म आमा हुँ कि छोरी ?
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १५:५८:३६
सन्दर्भ तीजः
•सूर्यवदना घिमिरे 'पण्डित'
हामी नारीहरू पहिला छोरी बन्यौँ, अनि आमा । पहिला जे बनियो त्यसैको याद आउने रहेछ । नेपाली संस्कृतिमा धेरै चाडपर्वहरू छन् । त्यो मध्ये एउटा हो, तीज । आफू आमा वा हजुरआमा जे नै बने पनि तीजमा नारी हृदय छोरी बनेर पग्लिन्छ । अनि मात्र आफ्ना छोराछोरीतिर सम्झना हुन्छ । त्यो नारी, जसका छोरी छैनन्, उसलाई छोरीको सानिध्यताको के अनुभव ? त्यसैले ऊ त झन् आफू छोरी मात्र बनेर कल्पन्छे ।
हुन त, बुहारी पनि छोरी हुन् । घरमा आएर छोरीको अभाव पूर्ति उनीहरूले नै गर्लान् । छोरी र बुहारी दुवैको भूमिका एक्लैले निभाउलान् । तर हरेक तीजमा ऊ पनि जन्म दिने आमाकहाँ जानै पर्छ । आमाको हातको खाना र जन्मे हुर्केको ठाउँ उसको मानसपटलले कसरी भुल्छ ? आमाको आभा मण्डलको निकट रहँदाको आनन्द कसले बिर्सन्छ ? नजन्माएकालाई त चाहिने, जन्माएकालाई चाहिन्न ? त्यो छिन्नु पनि त स्वार्थ हो ।
आफू सानो छदाँ आमाका दुःख सुख केही बुझिएन । सधैं आफ्ना अधिकारको कार्यान्वयनमा लागियो । लाग्थ्यो, आमा कर्तव्यको अक्षय पात्र हुन् । हामी अधिकार रूपी घैला । आमाका जिम्मेवारीलाई फर्केर हेर्ने जमर्को कहिल्यै गरिएन । आफूले निर्वाह गर्नुपर्ने पारिवारिक दायित्व आमालाई कहिल्यै परेन जस्तो पनि गरियो । सन्तान टाढा हुँदा आमाको मन कति सुक्खा थियो होला । त्यो भाव मनमा आएन । आमालाई भेट्न जाने कुरा प्राथमिकतामा परेन । हामी छोरी बस्ने उनको हृदयमा कति फाटेको हुँदो हो ? सायद, हामीलाई अन्दाजै भएन ।
दुनियाँ भरमा आफू जति कर्मयोगी र व्यस्त कोही छैन जस्तो देखायौँ । आफ्नो अनुकुलमा मात्र आमा भेट्न गयौँ । त्यो गएको पनि आफ्नो लागि हो र ? सायद आमाको लागि गयौँ । कति तीज, दशैं, तिहार आए, गए । हिउँद आयो, गयो । न हेमन्त र शिशिर न वर्षा र हिउँद ऋतुले पर्खे । सबै आ–आफ्ना कालक्रममा घुमे । आमाका आँखाले कति हेरियो होला, हामी हिँड्ने ठाडो गल्लीको गेग्रान बाटो ।
पहिला–पहिला पात्रो पण्डित बाजेहरू कहाँ मात्र हुन्थ्याे । तीज आउने बेलामा मात्र स्पष्ट तिथिमिति थाहा पाइन्थ्यो । आजकल त घरका हरेक कोठामा क्यालेन्डर हुन्छ । उस्तै परे बाथरुममा पनि होला कसैको । पात्रो पल्टाए पछि महिनाभर देखिइ रहन्छ । कुनै क्यालेन्डरमा त झन् तीन महिनासम्म देखिने हुन्छ । कति हेर्नु आमा बिनाको तीज अंकित पात्रो ?
भनिन्छ, मान्छेले धेरै जुनी बितायो । अब पनि कैयाैं जुनी जन्म लिन्छ । यो आत्माले शरीर लिँदै जन्म र मरणको चक्रलाई निरन्तरता दिइरहन्छ । लाग्छ, हाम्री आमा पनि यो धर्तीमा आइसकिन् । हामीले देखेका, भेटेका, बोलेका पनि छौँ कि ? त्यो कुरा न हामीलाई ज्ञान छ। न हाम्री पूर्व आमालाई । भन्ने गरिन्छ, अक्सर गरेर मान्छे जुन ठाउँ, समाज र संस्कृतिमा रहँदा देह छोड्दा त्यस्तै संस्कार लिएर जान्छ । पछि जन्म लिने परिवेश पनि उस्तै हुनजान्छ । यस भनाइलाई आधार मान्दा कसैको उही परिवारमा, कसैको नाता सम्बन्धमा, परिवार वा केहीको वरपर जन्म हुन जाला ।
हाम्री आमाको जन्म पनि यतै कतै भएको हुनसक्छ। कति जुनीहरूमा हामी आमाकै आमा, बाबु, भाइ, छोरी, भान्जी, छिमेकी पनि भयौं होला । आफूलाई चिनेका, सन्त–माहात्मा र ज्ञानी–ध्यानी मान्छेले पूर्व जुनीका बाबुआमा, सन्तान नातागोता चिनेका होलान् । त्यस्ता ऋषिवत् मानवले आफू चिनिएर र चिनाएर साध्य पनि हुँदैन । कसैलाई बताए पनि पत्याउने कसले ? त्यसैले उनीहरू "वशुदैव कुटुम्भकम्" भन्छन् । म, मेरो परिवार, मेरो समाज, मेरो देश र पूरै यस धर्तीका प्राणी आफ्नै फैलावट हो भन्छन् । सबैभित्र म छु र सबै म भित्र नै छन्, भन्छन् ।
हाम्री आमा पनि हामी भित्रै छन् । उनको ठाउँ कसैले लिन सक्दैन । आमाजस्तो आमा बाहेक अरू कोही हुँदैन । सन्तान प्रतिको स्नेह र प्रेमको त कुरै छोडौँ । कुनै बेला कोही मान्छे पहिलो पटक भेट्दा नै पूर्व परिचित जस्तो लाग्छ । तुरुन्तै आत्मीयता हुन्छ । प्रेमल भइन्छ । कतिपय श्रीमान्÷श्रीमतीको भेटघाट विवाह पछि मात्र हुन्छ । तुरुन्तै एक आपसमा समर्पित र श्रद्धावान् बन्छन् । त्यस्तो हुनुमा क्षणभरको भेट पक्कै हैन । जुनी जुनीको परिचय नै त होला ।
हामीले पनि हाम्री आमालाई विभिन्न भूमिकामा देखेकै छौं होला पक्कै । अहिले चिनेर पनि हामी के गछौं ? उनी यस लोकमा आएपनि हाम्री आमा बनेर हैन । उनको देह कसैको छोरो वा छोरी बनेर आएको छ । त्यो चिनेर हामीलाई के हुन्छ ? समय जति भूत बन्दै गयो, उति बितेको वर्तमानको स्मरण गरेर के काम ? नदीको मुहान खोज्न ओरालो लागे जस्तो । यस्तो बाटो लाग्दा जहाँ नदी सकिन्छ, अनि बटुवा त्यहाँ पुग्छ ।
बितेको समय फर्केर हेर्दा पाइलाको डोव पनि देखिदैनन्। केवल अनुभूतिको चित्र मनमा हुन्छ । हाम्रो यो देह, यही रहिञ्जेल हामीले कहिल्यै आफ्नी आमालाई भौतिक रूपमा भेट्दैनौँ । अब हामीले आमालाई आँखा खोलेर हैन, बन्द गरेर मात्र देख्छौँ । जबसम्म होसमा रहन्छौँ, तबसम्म हृदयमा उनी छन् र सदा रहन्छिन् ।
(लेखिका घिमिरे जीवन विज्ञान की प्रशिक्षक हुन् ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषदमा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार