शेखरको निम्तोप्रति विश्वप्रकाशको जवाफः ‘अबको प्रधानमन्त्री र पार्टी सभापतिबारे महासमितिले धारणा बनाउँछ’
नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १३:३२:५२
२ असोज काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आज बस्ने समूहको बैठकमा निमन्त्रण गरिएका पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत उपस्थित नहुने संकेत दिएका छन् ।
पार्टीको आगामी महाधिवेशनमा सभापतिको दावेदार रहेका कोइरालाले सामूहिक नेतृत्वमा जाने विषयमा छलफल गर्न महामन्त्री शर्मा र नेता प्रदीप पौडेललाई पनि आमन्त्रण गरेका थिए । बैठक साढे १ बजे कोइरालाको सचिवालय बालुवाटारमा डाकिएको छ ।
यसको जवाफ स्वरूप शर्माले नेपाली कांग्रेसबाट प्रधानमन्त्री बन्ने र पार्टी सभापति हुने व्यक्ति को र कस्तो हुनुपर्छ भन्ने कुरा अगामी पार्टीको महासमितिको बैठकले धारणा बनाउने बताएका छन् । महासमितिको धारणा आएपछि पार्टी सभापति र प्रधानमन्त्री को बन्ने भन्ने बारे सामूहिक रुपमा भन्न सकिने बताएका छन् । महामन्त्री शर्माले समय चेत बुझ्न र हाँक्न सक्ने व्यक्ति मात्रै अबको पार्टी सभापति र प्रधानमन्त्री बन्न सक्ने मत राखेका छन् ।
उनले महासमितिको बैठकले अहिलेको पार्टी पंक्तिमाथि उर्जा भर्न, नागरिकको माझमा रहेको वितृष्णा चिर्दै नवीन विश्वास जगाउन र ०८२ सालमै महाधिवेशनको सुनिश्चतता समेत गर्न सक्नुपर्ने बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकको सम्मुखमा महामन्त्री शर्माको गुट अदलबदलका विषयमा टिप्पणी भइरहेका बेला उनले कांग्रेसमा अहिले विचार समूहहरू र सिंगो पार्टीको विमर्शको केन्द्र भने फरक विषयहरूमा हुनुपर्ने दाबी गरेका छन् ।
बिहीबारदेखि बस्ने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको तयारीका विषयमा छलफल गर्न नेता शेखर कोइरालाले मंगलबार आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् । सो बैठकमा महामन्त्री शर्मालाई समेत निम्त्याइएको थियो । तर शर्माले मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत कोइरालाले बोलाएको बैठकमा सहभागी नहुने संकेत गरेका हुन् ।
’दलहरूमा फरक विचार र विचार समूह हुनु स्वाभाविक हो । कांग्रेसमा पनि छ÷ छन् । यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्छ,’ उनले लेखेका छन्, ’तर अहिलेको समय महासमितिबाट नीति, गति र मति उपर साझा दृष्टि निर्माणको समय हो । यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरूप्रति सजग छु- रहनेछु ।’
उनले अहिले विचार समूह कसरी मजबुत हुने भन्दा पनि कांग्रेस कस्तो बन्ने र कांग्रेसमा कसको नेतृत्व हुने भन्ने विषय महत्त्वपूर्ण रहेको बताएका छन् । ’कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्ने ? भन्दा महत्वपूर्ण अहिले समाजमा असन्तुष्टि किन छ ? हामी त्यसमा कति दोषी छौं ? वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ? भन्ने प्रश्नहरू छन्,’ शर्माले लेखेका छन्, ’महासमिति बैठकमार्फत यी प्रश्नको निरुपणले देशलाई मार्ग दिन्छ र कांग्रेसलाई पनि मार्गदर्शन गर्नुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार