‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १३:४३:९
१८ साउन, बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।
केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उदाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए । “जस्तापाता पूरै उदाएको छ, स्थानीय तहलाई जस्तापाताका लागि भनेका छौँ तर केही सुनुवाइ भएको छैन”, उनले भने, “विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ ।”
कोरोनाका समयमा निर्माण सुरु गरिएको दुई कोठे भवन हालसम्म सम्पन्न नभएको बताउँदै विष्टले विद्यार्थीलाई निर्माणाधीन उक्त भवनमा बसालेर पठनपाठन गराइरहेको जानकारी दिए । उनका अनुसार भवनमा सिलिङ हालिएको छ भने प्लास्टरलगायतको काम बाँकी छ ।
“न ढोका छ, न झ्याल, पानी आउँदा सबैभित्र आउँछ, किताब कापी सबै भिज्छ”, कक्षा ६ मा अध्ययनरत सन्दीप भट्टले भने, “भुइँमा पनि ठूला-ठूला ढुङ्गा मात्रै छन्, हामीलाई बस्नलाई निकै समस्या छ ।” हावाले उदाएको जस्ता फेर्न स्थानीय तहले आनाकानी गरेपछि स्थानीय बासिन्दा जुटेर विद्यालयको छाना निर्माण गर्न थालेका छन् ।
पठनपाठनमा निकै समस्या हुँदा पनि स्थानीय सरकारले चासो नदेखाएपछि श्रमदानमा विद्यालयको छाना निर्माण गर्ने काम भइरहेको प्रधानाध्यापक विष्टले बताए । विद्यालय नजिकै खोला र राष्ट्रिय निकुञ्ज भएको जानकारी दिँदै उहाँले यसरी अव्यवस्थित तरिकाले पठनपाठन गराउँदा दुर्घटनाको जोखिम बढेको बताए । उनका अनुसार वर्षाका समयमा खोलामा पानीको बहाव बढेर विद्यालयका कक्षाकोठा पस्ने गरेको छ ।
“खोलाको पानी कक्षाभित्र आएर कोठा जलमग्न हुन्छ, हामी कहाँ बसेर पढ्ने ?” विद्यार्थी वर्षा ओडले भने, “विद्यालयको पर्खाल नहुँदा स-साना विद्यार्थी खेल्दा खेल्दै खोलामा खस्ने डर छ ।”
नजिकै राष्ट्रिय निकुञ्ज हुनाले वन्यजन्तु पनि विद्यालय परिसरमा भित्रिन सक्ने सम्भावना रहेकाले पर्खाल निर्माण गर्नु आवश्यक रहेको प्रधानाध्यापक विष्टले बताए । “विद्यालयमा शिक्षक पनि कम छौँ, स-साना विद्यार्थी नजिक रहेको खोलामा खसेर डुब्ने जोखिम छ”, उनले भने, “खोलाको पानी कक्षामा पसेर पढाइ प्रभावित हुने गरेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
प्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार