सरकारले प्रतिशोध साध्न सांसद शर्मालाई पक्राउ गरेको कांग्रेस नेताको ठहर, संसदबारे बोल्न देउवालाई आग्रह
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १६:३४:१६
२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले सांसद सुनील शर्मालाई सरकारले प्रतिशोध स्वरूप पक्राउ गरेको बताएका छन् । सुन तस्करी प्रकरणमा आवाज उठाएकै कारण यसको प्रतिशोध साध्न गृहमन्त्रीको आदेशमा कांग्रेस सांसद शर्मालाई पक्राउन गर्न लगाइएको उनीहरूको भनाई छ । शुक्रबार बसेको संसदीय दलको बैठकमा सांसद सुनील शर्मा पक्राउ गरेको विषयले प्रवेश पाएको हो ।
नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले सांसद शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेका थिए । कांग्रेस सांसदहरूले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरुकै संलग्नता रहेको आशंका पैदा भइरहेकामा घटनाक्रमले त्यसलाई थप पुष्टि गरिरहेको समेत बताएका छन् । सांसद चन्द्र भण्डारीले सुनील शर्मालाई पक्राउ गरिएको प्रति आपत्ति जनाए । उनले शर्मालाई पक्राउ गरेर राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाए ।
उनले बैठकमा भने, ‘जसको शक्ति त्यसको भक्ति भन्ने अब चल्दैन । सुनील शर्मालाई थुन्नुपर्छ भन्ने छैन । मैले प्रधानमन्त्री र सीआईबी प्रमुखलाई यो गलत भयो भनिसकेको छु । तत्कालीन अवस्थामा नवराज सिलवालले त्यसलाई अघि नबढाउने भनिसकेका छन् । बन्द गरिसकेको कुरा फेरि निकालेर कसैसँग प्रतिशोध साँध्नु गलत हो ।’ उनले ललितानिवास प्रकरणको उदाहरण दिँदै शर्मालाई पक्राउ गर्नु गलत भएको दाबी गरे । भण्डारीले देशमा यति धेरै लुटपाट र भ्रष्टाचार हुँदा हुँदै सकिसकेको मुद्दामा राज्य एउटा व्यक्तिको पछि प्रतिशोध साँध्न लाग्नु गलत भएको बताए ।
बैठकमा सांसद उदयशम्शेर राणाले माधव नेपाललाई विदेश पठाएर कांग्रेसका नेतालाई छानिछानी धरपकड गर्ने भन्दै सरकारलाई प्रश्न गरे । दलको बैठकमा सांसद प्रदीप पौडेलले सरकारले असल नियतले भ्रष्टाचारको फाइल खोल्दा त्यसमा सबै दलको समर्थन हुनुपर्ने बताए ।
उनले, ‘भ्रष्टाचारका फाइलहरू इमान्दारीपूर्वक खोलिएको हो भने त्यसमा सबैको साथ सहयोग हुनुपर्छ । तर अमुक पार्टीको मान्छे पर्यो भने कारबाही गर्ने, तर आफ्नो पार्टीको पर्याे भने कारबाही नगर्ने भन्ने भयो भने असहज हुनसक्छ । अहिले विभिन्न प्रकरणमा ज–जसको नामहरू आइरहेको छ, ती मान्छेलाई किन छानबिनको दायरामा ल्याउने कोसिस भइरहेको छैन ? र अर्को दलको मान्छे पर्दा त्यहाँ सरकार कसरी प्रस्तुत भइरहेको छ ? भन्ने कुराले आशंका पैदा गर्छ ।’
उनले सबै भ्रष्टाचारका काण्डहरूको छानबिन हुन पर्ने तर सरकारले निष्पक्षता कायम राखेर छानबिन गर्न सक्नुपर्ने बताए । पौडेलले संसद सत्तापक्ष र प्रतिपक्षको असमझदारीको बन्धक बनेको बताए । ‘आम नागरिकका बीचमा संसदको गरिमा र मर्यादा कायम भएको छैन । यहाँ जुँगाको लडाइँ चलिरहेको छ,’ उनले भने, ‘यसले संसदको समय बर्बादमात्रै भइरहेको छ । देशमा यत्रा महामारी फैलिएका छन् । अर्कोतिर विपद्को चपेटा छ । यस्तो बेला नागरिकको सरोकारको विषयमा छलफल गर्नुको सट्टा संसदलाई बन्धक बनाएर राख्नु राम्रो होइन ।’
उनले कांग्रेस सुन तस्करीका विषयमा समेत छानबिन हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । ‘सुन तस्करीको विषयमा छानबिन हुनुपर्छ । यसबारे गम्भीर भएर छानबिन हुनुपर्छ, दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । तर त्यहीकारण संसदलाई बन्धक बनाइराख्न मिल्दैन,’ पौडेलले भने, ‘अहिले कुरा नमिलेको छानविन कसरी गर्ने भन्ने विषयमा मात्रै हो । प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भनिरहेको छ, हामी सरकारका अंगहरूले नै छानबिन गरेर निष्कर्षमा पुग्न सकिन्छ कि भनिरहेका छौँ ।’ उनले सांसदहरूकै संलग्नतामा अलग्गै समिति बनाउनुभन्दा संसदमा पहिल्यैदेखि रहेका संसदीय समितिहरूमाार्फत छानबिन अघि बढाउनुपर्ने बताए ।
अर्का सांसद अर्जुननरसिंह केसीले सुन तस्करीको छानबिनलाई डाइभर्ट गर्न सरकारले त्यसबारे आवाज उठाइरहेका सांसद शर्मालाई पक्राउ गरेको आरोप लगाए । ‘सुनील शर्माले कति गलत गरेका हुन् ? त्यो अनुसन्धान भएर कारबाही गर्नुपर्ने, नपर्ने छुट्याउने दायित्व पनि सरकारकै हो । तर उहाँ सुन तस्करीका विषयमा सरकारप्रति औंला उठाइरहेका व्यक्ति हुन्, यसकारण अहिले जुन ढंगले उहाँलाई पक्राउ गरियो, यो प्रतिशोध साँधेर गरेर गरिएको हो भन्ने प्रस्ट छ,’ उनले भने, ‘यसले सुन तस्करीलाई राफसाफ पार्नका लागि, यसलाई डाइभर्ट गरेर अर्कोतिर लैजानका लागि गरिएको हो कि भनेर आशंका पैदा भएको छ ।’
उनले प्रतिपक्षको मागलाई नसुनेर संसदलाई अवरोध पारि राख्नुभन्दा उच्चस्तरीय छानबिन समिति बनाएर सुन तस्करीको जरोसम्म पुग्नुपर्ने बताए । ‘मैले त यदि यो प्रकरणलाई नामेट पार्ने हो भने उच्चस्तरीय न्यायिक छानबिन आयोग नै गठन गरौँ भन्ने प्रस्ताव गरेको छु । त्यसमा सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरुको संलग्नतामा बनाउन सकिन्छ,’ उनले भने, ‘यो सत्तापक्ष वा प्रतिपक्षको विषय होइन । हामीकहाँ यस्तो लुटेर खाने कुरामा सत्तापक्ष, प्रतिपक्ष भनेर दुरी बनाएर बस्ने चलन नै छैन, खाने बेला सबै मिलिहाल्छन् । हिजो ३३ केजी सुनकाण्ड आयो, १ केजी सुन फेला परेन । अहिले १०० केजी समाइएको छ, तर यसको जरोसम्म पुग्ने कुरालाई डाइभर्ट गर्न खोजिन्छ भने त्यो मान्य हुँदैन ।’
उनले सुन तस्करीका विषयमा मन्त्रीहरूको कनेक्सनबारे बोल्दा शर्मालाई समातिएको दाबी गरे । ‘यो २७ वर्षपछि मुद्दा उठाउनुपर्ने सान्दर्भिकता कहाँबाट आयो ? उहाँ कति दोषी हो ? कारबाही गर्नुपर्ने अवस्था हो कि होइन ? त्यो पनि अनुसन्धानकै कुरा हो । तर अहिले उहाँलाई प्रतिशोधात्मक ढंगले यो काम भएको छ,’ उनले भने । संसदीय दलको बैठक आइतबार फेरि बस्ने गरी स्थगित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार