शेखर कोइरालाले भने : भ्रष्टचारी खोज्दै कि जोगाउँदै छ सरकार ?
![भेषराज पोखरेल](
https://nepalbahas.prixacdn.net/media/albums/Bheshraj_Pokhrel_PTlWJzLT9K.jpg
)
भेषराज पोखरेल
साउन २०, २०८० शनिबार १३:५१:७
![](https://nepalbahas.prixacdn.net/media/albums/bhesraj_ydeYdNhArx_1MkUBMmiq6.png)
माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारीलाई नछाड्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीको केन्दीय समितिको बैठकमा कड्केर भनेका छन्, परे सरकार छाडिन्छ तर भ्रष्टाचार र सुशासनको अभियान छाडिन्न । उनले नक्कली भूटानी प्रकरण, बालुटार जग्गा प्रकरणको फाइल अगाडि ल्याइएको र अब भ्रष्टाचारका अरु पनि फाइल खोल्ने भन्दै गर्दा यी प्रकरण शिथिल बन्दै गएजस्तो देखिएका छन्
। यही बेला तस्करको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालले एक सय किलो भन्दा बढी सुन त्रिभुवन विमानस्थल भन्सारबाट उम्काएपछि सो सुन पक्रिएको छ । यसको खोजबिन राजस्व अनुसन्धान विभागले गर्दै छ । यसको छानबिनबाट विमानस्थल भन्सार प्रमुखसहित केही कर्मचारी र सुन बोक्ने भरियाहरु मात्रै समाइएका छन् । अहिलेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तस्कर समूहको संलग्नतामा भएको यत्रो ठूलो घटनामा मुख्य नाइकेसम्म सरकारी संयन्त्र पुग्न सकेको छैन ।
यही बेला सरकारप्रति भ्रष्टाचार छानबिनलाई लिएर गम्भीर प्रश्न उठ्न थालेका छन् । प्रतिपक्षी दल एमालेले यसलाई संसदीय छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्छ भनेको छ । कांग्रेस संस्थापनइतर नेता शेखर कोइरालाले यो घटानामा उच्च राजनीतिक संलग्नता हुनसक्ने भन्दै छानबिनप्रति शंका व्यक्त गरेका छन् । सर्वसाधारण जनताले पनि यी घटना राजनीतिक शीर्ष नेताकै संलग्नता हुनसक्ने आशंका गरेका छन् । यी आशंका सरकारले मेट्ने प्रयास गर्ला कि भ्रष्टाचार काण्ड स्टण्डको रुपमा अगाडि ल्याउने र केही सामान्यलाई पक्रेर फासफुस पार्ने होला ? शंका गर्ने ठाउँ प्रशस्त छन् ।
एक क्विन्टलभन्दा धेरै तस्करीको सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिँदा विदेश भ्रमणमा रहेका एमाले अध्यक्ष केपी ओलीले नेपाल ओर्लिनेबित्तिकै गृहमन्त्रीको संलग्नता नभई यत्रो काण्ड हुन सक्दैन भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने वक्तव्य दिए । उनले माओवादी नेतृत्वको सरकारले राजनीतिक स्टन्टबाजीका लागि भ्रष्टाचारको छानबिनको नाटक गरेको पनि भने । उनले सुन काण्डकै प्रसंगमा आएका नामप्रति आक्रोश पोख्न पनि भ्याए । पछिल्लो समय एमालेले संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्दै संसद अवरुद्ध गरिरहेको छ ।
अन्तराष्ट्रिय तस्करसमेत जोडिएको यस्तो डरलाग्दो तस्करीको काण्डलाई जिम्मेवार गृहसंयन्त्रबाट राजनीतिक संयन्त्रतिर मोड्न दबाब दिइरहेका छन् । पछिल्लो समय कांग्रेस संस्थापनइतर समूहका नेता शेखर कोइरालाले यो घटनाको छानबिनमा गम्भीर आशंका व्यक्त गरेका छन् । उनले भ्रष्टाचारका घटना जब सक्रिय रुपमा छानबिन हुन थाल्छन् तब तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रका सभापति र अध्यक्षहरुले मिटिङ गर्छन् । त्यसपछि छानबिन शिथिल हुने गरेको बताएका छन् ।
अहिले तीन नेताहरुको मिटिङ बस्न थालेको बताएका छन् । उनले यो घटनामा पनि जब ठूला नेताको नाम आउँछ तब सामसुम हुने बताएका छन् । उनले राजस्व अनुसन्धान विभागका महानिर्देशक केही दिनअघि प्रधानमन्त्रीका निजी सचिव भएको बताएका छन् । उनले सुन काण्डको अनुसन्धान गर्ने व्यक्ति नै पहिले प्रधानमन्त्रीको निजी सचिव भएकाले प्रधानमन्त्रीमाथि प्रश्न उब्जिएको बताएका छन् । यो सुन तस्करीको घटना राजस्वले मात्रै अनुसन्धान गर्ने तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट नगराउनु अचम्मको विषय भएको बताएका छन् ।
राजस्व अनुसन्धान विभागले यो घटनालाई पैसाको मामला मात्रै भनेको छ । यस्तो कसुर हेर्न राजस्व अनुसन्धान विभालाई कानुनले स्पष्ट अधिकार दिएको बताएको छ । विज्ञहरुले भने यसलाई प्रशासनिक, व्यापारिक तथा अन्तर्राष्ट्रिय गिरोहलाई कारबाही गर्न प्रहरी अनुसन्धान नै आवश्यक रहेको बताएका छन् । सुन तस्करीमा संगठित अपराध, अन्तर्देशीय अपराध तथा आतंकवाद लगायतका विषय पनि जोडिने भएकाले प्रहरीको अनुसन्धान आवश्यक रहेको गृह स्रोतको पनि भनाइ छ ।
अनुसन्धानको दायरा राजस्व अनुसन्धान विभागमा मात्रै सीमित गर्दा वास्तविक अपराधीसम्म नपुगिने र भरिया र एजेन्ट मात्रै पक्राउ पर्ने अवस्था आउने बताएको छ । सजायको मात्रामा पनि कमी हुने बताएको छ । अहिलेसम्म तीनजना विदेशी नागरिक, एकजना भन्सार अधिकृत र तीनजना एजेन्टसहित १७ जना पक्राउ परेका छन् ।
भ्रष्टाचार नियन्त्रण गर्ने र अहिलेसम्म बाहिर आएका भ्रष्टाचार तथा अपराधका काण्डहरुको छानबिनलाई टुंगोसम्म पुर्याउने हो भने कांग्रेस नेता शेखर कोइरालाको प्रश्न र आशंकालाई गम्भीर रुपमा लिनु आवश्यक छ । एमाले अध्यक्ष केपी ओलीको पालामा भ्रष्टाचार तथा अनियमितताका घटना जति बाहिर आए ती सबै त्यत्तिकै साम्मेसुम्मे भएर गए । अहिले पनि दाहालले जति गफ लगाए पनि नक्कली भूटानी प्रकरण, बालुवाटार काण्ड तथा पछिल्लो सुन काण्डका अनुसन्धान क्रमशः कमजोर बन्दै गएको देखिएको छ ।
कोइरालाले भनेजस्तै दलहरुको नाम आउनेबित्तिकै देउवा ओली र दाहालको मिटिङ बसेर त्यत्तिकै साम्य पार्ने अवस्था आउनु देशकै लागि घातक कुरा हो । अहिलेको राजनीतिक संयन्त्र नै दलालीकरणमा आधारित भएकाले सत्ता र त्यसको वरिपरि रहने शीर्ष नेतृत्व दलाल, तस्कर तथा भ्रष्टाचारीहरुको संरक्षणको पक्षमै देखिएका छन् । ओली, देउवा तथा दाहाल सबैले दलालहरुको संरक्षण गर्दै आएकाले यी प्रकरणमा संलग्नहरुले पनि संरक्षण पाउने आशंका जनतामा छ । यी प्रकरण पनि दलालीकरणसँग जोडिएरै आएका हुन् । यो अवस्थामा यसको समाधान के होला त ? दलमा आफ्नो पकड र दह्रो राजनीतिक घेरा बनाएर बसेकाले यिनीहरुले कसैले भन्दैमा टेर्ने छैनन् । उनीहरुका कार्यको बचाउ त्यही बलियो नेताहरुको घेराले गरिरहन्छ र गरिरहने छ ।
यस्तो अवस्थामा दलभित्रका सचेत नेताहरुले प्रमाणसहित दह्रोसँग यस्ता विषय उठान र विरोध दुवै गर्न सक्नुपर्छ । अर्को, स्वतन्त्र रुपले लागिरहने बौद्धिक जगत, लेखक, पत्रकारहरुलाई सहयोग गरेर यस्तो अभियानलाई अघि बढाउन प्रयास गर्नुपर्छ । प्रजातान्त्रिक तथा वामपन्थी बुद्धिजीवी भनिनेहरुले यस्ता कुरामा नेतृत्वप्रति दह्रोसँग औंला ठड्याउन सके केही हुन सक्थ्यो तर तिनीहरुले नेतृत्वको विरोमा आवाज उठाउने हिम्मत छैन, तिनबाट केको आशा गर्न सकिएला ? नीति गत भ्रष्टाचार जटिल हुन्छन् तर पनि लागिरहने हो भने नहुने कुरा छैन ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपसांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
शपथ खाएर झुटो बोलेको भन्दै सिंगापुरका सांसदलाइ १४ हजार डलर जरिवाना
फागुन ६, २०८१ मंगलबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार