खास निर्णय बिनै सकियो कांग्रेस केन्द्रीय समिति बैठक
नेपालबहस संवाददाता
साउन १०, २०८० बुधबार २२:३०:४८
१० साउन, काठमाडौं । गत साउन २ गतेबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अपेक्षित निर्णय विनै सकिएको छ । पार्टीको सांगठनिक र समसामयिक विषयमा विभिन्न निर्णय लिँदै कांग्रेस बैठक समापन भएको हो । महासमिति बैठकको तिथि मितिदेखि वार्षिक कार्यक्रमको कार्यतालिका पारित गरेको छ ।
कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने निर्णय गरेको छ । आगामी मंसिर ११, १२ र १३ गते महासमितिको बैठक काठमाडौँमा गर्ने निर्णय छ । २०७८ मंसिरमा १४ औं महाधिवेशनबाट नेतृत्व मात्रै चयन गरेर ६ महिनाभित्र नीति अधिवेशन गर्ने कांग्रेस नेताहरुले बताएका थिए । तीन तहको निर्वाचन र सत्ता राजनीतिको समीकरण व्यस्त हुँदा नीति महाधिवेशन गर्न ढिलाइ भएपछि कांग्रेसले महासमिति बैठकबाटै नीति बनाउने भएको छ ।
सोही अनुसार नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाएको महामन्त्री शर्माले बताए । उनले सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान चलाउने निर्णय गरेको बताए । यसका लागि ७७ जिल्ला र ७५३ स्थानीय तहमा प्रतिनिधि खट्ने छन् । अभियानमा सदस्यता वितरण, तहगत समितिको क्रियाशीलता, यथार्थ विश्लेषण र संगठन सुदृढीकरण तथा सबलीकरणको काम हुनेछ ।
कांग्रेसले साउन २७ मा युवा र जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय र सबै स्थानीय तहमा यो कार्यक्रम चल्नेछ । भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय गरेको छ । कांग्रेस बैठकमा पार्टीका दिवङ्गत नेताको सम्झनामा विभिन्न कार्यक्रम गरेर जनतामाझ जाने कार्यक्रम अगाडि सारेको छ । आगामी भदौदेखि अर्को वर्षको जेठ १५ मा कार्यक्रम घोषणा गरेको छ ।
यस्तै कांग्रेसले उच्छृंकल गतिविधि र सामाजिक विसंगतिजन्य विषयमा संलग्न हुने कार्यकर्तालाई पार्टी सदस्यता अबिलम्ब खारेज हुने निर्णय गरेको छ । बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।
महामन्त्री शर्माका अनुसार विभेद, घरेलु हिंसा या अन्य सामाजिक विसंगतिहरुमा प्रमाणित वा कुनै पनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्ने घटनामा आबद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज हुनेछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलेर पुर्पक्षका लागि कारागार चलान भएका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणका विषयमा कांग्रेस मौन बसेको छ । सात दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकमा खाणको बचाउ र विपक्षमा प्रशस्तै छलफल र बहस भयो, चर्काचर्कीसमेत चल्यो । तर बैठकले खाणबारे कुनै निर्णय गरेको छैन ।
कांग्रेसले बैठकमा छलफलका क्रममा खाणको बचाउमा शक्ति प्रदर्शन गरेको छ । तर निर्णयमा भने दोषीलाई उम्किन दिन नहुने भन्दै फेस सेभिङमा उत्रिएको छ । महामन्त्री गगनकुमार थापाले भने भ्रष्टाचारको अभियोग लागेका खाणलाई पार्टीको सदस्यबाट निलम्बन गर्नुपर्ने र अनुसन्धानका लागि सहयोग पु¥याउनुपर्ने भन्दै पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
केन्द्रीय कार्यसमिति बैठकमै लिखितरुपमा फरक मत राखेका थापाले निर्णयमा पनि फरक मत दर्ता गराएका छन् । बैठकले सरकारले थालेको भ्रष्टाचार नियन्त्रण र सुशासनको कदममा साथ र समर्थन रहेको जनाएको छ । तर खाणमाथि कारबाही वा बचाउबारे बोलेको छैन । बैठकमा खाणको बचाउमा खुलेआम उत्रिएका कांग्रेस नेताहरूले निर्णयमा भने मध्यमार्गी बाटो रोजेका छन् ।
कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन नै कांग्रेसले ल्याएको स्मरण गर्दै भ्रष्टाचारमा शून्यसहनशीलताको नीति अवलम्बन गर्ने जनाएको छ । बैठकपछि पार्टीका प्रवक्ता एवम् सरकारका अर्थमन्त्री प्रकाशशरण महतले पार्टीले भ्रष्टाचार जघन्य अपराधको रुपमा रहेको भन्दै दोषीलाई कारबाही हुनुपर्ने निर्णय गरेको बताए ।
‘कोहीमाथि आरोप लाग्छ भने त्यसबारे अदालतले छानबिन गर्छ । दोषीलाई कानुनबमोजिम कारबाही हुन्छ,’ उनले भने, ‘अभियोग लाग्दैमा दोषी भएको भन्दै प्रमाणित भएको मान्न मिल्दैन ।’ कांग्रेस बैठकमा पार्टीका महामन्त्री थापा र केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले खाणको नामै लिएर अभियोग लागेपछि पार्टीको सदस्यबाट निलम्बन गर्नुपर्ने माग गरेका थिए भने संस्थापनइतर पक्षका अन्य केही नेताहरूले सांकेतिकरुपमा कारबाहीको माग गरेका थिए । जबकि सहमहामन्त्री महेन्द्र यादव, डिना उपाध्यायसहित दर्जनौं केन्द्रीय सदस्यहरूले खाणको बचाउमा पार्टीले वकालत गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
सो प्रकरणमा खाण पक्राउ परेलगत्तै कांग्रेसमा विवाद सुरू भएको थियो । महामन्त्री थापाले खाणलाई कारबाही गर्नुपर्ने प्रस्ताव ल्याउँदा केन्द्रीय कार्यसमिति बैठक दुई महिनासम्म टारेका सभापति देउवाले अन्तिममा त्यही विषयमा डिफेन्स गर्न केन्द्रीय समिति लाइभसमेत गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार