गृहमन्त्रीको पद जोगाउन एआईजी र एसएसपीको सरुवा तयारी !
नेपालबहस संवाददाता
साउन २९, २०८० सोमबार २२:३४:३
३० साउन, काठमाडौं । सरकार टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौं उपत्यकाको कमाण्ड सम्हाली रहेका दुई प्रहरी अधिकारीलाई हटाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई समय मिलाएर दुई प्रहरी अधिकारीलाई हटाउन निर्देशन दिएका हुन् ।काठमाडौं प्रहरी परिसरका अर्का प्रहरी अधिकृतलाई भने गृहमन्त्रालयले गठन गरेको छानविन समितिको प्रतिवेदन पछि हटाइने भएको छ ।
गठबन्धन दलको हिजो बालुवाटारमा बसेको बैठकले उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्याम ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीलाई हटाउन निर्देशन दिएको स्रोतको दावी छ । ‘कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेपछि उनीहरूलाई हटाउन निर्देशन दिएका हुन्’, स्रोतले भन्यो ।
त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान बहादुर कार्कीमाथि जनजाति समुदायको आन्दोलनमा बर्बर दमन गरेको आरोप लागेको छ र उनीहरूले माइतीघर मण्डलामा ठूलो आन्दोलन गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोषीमाथि छानविन गरि कारवाही गर्ने सम्झौता आन्दोलनकारीसँग गरेका थिए । यही विषयमा प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजाति दिवसका दिन प्रहरीले आन्दोलनकारी माथि दमन गरेको बताउँदै ती प्रहरी अधिकृतमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सात महिनाको अवधिमा कार्कीले काठमाडौंंको कमाण्ड राम्रोसँग गर्न नसकेको तथा आर्थिक विवादमा मुछिएको आरोप लागेको छ । नयाँ वानेश्वर क्षेत्रमा दिन दाहाडै व्यापारी आचार्यको आत्महत्या रोक्न नसकेको, नयाँ बसपार्क क्षेत्रमा ठूलो लुटपाट र आगलागी भएको, विरोधीहरुमाथि आक्रामक भइ व्यावसायिक आचरण विपरीत दुष्मनीपूर्ण व्यवहार साँध्ने गरेको, आन्दोलनकारी माथि चर्को दमन र हिरासतमा यातना दिने गरेको लगायतका दर्जनौं आरोप लागेका छन् ।
डा.सुनील शर्मालाई सीआईबीले पक्राउ गरेपछि शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्रीले कांग्रेसका नेताहरूलाई छानी छानी प्रतिशोध साँधेको र यो गठबन्धनका लागि पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेर जेल हाल्ने प्रहरी अधिकारीहरूलाई पनि तुरुन्तै हटाउन आग्रह गरेपछि प्रधानमन्त्री सहमत भएका थिए । प्रधानमन्त्रीले देउवाकै अगाडिबाट फोन गरेर गृहमन्त्रीलाई दुई प्रहरी अधिकारीहरू एआईजी ज्ञवाली र एसएसपी मनोज केसीलाई हटाएर अर्को व्यक्ति पठाउन आदेश दिएका थिए ।
उपत्यका एआईजीमा दीपक थापालाई पठाउने संभावना रहेको छ । त्यस्तै उपत्यका अपराध अनुसन्धानमा एसएसपी ईश्वर कार्की वा सोमेन्द्र सिंह राठोरलाई पठाउने तयारी गृह मन्त्रालयले गरिरहेको स्रोतको भनाई छ । प्रधानमन्त्रीको फोनको जवाफमा श्रेष्ठले केही दिनमा मिलाएर सरुवा गर्ने आश्वासन दिएका थिए । पूर्व गृहमन्त्री खाँणलाई पक्राउ गर्न एसएसपी केसी आफै गएका थिए । ज्ञवालीमाथि भने नातामा जेठान दाई पर्ने टेकनारायण पाण्डेबाट बयान गर्न लगाएर बालकृष्णलाई पक्राउ गर्न लगाएकाे आरोप छ । खाँणलाई पक्राउ गर्दा आईजीपीलाई समेत जानकारी नदिइएको आरोप केसी र ज्ञवालीमाथि लागेको छ
यी सबै दृष्टान्त नजिकबाट हेरिरहेका पूर्व प्रधानमन्त्री देउवाले यसअघि पनि यी दुई प्रहरीलाई हटाउन आग्रह गरेका भएपनि प्रचण्ड र श्रेष्ठले आलटाल गर्दै बसेका थिए । डा.सुनील शर्मा पक्राउ परेपछि भने देउवाले पार्टीभित्र ठूलै दबाब खेप्नु परेको थियो । त्यसको लगत्तै बिहिबार साँझ देउवाले प्रचण्डलाई भेटेर गृहमन्त्री हटाउनु पर्ने नत्र सरकारलाई अप्ठेरो पर्ने संकेत गरेपछि भने प्रचण्डले सरकार बचाउन यी दुई प्रहरी अधिकारीको सरुवा गर्न निर्देशन दिएका थिए । तर देउवाले दुई प्रहरी अधिकारीहरूको सरुवा होइन गृहमन्त्रीको राजीनामा वा मन्त्रालय परिवर्तन गर्न दबाब दिएका थिए ।
त्यस लगत्तै शुक्रबार साँझ देउवा निवास धुम्वाराही पुगेका नारायणकाजी श्रेष्ठले देउवासँग दुई प्रहरी अधिकारीको तुरुन्तै सरुवा गर्नै बताएर आफ्नो पद पनि जोगाएकाे दावी स्राेतकाे छ । हाललाई आफ्नो राजीनामा टार्नका लागि समय नपुग्दै एआईजी ज्ञवाली र एसएसपी केसीको सरुवा गर्न श्रेष्ठ तयार भएको स्रोतको दावी छ । गत पुसमा अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी पाएका केसीले नक्कली भूटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँणसहित कांग्रेस नेताहरू आङटावा शेर्पा, एमालेका सचिव टोपबहादुर रायमाझी बहालवाला सचिव टेकनारायण पाण्डे लगायतलाई पक्राउ गरी अनुसन्धान गरेका थिए ।
त्यसमा एआईजी ज्ञवालीले बालकृष्ण पत्नी मञ्जु खाँण र देउवा पत्नी आरजु देउवाको पनि संलग्नता रहेको जनाउँदै पक्राउ गर्न खोजेको देउवाको आरोप रहेको छ । त्यसै गरी ज्ञावालीले माओवादीको सरकारको आडमा वर्तमान आईजीपी वसन्तबहादुर कुँवरलाई हटाएर आफै आईजीपी हुन लागेको र त्यसमा आईजीपीलाई बदनाम गर्न खोजेको आरोप पनि लगाइएको छ । ‘सरुवा गर्ने भनेर सोमबार दिनभर प्रहरी प्रधान कार्यालयमा हल्ला चलेपनि एआईजीको सरुवा मन्त्रिपरिषदबाट गर्नुपर्ने भएकाले मंगलबार वा बुधबार एआईजीहरुको सरुवा हुनेछ’, स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
एचआईभी संक्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित
पुष ८, २०८१ सोमबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार