कांग्रेस बैठकमा गुटभन्दा विषयलाई प्राथमिकता
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १४:४८:३१
७ असोज, काठमाडौं । असोज ४ गतेदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय बैठक चलिरहेको छ । आज सभापति शेरबहादुर देउवा अन्य कार्यक्रममा जानुपर्ने भएकाले भोलि बिहान ११ बजे बस्ने गरी आजको बैठकको छलफल सकिएको छ । अर्को बैठक भोलि विहान ११ बजे सुरु हुनेछ । आजसम्मको बैठकमा जम्मा ३२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् ।
बैठकमा सदस्यहरूले पार्टीले सत्तालाई मात्रै प्राथमिकता दिएर थप जनविश्वास गुमाउन नहुने अडान लिएका छन् । उनीहरूले सभापति शेरबहादुर देउवा र पदाधिकारीहरूलाई सरकार र गठबन्धन महत्वपूर्ण हो कि जनविश्वास भन्ने प्रश्नसमेत गरे । गठबन्धन सरकारमा सामेल हुने, तर जनविश्वास बढाउने गरी काम गर्न नसक्ने अवस्था रहिरहने हो भने त्यसबारे समीक्षा गरेर सरकारबाट बाहिरिनेबारे छलफल गर्नुपर्ने उनीहरूको भनाइ छ ।
आइतबारको बैठकमा केन्द्रीय कार्यसमितिका ३२ जना सदस्यहरूले धारणा राखेकामा धेरैजसोले सरकारले जनतामाझ आशा र विश्वास जगाउने गरी काम गर्न नसकेको भन्दै आलोचना गरे । केन्द्रीय सदस्य राजीव ढुंगानाले सरकारमा रहेर कांग्रेसलाई ‘जस’ भन्दा धेरै ‘अपजस’ आइरहेको भन्दै सरकारका बारेमा निर्मम भएर समीक्षा गर्नुपर्ने बताए ।
उनले सरकारका राम्रा कामको जस जत्ति प्रधानमन्त्री र उनको दलले लिने, तर अपजसजत्ति कांग्रेसको भाग आइपर्ने अवस्था रहिरहनु राम्रो नभएको बताए । ‘चाडबाडको मुखमा महँगी बढेको बढ्यै छ, उपभोक्ताले सरकार भेटेका छैनन् । सरकारले भ्रष्टाचारको एक÷दुई वटा फाइल खोल्यो, तर जनताले भ्रष्टाचार घटेको वा अन्त्य भएको भन्ने आभास पाएका छैनन्,’ उनले भने, ‘शान्ति सुरक्षा अस्तव्यस्त बनेको छ । हाम्रै पार्टीका नेता र सांसदमाथि सुरक्षा थ्रेट छ । अर्कोतिर बैंक मोटाएको मोटायै हुने, तर बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरू सटर बन्द गरेर विदेशतिर हिँड्नुपर्ने स्थिति छ । यस्तोमा हामी कहिलेसम्म रमिते बन्ने ?’
बैठकमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनाबारे पार्टीको धारणा के हो भनी प्रश्न गरेका छन् । आइतबार कांग्रेस केन्द्रीय समितिमा धारणा राख्दै उनले कांग्रेसले संविधानमा उल्लेख भएर मात्र संघीयतालाई आत्मसात गरेको हो वा यसलाई लागू गर्ने दृढ इच्छाशक्ति पनि छ भनेर प्रश्न गरेका हुन् । संघीय, प्रदेश र स्थानीय गरी तीन तहको संरचना रहेकामा अहिले पहिलो प्रहार प्रदेश संरचनामाथि भइरहेको कांग्रेस केन्द्रीय सदस्य पाण्डेले बताए ।
‘संघीयताका विषयमा प्रश्न उठिरहेका छन् । अब कांग्रेस यो बारेमा प्रष्ट हुनुपर्छ भन्ने मलाइ लाग्छ’, मुख्यमन्त्री पाण्डेले प्रश्न गरे, ‘संघीयता हामीले संविधानमा लेखेका कारण आत्समात गरेका हौं वा हाम्रो यो चाहना पनि हो । यसलाई लागू गर्ने हाम्रो दृढ इच्छाशक्ति छ कि छैन ?’ पाण्डेले मुलुकमा संघीयताका विषयमा चौतर्फी आक्रमण भइरहेको भन्दै कांग्रेसले त्यसबारे प्रष्ट धारणा बनाएर जानुपर्ने बताए । उनले संघीयताका विषयमा प्रष्ट धारणा नभएकै कारण प्रदेश र स्थानीय तहलाई बलियो बनाउने गरी संविधान र संघीयता अनुकुलका कानुनहरू बन्न नसकेको बताए ।
उनले दलहरूले संविधान अनुकुल संघीयतालाई मजबुत बनाउने कानुन बनाउन नचाहेका कारण प्रदेश सरकारले काम गर्न सक्ने अवस्था नरहेको बताए । उनले थुप्रै समस्याहरू समाजमा देखिइरहेको र त्यो सबैको कारण आज संघीयतामाथि, र त्यसमाथि पनि प्रदेश संरचनामाथि प्रश्न उठिरहेको छ,’ उनले भने, ’वास्तवमा प्रदेश नयाँ संरचना पनि हो । त्यसकारण पनि सबैतिरबाट प्रदेशमाथि आक्रमण भइरहेको होला । हिजो हामीले संघीयतामा जाँदै–गर्दा जनताको घर–घरमा सिंहदरबार पुर्याउँछौं भन्यौं । संविधानमा व्यवस्था गर्यौं, तर संविधान र संघीयताको मर्म बमोजिम संघीयता अनूकुलका कानुनहरू प्रबन्ध गर्न सकेनौं । त्यस्तो कानुन बनाउने रुचि पनि हामीले राखेका छैनौं । त्यसकारण यदि हामीले संघीयतालाई, प्रदेशलाई बलियो बनाउन चाहेको हो भने यथासक्य छिटो त्यसअनुसार कानुनहरू बनाउने काम गर्नुपर्छ भन्ने लाग्छ ।’
बैठकमा संघीयताकै बारेमा धेरै प्रश्नहरु उठेको भन्दै उनले संघीयताका विषयमा कम्तीमा अब कांग्रेसले अस्पष्ट धारणा राख्न नमिल्ने बताए । संविधानमा कल्पना गरे अनुसारको कानुन संघीय सरकारले नबनाउँदा प्रदेश सरकारले चाहेर पनि काम गर्न नसक्ने अवस्था रहेको उनले बताए । ‘म मुख्यमन्त्री छु, मैले चाहेर पनि गर्न सक्ने अवस्था धेरै छैन । संविधानमा जे कल्पना गर्यौं, त्यो अनुसार कानुन बनाउन सकेनौं बनाउने रुचि पनि देखाएका छैनौं’, उनले भने । मुख्यमन्त्री पाण्डेले ३ वटा कानुन बन्दैन भने प्रदेश सरकारको औचित्य पनि नहुने दाबी गरे ।
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीले गठबन्धनको सरकार जोगाउनु मात्रै ठूलो कुरा नभएको बताए । उनले सरकारमा बसेर जनतामा आशा जगाउने गरी डेलिभेरी पनि दिन सक्नुपर्ने बताए । आइतबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता पौडेलले कांग्रेसकै मन्त्रीहरूले पनि जनतामा आशा जगाउने गरी काम गर्न नसकेको बताए । ‘सरकारमा हुनु, गठबन्धन बचाउनु मात्रै ठूलो कुरा होइन । सरकारमा बसेर जनतामा आशा पनि जगाउन सक्नुपर्छ,’ पौडेलले अघि भने, ‘आज हाम्रै पार्टीको साथी सरकारमा मन्त्री हुनुहुन्छ, तर कसैले एउटा पनि उदाहरणीय काम गर्न सकेको अवस्था छैन, जसको हामी कार्यकर्ताले खुलेर प्रशंसा गर्न सकौँ ।’
उनले पार्टीकै मन्त्रीले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिरहेको भएपनि मुलुकको अर्थतन्त्र डामाडोल हुँदा केही गर्न नसकेको भन्दै आलोचना गरे । ‘अर्थ मन्त्रालय हाम्रै नेतृत्वमा छ, तर अर्थतन्त्रमा सुधार आइरहेको छैन । यस्तो बेला हामीले कसलाई प्रश्न गर्ने हो ? कि जवाफ दिनुपर्ने हो ? अर्थतन्त्र डामाडोल भएको छ, सुधारको पहल गर्न सकेको देखिएन,’ उनले भने, ‘साना व्यवसायीहरू सटर बन्द गरेर हिड्न बाध्य छन् । सभापतिज्यू, बैंकमा पैसा नभएर लगानी गर्न नपाउनुभन्दा बैंकमा पैसा थन्किएर लगानी गर्न नसक्नु ठूलो समस्या हो ।’
नेता पौडेलले पार्टीका भ्रातृ संस्थाहरूको अधिवेशनको सुनिश्चितता गर्न समेत माग गरे । ‘सभापतिज्यूलाई मेरो प्रश्न छ, पार्टीका भ्रातृ संस्थाहरूको अधिवेशन हुन्छ कि हुँदैन ? एक हजार जनाको कमिटी बनाएर कसरी अधिवेशन हुन्छ ? उनीहरू अधिवेशनका प्रतिनिधि हुन्छन् कि छेऊ कुनामा बसेर टुलुटुलु अधिवेशन हेर्ने गरी सहभागी हुन्छन् ? यस्तो अवस्थामा कसरी अधिवेशन हुन्छ ?,’ पौडेलले प्रश्न गर्दै अघि भने, ‘यो बैठकमा भ्रातृ संस्थाहरूको अधिवेशन हुने वातावरणको सुनिश्चित गर्नका लागि म आग्रह गर्न चाहान्छु ।’
उनले पार्टीको अघिल्लो बैठकका निर्णयहरू कार्यान्वयन हुन नसकेका विषयमा समेत प्रश्न उठाए । ‘पार्टीले निर्णय गर्दै जाने, कार्यान्वयन गर्नुनपर्ने हो भने त्यसको के अर्थ ? त्यसैले अब गरिएका निर्णयहरू कार्यान्वयन नहुने अवस्था हुनुहुँदैन,’ उनले भने, ‘अघिल्लो बैठकका निर्णयहरू सबै कार्यान्वयन भए कि भएनन् ? त्यसको समीक्षा हुनुपर्छ ।’ उनले पार्टीको महासमिति बैठकमा सांगठनिक र आर्थिक दस्तावेजहरू मात्रै प्रस्तुत गरेर पर्याप्त नहुने बताए । उनले महासमिति बैठकमा पार्टीको सांगठनिक र आर्थिक दस्तावेजहरूमात्रै प्रस्तुत गरेर नहुने भन्दै मुलुकको अर्थतन्त्रलाई अघि बढाउन पाटीको अबको नीति के हो ? जलवायु परिवर्तन अहिले ग्लोबल एजेण्डा बनेको छ, यसमा पार्टीको धारणा के हो ? परराष्ट्र मामिलाका सम्बन्धमा पार्टीको नयाँ अवधारणा के हुने हो ? यी सबै विषय महासमिति बैठकबाट प्रष्ट भएर जानुपने बताए ।
कांग्रेस बैठकमा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले पार्टीले देश विकासको स्पष्ट खाका तयार गर्नुपर्नेमा जोड दिए । चौधरीले राजनीतिक विषयले मात्रै मुलुक बन्न नसक्ने दाबी गर्दै पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने बताए ।
बैठकमा चौधरीको प्रश्न थियो, ‘यो पार्टीको अबको दश वर्षको देश विकासको दृष्टिकोण के हो ? हाम्रो विकासको खाका कस्तो हुने हो ? त्यसको कुनै आधिकारिक दस्तावेज पार्टीको केन्द्रीय समितिबाट पारित भएको जानकारी मलाई छैन । देशभित्र र र देशबाहिर रहेका नेपालीहरूले हामीलाई हेरिरहेका छन् । यो पार्टीले राजनीतिको कुरा मात्रै गर्छ कि विकासको पनि कुरा गर्छ ? देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनु पर्दैन ?’
उनले पार्टीको केन्द्रीय समिति बैठकमा विकास र आर्थिक एजेण्डामा छलफल गर्नुपर्ने माग गरे । चौधरीले अर्को बैठक अर्थतन्त्रको एजेण्डामा केन्द्रित हुनुपर्ने समेत बताए । चौधरीले भने, ‘विकास निर्माणका कामहरू ठप्प भएका छन् । उद्योगधन्दाहरू ठप्प छन् । उद्यमीको मर्म हामीले बुझ्न नसक्ने हो भने नेपाल बाहिर रहेका युवाहरूलाई पार्टीसँग जोड्न नसक्ने हो भने आगामी दिन झनै कठिन हुने देखिन्छ । म आग्रह गर्न चाहन्छु कि फराकिलो दृष्टिकोणले यो पार्टीलाई पुन निर्माण गर्ने तरिकाले आउने केन्द्रीय समिति बैठकले आर्थिक विकासका मुद्धा, नेपालबाहिर रहेका नेपालीलाई स्वदेश फर्काउने मुद्धालाई, रोजगारको वातावरण सिर्जना गर्ने मुद्दामा छलफल हुनुपर्छ ।’
उनले पार्टीमा संघर्ष गरेका, जेलनेल भोगेका नेताहरु सँगसँगै मुलुकलाई योगदान दिन सक्ने क्षमतावान व्यक्तिहरूलाई पनि अवसर दिनुपर्ने धारणा राखे । अबको निर्वाचनमा २० लाख मतदाता थपिने भन्दै चौधरीले सर्वोच्च अदालतको निर्देशन अनुसार प्रवासमा रहेका नेपालीलाई पनि समेट्दा यो संख्या झण्डै ५० लाख हुने भएकाले नयाँ सोच बोकेको कांग्रेस आवश्यक रहेको बताए । उद्योगपति समेत रहेका नेता चौधरीले केहि गर्न खोज्ने, सक्षम अनुभवी र विज्ञहरुलाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’का नाममा पाखा लगाइने गरेकोमा असन्तुष्टि व्यक्त गरे ।
अर्का केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले समाजमा विकसित नेगेटिभ एटिच्युडका कारण दोष जति सबै कांग्रेसले झेल्नुपर्ने अवस्था रहेको बताए । उनले कांग्रेसले इतिहासमा फेरि एक पटक गम्भीर भएर देशलाई सही दिशामा अघि बढाउन सक्नुपर्ने बताए । आइतबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता घिमिरेले समाजलाई सही दिशातर्फ डोर्याउने काम पनि नेपाली कांग्रेसकै काँधमा रहेको बताए ।
‘अहिले जताततै आम मान्छे निराश छ, कतै कोही उत्साहित छैन । किन यस्तो भइरहेको छ ? यसबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ,’ उनले अघि भने, ‘नेगेटिभ एटिच्युड जुन चरम विन्दुमा पुगेको छ, यसलाई हामीले कसरी सकारात्मक बनाएर लैजाने ? कसरी आशा जगाउने भनेर गम्भीर हुनुपर्ने बेला आएको छ ।’
उनले देशमा भएजत्ति सबै नराम्रो कामको अपजस कांग्रेसले लिनुपर्ने अवस्था रहेको बताए । ‘जता पनि, जसले पनि कांग्रेसलाई गाली नै गरिरहेको देखिन्छ । हुन पनि आम मान्छेको जीवन समस्यै समस्यामा छ । समाज बेरोजगारी छ, पारिवारिक विचलन छ । देशमा राजस्व संकलन बढेको छैन । काम गर्ने जनशक्ति विदेश पलायन भइरहेको छ,’ उनले भने, ‘देशमा जे भइरहेको छ, त्यसको अपजस जत्ति सबै कांग्रेसलाई आइपरेको छ । मानौं कि कांग्रेसबाहेक अरू सबैले ठीकठाक गरिरहेका छन् ।’
केन्द्रीय समितिको बैठकमा नेता भीम पराजुलीले हिन्दु राष्ट्रको पक्षमा उभिन प्रस्ताव गरे । बैठकमा आफ्नो धारणा राख्दै उनले भने, गत केन्द्रीय समिति बैठक मा नै मैले हिन्दु राष्ट्रको पक्षमा आफ्नो धारणा व्यक्त गर्दै हाम्रो पार्टीले धर्म संस्कृति विभाग गठन गर्नुपर्दछ भनेर बताएको थिएँ । आज धरानमा नेपालको संविधानको बर्खिलाप खुलेआम गौहत्या जस्ता जघन्य अपराधका घटनाहरू घटेका छन् ।’
कांग्रेसकै कारणले माओवादीको प्रधानमन्त्री र गृहमन्त्री भएको अवस्था पनि दिनदहाडै सहमहामन्त्री महेन्द्र यादवमाथि ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार भएको बताए । उनले भने, ‘काँग्रेस सरकारमा छ वा छैन भन्ने कार्यकर्ताले बुझ्न सकिरहेका छैनन् यस सन्दर्भमा सरकार मा सम्मिलित नेताहरूको धारणा के हो प्रष्ट पार्नुहुन अनुरोध गर्दछु ।’ सुन प्रकरणमा नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम सबै समाचार माध्यममा पनि गृहमन्त्रीले कांग्रेसका नेताहरूलाई छानिछानी दुःख दिने नियतले अगाडि बढेको आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार