आजदेखि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण, राष्ट्रपति सीसँग हाङजाओमा शनिबार भेटवार्ता
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १२:३८:४
५ असोज, काठमाडौं । चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली शनिबार बिहान १० बजे हाङजाओस्थित विमानस्थलमा ओर्लने भएका छन् । प्रधानमन्त्री प्रचण्डलाई चीनका विदेशमन्त्री वाङ यीले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको एक साता लामो चीन भ्रमण आजदेखि सुरु हँदैछ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै आज राती चीनको हाङजाओ प्रस्थान गर्नेछन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कको स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट चीन प्रस्थान गर्नेछन् । उनी भोली बिहान १० बजे अवतरण हुनेछन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेपछि प्रचण्ड त्यहाँ चीन भ्रमणमा जाने औपचारिक कार्यसूची परराष्ट्र मन्त्रालयले बिहीबार मात्रै सार्वजनिक गरेको थियो । प्रचण्डको भारत भ्रमणपछि चीन भ्रमणको तयारी लामो समयदेखि चलिरहेको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिबार भेट हुने तय भएको छ । १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने र प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कबाट त्यहीँ पुग्ने भएपछि शनिबार उनीहरूबीच भेट हुने भएको हो ।
शनिबार साढे १२ बजे प्रचण्ड र सीबीच पहिलो भेट हुनेछ । सो क्रममा उनीहरूले एउटा रिसोर्टमा सँगै लञ्च गर्नेछन् । त्यसपछि शनिबार अपराह्न ४ बजे प्रचण्ड र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।
उक्त औपचारिक भेटवार्ता सम्पन्न भएसँगै प्रचण्ड राति ८ बजे उदघाटन हुने १९ औँ एसिन खेलकुद समारोहमा सहभागी हुनेछन् । त्यसको अर्को दिन आइतबार मध्याह्न १२ बजे प्रचण्ड बेइजिङ पुग्ने कार्यसूची छ । बेइजिङ विमानस्थलमा उनलाई चिनियाँ मन्त्रीले स्वागत गर्ने भनिएको छ ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी छ्याङबीच औपचारिक द्विपक्षीय भेट सोमबार बिहान १० बजेका लागि तय भएको छ । उनलाई तियानमेन चोकस्थित ‘ग्रेट हल अफ दि पिपुल’मा स्वागत कार्यक्रम राखिएको छ भने चिनियाँ जनमुक्ति सेनाले प्रचण्डलाई ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी लीबीच हुने औपचारिक भेटवार्ताका लागि करिब २ घण्टाको समय निर्धारण गरिएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ ।
एक हप्ता लामो भ्रमणका क्रममा बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार परिषद्ले संयुक्त रूपमा आयोजना गर्ने ‘नेपाल–चीन लगानी सम्मेलन’ लाई प्रचण्डले सम्बोधन गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार त्यसपछि प्रचण्डले चोङकिङ नगरपालिकामा रहेको कृषी र औद्योगिक विकासको निरीक्षण गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोलीमा स्वकीय सचिव रहेकी छोरी गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू छन् ।
चीन भ्रमण नेपालसँग सीमा जोडिएको तिब्बतको ल्हासासम्म पुगेर ३० सेप्टेम्बरमा सकिने छ । उनले अमेरिकामा रहँदा प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेट वर्ता गरेका थिए । भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका थिए ।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने चरणमा रहेको बताएका छन् । यो काम नेपाल सरकारको प्रमुख एजेण्डा भएको पनि उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले संक्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन् ।
अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागिपरेको विश्व समुदायलाई जानकारी गराए । प्रधानमन्त्री प्रचण्डले नेपालले आफ्नो छुट्टै शैलीबाट शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागिरहेको र बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतमा प्रक्रियामा जोडिएका सबै पक्ष र सरोकारवालाहरूबीच सहमति जुटाउन गम्भीर प्रयास गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार