नेपाल-चीन संयुक्त वक्तव्य जारी, भैंसीको मासु निर्यातदेखि एक जोडी गैंडा उपहार दिनेसम्मका सहमति
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार १०:२३:४
९ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे संयुक्त वक्तब्य जारी गरिएको छ । मंगलबार विहान जारी चीन र नेपालबीचको १३ बुँदे संयुक्त विज्ञप्ति अनुसार ग्लोबल डेभलपमेन्ट इनिसिएटिभलाई नेपालले समर्थन गर्ने बताइएको छ ।
चीनले लिजी–नेचुङ सीमा बन्दरगाहको नेपाल क्षेत्रमा पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डको औपचारिक भ्रमणका क्रममा चीन सरकारले जतिसक्दो छिटो पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । प्रधानमन्त्री प्रचण्डकै भ्रमणका क्रममा नेपाल र चीनले मंगलबार जारी गरेको संयुक्त वक्तव्यमा दुई देशबीच रहेका पारम्परिक सीमा व्यापार विन्दुहरूलाई पनि पुनः खोल्ने समझदारी भएको जनाइएको छ ।
लिजी–नेचुङ बन्दरगाह र झाङ्मु–खासा सर्वसाधारणका लागि खोलिएकोमा दुवै पक्षले स्वागत गरेको पनि वक्तव्यमा जनाइएको छ । त्यस्तै छेन्ताङ–किमाथांका र रिवु–ओलाङचुङगोला बन्दरगाह खोल्ने विषयमा पनि दुई पक्षबीच कुराकानी जारी रहने संयुक्त वक्तव्यमा उल्लेख छ । यातायात र राजमार्ग विस्तारका सन्दर्भमा यसअघि भएका सहमतिहरूलाई कार्यान्वयनमा लैजाने विषयमा पनि चीन र नेपालबीच छलफल भएको छ ।
दुवै पक्ष भूपरिवेष्ठितबाट नेपाललाई भूजडित देश बनाउनका लागि यातायात र राजमार्गको उपयोगसम्बन्धी हस्ताक्षर भएका सहयोग लागू गर्न सहमत भएका छन् । त्यस्तै टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन पनि नेपाल र चीन सहमत भएका छन् । उक्त आयोजनाले नेपाल–चीन सम्पर्कमा नयाँ आयाम थप्ने पनि दुवै मुलुकले जनाएका छन् । त्यस्तै काठमाडौंको चक्रपथको दोस्रो चरणको विस्तारलाई पनि छिट्टै कार्यान्वयनमा लैजाने संयुक्त वक्तव्यमा उल्लेख छ ।
त्यस्तै जिलोङ-केरुङ–काठमाडौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा भएको प्रगतिमा पनि दुवै मुलुक सन्तुष्ट रहेको जनाएका छन् । चीनले नेपाललाई रेल सञ्चालनका लागि चाहिने आवश्यक जनशक्तिलाई तालिम दिन तयार रहेको पनि वक्तव्यमा जनाइएको छ ।
त्यस्तै नेपालले चीनलाई एक जोडी गैंडा दिने पनि संयुक्त वक्तव्यमा उल्लेख छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीकका रूपमा नेपालले चीनलाई गैंडा उपहार दिने प्रतिबद्धता जनाएको पनि वक्तव्यमा उल्लेख छ । नेपालले उपहारका रूपमा अमेरिका, भारत, बेलायत, जर्मनी र चीनलाई गैंडा दिँदै आएको छ ।
नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ । केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण निर्माण छिटो सुरु गर्ने सहमति भएको हो । मंगलबार बिहान जारी भएको संयुक्त वक्तव्यमा लेखिएको छ, ‘जिलोङ-केरुङ–रसुवागढी–चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने छ ।’
संयुक्त वक्तव्यमा ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युत, सीमापार प्रसारण लाइन र सम्बद्ध सबस्टेसनको विकासमा सहयोगलाई थप प्रवर्द्धन गर्दै केरुङ–रसुवागढी–चिलिमे प्रसारण लाइन बनाउने सहमति भएको उल्लेख छ । यद्यपि यसको लगानीको विषय उल्लेख छैन । सार्वजनिक संयुक्त वक्तव्यमा नेपालबाट भैंसीको मासु चीन निर्यात गर्नका लागि स्वीकृति प्रक्रियालाई तीव्रता दिने र यसबाट नेपाल र चीन बीचको व्यापार घाटा न्यूनीकरण हुने अपेक्षा गरिएको उल्लेख छ ।
हाल चीनमा नेपालबाट राँगा र भैंसीको मासु घुमाउरो बाटो हुँदै पुग्ने गरेको छ । भारत, भियतनाम र थाइल्याण्ड हुँदै चीन पुर्याइने हुनाले सरकारी अभिलेखमा चीन निर्यात भएको देखिँदैन । वक्तव्यमा चिनियाँ पक्ष नेपाली उत्पादनलाई चीन निर्यातमा सहजीकरण गर्न तयार भएको उल्लेख छ । हाल नेपालबाट चीनमा घाँस निर्यात हुँदै आएको छ ।
चीनमा नेपाली अमिलो जातका फलफूल निर्यातका लागि आवश्यक पर्ने प्रमाणपत्र उपलब्ध गराउन र नेपालमा क्वारेन्टाइन प्रयोगशाला स्थापना गर्न पनि चीनले नेपाललाई सहयोग गर्न तयार भएको छ । साथै चीनले याक, नाक र च्याङ्ग्राको प्रजननका लागि पनि चीनले सहयोग गर्ने भएको छ ।
चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रचण्डको चीन भ्रमणको क्रममा नेपालीलाई रेलवे सम्बन्धी तालिम दिन चीन तयार भएको हो । सार्वजनिक संयुक्त वक्तव्यमा सो कुरा उल्लेख छ । तर यस सम्बन्धमा विस्तृतमा खुलाइएको छैन ।
केरुङ–काठमाडौं रेलवेको सम्भाव्यता अध्ययनको प्रगतिमा दुवै पक्ष सन्तुष्ट रहेको र नेपाल–चीन रेलवे सहयोग सम्बन्धी आठौं बैठक जतिसक्दो चाँडो आयोजना गर्ने योजना बनाइएको पनि संयुक्त वक्तव्यमा उल्लेख छ । नेपालको आवश्यकतालाई मध्यनजर गर्दै अरनिको राजमार्गको मर्मतसम्भार आयोजनाको चौथो चरणको काम गर्न र स्याफ्रुबेसी–रसुवागढी राजमार्ग मर्मतको काम चाँडै गर्न पनि चीन सहमत भएको संयुक्त वक्तव्यमा उल्लेख छ ।
यस्तै टोखा–छहरे सुरुङमार्ग आयोजनाको सम्भाव्यता अध्ययन र काठमाडौं चक्रपथ आयोजनाको दोस्रो चरणको कामलाई तीव्रता दिन पनि चीन सहमत भएको छ । नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा परिणत गर्न चीनको पारवहन यातायात र राजमार्गको उपयोग सम्बन्धमा विगतमा हस्ताक्षर गरिएका सहयोग सम्बन्धी दस्तावेज कार्यान्वयनलाई निरन्तरता दिन दुवै पक्ष सहमत भएका छन् ।
नेपाल र चीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न र संचालनमा आएकोमा सन्तोष व्यक्त गरेका छन् । साथै आफ्ना एयरलाइन्सहरूलाई थप उडान गर्न र हवाई मार्गहरु खुलाउन दुवै पक्ष सहमत भएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ सरकार र जनताप्रति आभार व्यक्त गरेका छन् । न्यानो र मैत्रीपूर्ण स्वागतप्रति धन्यवाद दिँदै चिनियाँ नेताहरूलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशी समुदायमाथि विभेद र उपेक्षा अझै कायम
कात्तिक २६, २०८१ सोमबार
कांग्रेसका सभापति देउवा डडेल्धुरामा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता
कात्तिक २६, २०८१ सोमबार
लाल आयोगको प्रतिवेदन सार्वजनिक
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
कात्तिक २६, २०८१ सोमबार
ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
मधेशी समुदायमाथि विभेद र उपेक्षा अझै कायम
कात्तिक २६, २०८१ सोमबार
कांग्रेसका सभापति देउवा डडेल्धुरामा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता
कात्तिक २६, २०८१ सोमबार
लिग-२ मा नेदरल्याण्डसमाथि ओमानको एक रनको रोमाञ्चक जित
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनी लायन्समा महानायक राजेश हमाल ब्रान्ड एम्बास्डर नियुक्त
कात्तिक २६, २०८१ सोमबार
लाल आयोगको प्रतिवेदन सार्वजनिक
कात्तिक २६, २०८१ सोमबार
कोप–२९ उद्घाटन, जलवायुजन्य समस्याका समाधान खोजिने विश्वास
कात्तिक २६, २०८१ सोमबार