पार्वण श्राद्ध : पितृको श्राद्ध मूर्खतापूर्ण काम मात्र कि विज्ञानसम्मत पनि ?
भेषराज पोखरेल
असोज १३, २०८० शनिबार ९:५९:७
सूर्य कन्या राशीमा हुने असोज महिनाको कृष्ण प्रतिपदा देखि औँसीसम्म सोह्रश्राद्ध गर्ने शास्त्रीय मान्यता छ । यो समयमा आफ्ना समस्त पितृहरूको श्राद्ध गर्नाले उनीहरू मुक्त हुन्छन् भनेर शास्त्रहरूले बताएका छन् । श्राद्ध गर्नाले पितृहरूले आशीर्वाद दिन्छन् र गृहस्थहरुलाई कल्याण गर्छन्, कार्य सफल हुन्छ, ऐश्वर्य, धनसम्पत्ति प्राप्त हुन्छ भन्ने पुराणहरूमा वर्णन गरिएको छ ।
श्राद्ध कर्म अर्थात् पितृ यज्ञ वेदसम्मत छ । यो कुनै व्यक्ति वा समूहले चलाएको चलन मात्र होइन । पूर्वीय दर्शनको चुरो पुनर्जन्मसँग गाँसिएको छ । श्राद्ध गर्नुपर्छ, नगरे अनिष्ट हुन्छ भनेर शास्त्र प्रमाण त दिइन्छ तर विज्ञानले यसलाई कसरी लेला ? आम जिज्ञासाको विषय हो । आधुनिक युगमा विज्ञानले चमत्कार गरिरहँदा श्राद्धलाई कसरी बुझ्ने ? श्राद्ध गर्ने वा नगर्ने सबैले सही जानकारी राख्नैपर्ने विषय हो ।
शास्त्रीय पक्ष
श्राद्ध विभिन्न प्रकारका हुन्छन् तर प्रायः सामान्य गृहस्थहरुले दुई प्रकारका श्राद्धलाई मुख्य मान्छन् । मृत्यु तिथिमा गरिने एकोदिष्ट श्राद्ध र शरद ऋतु, आश्विन महिनाको पितृ पक्षमा गरिने पार्वण श्राद्ध वा महालय श्राद्ध । एकोदिष्ट श्राद्धमा मुख्यतः तर्पण, पिण्डदान सम्बन्धित पितृलाई मात्र गरिन्छ । पार्वण श्राद्धमा भने आफ्ना दिवंगत समस्त पितृलाई तर्पणसहित पिण्डदान गरिन्छ । त्यसैले पार्वण श्राद्धको विशेष महत्व छ । समस्त पितृको तर्पण र पिण्ड दानद्वारा उद्धार गरिने हुनाले यसलाई ठूलो पुण्य कार्य मानिएको छ । पूर्वीय धर्म संस्कार अनुसार पितृ शक्ति पनि ईश्वरीय जस्तै विशेष शक्ति हो ।
त्यसैले पितृ देवो भवः भनिएको हो । श्राद्ध यज्ञ त हो तर देव यज्ञ भन्दा फरक छ । देवत्व शक्ति अलि व्यापक हुन्छ, पितृ शक्ति अलि सीमित हुन्छ र आफ्ना सन्तानसम्म मात्रै त्यो शक्तिको अन्तरक्रिया हुन्छ । यसलाई तर्पण, पिण्डदान जस्ता सत्कार्य द्वारा व्यवस्थित गर्नुपर्ने विधि छ । देव शक्तिको विधिविधानसहित पूजा गर्न सकिएन भने मनले सम्झेर, भजन गरे पनि भगवत शक्तिको नजिक पुग्न सकिन्छ । देव यज्ञ गरिएन भने फल पाइन्न तर ब्रह्माण्डको नियम अनुसार सबै प्राणीले पाउने यथा फल पाइन्छ । यज्ञ, दान त सर्वोत्तम भयो नै, गीतामा यसको महत्व बताइएको छ । पितृलाई भने त्यसो गरेर मात्र पुग्दैन वैदिक मन्त्रको शुद्ध उच्चारण र विधिविधान अनुसार गर्नुपर्छ । जल तर्पण र पिण्ड दान वैदिक विधि अनुसार गर्नै पर्छ । यसमा धेरै दान गर्नै पर्छ भन्ने छैन ।
मान्छेलाई जन्मसँगै प्रकृतिका अनेक रूप र स्वरूपसँग अनेक अन्तरक्रिया गरिरहनुपर्छ । राम्रा, नराम्रा पक्ष व्यहोरिरहनु पर्छ । समाजसँग पनि अनेकौं कार्य व्यवहार गरिरहनुपर्छ । कार्य व्यवहारका क्रममा मानिस कहिले खुसी हुन्छ, कहिले दुःखी, कहिले रिसाउँछ । केही प्राप्ति गरेर मनलाई प्रफुल्लित बनाउने र गुमाउँदा मन दुखित बन्ने क्रम चलिरहन्छ । अनेकानेक कार्य व्यवहार गर्ने, सोच्ने, योजना बनाउने क्रम जीवनभर चलिरहन्छ । जब मान्छे मर्छ, भौतिक जीवन समाप्त हुन्छ । जिउँदो छँदा सोचिएका, गरिएका कामले मनमा दिने सकारात्मक, नकारात्मक प्रभाव तथा दैनिकीका प्रभाव सपनामा परेजस्तै मृत्यु चिरनिद्रा भएकाले आत्मासहित तिनै कार्य प्रभाव अनुसारको सूक्ष्म शरीर बन्ने भयो । यो कुरा गीताको चौधौं अध्यायमा यसरी भनिएको छ– रजसी प्रलयं गत्वा कर्मसंगिषु जायते । तथा प्रलीनस्तमसिमूढयोनिषु जायते ।।
अर्थात् मृत्युपछि मान्छेको सूक्ष्म शरीरसहितको आत्मा मुक्त अवस्थामा पुग्छ जब ऊ जिउँदो छँदा आफूलाई मानव र प्रकृतिसँग उच्च व्यवहार गरेर शुद्ध र मुक्त बनेको छ । मध्यम खालको अर्थात् रजो गुणमा रमाएका मानिस मरेपछि सकाम कर्मयुक्त शरीर प्राप्त गर्छ भने यदि प्रकृति र मानव तथा समस्त प्राणीप्रति दुर्व्यवहार, लोभ, लालच, मद, मात्सर्यमा भुलेको छ अर्थात् तामसी व्यवहार गरेको छ भने त्यस्तो व्यक्ति मरेपछिका सूक्ष्म शरीर तीनै कुरा खोजेर भड्किरहन्छ ।
त्यस्तो विचारसहितको आत्मिक अशुद्ध शक्ति जिउँदो छँदा लामो समय माया र भरोसा गरेका आफ्ना सन्तानको नजिक आइरहन्छ । यो वेद, पुराण तथा गीताको निष्कर्ष हो । विज्ञानले पनि मान्छेले दिन भर जस्तो काम गर्छ, पहिलेदेखि जस्तो चाहना राखेको छ त्यस्तै सपना देख्छ भन्ने स्वीकारेको छ । मृत्यु चिरनिद्रा भएकाले पहिले गरेका काम अनुसार त्यसको सूक्ष्म शरीर भड्कनु स्वाभाविक भयो । पूर्वीय दर्शनले त्यस्तो शक्ति ब्रह्माण्डको अशुद्धि हो, त्यसलाई शुद्ध गर्नुपर्छ, गर्न सकिन्छ भन्छ । त्यो काम मन र शरीर शुद्ध भई यही प्रकृतिका उत्तम तर अति सामान्य वस्तुबाट गर्न सकिन्छ भन्छ । भड्किरहेको आत्मिक अशुद्धि र अतृप्त आत्मालाई त्यसबाट हटाउन तर्पण, पिण्डदान आवश्यक भएको वैदिक मान्यता हो । श्राद्ध मन र भावको संगमको सूक्ष्म शक्तिसँगको अन्तरक्रिया हो । मन र भावले प्रकृतिलाई प्रभाव पार्ने कुरा विज्ञानले नकारेको छैन । ऋषिमुनिहरूले यही मानस र भाव शक्तिद्वारा ब्रह्माण्डको ज्ञान प्राप्त गरे, आयुर्वेदको विकास भयो । मानिसको शरीर ब्रह्माण्डको प्रक्रिया अनुसार नै चल्छ, तसर्थ भनिएको छ, यत् पिण्डे तत् ब्रह्माण्डे ।
वैज्ञानिक पक्ष
मरेपछि शरीर डढाइयो, खरानी भयो, पानी र अन्नका डल्ला पल्टाएर कसरी पाउने, कसरी अघाउने ? विज्ञानले पृथ्वीका यावत् प्राणीमध्ये मान्छेको मानस शक्ति र भाव शक्ति अन्त्यन्तै शक्तिशाली र क्रियाशील भन्ने कुरा स्वीकारेको छ । वेदको भाव त यही नै हो । मान्छेले आफ्नो मनलाई कुनै शक्तिमाथि केन्द्रित गरेर ध्यान गर्दा अपार शक्ति प्राप्त हुन्छ, प्रकृतिमाथि विजय पाउन सकिन्छ भन्ने कुरा प्राचीन वा आधुनिक ऋषिमुनि र महात्माहरूले प्रमाणित गरेका छन् । ऊँ कारको जप, ध्यानमा अपार शक्ति हुन्छ भन्ने कुरा पश्चिमा वैज्ञानिकहरूले पनि स्वीकारेको तथ्य हो । पराशक्ति (आत्मिक शक्ति) वैज्ञानिकहरूले खोजको विषय बनाएकै छन् । असाध्य बिरामीलाई टाढाका शुभचिन्तकको कामना वा प्रार्थना गर्दा बिरामीमा प्रभाव परेको कुरा पश्चिममा अध्ययनले समेत पुष्टि गरेको छ । आधुनिक वैकल्पिक उपचार पद्धति ‘रेकी’ पनि मन र प्राकृतिक शक्तिसँगको अन्तरक्रिया नै हो । पितृ शक्ति पनि मानस शक्तिको एउटा रूप तथा अवस्था नै भएकाले शुद्ध मनले पवित्र सामग्री जौ, तिल, कुशको जल, सेता, पहेंला फूल, अक्षता, गाईको दूध, मह, तामाका भाँडा, खीर आदि प्रकृतिका विशिष्ट गुण युक्त तर अति सामान्य वस्तुहरू प्रयोग गर्दा त्यही भड्किरहेको पराशक्तिलाई शुद्ध बनाउन सकिने शास्त्र प्रमाण हो ।
केही वर्ष पहिले युरोपका वैज्ञानिकहरूले ‘हिग्सबोसोन’ (गड पर्टिकल) ईश्वरीय कण पत्ता लगाए । जुन कण अदृश्य छ, जसले कुनै पनि वस्तुलाई अस्तित्व पूर्ण बनाउँछ र यसैका कारण वस्तुले तौल प्राप्त गर्छ । यो ईश्वरीय कण अस्थिर पनि बताए । यसले पनि भड्किरहेको अति सूक्ष्म शरीर प्राप्त आत्मा शक्ति हुन्छ भन्ने प्रमाणित गर्छ ।
पूर्वीय संस्कार तथा मान्यता
पितृ यज्ञ गर्दा मन, वचन र शरीर शुद्ध हुनुपर्छ । अघिल्लो दिनदेखि नै सात्त्विक भोजन र ब्रह्मचर्य आवश्यक पर्छ । अशुद्ध अवस्थाले अशुद्धताका कारण भड्किरहेको आत्मालाई सकारात्मक बाटोमा लैजान सकिने कुरा भएन । सकारात्मक अवस्थामा भए झन् विकृत हुने भयो । ब्रह्माण्डमा विकृत शक्ति रह्यो भने सबैलाई असर गर्छ । यो स्वाभाविक हो । त्यसलाई शुद्ध बनाउन सबैले प्रयत्न गर्नुपर्छ । त्यसैले आफ्ना मातृ पितृ मात्र नभएर पृथ्वी भरका सबै पितृको कल्याणका लागि ‘अतीत कुलकोटिनाम् सप्तद्वीपनिवासनाम् आब्रह्म भुवनल्लोकां निदमस्तु तिलोदकम्’ अर्थात् धेरै पहिलेदेखि करोडौं कुलका मानिस जो सातै द्वीपमा बस्थे तिनीहरूलाई पनि मैले तिलसहितको जल अर्पण गरेको छु भनेर जल अर्पण गरिन्छ । यो हाम्रो संस्कृतिको विशेष मान्यता हो । पूर्वीय दर्शनको उच्चता हो । अन्य धर्ममा जस्तो सबैलाई कब्जा गरेर अधीनमा लिने, समाप्त गरिदिने पूर्वीय दर्शनको अभिष्ट होइन, सबैको उद्धार गर्ने, कल्याण गर्ने हो । समस्त मृतात्मा अर्थात् पितृशक्ति यो ब्रह्माण्डको देवत्व शक्तिको एउटा अंश भएको कुरा वेदले बताएको छ । पितृभ्य स्वधायिभ्यः स्वधा नमः ... भनेर यसको महत्व स्पष्ट पारेको छ ।
अन्य मतहरु
महर्षि दयानन्द सरस्वतीले आफ्नो सत्यार्थ प्रकाशमा श्राद्ध गर्नु आवश्यक छैन, देव शक्ति मात्र पूज्य हुन्छ भनेका छन् । अन्य केही सन्त, महन्त, धर्मगुरुले पनि त्यसमा बल दिएका छन् । केही लेखकहरूले पनि यसलाई शास्त्र प्रमाण नभएको बताएका छन् । अध्ययनको गम्भीरताको कमीले त्यसो भने पनि वेदले पितृ शक्तिलाई विशेष मानेको छ । यसको बेवास्ता गर्यो भने प्रकृतिको शक्ति सन्तुलन खल्बलिन्छ । वेदले पितृ शक्तिलाई बेवास्ता गर्दा ब्रह्माण्डमा असन्तुलन आउँछ भनेको छ ।
प्रकृतिमा देवशक्ति मात्र नभएर पितृ शक्तिका साथै अन्य शक्ति पुञ्ज पनि छन्, ती सबै शक्तिको सन्तुलनबाट मात्र प्रकृति ससत् रूपमा अघि बढ्छ भनेको छ । विभिन्न यज्ञ गर्दा सबै शक्तिलाई समान रूपमा आह्वान तथा पुजन गर्नु पनि यसको प्रमाण हो । पितृ शक्तिलाई पनि तृप्त, स्थिर र प्रफुल्लित रूपमा राखे सबैको कल्याण हुन्छ भन्ने वैदिक मान्यता छ । अतृप्त र विकृत शक्ति ब्रह्माण्डमा रहँदा सबैलाई सधैं दुःख दिइरहन्छ । यो विज्ञान सम्मत कुरा नै होइन र ?
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपकानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
आयोगद्वारा उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक
मंसिर ७, २०८१ शुक्रबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार