भौतिक पूर्वाधारतर्फका राष्ट्रिय गौरवका आयोजनामा अरबौ खर्च, समयमा काम नहुँदा लागत बढेको बढै
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १७:१५:२४
२६ साउन, काठमाडौं । विकासको पनि विकासका रुपमा लिइने भौतिक पूर्वाधारअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित रुपमा सन्तोषजनक नभएको पाइएको छ । एकाध आयोजनाको प्रगति राम्रो भए पनि अधिकांश आयोजना सम्पन्न हुन अझै केही वर्ष लाग्ने देखिएको छ ।
सरकारले नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजना समयमा पूरा नहुँदा लागत र समय दुवै बढेको छ । यसबाट नागरिकले अपेक्षित लाभ लिन सकेका छैनन् भने सरकारले अन्य महत्वपूर्ण आयोजनासमेत सुरु गर्न सकेको छैन ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहत विभिन्न छवटा राष्ट्रिय गौरवका आयोजना छन् । ती आयोजना समयमै सम्पन्न हुन नसक्दा राज्यको दायित्व हरेक वर्ष बढ्दै गएको छ । सो मन्त्रालय मातहत रहेको कालीगण्डकी करिडोर (बेनी– जोमसोम योजना) आयोजना आव २०७३÷७४ मा सुरु भएको हो । सो आयोजना आव आव २०८१÷८२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको कूल लागत रु १० अर्ब ५७ करोड बराबर छ । हालसम्मको भौतिक प्रगति ७३ प्रतिशत बराबर छ । बाँकी रहेको एक सय दुई किलोमिटरमा कालोपत्रका लागि ठेक्का व्यवस्थापन हुन अझै बाँकी छ । दुईवटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छ । आयोजनामा कूल पुल संख्या ३२ वटा छन् । सडकखण्डमध्ये एक सय किलोमिटर कालोपत्र भएको छ ।
यस्तै, कर्णाली करिडोर हिल्सा सिमीकोट सडक आव २०६९÷७० देखि सुरु भएको हो । आयोजना आव २०८३÷८४ मा सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत रु ६ अर्ब ६६ करोड बराबर छ । हालसम्मको भौतिक प्रगति मात्रै २४ प्रतिशत बराबर छ । वित्तीय प्रगति २० दशमलव २१ प्रतिशत बराबर छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उत्तर दक्षिण राजमार्ग कालीगण्डकी करिडोर गैडाकोट राम्दी मालढुङ्गा खण्ड आव २०६६÷६७ मा सुरु भएको हो । सो आयोजना आव २०८३÷८४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत रु २५ अर्ब २२ करोड बराबर छ । हालसम्मको भौतिक प्रगति मात्रै ४५ प्रतिशत बराबर छ । त्यस्तै, वित्तीय प्रगति ४३ प्रतिशत बराबर छ । सो आयोजनामा कूल ५७ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म ३० वटा सम्पन्न भएका छन् । यस्तै २७ वटा निर्माण हुन बाँकी छ । सो सडकखण्ड कूल दुई सय ४५ किलोमिटर रहेकामा एक सय ७७ किलोमिटर बराबर कालोपत्र भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उत्तर दक्षिण कोशी सडक योजना खाँदबारी किमाथांका आव २०६५÷६६ देखि सुरु भएको हो । सो आयोजना आव २०८३÷८४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत रु ११ अर्ब ९३ करोड बराबर छ । हालसम्मको भौतिक प्रगति ४२ प्रतिशत र वित्तीय प्रगति ४२ प्रतिशत छ । सो आयोजनामा कूल २१ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म ११ वटा मात्रै पूरा भएको छ । आयोजना कूल एक सय ६२ किलोमिटर रहेकामा आव २०७९÷८० को अन्त्यसम्म ७४ किलोमिटर मात्रै ग्राभेल भएको छ ।
हुलाकी राजमार्ग आव २०६६÷६७ देखि सुरु भएको हो । सो आयोजना चालु आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कार्यप्रगति सन्तोषजनक नभएपछि आव २०८३÷८४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो आयोजनाको लागत रु ६५ अर्ब २० करोड बराबर छ । सो आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत र वित्तीय प्रगति ९१ प्रतिशत बराबर छ ।
हालसम्म रु ५९ अर्ब ६५ करोड बराबर खर्च भएको छ । आयोजनामा कूल दुई सय ५० पुल निर्माण गर्नुपर्नेमा एक सय ३२ वटा सम्पन्न भएका छन् । हालसम्म एक हजार ३९ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । कूल एक हजार आठ सय ५७ किलोमिटर निर्माण गर्नुपर्नेछ । यस्तै, कूल एक सय ६७ दशमलव पाँच किलोमिटर सडकखण्ड र ५० वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी रहेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पुष्पलाल मध्य पहाडी राजमार्ग आव २०६४÷६५ मा सुरु भएको हो । आयोजना आव २०७९÷८० सम्पन्न गर्नुपर्ने भए पनि निर्माण पूरा नभएपछि आव २०८४÷८५ सम्म लम्ब्याइएको छ । आयोजनाको कूल लागत रु ८४ अर्ब ३३ करोड बराबर छ । हालसम्म भौतिक प्रगति ७२ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ७६ दशमलव ८० प्रतिशत बराबर छ । हालसम्म आयोजनामा रु ६४ अर्ब ७६ करोड बराबर रकम ‘मोबिलाइजेसन’ पेस्कीसमेत गरेर खर्च भएको छ । सो आयोजनामा कूल एक सय ३७ पुल निर्माण गर्नुपर्नेमा हालसम्म एक सय दुईवटा निर्माण भएको छ ।
आव २०७९÷८० को अन्त्यसम्म एक हजार चार सय दुई किलोमिटर बराबर सडक निर्माण पूरा भएको छ । सो आयोजनाको कूल लम्बाइ एक हजार आठ सय ७९ किलोमिटर छ । यस्तै, एक सय १६ किलोमिटर सडक र १५ वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छ । राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति गत आर्थिक वर्षभन्दा बढी भए पनि पूर्णरुपमा सन्तोषजनक नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अघिल्लो आवभन्दा गत आवको प्रगति राम्रो भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
पुष ८, २०८१ सोमबार
गरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार