गुटबन्दीमा प्रवेश नगरी सकियो कांग्रेस बैठक, फरक शैली र प्रस्तुति मै रमाए सभापति देउवा
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार १५:७:३१
८ असोज, काठमाडौं । नेपाली कांग्रेसको ४ दिनसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी मंसिरमा हुने महासमिति बैठकको तयारी लगायतका विभिन्न निर्णयहरू गरेर सकिएको छ । विगतका भन्दा यो पटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरूको फरक रुप देखियो । उनीहरू यो पटक गुट बचाउने भन्दा जन लक्षित विषयमा बढी केन्द्रित देखिए । बैठकमा युवा पुस्तालाई आकर्षित गर्ने अभियानका धेरै विषय उठान भए । बैठकमा जनतामाझ आफ्नो वर्चस्व कायम राख्न र नयाँ पुस्तालाई जोड्ने अभियान चलाउनुपर्ने विषयले प्राथमिकता पाए ।
अन्तिम दिनको बैठकमा केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीको बैठक लाइभ गर्न नहुने बताए । उनले ‘मलाई कार्यसमितिको बैठक लाइभ दिनु राम्रो नलागेको बताए । यो केन्द्रीय समितिमा उठेका कुराहरू बाहिर जाने कुरा होइन । यो बैठक त रावणको नाभीमा भएको अमृत जस्तै हो भन्दै उनले युवा स्वदेशमा नबस्ने हो भने देशलाई ठूलो असर पर्ने बताए । नेता भण्डारीले सुवास नेम्वाङको देहान्त भएपछि उनको अन्त्येष्टि गर्न कुर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै भोलि अरू यस्तै घटनाले देशलाई राम्रो नगर्ने तर्क गरे । हरेक कुराको नेतृत्व कांग्रेसको वरीपरी घुमेको उल्लेख गर्दै देशका समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।
सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नै सामाजिक सञ्जालमा लाइभ गरेर सर्वसाधारणलाई पहुँच दिन खोजेका थिए । सञ्जालमा लाइभ भएपछि सदस्यहरूमा पनि बैठकमा कसले धेरै जनताको चासो रहेको सवाल उठाउने भन्ने प्रतिस्पर्धा नै चलेको पाइयो । केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले पार्टीमा कहिल्यै बूढा नहुने नेताहरू रहेको भन्दै ठट्यौली पनि गरे । चार दिनदेखि बैठकमा सभापति देउवाले निरन्तर बैठक सञ्चालन गरिरहेका थिए । सोमबारको बैठकमा नेताहरूबीच उमेरको विषयलाई लिएर केहीबेर ठट्टा नै चल्यो ।
बैठकमा सोमबार सभापति शेरबहादुर देउवा र उपसभापति तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङबीच नोकझोक पनि भयो । बैठकमा गुरुङले आफूसँगै रहेका सभापति देउवाप्रति लक्षित गर्दै सरकारले भ्रष्टाचार काण्डका फाइल अघि बढाउँदा सरकार ढाल्नेसम्मको चेतावनी आउने गरेको टिप्पणी गरेका थिए । सरकारको काम कारबाहीलाई लिएर पार्टीका अधिकांश केन्द्रीय सदस्यले बैठकमा प्रश्न उठाएपछि गुरुङले प्रति घण्टा सय किमिको गतिमा कुद्न लागेको सरकारलाई ‘ब्रेक’ लगाउने काम भएको भन्दै सभापतिप्रति लक्षित गर्दै अभिव्यक्ति दिएका थिए ।
चार दिनसम्म चलेको बैठकमा एक सयभन्दा बढी सदस्य र पदाधिकारीका प्रश्नको कुनै जवाफ नदिई देउवाले उपसभापति गुरुङले उठाएका सवालमाथि मात्रै प्रतिवाद गरेका थिए । बैठकमा नेता गोपालमान श्रेष्ठले महाधिवेशन भएको डेढ वर्ष बित्दा पनि सभापति देउवाले विधानले निर्दिष्ट गरेबमोजिम काम नगरेको भन्दै अब ढिला गर्न नहुने बताएका थिए । नेता श्रेष्ठले सबैलाई सम्मान हुने गरी उपयुक्त जिम्मेवारीको बाँडफाँट हुनुपर्नेमा जोड दिए ।
पार्टीमा आफूलाई ‘वरिष्ठ नेता’ बनाउनका लागि सभापति देउवालाई दबाब दिँदै आएका उनले भने, ‘बसेर बोलें, कसैले सुन्दैन । उठेर बोलें, ठाउँमा कुरा पुग्दैन । काम हुँदैन । आज–आज भन्दै बस्दा समस्या रहिरहन्छ । पार्टी बन्दैन । पार्टी बनाउने हो भने सबैलाई सम्मान हुने गरी जिम्मेवारीको बाँडफाँट हुनुपर्छ ।’ उनले पार्टीमा भोलि भोलि भन्दै काम नगरेर सार्दै जाँदा पार्टीलाई नै क्षति हुने बताए ।
‘वर्षौंदेखि भोलि–भोलि भन्दै काम नगरेर सार्दै जानु राम्रो होइन । अब जे जति काम छन्, सभापति ज्यू, फटाफट निर्णय गर्नुस् । बाँकी काम टुंगो लगाउनुस भन्दै श्रेष्ठले भने पार्टी कोषाध्यक्षविहिन छ । यो कहिलेसम्म रिक्त राख्ने ? कोषाध्यक्ष हुन धेरै जनाले धाइरहेको होला । अब धाउन बन्द गराइदिनुस् । एकजनालाई बनाइदिनुस्, जसलाई बनाएपनि काम अघि बढ्छ, पार्टी अघि बढ्छ ।’
त्यस क्रममा सभापति देउवा कहिले झोक्किन्छन्, कहिले ठट्टा गरेर हँसाउँछन् । पूर्व महामन्त्री शशांक कोइरालाले बोलिसकेपछि देउवाले उमेरको प्रसंग जोड्दै ठट्टा गरे । ‘कहिल्यै बूढा नहुने युवा नेताहरू छन् यहाँ । कहिल्यै बूढा हुँदै–हुँदैनन् ।’ देउवाले यति भनेपछि हलमा हाँसो मच्चियो । सबै हाँस्न थालेपछि देउवाले फेरि भने, ‘ल ठीक छ, ठीक छ । यस्तो छ क्या यहाँ ।’ त्यसपछि फेरि देउवा बोल्छन्, ‘गगन थापालाई भनेको होइन है मैले फेरि ।’
१४ औँ महाधिवेशनपछि सभापति देउवाले पहिलो पटक विधानबमोजिम समयमै बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा गत बिहीबारदेखि नेताहरूले धारणा राखेका थिए । सोमबार चौँथो दिनसम्म प्रदेश कार्यसमितिका सभापतिहरूसहित करिब ९० जना नेताहरूले धारणा राखे । यसपटक सदस्यहरू विगतमा जस्तो आरोप–प्रत्यारोपमा मात्रै केन्द्रीत छैनन्, बरु सार्वजनिक सरोकारका दर्जनौँ समसामयिक सवालहरूमाथि पार्टीले प्रष्ट धारणा र योजना बनाएर काम गर्नुपर्ने उनीहरूको सुझाव छ ।
महामन्त्री गगनकुमार थापाले संघीयता कांग्रेसका लागि कसैले बोकाइदिएको भारी नभएको बताएका छन् । नेताहरूले केन्द्रीय कार्यसमितिको बैठकमा संघीयताबारे विभाजित धारणा राखेपछि जवाफमा महामन्त्री थापाले कम्तीमा पनि कांग्रेसले संघीयतालाई अरूले बोकाइदिएको भारीका रूपमा लिन नहुने जवाफ दिए । थापाले महाधिवेशनबाटै देशलाई संघीयतालाई लैजाने निर्णय गर्ने कांग्रेस नै पहिलो पार्टी भएको दाबी गरे ।
उनले भने ‘संघीयता ठीक ढंगले चलिरहेको छैन, सुधार गरौँ भन्ने कुरा ठीक छ । तर यो चाहिँ अरू कसैले बोकाइदिएको भारी हो भनेर यस्तो भारी हामी बोक्न सक्दैनौँ भनेर उम्किने मिल्दैन, यो नैतिकताको कुरा हो । किनभने कांग्रेस नै मूलधारको त्यस्तो पहिलो दल हो जसले सबैभन्दा पहिले महाधिवेशनबाट निर्णय गरेर केन्द्रीकृत शासनलाई विकेन्द्रित गर्ने हाम्रो पार्टी हो । त्यसकारण संघीयता पार्टीको नीति बमोजिम ल्याइएको हो ।’
बैंकमा नेता अर्जुननरसिंह केसीले पार्टीमा नेताहरूबीच पार्टी कब्जाको होड मात्रै चलिरहेको बताएका छन् । सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले नेता पार्टी कब्जाको होडमा व्यस्त हुँदा जनताहरु भने निराशाले व्याकुल भएर कांग्रेसको विकल्प खोज्न उद्धत रहेका बताए । केसीले भने, ’हामी पार्टी कब्जाको होडमा छौँ, तर जनता पार्टीबाट टाढाटाढा हुँदैछन् । जनताको खाँचो, पार्टीहरूले जनतामा बाँडेको आश्वासन र सो अनुरुपको व्यवहार नभएको अवस्थाले ल्याएको फरकको खाली ठाउँमा आम असन्तुष्टि र निराशा मात्र होइन, जन आक्रोशले विकल्पको बाटो खोज्दैछ ।’
पूर्व महामन्त्री शशांक कोइरालाले गुटले पार्टीलाई बलियो नबनाउने बताए । बैठकमा उनले गुटगत गतिविधिले पार्टीलाई अँध्यारोतिर धकेलिरहेको बताए । उनले तल्ला तहका कार्यकर्ताको सुझाव र भावना बमोजिम पार्टीमा निर्णय गर्ने अभ्यास बसाउनुपर्ने बताए । उनले भने, ‘हाम्रै गतिविधिले पार्टीको भविष्यलाई अँध्यारोमा धकेलिरहेको छ । पार्टीमा अनावश्यक रुपमा ग्रुपिज्म छ । ग्रुपिज्म त अधिवेशनमा हुनुपर्ने हो । तर पार्टीभित्र सधैँ ग्रुपिज्म हुन थाल्यो । यसले पार्टीलाई राम्रो गरिरहेको छैन । अब पार्टीको निर्णय प्रक्रिया समावेशी र तल्ला तहका कार्यकर्ताको मनोभावना बमोजिम हुनुपर्छ । जिल्ला सभापतिको मात्रै सुझाव लिएर पनि पुग्दैन, क्षेत्रीय तहबाट सुझाव लिएर निर्णयमा पुग्नुपर्छ ।’
बैठकमा बोल्ने केही सदस्यले पाटीमा सभापति पद्धतिलाई अझ बलियो बनाउनुपर्ने भन्दै सभापति देउवाको चाकडी गर्न भ्याए भने अधिकांशले गुटगत कुरा उठाएनन् । पार्टी सुधारदेखि देशका जल्दा बल्दा विषयलाई नै केन्द्रीय सदस्यहरूले मान्यता दिए । बैठकले महासमिति बैठकको एजेन्डा तय गर्न चार समिति गठन गर्यो । आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाइएको छ । बैठक सुरु हुनुअघि सभापति देउवाले चन्द्र भण्डारीसहित आठ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर ।
देउवाले मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, डा. चन्द्र भण्डारी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेपछि कहिले यसको विरोध पनि गरे । बैठकमा महामन्त्री गगन कुमार थापाले अहिलेसम्म भइ गरेका कार्यक्रमहरूको समीक्षाका बारेमा समिक्षात्मक प्रतिवेदन पेश गरेका थिए । बैठकमा सदस्यहरूले पार्टी संलग्न सरकार भए पनि सरकारका गृहमन्त्रीले आफ्नो पार्टीलाई छोडेर अन्य दलका नेताहरूलाई मात्रै कारबाही गर्ने गरी मुद्दा चलाएको, गृह प्रशासनकै कर्मचारीले कांग्रेसका नेता र सांसदहरुमाथि दुर्व्यवहार गरेको लगायत टिप्पणी गर्दै प्रश्न उठाएका थिए ।
बैठकले पार्टीका सह–महामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको मुटु भृकुटीमण्डपमा प्रहरीको पहुँचमै रहेको सार्वजनिक कार्यक्रमस्थलमै दिन दहाडै खुकुरी प्रहार गरी सांघातिक आक्रमणबाट सख्त घाइते बनाइनु, तीनकुनेमा कारखानामा सुतिरहेको अवस्थामा एक्कासी चार चार जनाको ज्यान लिने गरी आक्रमण हुनु लगायतका दर्जनौँ घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै त्यसले पनि सरकारले आम नागरिकमा सुरक्षाको प्रत्याभूति गराउन नसकेको दाबी गरेको हो ।
यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णय
१) महासमितिको बैठक तयारी सम्बन्धमाः
चौधौ महाधिवेशनबाट विधान पारित गर्ने र नेतृत्व चयन गर्ने कार्य सम्पन्न भएता पनि पार्टीका विविध नीतिका बारेमा छुट्टै नीति महाधिवेशन आयोजना गरि छलफल गर्ने वैधानिक प्रावधान राखिएको थियो । नीति महाधिवेशन आयोजना गर्ने तयारी गर्दा गर्दै महासमितिको बैठक बस्ने समय पनि भईसकेको र नीति महाधिवेशनले गर्ने काम महासमितिले गर्न सक्ने वैधानिक प्रावधान रहेकोले नीति महाधिवेशनले गर्ने कार्य गर्ने गरी महासमितिको बैठक यही मंसिर १३, १४ र १५ गते आयोजना गर्ने भनि केन्द्रीय कार्यसमितिको २०८० साउन २ देखि १० गते सम्म बसेको बैठकले निर्णय गरिसकेको छ । महासमितिको बैठकलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न देहाय बमोजिमका विभिन्न समितिहरु गठन गरिनेछ ।
(क) पार्टी सभापति शेरबहादुर देउवाज्यूको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं उपत्यकाका तीनै जिल्ला काठमाण्डौं, ललितपुर र भक्तपुरका जिल्ला सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरू समेत रहने गरि एक मूल आयोजक समिति गठन गर्ने ।
(ख) महासमितिको बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन गर्ने । समितिमा केन्द्रीय पदाधिकारीहरू, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यहरू रहनेछन् । आवश्यकताअनुसार सभापतिले थप सदस्यहरु मनोनयन गर्नुहुनेछ ।
(ग) महासमितिको बैठकमा पार्टीको सांगठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुहुनेछ र समसामयिक राजनीतिक प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नु हुनेछ ।
(घ) आवश्यकता अनुसार केन्द्रीय सभापतिले विभिन्न विषयमा अन्य समितिहरु गठन गर्न सक्नु हुनेछ ।
(ङ) २०८० मंसिर १३, १४ र १५ गते हुने महासमितिको बैठक काठमाडौंमा आयोजना गरिनेछ ।
२) कार्यक्रमको समिक्षाः
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८० साउन २ देखि १० सम्म बसेको बैठकको निर्णय अनुसार तय गरिएका विविध कार्यक्रमहरू मध्ये वर्षायाम, अविरल झरी, बाढी पहिरो एवं डेङग्यू र आँखा पाक्ने रोग जस्ता जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने महामारी फैलिएको जोखिमपूर्ण अवस्थालाई मध्यनजर गरि भाद्र १० देखि २४ गतेसम्म सम्पन्न गर्ने भनि निर्धारण गरिएको “समुदायमा कांग्रेस” नामक कार्यक्रम स्थगन गर्नुपर्यो । प्रतिकूल परिस्थितिका बाबजुद देहायका कार्यक्रमहरू सम्पन्न गरिएका छन्।
(क) नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८० साउन २ देखि १० सम्म बसेको बैठकको निर्णय अनुसार एक महिनाको अवधिमा आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सव लगायतका महत्वपूर्ण र प्रभावकारी कार्यक्रमहरू सम्पन्न भएका छन्। आन्तरिक विशेष अभियानले पार्टी संगठनभित्र देखिएका अलमल, अन्योल र विविध खाले भ्रमहरुलाई चिर्ने काम गर्नुका साथै पार्टीका समसामयिक गतिविधि बारे पार्टी संगठनका सबै तहमा संस्थागत ढंगले अवगत गराउने काम भएको छ। वर्षायामको अविरल झरि बाढी पहिरो, डेङग्यू र आँखा पाक्ने जस्ता महामारी फैलिएको जोखिमपूर्ण समयमा पनि पार्टी निर्णयलाई सर्वोपरि ठानेर खटाईएको जिल्लामा गई जिम्मेवारी पुरा गर्नुहुने सवै केन्द्रीय सदस्य एवं प्रतिनिधिहरु, प्रदेश तथा जिल्ला कार्यसमितिका सभापति एवं पदाधिकारी सदस्यहरू लगायत सबै तहका जिम्मेवार साथीहरूलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
(ख) नेपाली कांग्रेसलाई विविध क्षेत्रका युवाहरुसँग जोड्न र मुलुकमा विद्यमान बेरोजगारी समस्या र युवाहरूको विदेश पलायन जस्ता ज्वलन्त समस्याहरूलाई नविन नीति र प्रविधिका माध्यमले नेपाली कांग्रेसले यस क्षेत्रमा महत्वपूर्ण कार्य गर्दैछ भन्ने सकारात्मक सन्देश दिई युवाहरूका बीच फैलिएको निराशालाई हटाई आशा भर्दै नेपाली कांग्रेसप्रति आकर्षित गर्न “पोलीसी ह्याकाथन अन गीग इकोनोमी एण्ड क्लाइमेट चेन्ज” कार्यक्रम सफल भएको छ । यसले नेपाली कांग्रेस पार्टी सबै किसिमका युवाहरू बीचमा वैचारिक तथा व्यावसायिक दृष्टिले खुल्ला बहस छलफल गर्न तयार रहेको सन्देश आम युवाका बीचमा फैलिएको छ।
(ग) बीपी कोइरालाको ११० आैं जन्मजयन्तीको उपलक्ष्यमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना, नेपाली लेखक संघ, नेपाल सांस्कृतिक महासंघको संयोजन र नेपाल लोकतान्त्रिक ललितकला संघ र निरन्तर शनिबारको सहयोगमा यही भाद्र २४, २५ र २६ गते बीपी साहित्य महोत्सव सम्पन्न गरियो। आदरणीय पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यूबाट समुद्घाटित उक्त महोत्सव तीन दिनसम्म संचालन भएको थियो। महोत्सवमा बिपी कोइरालासंग सम्बन्धित विविध १३ वटा विषयमा विषयगत विज्ञहरुबाट अन्तरक्रियात्मक विचार प्रस्तुत भए भने प्रत्येक दिनको पहिलो सत्रमा १/१ वटा विषयमा विशिष्ट व्यक्तित्वबाट मुख्य प्रवचन प्रस्तुत गरिएको थियो । प्रत्येक दिन बिहान ९ः०० बजेदेखि पार्टीको सभाहलमा बीपी, गणेशमानसँग सम्बन्धित तयार भएका वृत्तचित्र एवं चलचित्र प्रदर्शन गर्ने काम भयो।
महोत्सवको तेस्रो दिन २६ गते गर्ने तय भएको कार्यक्रम संविधान सभाका अध्यक्ष तथा नेकपा एमाले का उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गको आकस्मिक निधन भएको दुःखद घटनाले कार्यक्रम आकस्मिक रुपमा स्थगन गर्नुपरेको थियो । स्थगित भएको उक्त दिनको कार्यक्रम संविधान दिवसको अवसरमा आश्विन ३ गते पार्टी कार्यालयमै सम्पन्न गरियो।
पहिलो दिनको कार्यक्रमका सबै सत्र सम्पन्न भएपछि कविता साँझ, दोस्रो दिन गजल साँझ आयोजना गरियो भने कार्यक्रम अवधिभर सबै वक्ताहरूको प्रस्तुतिका आधारमा फाइनआर्टका चित्रकारले क्यानभासमा चित्र उतार गर्नु भएको छ। महोत्सवमा बीपी, कांग्रेस र लोकतान्त्रिक समाजवादसँग सम्बन्धित पुस्तकहरूका साथै सूचना, संचार तथा प्रचार विभागको सक्रियतामा विभिन्न किसिमका प्रचार सामाग्रीहरु बिक्री वितरणमा राखिएका थिए।
महोत्सवमा आमन्त्रण गरिएका र प्रचार प्रसारबाट थाहा पाएर सहभागी हुनेहरूको संख्या उत्साहवर्द्धक रहेको थियो। यो महोत्सवले नेपाली कांग्रेसलाई आम जनमानसमा साझा लोकप्रिय दलका रुपमा स्थापित गराएको छ। विभिन्न राजनीतिक दलका नेताहरु, सबै क्षेत्र र आस्थाका विद्वान, बुद्धिजीवी, साहित्यकार, लेखक, कलाकार एवं सामाजिक व्यक्तित्वहरुको उपस्थिति र प्रस्तुतिले हाम्रो पार्टीको प्रभाव जनमानसमा थप लोकप्रिय बनेको महसुस भएको छ।
ऐतिहासिक बीपी साहित्य महोत्सव सफल बनाउन अहोरात्र खटिनु हुने पार्टीका पदाधिकारी, सदस्यहरू, केन्द्रीय सूचना, संचार तथा प्रचार विभाग, नेपाली लेखक संघ, नेपाल सांस्कृतिक महासंघ, नेपाल लोकतान्त्रिक ललितकला संघ र निरन्तर शनिबार लगायतका संस्थाहरू, पार्टी कार्यालयका सम्पूर्ण कर्मचारी साथीहरु, सहभागी विशिष्ट अतिथि वक्ताहरू, सहजकर्ताहरु, सञ्चारकर्मी मित्रहरू, सहभागी महानुभावहरूमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति यहाँहरुको उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
३) नेपाल सरकारले संसदमा दर्ता गरेको “विद्यालय शिक्षा विधेयक” लाई लिएर आन्दोलित शिक्षक र नेपाल सरकार बीच भएको वार्ता र सहमतिको हार्दिक स्वागत गर्दै विद्यालय शिक्षा ऐनको विद्येयक संसदमा दर्ता भईसकेकोले संसदीय प्रक्रिया भित्रैबाट संशोधन र परिमार्जनका माध्यमले विधेयकलाई सर्व स्वीकार्य बनाउन सकिन्छ भन्ने दृढ विश्वासका साथ नेपाली कांग्रेसले सार्थक पहल गर्ने निर्णय गर्दछ । उक्त विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाली कांग्रेस संसदीय दललाई निर्देश गर्दछ । साथै संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसंग सहकार्यका लागि अपिल गर्दछ।
४) नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव माथि काठमाडाैंको मुटु भृकुटीमण्डपको प्रहरीको पहुँचमै रहेको सार्वजनिक कार्यक्रमस्थलमै दिन दहाडै खुकुरी प्रहार गरि सांघातिक आक्रमणबाट गम्भीर घाईते बनाइनु, तीनकुनेमा कारखानामा सुतिरहेको अवस्थामा एक्कासी चार चार जनाको ज्यान लिने गरि भएको आक्रमण हुनु लगायतका दर्जनौं घटनाहरू दिनानुदिन घटिरहनुलाई नेपाली कांग्रेस गंभिर चिन्ता व्यक्त गर्दछ। नागरिकको शान्ति सुरक्षाको जिम्मा मूलत सरकारको हो । यी घटनाहरूले वर्तमान शान्ति सुरक्षाको अवस्थालाई उजागर गरेकाछन् भने नागरिकमा असुरक्षाको महसूस गराएको छ । छोटो समयमा देश भर घटेका शान्ति सरक्षाको क्षेत्रमा सरकारलाई नै चूनौति दिने यी घटनाहरूको गहिरो छानविन र प्रभावकारी अनुसन्धान गरि दोषीलाई अविलम्व कानुनी कार्वाहीको दायरामा ल्याउन र नागरिकहरूमा सुरक्षाको अनुभूति दिलाउनका साथै यस्ता घटना हुन नदिन प्रहरी प्रशासनको प्रभावकारी परिचालनका लागि यो बैठक नेपाल सरकारसँग माग गर्दछ।
५) राज्य कोषको रकम अनावश्यक र अनुत्पादक क्षेत्रमा फजुल ढंगले खर्च गरिनु हुन्न भन्ने हाम्रो नीति नै हो । अर्थतन्त्रको अहिलेको चुनौतिपूर्ण अवस्थामा यो विषयमा अझै ध्यान दिनु पर्ने भएको छ । नेपाली कांग्रेस सबै तहका सरकारलाई अनावश्यक संरचना सिर्जना नगर्न र आर्थिक मितव्ययिता अपनाउन अनुरोध गर्दछ । साथै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उक्त कुरामा गम्भीर ध्यान पुर्याउन निर्देशित गर्दछ ।
६) नेपालीहरुको विभिन्न चाड पर्व क्रमशः भित्रिनै लागेको बेला बजारमा खाद्यान्न लगायतका अति आवश्यक वस्तुहरू अभाव हुने, मुल्य आकासिने, कालावजारी मौलाउने जस्ता कारणले सर्वसाधारण उपभोक्ताहरू अत्तालिन थालेका छन् । आम नागरिकहरू दिनानुदिन चिन्तित् बन्दै गइरहेकोमा नेपाली कांग्रेसको गंभिर ध्यानाकर्षण भएकोछ । यस्तो अवस्था आउन नदिने र दैनिक उपभोग्य वस्तुका अतिरिक्त चाडपर्व विशेषमा उपयोग तथा उपभोग हुने वस्तुहरूको आपूर्ति सहज बनाउने, कृतिम मूल्य नियन्त्रण गर्ने, विचौलियाहरुहरुलाई निरुत्साहित गरि बजारमा सर्वसाधारणको पहुँच विस्तार गर्ने जस्ता कार्य तत्काल गर्नु पर्ने देखिन्छ । अतः विशेष ढंगले प्रभावकारी वजार अनुगमन गरी कृत्रिम मुल्य नियन्त्रण तथा दैनिक उपभोग्य वस्तुको गुणस्तर मापन गर्ने, उपभोक्तको हितलाई ध्यानमा राखी आपूर्ति सहज र सुलभ बनाई उपभोगतालाई आस्वस्थ पार्न यो बैठक नेपाल सरकारसंग माग गर्दछ ।
७) संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि नयाँ संविधान अनुरुप धेरै प्रचलित कानुनहरूको संशोधन र परिमार्जन हुन सकेका छैनन् । संविधान कार्यान्वयनसँग जोडिएका आवश्यक धेरै कानुनहरू अझै बन्न नसक्दा यसले तीनै तहका सरकार संचालनमा असहज भएको छ भने नागरिकका मौलिक हक अधिकारहरू कार्यान्वयन समेत विलम्व भईरहेका छन् । अतः संविधान कार्यान्वयनसँग जोडिएका र संविधान सम्मत संशोधित कानुनहरू अविलम्ब बनाउन यो बैठक सरकारसँग माग गर्दछ।
८) नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८० साउन २ देखि १० गते सम्म बसेको बैठकले गरेका केही जनसरोकारका विषयहरूमा सरकारको गंभिर ध्यानाकर्षण गराएको थियो । वाढी पहिरोबाट प्रभावित घर परिवार, अनावृष्टिका कारण खेतिपाती लगाउन नपाएका र लम्पीस्कीन रोगका कारण चौपाया पशुहरु मरेर ठूलो नोक्सानी व्यहोरेका निम्न वर्गका किसानहरूले अझै पनि राहत क्षतिपूर्ति पाउन नसकेको व्यापक जनगुनासो रहिआएकोले तत्काल त्यस्ता गुनासोहरु सम्वोधन गर्न यो बैठक सरकारको गंभिर ध्यानाकर्षण गर्दछ । साथै जनताको दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने सार्वजनिक विषयहरूलाई संसदमा निरन्तर प्रस्तुत गर्न र त्यस्ता विषयहरूलाई निर्णयमा पुर्याउन नेपाली कांग्रेस संसदीय दललाई यो बैठक निर्देशित गर्दछ।
९) केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरिएको नेपाल थारु संघको विधान परिमार्जनसहित पारित गरियो।
१०) नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति, पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्तीको उपलक्ष्यमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले विशेष कार्यक्रम गर्ने निर्णय गर्दछ।
११) नेपाल एक वहुजातीय, वहुधार्मिक, वहुभाषिक एवं वहुसांस्कृतिक मुलूक हो । यहाँका सबै जाति, क्षेत्र, भाषा, धर्म, संस्कृति र सम्प्रदायका बीच परापूर्व कालदेखिनै आपसी सम्मान, सद्भाव र सह–अस्तीत्वमानै हाम्रो सामाजिक सद्भाव र राष्ट्रिय एकता र समुुन्नती संभव भएको छ । एक जाति समुदायको धर्म, संस्कृति र चाडपर्वमा अर्को जाति समुदायले खुशीसाथ सहभागी हुने, मनोरञ्जन गर्ने हाम्रो परम्परा रहिआएको सर्वविदितै छ । यस्ता मौलिक परम्परा र संस्कृति नै नेपाली समाजको सौन्दर्य हो । यसलाई कुनै पनि वहानामा कसैले पनि विथोल्नु, विथोल्न खोज्नु वा बिथोल्ने किसिमका गतिवधि गर्नु राष्ट्र, समाज र स्वयं व्यक्तिको पनि हितमा हुन सक्दैन भन्ने हाम्रो अविछिन्न विचार एवं ठहर हो । अब नेपालीहरूका चाडपर्वहरू धमाधम आउँदैछन् । आसन्न महत्वपूर्ण चाडपर्वहरूले हामी नेपालीबीच आपसी सद्भाव र एकता कायम राख्दै मूलूकका सामू देखिएका विभिन्न खाले धार्मिक सांस्कृतिक भ्रमहरु चिर्दै नेपालीहरु बीच सुख शान्ति, उत्साह र उमङ्गको वहार ल्याउने अभिलाषा सहित नेपाली कांग्रेस समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
शोक प्रस्ताव:
यो अवधिका बीचमा नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु भएका पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहनु भएका महानुभावहरूको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दिवंगत आत्माको चिर शान्तिको कामना साथ एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार