लोकसेवा तयारी कक्षाकाे नाममा कर्मचारी र जनप्रतिनिधिकै सेटिङमा आर्थिक अनियमितता
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार १८:१:२४
२९ असार, सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले चालू आर्थिक वर्षमा लोकसेवा तयारी कक्षासम्बन्धी गरिएको तालिममा व्यापक अनियमितता गरेको खुलेको छ । नगरपालिकाले नायव सुब्बा र खरिदार पदका लागि लोकसेवा तयारी कक्षासम्बन्धी चलाइएको तालिमको नाममा कर्मचारीहरूले व्यापक अनियमितता गरिएको खुलेको हो।
नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुकै मिलोमतोमा लोकसेवा तयारी कक्षा सञ्चालन लगायतका अन्य कार्यक्रमहरूमा पनि अनियमितता भएको आशंका गरिएको छ । श्री गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेडिङ प्रा.लि. विराटनगर मोरङसँग नगरपालिकाले नायव सुब्बा र खरिदार तहको तयारी कक्षाको लागि भ्याटबाहेक १४ लाख ५२ हजारका दरले २९ लाख ४ हजारमा सम्झौता गरेको छ।
सम्झौता बमोजिम खरिदारमा ६६ र नायव सुब्बामा ६५ जनासहित १३१ जना विद्यार्थी सहभागी रहेको नगरपालिकाको अभिलेखमा उल्लेख भएको छ । तर, विद्यार्थीको सहभागिता भने ५० भन्दा कम रहने गरेका सहभागी प्रशिक्षार्थीहरूले सुनाए। दुई वटा विषयका लागि छुट्टा छुट्टै सम्झौता भए पनि उपस्थित सबै प्रशिक्षार्थीलाई एउटै कक्षामा पढाएर अनियमितता गरेको स्थानीय योगेश सिंहले बताए ।
‘नायव सुब्बा र खरिदारको लागि छुट्टाछुट्टै सम्झौता र बजेटिङ गरेको छ । एउटै कक्षा कोठामा एकै समयमा राखेर पढाउनुले पनि कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा अनियमितता भएको छर्लङ्गै देखिन्छ,’ उनले थपे, ‘सबै ठाउँमा अनियमितता भएको भन्ने हल्ला भयो । हामीले नगरपालिकामा आएर सूचना माग ग¥यौँ । तर, धेरै प्रयासपछि सूचना त पायौँ । तर, त्यो पनि अपूरो पायौँ ।’
सबै विवरण नभएको र सेवा प्रदायक संस्थासँग माग गरेकाले आएपछि उपलब्ध गराउने पत्र आफूहरूलाई दिएको भन्दै उनले भने, ‘यो कस्तो नगरपालिका हो ? जसले बिल भरपाईबिना नै भुक्तानी दियो । यसले पनि अनियमितता भएको प्रस्ट हुन्छ ।’
प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले पनि एकै समयमा एउटै कोठामा राखेर पढाएको स्वीकार गरेका छन् । ‘दुवै विषय करिब करिब मिल्ने भएकाले र सबै विद्यार्थी नियमित उपस्थित नहुँदा खरिदार र नायव सुब्बाको कक्षा एकैपटक एउटै कोठामा चलाएको हो। सेवा प्रदायक संस्थाले एकैपटक चलाउँदा पनि हुन्छ भनेकाले हामीले स्वीकृत दिएका हौँ,’ उनले भने ।
दुईवटा विषय, फरक फरक सम्झौता गरेर एकैठाउँ एकैपटक कक्षा सञ्चालन गर्ने, तर भुक्तानी भने दुवैको गर्दा अनियमितता भएन र ? भन्ने प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत बगालेले यसबारे प्रतिकृया दिन नै चाहेनन् ।
तालिमका सहभागी मिथुन कुमार रामले आफूले पुस्तक, ह्याण्डस्आउट र भेष्ट जस्ता केही सामग्री नपाएको बताए । उनले कक्षा संचालन भएको तीन दिनपछि मात्र गएका भए पनि उपस्थित नभएका दिनहरुको पनि हस्ताक्षर गरेको बताए । उनले भने, ‘म अन्य काममा रहेकाले नियमित कक्षामा जान नसके पनि सबै दिनको हस्ताक्षर गर्न लगाए । यहाँबाट कुनै किसिमको सामाग्री पाएको छैन ।’
अमितकुमार मण्डलले १० दिन जति कक्षामा सहभागी बताए । ‘कार्यक्रममा सहभागी त भएँ । तर, मैले पनि कुनै सामग्री पाइँन । उनले भने, ‘तालिममा करिब १३ दिन सहभागी भए पनि उपस्थितिमा एक महिनाकै हस्ताक्षर गर्न लगाए ।’
हलभाडा ९० हजार देखाए पनि २० हजारमात्र तिरेको छ । बुद्ध महिला सहकारी संस्थाको सभाहलमा प्रशिक्षण चलाएको थियो । सहकारीलाई २० हजारमात्र भाडा बुझाएको स्रोतको दावी छ।संस्थाले प्रशिक्षकहरुको पारिश्रमिक र यातायात खर्च, प्रशासनिक खर्च जसमा किताब, टिसर्ट, कपी कलम, ह्यान्डस आउट, तालिम संयोजक, सहसंयोजकको पारिश्रमिक, सहाभागीहरुको चिया विस्कुट विविध खर्च, मल्टिमिडिया, व्यानर, सरसफाइ, उद्घाटन÷समापन, प्रदिवेदन, सञ्चार, कार्यालय व्यवस्थापन खर्च, हलभाडा, अनुागमन तथा अन्य सम्झौता बमोजिमको रकम गत ११ वैशाखमा भुक्तानीको लागि नियमानुसार सम्झौता र कार्यादेश बमोजिम कार्यक्रम सम्पन्न प्रतिवेदन तथा अन्य आवश्यक कागजात पेस गरेपछि गत २० वैशाखमा भुक्तानी गरियो भन्ने उल्लेख गरेको छ।
युवाहरुले पटक पटक भुक्तानीको प्रक्रिया र भुक्तानी प्रक्रियामा पेस गरेका कागजातहरु माग गर्दा प्रमुख प्रशासकीय अधिकृत बगालेले लोकसेवा आयोगको खरिदार र नासुस्तरको तयारी कक्षाको क्रियाकलाप गत खर्चको विवरण परामर्शदातासँग यस कार्यलयले क्रियातग खर्च विवरण पेस गर्न लेखि पठाइएको हुँदा उक्त संस्थाबाट प्राप्त भएपछि उपलब्ध गराउने भनी पत्रद्वारा नै जानकारी गराएको छ । यसले पनि यो कार्यक्रममा व्यापक अनियमितता भएको पुष्टि हुन्छ ।
यो कार्यक्रम विशेष गरे लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसादको सेटिङमा भएको आरोप लगाइएको छ । कार्यक्रमको बीच उनको सक्रियताले पनि यसप्रति संकेत गरेको युवाहरुको भनाइ छ। स्थानीय युवाहरुले अन्य कार्यक्रम सकिएको महिनौंसम्म चेक नकाट्ने लेखा अधिकृतले यस कार्यक्रम सकेको हप्तादिन नबित्दै भुक्तानी दिनुले पनि सेटिङको आशंका उब्जिएको हो ।
आक्रोशित युवाहरूले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत बगाले र लेखा अधिकृत पुरुषोत्तमसँग कार्यालयमै गएर जानकारी मागेका थिए । उनीहरुले माग गरेको कागजात नदिएसम्म कार्यालय बाहिर जान नदिने भन्दै युवाहरूले दुवै अधिकारीहरूलाई कार्यकक्षमै राखेर धर्ना दिए ।
नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा लोकसेवा तयारी कक्षा संचालन गर्न नगरसभाबाट ३३ लाख ८४ हजार रकम विनियोजन गरेको थियो । सेवा प्रदायक संस्थाले ३१ लख २४ हजार ७०४ रुपैयाँ भुक्तानी पाएको छ । कार्यक्रमका लागि पाँच वटा संस्थासँगको प्रतिस्पर्धामा सबैभन्दा कममा यो संस्थाले कार्यक्रम स्वीकार गरेको भने पनि अन्य संस्थाले पेस गरेको प्रस्तावित योजना विवरण भने कार्यालयले देखाउन चाहेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा लामिछानेसहित ७ जनाको मुद्दामा सरकारी वकिलको बहस सकियो
पुष १७, २०८१ बुधबार
आजदेखि बन्दीपुर भ्रमण वर्ष २०२५ शुभारम्भ
पुष १७, २०८१ बुधबार