किन गरिन्छ १६ दिन श्राद्ध ? शास्त्रमा के भनिएको छ थाहा पाउनुस्
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार ८:४५:२२
•सुरेशचन्द्र रिजाल
१३ असोज, काठमाडौं । श्रावणमा मलमास परेकाले ढिला गरी सोह्रश्राद्ध १३ असोज शनिबारदेखि प्रारम्भ भएको छ । देवयोनी र पितृयोनी एउटा यस्तो योनी हो, जसले टाढाबाट भनिएका कुराहरू सुन्ने, पूजा पनि ग्रहण गर्ने र टाढाबाटै गरिएको स्तुतिबाट पनि प्रसन्न हुन्छन् ।
देवता र पितृहरू सुगन्धित तथा भावबाट नै तृप्त हुन्छन् । जस्तै मनुष्यको आहार भएजस्तै पितृहरूको आहार भनेको अन्नको सार तत्त्व हो । जसरी गौशालामा छुट्टिएर बसेको आमालाई बाच्छीले कुनै न कुनै प्रकारले खोज्छन् भनेजस्तै मन्त्र, आहुति, द्रव्यहरुको पितृहरूले आफू निवास गरिरहेको स्थानमा कुनै न कुनै प्रकारले पुगिरहेका हुन्छ ।
आफ्नो पितृहरूको तिथिअनुसार श्राद्ध गरेपछि पितृ प्रसन्न भएर गर्ने परिवारमा उनीहरूको सन्तानको आयु वृद्धि भएर जान्छ भने धनधान्य सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । महर्षि याज्ञवल्क्यले आफ्नो याज्ञवल्क्य स्मृतिमा लेखेका छन्– पितृहरू श्राद्धबाट नै तृप्त हुन्छन् र तृप्त आत्माले दिएको आशीर्वादले हाम्रो आयु, धन, विद्या, स्वर्ग, मोक्ष, राज्य एवं अन्य सबै सुखभोग गर्न पाउने छन् ।
श्राद्ध चन्द्रिका नामक पुस्तकमा कर्म पुराणको मध्यभागमा श्राद्धभन्दा ठूलो अरू कुनै पनि कुराहरूबाट नहुने उल्लेख गरिएको छ । त्यसैले हरेक मनुष्यले जसरी भए पनि श्राद्धको कर्म गर्नु नै पर्ने कुरा शास्त्रले अह्राएको छ । स्कन्दपुराणको नगर खण्डमा बताइएको छ कि– श्राद्धमा प्रयोग भएका कुनै पनि वस्तुहरू व्यर्थ नजाने भएकोले श्राद्ध अवश्य गर्नु पर्ने बताइएको छ । हाम्रो धर्मशास्त्रमा श्राद्धसम्बन्धी कुराहरू यति धेरै विस्तारमा बताइएको छ कि श्राद्धमा गरिने सानोभन्दा सानो कुराको सूक्ष्म मीमांसा र समीक्षा गरिएको छ । श्राद्ध माता, पिता एवं अन्य पूर्वजहरुको निमित्त श्रद्धापूर्वक गरिने दान नै श्राद्ध हो ।
शास्त्रमा भनिएको पनि छ–
देशे काले च पात्रे च श्रद्धया विधिना च यत् ।
पितृनुद्दिश्य विप्रेभ्यो दत्त श्राद्धमुदाहृतम् ।।
शास्त्र अनुसार पिताको श्राद्ध पुत्रले नै गर्नुपर्ने बताइएको छ । यदि छोरा नभएको अवस्थामा पत्नीबाट पनि श्राद्ध गर्नु पर्ने नियम बताइएको छ । पत्नी नभएको अवस्थामा भाइ र यदि भाइको पनि अभाव भएमा जामाता (ज्वाईं) पनि श्राद्धका अधिकारी हुन्छन् । आमाको श्राद्ध पिताको श्राद्धसँग नै गर्नुपर्ने हुन्छ ।
मत्स्यपुराणका अनुसार श्राद्ध गर्नका लागि सबैभन्दा राम्रो समय मध्याह्नकाललाई मानिन्छ । श्राद्ध गर्ने समयमा तीन कुरा अत्यन्त आवश्यक हुन्छन् । रीस, अपवित्रता र हतारलाई त्याग गरी शुद्ध पवित्र भावनासहित गर्नुपर्ने कुरा शास्त्रमा वर्णन गरिएको छ ।
श्राद्ध कर्ताले ताम्बुलभक्षण, तेल मालिस, उपवास तथा अन्यत्रबाट ल्याइएको अन्न पनि खान निषेध गरिएको छ । श्राद्ध भोजन गर्ने व्यक्तिहरूले पनि २ पटक भोजन गर्नु नहुने र श्राद्धको दिन यात्राको लागि पनि वर्जित गरिएको छ ।
त्यसै गरी दान लिन, हवन गर्न, हिंसादि कर्ममा लिप्तता पनि शास्त्र निषिद्ध गरिएकाे छ । श्राद्धमा प्रयोग गरिने अन्नको बारेमा पनि शास्त्रमा व्यापक रुपमा चर्चा गरिएको छ । श्राद्धको दिन कालो दाल, तील, जौँ, सामा, चामल, दूध, मह, गौँ, चिनी, कपूर, अमला, कटहर, अनार, नरिवल, सुपारी, तुलसी, कागती, पीपल लगायतका वस्तुहरूको प्रयोग गर्नु अत्यन्त राम्रो हुने कुरा उल्लेख गरिएको छ । उक्त पुराणका अनुसार सात्त्विक अन्न वा फलबाट पितृलाई तृप्त गराउनु पर्ने कुरा बताइएको छ ।
भनिएको पनि छ– श्राद्धका अवसरमा कदम्ब, कबेडा, बेलपत्र, करवीर, रातो तथा कालो रंगका फुल एवं धेरै बास्ना आउने सबै फुलहरू श्राद्धमा वर्जित गरिएको छ ।
श्राद्धका लागि उपयुक्त मानिएको कमल, मालती, जुही, चम्पाका साथै बास्ना आउने सेतो फूलहरु तथा तुलसी या भृङ्गराजको प्रयोग गर्न हुने बताइएको छ । श्राद्ध चन्द्रिका नामक ग्रन्थमा केराको पातमा भोजन गर्न नहुने तर श्राद्ध बाहेकका अन्य क्रियाकलाप भने गर्न हुने कुरा उल्लेख गरिएको छ । श्राद्ध–भोजनका लागि पात्रको रुपमा सुन, चाँदी, काँस, तामा र पातलाई सर्वोपरि मानिएको छ । त्यसै गरी आसनका रुपमा रेसमी वस्त्र, ऊन, काठ, कुशको आसनलाई उत्तम मानिएको छ । निषिद्ध काठका रुपमा पलाँस, वर, पीपल, मौवा आदिको आसनमा बसेर भोजन गर्न नहुने कुरा बताइएको छ ।
वैदिक परम्परा अनुसार श्राद्धका चार विधि वर्णन गरिएको छ । ती पिण्डदान, हवन, तर्पण, ब्राह्मण भोजन हुन् । यो नियम अनुसार सम्भव भएमा पिण्डदान र हवन गर्न सकिनेछ । यदि असम्भव अवस्थामा पिण्डदान पनि छाड्न सकिन्छ तर तर्पण र ब्राह्मण भोजन गराउनु पर्ने हुन्छ । तर्पण र ब्राह्मण भोजनलाई मुख्य अंग मानिएको छ । पितृहरूको नाममा कहि पनि गर्न नसक्नेले तिथि परेको दिनमा ब्राह्मण भोजन र दक्षिणा दान मात्र गरे पनि पितृहरू तृप्त हुन्छन् भन्ने कुरा मार्कण्डेय पुराणमा बताइएको छ । कुनै पनि प्रकारको पितृ कार्य नगर्नेहरुका लागि पितृहरूले लाचार भएर उक्त परिवारको रक्तपान गर्दछन् भन्ने कुरा पनि बताइएको छ ।
आश्विन कृष्ण पक्षको प्रतिपदादेखि औँसीसम्म ब्रह्माण्डको ऊर्जा तथा त्यो ऊर्जासँग पितृहरूको प्राण पृथ्वीमा व्याप्त हुन्छ । पितृ पक्षमा पितृहरू श्राद्ध, तर्पण पाउने आशामा आफ्नो सम्बन्धित श्राद्ध कर्ताको घरमा सूक्ष्म शरीरले घुमिरहन्छन् । तसर्थ १६ दिन, ११ दिन, ७ दिन, ५ दिन, ३ दिन अथवा १ दिन श्राद्ध तर्पण गर्ने विधान छ । शक्ति एवं परिस्थितिअनुसार १ दिन त अनिवार्य नै गर्नुपर्दछ ।
अन्यथा पितृहरू श्राद्ध कर्ताको पुण्य हरण गरी दारुण नामको श्राप दिएर निरास हुँदै जान्छन् भन्ने कुरा निर्णय सिन्धुमा बताइएको छ ।
वृश्चिके मसतीक्रान्ते पितरौ देवतैः सह ।
निःश्वास्य प्रतिगच्छन्ति श्रापं दत्वा सुदारुणम् ।।
'लेखक सुरेशचन्द्र रिजाल ज्योतिषी तथा वास्तुविद हुन् ।'
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार