असम्बन्धित विषयको छलफलमा आकस्मिक बोलाएको भन्दै राज्य व्यवस्था समितिमा आक्रोशित भए गृहमन्त्री श्रेष्ठ
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १३:५४:९
७ असोज, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य व्यवस्था समितिको बैठकमा आक्रोस देखाएका छन् । उनले आफूसँग असम्बन्धित विषयका छलफलमा आकस्मिक रुपमा बोलाएको भन्दै असन्तुष्टि पोखेका हुन् । समितिले अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न समितिको बैठक बोलाइएको थियो । त्यो बैठकमा राखिएको विषय आफूसँग असम्बन्धित रहेको श्रेष्ठले बताए ।
केही सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गृहमन्त्री बिना चलाउन नदिने बताएपछि समितिका सभापति रामहरि खतिवडाले आकस्मिक रूपमा मन्त्री श्रेष्ठलाई समितिमा बोलाएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्तुत गरेको विधेयकमाथिको छलफलमा आफू असम्बन्धित भएको र आउनै पर्ने भनेर ताकेता गरिएको भन्दै उनले असन्तुष्टि पोखे ।
गृहमन्त्री श्रेष्ठले भने, ‘सभापतिजीले तपाई नआइकन सांसदले बैठक नै चल्न दिएनन भन्नुभयो भनेर बोलाउनु भयो । सदासयता देखाएर मात्र आफू आएको हुँ । म संसदलाई सम्मान गर्छु, संसदीय समितिलाई सम्मान गर्छु, तर लोकतान्त्रिक मूल्य मान्यता, त पनि त हुँदो हो नि ! हामी पद्दतिमा चल्नु पर्याे । यसरी जे मन लाग्यो त्यो गर्नु भएन ा बरु संसदमा जस्तै प्रश्नोत्तर राख्नुस् । ‘म आएको बेलामा सधैं यसरी प्रश्न गर्ने हो भने संसदमा जस्तै गृहमन्त्रीसँग प्रश्नोत्तर राखि दिनुहोस् न समितिमा पनि । म आइहाल्छु नि ।’
सांसदहरुले प्रश्न सोधपछि गृहमन्त्री श्रेष्ठले सर्लाहीको मलंगवामा भएको धार्मिक दंगा रोक्न गृह मन्त्रालयले गृहकार्य गरिरहेको बताए । बैठकमा आकस्मिक रूपमा बोलाइएका मन्त्री श्रेष्ठले सर्लाहीमा के भएको हो र गृह मन्त्रालयले त्यहाँ के गर्नुपर्ने हो भन्ने बारेमा गृहकार्य गरिरहेको जानकारी गराए । केही समय यता नेपालको बहुजातीय बहुसांस्कृतिक एकतामा खलल पार्ने काम भइरहेको बताउँदै त्यसलाई रोक्न मन्त्रालय लागिपरेको उनले बताए ।
उनले धार्मिक साम्प्रदायिकता रोक्नका लागि विभिन्न धर्मका धर्म गुरुहरू बोलाएर बहुधार्मिक बैठक पनि बोलाएर धार्मिक सद्भाव कायम गर्न विज्ञप्ति पनि निकालेको बताए । बैठकमा एमाले सांसद रघुजी पन्तले तराईका जिल्लामा धार्मिक दंगाको खतरा रहेको, सर्लाहीको मलंगवामा हिन्दु मुस्लिम द्वन्द्व बढेको, हिन्दूको घरमा घुसेर आक्रमण भएको भन्दै बैठकमा गृहमन्त्रीलाई बोलाउन आग्रह गरेका थिए ।
उनले प्रधानमन्त्रीको दवावमा माओवादीबाट नेपाली सेनामा प्रवेश गरेका यमबहादुर अधिकारीको पदावधि ३ वर्ष समय थप गरिएको कुरामाथि पनि प्रश्न उठाए । यस्तै संखुुवासभामा भारतीय कम्पनी सतलजले २१ दिनसम्म काम गर्न नपाएपछि नेपाल सरकारसँग क्षतिपूर्ति मागेको बताउँदै नेपाललाई १ अर्व ६८ करोड रूपैयाँ घाटा लगाउन खोजेको बताए ।
यस्तै सांसद रवि लामिछानेले सर्लाहीमा साम्प्रदायिक घटना बढ्न लागेको भनेर गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले सुन तस्करी प्रकरणमा अनुसन्धानमा अत्यन्तै आशा अपेक्षा गरे पनि भद्दा मजाक गरेको बताए । सत्तारूढ दलका नेताको नाम आएपछि बम झैँ पड्केला भनेको तर पटाकाजस्तो पनि नभएको टिप्पणी गरे । उनले सुन प्रकरणमा जोडिएका सत्तारूढ दलका नेताले सिआईबीमा अनुसन्धानका क्रममा प्रयोग गरेको मोबाइल नलगी अर्को मोबाइल लगेको अवस्था रहेको बताए ।
सत्तारूढ दलका नेताको नाम आउँदा समेत उनीहरूमाथि सामान्य सोधपुछ समेत नभएकोले गृहमन्त्रीमाथि राजनीतिक दलले हस्तक्षेप भएको हो कि के हो ? भन्दै उनले प्रश्न गरे । अर्का सांसद सर्वेन्द्रनाथ शुक्लाले सर्लाही लगायत तराईका जिल्लामा साम्प्रदायिक हिंसा बढेको, त्यस सम्बन्धी भिडियो भाइरल भएको बताए । गए राति २ घर जलाएको उल्लेख गर्दै उनले १०–१५ दिनको घटनामा पनि प्रहरी प्रशासनले केही नगरेको प्रति गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
सांसद राजेन्द्र राईले १ अर्ब लागतमा बन्ने भनेको धनकुटाको कारागार कहिले बन्छ ? भन्दै प्रश्न गरे ? कोशी करिडोरमा एउटा पनि प्रहरी चौकी नभएको प्रति उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए । जवाफमा गृहमन्त्री श्रेष्ठले सर्लाही घटनाबारे गृह मन्त्रालयले २ दिनभित्रै कारबाही प्रक्रिया अघि बढाउने जानकारी गराए ।
सर्लाही, पर्सा लगायतका जिल्लामा पछिल्लो दिनमा भइरहेका साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र त्यहाँ चिन्ताजनाक घटना भइरहेको गृहमन्त्रीको भनाइ थियो । आइतबार बिहान सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको सहभागितामा बैठक बसेको र त्यसमाथि सरकारले गम्भीरतापूर्वक लिइरहेको गृहमन्त्रीको भनाइ थियो । ’प्रशासनिक रूपमा निर्णय गर्न पनि गम्भीर छौं । यी घटनाबारे गम्भीर छौं, दृढ भएर जान्छौं,’ उनले भने ।
सुरुमा प्रशासनिक निर्णय गर्दा समस्या हुन्छ कि भनेर कुरेको तर अब भने प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ थियो । नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक भएको तर त्यसमा आँच पुर्याउने र खलल पार्ने कार्य भइरहेको भन्दै त्यसप्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो ।
कोसी प्रदेशमा पनि सुरक्षा संवेदनशीलता रहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । उनले सुरक्षा संवेदनशीलता बुझ्नका लागि आइतबार कोशी प्रदेश जान लागेको जानकारी दिए । यसअघि राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले पनि मधेस प्रदेशलगायतमा साम्प्रदायिक सद्भावमा खलल पारेर सुरक्षा चुनौती थप्ने कार्य भइरहेको बताएका थिए । कोसी प्रदेशमा पनि पहिचानका मुद्दाले समस्या ल्याएको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार