यस्तो रह्यो नेम्वाङको अन्तिम बिदाइ
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १९:२३:४४
२८ भदौ, काठमाडौं । तीन दिनअघि हृदयाघातका कारणले निधन भएका संविधानसभाका अध्यक्ष तथा नेकपा 'एमाले'का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान ११ः०० बजे अन्त्येष्टि गर्ने भनिए पनि बिहान १०ः०० बजेदेखि नै पशुपति आर्यघाटमा मानिसको भीड लागेको थियो ।
निर्धारित समयमा नै पशुपति आर्याघाटमा शव पुर्याइएको थियो । शवयात्रामा पार्टीका नेता तथा कार्यकर्ता, शुभचिन्तक सर्वसाधारणलगायत हजारौँको सहभागिता रहेको थियो । नेम्वाङको निवास, बालुवाटारबाट आर्यघाटसम्म शवयात्रा गरिएको थियो । शवयात्रा बालुवाटार, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो ।
शवयात्रामा रहेका सबैका अनुहारमा एक कुशल, मृदुभाषी, असल राजनीतिज्ञलाई गुमाउनु पर्दाको पीडा रहेको थियो । आर्यघाटको दुवैतिरको भागमा मानिसले जलिरहेका नेम्वाङ शवप्रति श्रद्धासुमन व्यक्त गरेका थिए । सर्वसाधारणले मोबाइलबाट फोटो, भिडियोसमेत बनाइरहेका देखिन्थ्यो ।
प्रधानमन्त्री, विभिन्न पार्टीका शीर्षनेता, मन्त्री, सांसद, उच्चपदस्थ अधिकारीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए। पशुपति आर्यघाटमा नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे।
संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका पूर्वसभामुख नेम्वाङको निधनमा नेपाल सरकारले राजकीय सम्मान प्रदान गरेको थियो । आज सरकारले उनको सम्मानमा सार्वजनिक बिदासमेत दिएको छ । उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा छोरा मिङ्सो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका थिए । त्यसक्रममा नेम्वाङप्रति सम्मान प्रकट गर्दै नेपाली सेनाको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो । अन्तिम श्रद्धाञ्जली दिँदा नेम्वाङ श्रीमती विशालनुमा नेम्वाङ भक्कानिएर राेइन । उनलाई सम्हाल्न हम्मेहम्मे परेको थियो ।
स्व नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका शीर्षनेता, नेपाल सरकारका मुख्य सचिव डा वैकुण्ठ अर्याललगायत आर्यघाट गएका थिए ।
यस्तै संसद् सचिवालयका पदाधिकारी, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका अधिकारी, सामाजिक क्षेत्रका प्रतिष्ठित महानुभाव, नेम्वाङको परिवारका सदस्य तथा आफन्तजन, ठूलो सङ्ख्यामा पार्टीका नेता–कार्यकर्ता र सर्वसाधारणको पशुपति आर्यघाटमा उपस्थिति रहेको थियो ।
सोमबार राति ३ः०० बजे त्रिवि शिक्षण अस्पतालले मृत घोषणा गरेको नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दुई दिन पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको थियो ।
नेम्वाङ विसं २००९ फागुन २८ गते इलामको सुन्तलाबारीमा जन्मिएका हुन् । विसं २०४८ र २०५२ मा गरी दुईपटक राष्ट्रियसभाको सदस्य भएका नेम्वाङ २०५६ मा इलामबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनी २०६३ सालको पुनःस्थापित प्रतिनिधिसभाको सभामुख बनेका थिए । विसं २०६४ र २०७० मा भएका दुईवटा संविधानसभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी बनेर संविधानसभा अध्यक्ष बन्नु भई उनले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उपाध्यक्ष नेम्वाङ विसं २०७४ र २०७९ को प्रतिनिधिसभा सदस्यमा पनि इलाम–२ बाट निर्वाचित भएका थिए । राजनीतिक जीवनमा नेम्वाङले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसद्को सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारीसमेत बहन गरेका थिए ।
विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ विसं २०२९ मा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा अनेरास्ववियुबाट स्ववियु सभापति भएका थिए । राजनीतिकै क्रममा २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएका उहाँ तत्कालीन नेकपा मालेमा सङ्गठित भएका थिए।
विसं २०५४ को छैटौँ महाधिवेशनदेखि निरन्तर पार्टीको केन्द्रीय कमिटीमा रहेका नेम्वाङ २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि स्थायी कमिटी सदस्य भए भने २०७८ सालमा चितवनमा सम्पन्न दशौँ महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका हुन् । उपाध्यक्ष नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
कात्तिक २८, २०८१ बुधबार
कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार