सुनसान कटारी बजार !

नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार ११:२९:५४
♦ ऋषिबहादुर राई
२५ भदौ, कटारी ।
ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै ‘’
ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै
पसिना झार्दै तरर्, चार दिनको बाटो कटारी बजार.........
तीन दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो । यस गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार थियो । पहाडका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ्ग सोलुखुम्बुको एक मात्र नुन तेल भाँडावर्तन, अन्नपात, मरमसला किन्ने थलो थियो कटारी बजार ।
सडक थिएन, यी तीन जिल्लासम्म कटारी बजारबाट ढाकरमा सामाग्री ढुवानी हुन्थे । पहाडी जिल्लाका आलु ढाकरमै कटारी आइपुग्थ्यो, फर्किन्दा ढाक्रेहरुले साहुका सामान बोकेर जान्थे । ‘‘त्यतिबेलाको कटारी बजार त गुल्जार थियो’’ २०२९ सालदेखि कटारी बजारमा व्यापार गर्दै आएका ज्योतिकुमार साह भन्छन्, ‘‘अहिले त चरोमुसो पसलमा आउँदैनन् ।’’
साह सिरहाको बन्दिपुर हुँदै कमलाखोलाको बाटो अभिभावकहरुसँग कटारी बजार आइपुगेका थिए । ‘‘बाटो थिएन मधेसका व्यापारी कमला खोलैखोला कटारी व्यापार गर्न आएका थिए’’, साह भन्छन्, ‘‘धनुषा, सिरहा, सप्तरीबाट कटारीमा ठूलो व्यापार हुन्छ भनेर व्यापारीहरू आउँथे ।’’ कटारी बजार सगरमाथाको द्वारको रुपमा पनि परिचित बजार थियो । सगरमाथा चढ्नका लागि तेन्जिङ्ग शेर्पा र एडमण्ड हिलारी कटारी बजारकै बाटो गएको भनाइ रहेको बुढापाकाहरु बताउँछन् ।
वि.सं २०५० सम्म कटारी बजार एउटा ऐतिहासिक बजार थियो । विस्तारै सडक निर्माण सुरु भयो । मिर्चैया कटारी हुँदै २०५४ सालमा कटारी, घुर्मी, ओखलढुंगा सडकको ट्रयाक खुल्यो । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री स्व बलबहादुर राईको पहलमा यो सडक नेपाली सेनाले निर्माण गरेको थियो ।
सडक निर्माणसँगै पहाडी जिल्लाहरूमा सामग्री ढुवानी सहज त भयो तर त्यसपछि यो सडकले स्तरोन्नती हुन पाएन । मिर्चैया–कटारी २६ किमी र कटारी–घुर्मी ४४ किमी सडक जीर्ण भएका कारण मानिसहरू हिँड्न नै डराउन थालेको ओखलढुंगा स्थायी घर भई कटारीमा रोजगारी गर्दै आएका शुभराज राई भन्नुहुन्छ, ‘‘बीच बाटोबाट फर्किनुभन्दा सिन्धुलीबाट घुमेर जानु सजिलो ठानी मानिसहरू त्यतैबाट हिँड्न थाले ।’’
सडक विस्तारले फड्को मारेसँगै सिन्धुलीको खुर्कोट घुर्मी बजार हुँदै पहाडी तीन जिल्ला आउजाउ गर्न सडक राम्रो भएपछि कटारीबाट आउजाउ कमी हुन थाल्यो । गाईघाटबाट खोटाङ्ग पनि जोडिएपछि कटारी विस्तारै टोले बजारमा परिणत भयो ।
तराईका जिल्लाबाट कटारी हुँदै पहाडी जिल्ला जानुपर्ने वाध्यता हट्यो । बाटो छोटो भएपनि स्तरोन्नती नहुँदा आउजाउ नै कष्टकर हुने भएपछि मानिसहरू सिन्धुलीबाट घुमेर जान थाले । कटारीका होटल व्यवसायी प्रताप राई भन्छन्, ‘‘मदन भण्डारी राजमार्ग जोडिएकाले झिनो आशा मात्रै कायम छ, नत्र बजार सुकिसक्यो ।’’
कुनै समयको गुल्जार बजारमा अहिले ग्राहक नै नभएको उदयपुर उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष अरुण साह बताउँछन् । उनी भन्छन्, ‘‘व्यापारीहरू अन्यत्र पलायन थालिसके, बजारमा किनमेल छैन् । ग्राहक नै नभएपछि बजार सुनसान हुने नै भयो ।’’
विगतमा कटारी बजारको शुक्रबारे हाट चर्चित हाट थियो । अहिले शुक्रबार हाट लाग्छ भन्ने कुरा पनि धेरैले बिर्सिसकेका छन् । बजारको पहिचान कायम राख्न नगरपालिकाले कार्यविधि बनाएर कृषि उपज केन्द्रमा शुक्रबार हाट लगाउन थाले पनि हाटमा ग्राहक र व्यापारीको चासो नदेखाएको नगरपालिकाका प्रमुख राजेश चन्द्र श्रेष्ठ बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरामपुरको स्वरूप फेरिँदै
फागुन १२, २०८१ सोमबार
न्हु पोखरी संरक्षणका लागी महानगरले भत्कायो घरटहरा [ फोटो फिचर ]
फागुन १२, २०८१ सोमबार
महाशिवरात्रि : नागा बाबाहरु जन्तीसहित अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिर प्रवेश गरे
फागुन १२, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
जर्मनीमा गाँजामाथि फेरि प्रतिबन्ध लाग्दै, २ वर्षमा उल्टिदै निर्णय
फागुन १४, २०८१ बुधबार
प्रकृति लम्साल मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकारीलाई बयानमा बोलायो
फागुन १४, २०८१ बुधबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार