गोँगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट लिनेको भीड
नेपालबहस संवाददाता
असोज २४, २०८० बुधबार १३:४९:४२
२४ असोज, काठमाडौं । सरकारले दशैंमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ ।
सरकारले विजयादशमी, शुभ दीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो । यतिबेला सङ्घीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले आएकाहरु घरजानका लागि टिकट काट्न नयाँ बसपार्कमा जम्मा भएका छन् ।
नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले दुई दिनमा झण्डै ४० हजार अग्रिम टिकट बुकिङ भइसकेको जानकारी दिए । उनका अनुसार असोज २२ गते २४ हजार तीन सय ४० र असोज २३ गते १५ हजार २५ टिकट बुकिङ भइसकेको छ ।
असोज २२ गते बुकिङ भएका टिकटमध्ये कोसी, मधेस र बागमती प्रदेशका लागि एक हजार दुई सय ३०, गण्डकी प्रदेशका लागि नौ सय ७५, लुम्बिनी प्रदेशका लागि १३ हजार पाँच सय ३५, कर्णाली प्रदेशका लागि एक हजार सात सय र सुदूरपश्चिम प्रदेशका लागि छ हजार नौ सय टिकट बुकिङ भएको छ ।
यस्तै, असोज २३ गते कोसी, मधेस र बागमती प्रदेशका लागि एक हजार एक सय ७०, गण्डकी प्रदेश पाँच सय, लुम्बिनी प्रदेश सात हजार पाँच सय ३५, कर्णाली प्रदेशमा एक हजार छ सय २० र सुदूरपश्चिम प्रदेशमा चार हजार दुई सय टिकट बुकिङ भएको छ ।
सरकारले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधनको टिकट खुला गरेको हो । पश्चिम नेपालको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, रोल्पा तथा पूर्वी नेपालको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।
लामो समयदेखि काठमाडौंदेखि धनगढीसम्म डिलक्स बस चलाउँदै आएका बर्दियाका रामानन्द थारु बाटोको कारणले बसलाई ओहोरदोहोर गर्न समस्या भएको बताउछन् । “विभिन्न ठाउँमा बाटो विग्रँदा भनेको समयमा बस गन्तव्यस्थल पु¥याउन सकिँदैन”, उनले भने।
काठमाडौंदेखि दाङसम्म सवारी सञ्चालन गर्दै आएका घोराहीका चेतनाथ भट्टपनि पानीको कारण बाटो खाल्डाखुल्डी हुँदा आवतजावतमा समस्या भएको बताउछन् । “बाटो राम्रो भए यात्रुलाई ओसार्न समस्या हुँदैन, बाटो राम्रो नहुँदा बसहरू सञ्चालनमा समस्या भएको छ”, उनले भने ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला यसपालिको दशैंमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्छन् । राजमार्ग बिग्रिएको कारण काठमाडौं आउजाउ गर्न बसलाई समस्या पर्नसक्छ, तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन”, उनले भने । सरकारले दसैँका लागि देशका सबै क्षेत्रको यातायातको लागि ‘रोड परमिट’ यही असोज २६ गतेदेखि खुला गर्ने निर्णयसमेत गरिसकेको छ ।
असोज २३ गते यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा बसेको सरोकारवाला निकायको बैठकले यही असोज २६ गतेदेखि कात्तिक ८ गतेसम्म खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी साधनहरु उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
उक्त बैठकले पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग अन्तर्गत कावासोती, चोरमारा, दाउन्ने सडक खण्ड र पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत कोत्रेबाट २१ किमि काठमाडौंतर्फको सडक सवारी साधन सञ्चालन गर्न सहज हुने हिसावले सडक विभागबाट तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो ।
यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले बताए । यस सङ्घीय राजधानी काठमाडौंबाट दशैं मनाउनका लागि २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।
उपत्यकामा सुरक्षा योजना
दशैंको समयमा हुने आपराधिक घटनालाई रोक्नका लागि प्रहरीले नयाँबसपार्क क्षेत्रमा छुट्टै सुरक्षा योजना बनाएर लागू समेत गरिसकेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक दिनेश गुरुङले बसपार्कमा हुने आपराधिक घटना न्यूनीकरणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउछन् ।
प्रहरीले दुई दिनमा नयाँ बसपार्कभित्र आपराधिक क्रियाकलापमा सङ्लग्न पाकेटमार, हुलहुज्जत गर्ने, ठगी, लुटपाटलगायतका घटनामा सङ्लग्न १७ जनालाई नियन्त्रणमा लिएर कारबाही समेत गरिसकेको छ । त्यस्तै, प्रहरीले बढी भीडभाड हुने स्थानलाई लक्षित गरी ड्रोन, वडीवान, गोप्रो क्यामराबाट समेत सुक्ष्म अनुगमन गर्नेछ । दशैंमा सुरक्षाका लागि नयाँ बसपार्कमा थप प्रहरी जनशक्तिसमेत तैनाथ गरिसकिएको छ ।
यस्तै, ट्राफिक प्रहरीले विभिन्न निकायसँगको सहकार्यमा चाडपर्व लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट यात्रु सहायता कक्ष १३ स्थानमा राखिएको बताउछन् । “अहिले उपत्यकाका विभिन्न स्थानमा १३ वटा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ, आवश्यक परेमा अन्य स्थानमा समेत थप गर्न सकिन्छ”, उनी भन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार