प्रधानमन्त्री रोजगार कार्यक्रममा मनपरी, अनुचित कार्यमा स्थानीय तहकै संलग्नता

नेपालबहस संवाददाता
साउन ४, २०८० बिहिबार १५:२३:५०

४ साउन, काभ्रे । काभ्रेपलाञ्चोकका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन गरेका कार्यक्रम सञ्चालन निर्देशिकाविपरीत सञ्चालित छन् । उक्त कार्यक्रमका लागि न्यूनतम रोजगारीको अभाव देखिएको छ ।
यहाँका स्थानीय तहले कार्यक्रम सञ्चालन निर्देशिकाविपरीत दिगोपन तथा दीर्घकालीन रोजगारी सिर्जना नहुने किसिमका ‘खेताला’ प्रवृत्तिले काममा लगाइएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयद्वारा वार्षिक लेखा परीक्षणका क्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गरिएको खर्चबाट लक्षित वर्गमा अल्पकालीन रोजगारी सिर्जना भए पनि ‘कामको दिगोपना र दीर्घकालीन रोजगारी’ सिर्जना गर्न नसकेको उल्लेख छ ।
कार्यक्रम सञ्चालनको करिब छ वर्षको अवधिमा अधिकांश स्थानीय तहले सुरुआती चरणदेखि नै एउटै प्रकृतिको काम लगाइ भुक्तानी गरेको पाइएको महालेखा परीक्षकको कार्यालयका नायब महालेखा परीक्षक एवं प्रवक्ता रविन्द्रप्रसाद देवकोटाले बताए ।
केही स्थानीय तहले कार्यक्रमको लक्ष्यअनुसार श्रमिकको ज्याला बैंक खातामार्फत भुक्तानी गर्नुपर्नेमा त्यसो नगरी उपभोक्ता समितिमार्फत काम लगाई समितिको नाममा भुक्तानी गरेको महालेखाको प्रतिवेदनमा जनाइएको छ । यसले कतिको संख्यामा बेरोजगार व्यक्तिलाई कार्यक्रममा आबद्ध गराइयो भन्ने विवरणसमेत खुल्न नसकेको प्रवक्ता देवकोटाको भनाइ थियो । उक्त कार्यक्रममार्फत कामको दीगोपना र दीर्घकालीन रोजगारी सृजना नभएको उनले बताए ।
हामीले प्रधानमन्त्री रोजगार कार्यक्रमबारे वार्षिक प्रतिवेदनमा सुझाव स्वरूप उल्लेख गर्दै आएका छौँ, प्रतिवेदनमा दीगो खालको रोजगारी नभएको, पैसा छरे जस्तो मात्रै देखिएकाले प्रभावकारी नभएको, कार्यक्रमको पुनरावलोकन गर्नुपर्ने, ठूलो आयोजनामा काम लगाउनुपर्ने लगायत सुझाव दिएका छौँ, कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन स्थानीय तहले स्वयम् नै गर्नुपर्ने देखियो , उनले भने ।
सरकारले बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूति मार्फत नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ (पहिलो संशोधन २०७७) अनुसार प्रत्येक जिल्लाका स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त निर्देशिका अनुसार १८ देखि ५९ उमेर समूहका बेरोजगार व्यक्तिलाई काममा लगाउने व्यवस्था छ ।
कार्यक्रम अन्तर्गत स्थानीय तहमा पदमार्ग निर्माण, नाली निर्माण, सफाइलगायत दिगोपना तथा दीर्घकालीन रोजगारी सिर्जना नहुने काम लगाइएको पाइएको छ । काभ्रेपलाञ्चोका १३ स्थानीय तहले पनि उक्त कार्यक्रम अन्तर्गत स्थानीय तहमा वडास्तरका पदमार्ग निर्माण, सडक मर्मत, नाली निर्माण, नाली सरसफाइ, झाडी फाँड्ने, इनार निर्माण, प्रतिक्षालय निर्माण गर्नेजस्ता काममा लगाइएको पाइएको महालेखा परीक्षकको वार्षिक लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
जिल्लाको रोशी गाउँपालिकाले उक्त कार्यक्रम अन्तर्गत वडास्तरमा मोटरबाटो सरसफाइ, खानेपानी मर्मत, सिँढी निर्माण, कुलो मर्मत, चौतारा निर्माण, सत्तल निर्माणका लागि एक सय ६७ जनालाई खर्च उपलब्ध गराएको जनाएको छ । पालिकाले हालसम्म ३३ योजनामा औसत ६६ दिन तथा कूल ११ हजार २८ दिनसम्म रोजगारी उपलब्ध गराएबापत रु ६६ लाख १४ हजार नौ सय ८९ रुपैयाँ र नौ लाख ४७ हजार आठ सय ६८ खर्च गरेको जनाएको छ ।
यस्तै बनेपा नगरपालिकाले ३८ वटा योजनामा एक सय ४९ लाई औसत ७५ दिनले ११ हजार ६४ दिन रोजगारी उपलब्ध गराई रु ६७ लाख १५ हजार सात सय २८ श्रमिक ज्याला, प्रशासनिक र कार्यक्रम खर्च रु १२ लाख ४३ हजार छ सय ४८ खर्च गरेको छ । नगरले कामदारलाई रु छ सय ८० ले ज्याला भुक्तानी गनुपर्नेमा रु सात सय ६० का दरले भुक्तानी गरेको समेत देखिएको छ ।
महालेखाको प्रतिवेदनअनुसार बेथानचोक गाउँपालिकाले भने निर्देशिकाबमोजिम पूर्वाधार एवं अन्य विकास निर्माणका लागि उत्पादनशील योजना छनोट गर्नुपर्नेमा अधिकांश योजना अनुत्पादक योजना छनोट भएको जनाएको छ ।
गाउँपालिकाका वडामा सिँढी, गोरेटो बाटो, सरसफाइ तथा पर्खाल मर्मतसम्भारको योजना सञ्चालन गरी रू ७६ लाख ९० हजार आठ सय ३३ खर्च गरेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । भुम्लु गाउँपालिकाले नाली निर्माण, सरसफाइ तथा ग्याविन पर्खाल लगाउनेलगायत काममा तीन सय तीनलाई औसत ४० दिनसम्म रोजगारी उपलब्ध गराएर रू ८२ लाख आठ हजार चार सय ८१ भुक्तानी गरेको छ ।
त्यस्तै चौँरी देउरालीले चियाबारी गोडमेल, सडक सोलिङ, सिँढी निर्माणलगायत कामका लागि रू ४८ लाख खर्च गरेको छ । खानीखोलाले सिँढी, गोरेटो बाटो, सरसफाइ तथा पर्खाल मर्मतसम्भारका गरी रू ७३ लाख सात हजार पाँच सय १८ खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महाभारतले सडक नाली, इनार, प्रतिक्षालय निर्माणलगायत ३५ योजनामा एक सय ४० लाई औसत ६९ दशमलव ११ दिन रोजगारी उपलब्ध गराई रू ५५ लाख ८४ लाख पाँच सय ५२ भुक्तानी गरेको छ । तेमालले वडाहरुभित्र सडक नाली, मोटर बाटो, निर्माणलगायत काम सञ्चालन गरी ७१ जनालाई नौ देखि एक सय दिनसम्म काम लगाई रू ३४ लाख ६३ हजार एक सय ६८ खर्च गरेको छ ।
मण्डनदेउपुर नगरले पनि पदमार्ग निर्माण, सडक मर्मत, नाली निर्माणलगायत कार्यक्रम सञ्चालन गरी एक सय १४ जनालाई औसत ४५ देखि एक सय दिनसम्म रोजगारी उपलब्ध गराई श्रमिक ज्याला, प्रशासनिक र कार्यक्रम खर्चबापत रू ६५ लाख ७७ हजार आठ सय खर्च गरेको छ । नमोबुद्ध नगरले सडक नाला, इनार, प्रतिक्षालय निर्माणलगायतका १२ वटा योजनामा ९३ जनालाई प्रतिव्यक्ति एक सय दिनका दरले रोजगारी उपलब्ध गराई रु ५३ लाख ६६ हजार एक सय श्रमिक ज्याला र रु १३ लाख १० हजार पाँच सय २० प्रशासनिक तथा कार्यक्रम खर्च गरेको जनाएको छ ।
पाँचखाल नगरले भने झाडी फाँड्ने, सडक मर्मतलगायतका कार्यक्रम सञ्चालन गरी ७० जनालाई ४० देखि ८१ दिनसम्म रोजगारी उपलब्ध गराई श्रमिक ज्याला, प्रशासनिक र कार्यक्रम खर्च गरी रू ४५ लाख ६१ हजार चार सय २२ भुक्तानी गरेको छ ।
जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रम खेताला प्रवृत्तिमा सञ्चालन हुँदा आलोचनाका विषय बन्दै आएका छन् । निर्देशिकाबमोजिम न्यूनतम रोजगारीसमेतको अभाव देखिएकाले अब कार्यक्रम सञ्चालन हुँदा अनुगमन तथा निरीक्षणतर्फ विशेष ध्यान दिनुपर्ने महालेखा परीक्षक एवं प्रवक्ता देवकोटाले बताए । ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौंमा केही बढ्यो
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार