वर्षको ११ महिनामा विदेशी मुद्रा सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रूपैयाँ पुगेको छ । यी तथ्याङ्कले स्पष्ट गर्छन् कि युवाहरू कामका लागि विदेश नजाने हो भने देशको अर्थतन्त्र कस्तो अवस्थामा पुग्छ । देशमा आन्तरिक उत्पादन बढेको छैन ।
निर्यात गत वर्षभन्दा घटेको छ । गत वर्ष वस्तु तथा सेवा निर्यातबाट भएको आम्दानीभन्दा आयात बढी भएर देशको शोधनान्तर घाटामा गएको थियो । यो वर्ष यही रेमिट्यान्समा उल्लेख्य वृद्धि हुँदा शोधनान्तर स्थिति नाफामा गएको छ । शोधनान्तर स्थिति २ अर्ब २९ करोड रूपैयाँले बचतमा भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । यी सबै अवस्था आउनुमा सबैभन्दा ठूलो हात रेमिट्यान्सकै छ । प्रधानमन्त्री प्रचण्डले भने जस्तै युवाहरू विदेशमा नगई श्रम संस्कृतिलाई अगाडि कसरी बनाउलान् ? उनीहरू विदेश नजाँदा देशको अर्थतन्त्र कस्तो अवस्थामा पुग्ला ?
अहिले युवा विदेश नजाँदा उनीहरूको जीवनस्तर नै चल्न नसक्ने अवस्था छ । खाडी मुलुक तथा मलेसिया जाने युवाहरू नेपालको विकृत राजनीतिक संयन्त्रका कारण सार्वजनिक शिक्षा ध्वस्त भएकाले ठूलो संख्यामा साक्षर तथा ठूलो संख्यामा गुणस्तरहीन शिक्षाका कारण पीडित छन् । उनीहरूले आफ्ना सन्तानलाई सकेसम्म गुणस्तरीय शिक्षा दिन र आफ्ना बुवाआमालाई अलि राम्रो स्वास्थ्य सेवा दिन चाहन्छन् । त्यसले पनि उनीहरूलाई विदेश नगई सुखै छैन । समाजवादको कुरा गर्ने प्रधानमन्त्रीले सबैभन्दा पहिले सार्वजनिक शिक्षा र स्वास्थ्य गुणस्तरीय तथा निःशुल्क कसरी बनाउन सकिन्छ भनेर सोच्नुपर्ने थियो । ती दुई वटा कुरा देशमा भए नागरिकको ठूलो चिन्ता हटेर जान्छ । यी कुरा सरकारले किन गर्न सक्दैन ?
यी कुरा गर्न सरकार प्रतिबद्ध भएर लाग्ने हो भने अहिले कै संयन्त्रको अधिकतम उपयोग गरेर सकिन्छ तर राजनीतिक संयन्त्र पूर्ण रुपमा दलाली करणमा चलेकाले दुरूह बन्न गएको छ । दलाली करणका कारण कसलाई नियुक्त गर्ने, कसलाई बढुवा गर्ने, कसलाई सरुवा गर्ने ? भन्ने कुरामा दलाली करण र कमिसनको खेल चल्ने हुँदा गुणस्तर र सर्व सुलभ हुने कुरा भएन । नभए मन्त्रालयदेखि तलसम्म सबै संयन्त्र छन्, जनशक्ति छ तर गुणस्तर छैन । अर्को, वर्षेनी अतिरिक्त शीर्षकमा अर्बौं रुपैयाँ छुट्याएर दुरुपयोग गर्ने सरकार हाँक्ने नेताहरूले शिक्षा र स्वास्थ्यमा गुणस्तरीय तथा निःशुल्क गर्न नसकिने कुरा छैन । समाजवादको सुरुवात गर्न यी दुवै कुरा आधार स्तम्भ हुन् । समान शिक्षा र समान स्वास्थ्य भएपछि नागरिक भड्किरहनु पर्दैन ।
अहिले नेपालमा सरकारी क्षेत्रमा जागिर खान चाहने शिक्षित युवाहरुको संख्या धेरै ठूलो छ । सरकारले वर्षेनी अति सानो संख्यामा युवाहरूलाई जागि दिन्छ । युवाहरूको सरकारी सेवामा जान चाहनुको कारण सेवा, सुविधा तथा समय अनुसार पारिश्रमिकमा वृद्धि हुने भएकाले हो । अर्को, नीतिगतरुपमै भएका विभिन्न प्रावधानका कारण अति रिक्त धेरै पैसा कमाउन सकिनु पनि हो ।
अर्को, अवकाशपछि पाइने पेन्सनको सुविधा पनि हो । ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने निजी क्षेत्रमा तलब नै न्यून छ, समय अनुसार बढ्दैन, बढुवामा कुनै नियम हुन्न, एउटै योग्यता भएका व्यक्तिलाई फरक फरक पारिश्रमिक दिइन्छ । अवकाशपछि कुनै सुविधा हुन्न । समाजवादी दलका नेताको नेतृत्वको सरकारले यतातिर कहिल्यै पनि ध्यान दिएका छैनन् । यस्तो अवस्थामा समाजवादको कल्पना गर्नु नै आफैंलाई व्यंग्य गर्नु हो ।
पछिल्लो समय नेपालमा द्रुत गतिमा शहरीकरण भइरहेको छ तर विपन्न युवाहरूले नेपालको कमाइबाट कुनै पनि शहर तथा शहरोन्मुख क्षेत्रमा बासका लागि घर घडेरी किन्न सक्ने अवस्था छैन । यो कसरी भयो त ? यसको सीधा उत्तर हो राजनीतिक क्षेत्रले चलाएको दलालीकरण ।
राजनीतिक क्षेत्र दलालीमा चुर्लुम डुबेपछि, नेतृत्व तह कमिसनमा लागेपछि शहर तथा शहरोन्मुख जग्गाको मूल्य कति हो कति बढेको छ । राजनीतिक क्षेत्र कमिसन र दलाली करणमा लागेपछि कर्मचारी संयन्त्रले जसो गरे पनि भयो । संरक्षण उही राजनीतिक क्षेत्रले गर्ने भयो । यस्तो अवस्थामा समाजवादको सपना देख्दा के हुन्छ ? यो अवस्था सिर्जना गर्नेमा कांग्रेसको शीर्ष नेतृत्व, एमालेको शीर्ष नेतृत्व तथा माओवादीको शीर्ष नेतृत्व पूर्ण रुपमा जिम्मेवार छन् । शीर्ष नेतृत्व नै नसुधारिई केही पनि हुनेछैन ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार