प्रचण्डलाई धर्मसंकट : नारायणकाजीको राजीनामा कि सरुवा ?
कुसुम सेञ्चुरी
साउन २८, २०८० आइतबार २३:११:५८
२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेताहरु मात्रै छानी छानी पक्राउ गरेको आरोप लागेका नारायणकाजी श्रेष्ठको राजीनामा वा सरुवाको प्रस्ताव गठबन्धन दलभित्र जोडतोडले उठेको छ । कांग्रेसका सांसदहरुले श्रेष्ठको राजीनामा वा अर्को मन्त्रालयमा सरुवा नगरे यही गठबन्धनमा माओवादीलाई साथमा लिएर जान नसकिने विषयले प्राथमिकता पाएको हो ।
प्रधानमन्त्रीका पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हरेक दिन भ्रष्टाचारका फाइल खोल्ने र कसैलाई नछाड्ने दोहोर्याउँदै आएको भएपनि आफ्नालाई छानीछानी जोगाउने र कांग्रेसका नेताहरूलाई मात्रै फसाउने गरी अभियान नै चालेपछि गठबन्धनभित्र समस्या उत्पन्न हुन थालेको हो ।
तत्कालीन उपप्रधानमन्त्री, गृहमन्त्री बहालवाला सचिव पक्राउ गरेर हिरोइज्म कमाएको र उनीहरूको पक्राउपछि उत्साही भएका उनीहरूले ९ किलो सुन तस्करीमा जोडिएका पूर्व सभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलमाथि अनुसन्धान नगरी उन्मुक्ति दिएपछि गठबन्धन दलको मूख्य घटक कांग्रेस सन्तुष्ट छैन ।
करिब सय किलो सुन तस्करीमा मुछिएका दावा छिरिङको कनेक्सन तत्कालीन उपराष्ट्रपति र उनको परिवारसम्म पुग्दा पनि अनुसन्धान गर्ने कुनै सुरसार छैन । करिब ९ करोड सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनमा किटान हुँदा पनि उनीहरूमाथि मुद्दा दर्ता नगर्नुले कांग्रेस एमाले नेताहरूलाई बयानको आधारमा जेल हाल्ने माओवादीका नेताहरूलाई छुँदै नछुने र उन्मुक्ति दिने प्रपञ्च गरिएपछि गृहमन्त्री श्रेष्ठको नियतमाथि प्रश्न उठाइएको छ ।
इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक ली हानसङसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई लगातार फोन गरेको तथ्य सीआईबीले स्थापित गरेको छ । सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहीबाट बेच्ने सञ्जालमा महरा बाबुछोरा नाम उल्लेख गरिएको छ । प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छायाँमा पारेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गर्दा उनीहरूलाई राजनीतिक उन्मुक्ति दिलाइयो ।
गत पुस १० मा दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङको लगेजमा ७३ बट्टामा ७३० थान भेप भेटिएको थियो । एकै पटक यति धेरै परिमाणमा भेप आएको भन्दै विमानस्थल भन्सारले शंकामा राख्यो । भेपमा सुन भएको भेटेपछि त्यसलाई लिलाम नगरी भन्सारका कर्मचारीहरूको मिलेमतोमा बेचिएको थियो । तर त्यो बेच्नु अघि नै महरा बाबु छोरोले त्यसलाई छाड्न पटक पटक दबाब दिएको खुलेको छ । सिआइबील एक चरणको अनुसन्धान सकेर मुद्दा दायर गरे पनि पूर्व सभामुख र उनका छोरामाथि थप अनुसन्धान गरेको छैन । बयानमा समेत बोलाएको छैन । जब कि सुन तस्करी तथा बिक्रीको जालो राहुल मात्र होइन, स्वयम् कृष्णबहादुर महरा जोडिएको प्रहरी प्रतिवेदनमा स्पष्ट उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, ‘मिसिलमै संलग्न कल डिटेल रेकर्ड (सीडीआर) प्रतिवेदनअनुसार सुन ल्याउने समूहमा रहेका चाइनिज नागरिक ली हानसाङ , दाओजिन वाङ, उनका चालक लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरा समेतको सम्पर्क, कृष्णबहादुर महरा र मुक्तिप्रसाद श्रेष्ठ आपसी सम्पर्कमा रहेको तथा यो समूहले सुन बेचबिखन गर्ने समूहसँग पनि सम्पर्कमा रहेको र निजीहरू आ–आफ्नो आपराधिक जिम्मेवारी बमोजिम खटिएको देखिएको भएपनि प्रहरीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबाबमा छुटाइएको थियो । पछिल्लो पटक बरामद भएको करिब सय किलो सुनमा पनि पूर्व उप राष्ट्रपति पुन परिवारसँग निकट देखिएका र माओवादीका अन्य नेताहरूसँग निकट देखिँदा पनि उनीहरूलाई बयानमा बोलाउने वा सम्पर्क कुनै प्रयास गरिएको छैन ।
भेप प्रकरणपछि बाहिरिएको क्विन्टल सुन प्रकरणमा पनि माओवादी नेताहरूमाथि प्रश्न उठेको छ । पछिल्लो सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, उनका छोरा दीपेश पुन, माओवादी उपमहासचिव वर्षमान पुन र उनकी पत्नीसमेत रहेकी पूर्व सभामुख ओनसरी घर्तीसँग चिनजान देखिएको छ । वर्षमान पुनले रोल्पाली ज्वाई भएकाले भेटघाट गरेको बताएका छन् । तर पूर्व उपराष्ट्रपति पुनको परिवारले केही बताएका छैनन् ।
वर्षमान पुनले सँगै खाना खाएको र फोटो खिचाएकै आधारमा कारोबारमा समेत संलग्न भएको भन्नु अन्याय हुने भन्दै नेता सम्पूर्ण अनुसन्धान गर्न र दोषी सबैलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन । तर पनि प्रहरी र अनुसन्धान गर्ने निकाय मौन देखिएको छ । दावाले रोल्पाकी अमला रोकासँग विवाह गरेर नेपालमै तस्करीको सेल्टर बनाएको देखिन्छ । यही नाताबाट नेपालमा अपराधको जालो फैलाएका दावाले तस्करीको धन्दा चलाउनकै लागि फर्जी विवरण पेस गरेर दोहोरो नागरिकता र राहदानी लिएको देखिन्छ । अमला माओवादीनिकट भएको र तस्करीमा संलग्न दावाको सम्पत्ति व्यवस्थापनका लागि उनलाई प्रयोग गरिएको अनुसन्धान संलग्न रहेका अधिकृतहरूले दावी गरेका छन् । यद्यपि उनीहरूमाथि कुनै कारबाही प्रकृया अघि बढाइएको छैन ।
सत्ता गठबन्धनभित्र जसपालाई पनि उत्तिकै चिढ्याइएको छ । गौर हत्याकाण्ड ब्यूँझाउने विषयमा गृह मन्त्रालयले आन्दोलनकारी पक्षसँग सहमति गरेपछि सरकारसँग झस्किएका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव साउन २३ यता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनी शनिबार बारा जिल्ला पार्टीस्तरीय विस्तारित बैठकमा भने सहभागी भए, जुन आन्तरिक बैठक थियो । बाराको कार्यक्रमपछि यादव जनकपुर जाने र त्यहाँ बाट सोमबार काठमाडौं फर्कने कार्यक्रम छ ।
उनी काठमाडौं अघि यूरोप भ्रमणमा रहेका माधव नेपालसँग सम्वाद गरेका थिए । जसपा अध्यक्ष यादवको सम्वादपछि उनीपनि सोमबार नै काठमाडौं आइपुग्दै छन् । माधव नेपाल पनि प्रचण्ड र उनका गृहमन्त्री श्रेष्ठसँग सन्तुष्ट छैनन् । किर्ते कसुर नै नचल्ने गरी लगाइएको मुद्दामा प्रहरीलाई बयान दिन लगाउनगरी फाइल खोलिएकाेमा माधव नेपाल सन्तुष्ट बन्न नसकेका हुन् । जसले गर्दा वर्तमान सरकार टिकाउने हो भने नारायणकाजीको सरुवा वा राजीनामा मात्रै विकल्प रहेको स्रोतको दावी छ । यदि त्यसो नभएमा सुन प्रकरणमा मुछिएका माओवादीका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने र उनीहरूलाई पक्राउ गर्नुपर्ने अर्को शर्त आएमा प्रचण्डलाई धर्मसंकट पर्ने नेताहरूको दावी छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार