गुरुहरुको विप्लवमा अधिकारको खोजी, कर्तव्यको बिल्लीबाँठ ।
भुवनेश्वर अर्याल
असोज ५, २०८० शुक्रबार १२:२६:१७
'देश धितो राखी सुविधा हामी माग्दैनौं
सेतो महलको बास देउ त्यो पनि हामी भन्दैनौं
नेरा शिक्षक संगठन नदिई हामी मान्दैनौ !'
यस्तो गीत गाउँदै आन्दोलनमा लाग्दा १५ वर्षको उमेरमा मैले गुल्मी रिडी बिरुवामा लाठी खाएको थिए, त्यो बेला । गुरुहरूको आन्दोलनमा हामी विद्यार्थीले ऐक्यबद्धता जनाएका थियौँ । त्यतिबेला नेपाल राष्ट्रिय शिक्षक संगठन मात्र थियो अहिले जस्तो पार्टी पिच्छेका संघ संगठन थिएनन् ।
गुरुहरू स्व. ज्ञानहरि आचार्य, स्व. दिवाकर ज्ञवाली, खिमानन्द पन्थी, गोपी पन्थी, स्व. कुल बहादुर थापा जस्ता आदर्श व्यक्तित्वहरूले त्यसको नेतृत्व गर्नु हुन्थ्यो । अहिले पार्टी पक्षका शिक्षक संघ संगठन भएको हुनाले झोले, सजिलै झोले मास्टर ! भन्छन् अहिले मानिसहरू । त्यो बेला हामी गुरुहरूलाई सोझो आँखाले हेर्न पनि सक्दैनथ्यौं। वहाँहरुको निष्ठा,आदर्श र शिक्षा प्रतिको पवित्र भावनाले गर्दा त हो नि । गुरुहरू पनि मर्यादामा बस्नु पर्छ मेरो अटल मान्यता कानुन सम्मत छ बरु खुल्ला र छदम नामले पार्टी सदस्य भएर शिक्षण पेशा अगाल्नु गैर कानुनी हो ।
२०५८/०५९ तिर ठ्याक्कै मिति थाहा भएन, अखिल क्रान्तिकारीले गुल्मीको हिमालय मावि हर्पुकोटमा सबै माविका हेडमास्टर र व्यवस्थापन समितिका अध्यक्षहरूलाई बोलाएको थियो । 'जानु कसरी जानु नजानु कसरी नजानु ?' त्यो बेला दुवैतिरको डर थियो, माओवादीको गाउँमा दवदवा थियो । कसैले एक शब्द बोल्ने हिम्मत गर्थेनन् माओवादीसँग । अन्तरक्रिया गर्ने त टाढाको कुरा भयो ।
स्व. रणबहादुर पल्ली मगर, दिगामको सारु सर, पूर्व माननीय टंक पोख्रेल र म लगायत २०/३० जना थियौ । सबैका ओठ मुख सुकेका थिए । त्यो बेला पनि मैले भने, “कुनै पनि शिक्षकलाई कारबाही नगर्नुस गल्ती गरे भने हामी संगठनको माध्यमबाट कारबाही गर्छौं, कुनै दिन भोट माग्ने दिन आउँछ, त्यो बेला सोच्ने छौं ।” ए ! बोल्न दिने रहेछन् भनेर पछि रणबहादुर सरले भन्नु भोू, “म त रामबहादुर थापा बादलको क्लास मेट हो ।”
अप्ठ्यारोमा शिक्षक मित्रहरू सँगै काम गरेको पनि हुनाले शिक्षकहरूले अहिले गरेको आन्दोलन वहाँहरुको केही माग जायज भएपनि समग्र देश र देशभरका बालबालिकाको हितमा छैन । आज जनताका छोराछोरीले सरकारी विद्यालयमा पढिरहेका हुनाले यो आन्दोलन सिङ्गो देश र जनताको हितमा छैन । तर पनि पनि वहाँहरुका जायज माग राज्यले तुरुन्तै सम्बोधन गर्नुपर्छ ।
तितो नलागोस्, आज कुनै पार्टीमा लागे पछि पढाउनै नपर्ने भएको छ । गुरुहरूले कक्षा कोठामा भन्दा बढी पार्टीको भेला तथा पार्टीका अभियानहरूमा बिताउनु भएको छ । सरकारी तलब खाएर यस्तो कर्म गर्नु अपराध हो । स्थानीय जनता र स्थानीय तहले वहाँहरुको गलत क्रियाकलाप सजिलै थाहा पाउने हुनाले वहाँहरु तर्सिनु भएको हो । पढाउने गाउँमा अनि नियमन अनुगमन संघीय सरकारले गरोस् भन्न सुहाउने कुरा हो र ?
वहाँहरुले अरुतिर भन्दा केही फरक देखेर यो पेशामा आउनु भएको होला तर देशको संविधान, ऐन कानुन भन्दा माथि हुने त पक्कै होइन ? साथै आफ्नो जीवनयापनका तमाम अन्य संभावनाहरू पनि थिए होलान् तर यो पेशा रोजेको तपाईँ गुरुहरू आफैंले हो । त्यसैले यसका सीमितता, फाइदा र बेफाइदा तपाँईहरुले नै बेहोर्नु पर्छ । देखिएको छ कि विद्यालयमा धेरै खटिने त खाली बालविकास र निजी स्रोतमा थोरै तलब खानेहरू मात्र हुन, स्थायीहरु त संघ, संगठन र पार्टीप्रति बफादार भए भइहाल्यो ।
यसो भनेर सबै शिक्षकहरू यस्तै हुनुहुन्छ भन्न खोजेको होइन तर विद्यालयमा यस्तैको पकड छ । दिनहुँ समाचार आउँछन्, शिक्षकहरुबाटै बालिकामाथि यौनजन्य हिंसा भयो भन्ने । शिक्षण पवित्र पेशा हो, त्यो पेशामा आफ्ना शिष्यहरुको सफलता नै उपलब्धि हो । मैले १०/१२ बर्ष पढाएर कमाएको ठूलो पुँजीका रुपमा मेरा केही सफल चेलाहरू भन्छन्, सर के गरौं ? त्यसले मनमा दिने आनन्द नै प्राप्ति हो ।
हिजो तिनै विद्यालयका उत्पादनहरू देश विदेशका विभिन्न उच्च पदमा कार्यरत छन् । आज तिनै विद्यालयका उत्पादन प्राविको शिक्षकमा पनि नछानिनु वा शिक्षा सेवा आयोगको परीक्षामा अनुत्तीर्ण हुँदा अलिकता जिम्मेवारी लिनु पर्ने होइन । अधिकारका लागि लडिरहँदा शिक्षाको गुणस्तरमा आएको कमीलाई कस्को जिम्मेवारी भित्र पार्ने ?
अभिभावकले आफ्ना बालबालिकालाई उचित शिक्षाको खोजीमा गाउँहरू रित्तिँदै छन् । यहाँहरुका विद्यालयमा बालबालिका घटिरहेका छन् । यसको विषयमा कसले सोच्ने ? प्राविको १०० प्रतिशत, निमाविको ५० प्रतिशत र माविको २५ प्रतिशत मात्र आर्थिक सहायताको नाममा आउँदा शिक्षाको गुणस्तर कस्तो थियो । अहिले सबै सरकारी कर्मचारी सरह सेवा सुविधा हुँदा पनि गुणस्तर खस्किएकोमा गुरुहरूको ध्यान जानुपर्ने होइन र ?
चुनावको परिणाम जे होला, एउटा सहायक मतदान अधिकृत भएको गुरु मतदान स्थल छोडेर आफ्नो मताधिकार भएको गाउँमा लाइनमा भेटिन मिल्छ ? स्थानीय चुनावमा पनि वडा वरिपरि मत प्रभावित पार्ने, उमेदवार या नेतासँग फोटो भिडियो खिच्ने गरेका प्रमाणहरु छन् नि !
गुरुहरूलाई राजनीतिमा स्वागत छ, तर रिटायर भएर मात्र होइन जागिर छोडेर मैदानमा आउ । जनताले तिरेको करबाट तलब खाएर राजनीति नगरौं । आस्था बोकौं, पक्षपात नगरौं । अधिकार सँगै कर्तव्य पनि पूरा गरे ऐक्यबद्धता छ । एमाले, कांग्रेस, माओवादीले शिक्षक र शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोण ठीक भएको भए बहुदल आएको चार दशकसम्म पनि के हेरेर बसे ?
निश्चय नै शिक्षकहरूका पीरमर्काहरु छन्, तिनको यथोचित सम्बोधन गर्नु राज्यको दायित्व हो । सत्ता र प्रतिपक्षका सांसदहरु बीच शिक्षक आन्दोलनको समर्थनमा वक्तव्यबाजी गर्ने प्रतिस्पर्धा छ । संसदमा पेश भएर छलफलमा नआइसकेको विधेयक एक शब्दमा फिर्ता गर्नासाथ यो आन्दोलन स्वतः स्थगित हुन्छ ।
शिक्षकहरू भन्दैछन्, “मन्त्री बनाउने हामी, मन्त्री पदबाट खुस्काउन सक्ने पनि हामी” आम सर्वसाधारणको कुरा भने बेग्लै छ । बालबालिकालाई शिक्षा दिने गुरुहरू मन्त्री बनाउने र खुस्काउने भन्दा बालबालिकालाई युगानुकुल शिक्षा प्रदान गर्ने कुरामा रमाउनु भए हुन्थ्यो भन्ने छ । एउटा वडाअध्यक्षले हामीलाई यसो गर उसो गर भन्ने ? स्थानीय सरकार मान्दैनौँ, हामीलाई संघीय सरकारले हेर्नु पर्छ भन्ने जस्ता मागहरु उठिरहेका छन् । स्थानीय तहले आफ्ना बालबालिकाहरूको विद्यालय कसरी चलेको छ भन्ने हेर्न नपाउनु ? सुझाव, सल्लाह र स्थानीय काइदा कानुन बारे निर्देशन गर्न नपाउन भन्ने कुरा अति भो । समयले यसको हिसाबकिताब पनि राख्ला ।
एउटा शिक्षक महासंघ हुने, त्यसले सरकारसँग वार्ता गरेर समस्या समाधान गर्ने तर पार्टी पिच्छे खोलिएका संघ संगठनहरूमा गुरुहरू नबाँडिने भन्ने शिक्षालाई बुझेका , राजनीतिक स्वार्थ नभएकाहरुको चाहना छ । १२ पढेपछि त छोराछोरी देशमा बस्नै छाडे । कम्तीमा त्यो स्तरको शिक्षाबाट बालबालिका बन्चित नभए राम्रो हुन्थ्यो ।
अन्तमा अहिले आन्दोलनको पक्षमा उफ्रिने प्रतिपक्ष र सत्तापक्षका नेताहरू सत्तामा भएको बेला त केही गरेनन् ? फेरि चुनावमा उपयोग गर्न र झोला बोकाएर गधा बनाउन अहिले चेपारो पारेका हुन् । होइन भने कांग्रेस, एमाले, माओवादीका अधिकांश सांसद शिक्षकहरूको पक्षमा भएपछि त विधेयक फिर्ता गरे भैहाल्यो । तसर्थ बालबालिकाको पढाइलाई जारी राख्दै आफ्ना जायज मागहरु पूरा गराउनका लागि यहाँहरु विद्यालय फर्कनु नै सबभन्दा उत्तम उपाय हो ।
वर्तमानमा ठूला पार्टीको केही आड भरोसामा उफ्रिए पनि गुरुहरूले पार्टी पिच्छेका झोला नबोक्दा मान सम्मान र पवित्रता बढ्छ । झोला बोकेर पार्टीको गधा हुनु भन्दा पवित्र गुरु हुन नम्र निवेदन छ । किनकि हजुरहरु संलग्न पार्टीले देश र जनताको होइन भ्रष्ट, तस्कर र बेइमानहरुको संरक्षकत्व लिएको छ । तसर्थ बालेनको पहलमा दुःखले फूलाएका काठमाडौंका बगैँचा नमासौं । बालबालिका रुपी बगैंचामा शिक्षाको ज्योति छर्ने कर्ममा फर्कौं । छुट्टै उँचो कदको गुरुहरूलाई सुहाउने खालको बौद्धिक आन्दोलनमा हामी सबैको साथ हुने छ । हुलहुज्जत र धक्का मुक्का गर्न गुरुहरूलाई शोभा दिँदैन ।
भुवनेश्वर अर्याल
लेखक अर्याल नेपाली राजनीतिलाई नजिकबाट नियाली रहेका एक व्यवसायी, समाजसेवी र राजनीतिकर्मी हुन् ।
लेखकबाट थपबिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
ठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार