माथि फुकेको, तल सुकेको नेकपा एस !
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १४:४५:१०
२६ असोज, काठमाडौं । संगठनभित्र देखिएको अन्योल र कार्यकर्तामा छाएको निराशा चिर्न एकीकृत समाजवादीले मेची–महाकाली अभियान सञ्चालन गरिरहेको छ । विद्यमान प्रमुख समस्याका अतिरिक्त पार्टी संगठनका विषयमा पनि बहस हुने उद्देश्यले सो अभियान सञ्चालन गरेको हो ।
साउनको पहिलो साता भएको सचिवालय बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । साउन तेस्रो साता बसेको स्थायी समितिको बैठकमा दलका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको नाजुक अवस्था प्रस्तुत गरेका थिए । ‘जनवर्गीय संगठनको ढाँचा विकास गरिएको छ । युवा विद्यार्थी संगठन पनि छन् तर निष्क्रिय र दिशाहीन आम कार्यकर्ताहरूमा निराशा, हतास, पदलोलुपता र पलायनका प्रवृत्ति विकास भइरहेका छन ।
माथि फुकेको तल सुकेको पार्टी संगठन छ । हुनुपर्ने ठीक उल्टो हो,’ खनालको प्रतिवेदनमा लेखिएको थियो । अभियानअन्तर्गत अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले पश्चिम नेपाल पुगेको छ । झापाबाट सुरु १५ दिने ‘समाजवादी जागरण अभियान’ अन्तर्गत १७ प्रश्न र ९ एजेन्डा अघि सारिएको छ । २०७८ भदौमा स्थापना भएको समाजवादीले पहिलो पटक अभियान सञ्चालन गरेको हो ।
महासचिव घनश्याम भुसालले अहिले नेपाली समाजले विभिन्न समस्या र प्रश्न अघि सारेकाले त्यसलाई समाधान गर्ने आफूहरूको एजेन्डा सुनाउने अभियान भएको बताए । ‘पछिल्लो समय जनता र समाजमा प्रत्यक्ष रूपमा जोडिएको विषयभन्दा बाहिर गएर बहस हुन थालेको छ,’ उनले भने, ‘अहिले देखिएको प्रमुख समस्या रोजगारी सिर्जना हुन नसक्नुलाई ठानेका छौं । त्यही विषयमा छलफल गर्न अभियान हो । यसमा देशभित्र र पार्टीभित्र रहेको समस्याको विषयमा छलफल हुन्छ ।’
समाजमा भयंकर उकुसमुकुसका कुरा भए पनि गम्भीर बहस नहुने गरेकाले तिनै विषय अभियानमा समेटिने उनको भनाइ छ । ‘कोशीमा जातीय विषय चर्किएको छ, तराईमा धार्मिक विवाद चर्काउन अनेक प्रयास भइरहेका छन्,’ उनले भने, ‘एजेन्डा र डिस्कोर्समा विषयमा नगएकाले अहिलेको समस्या देखिएको छ । कृषि, उद्योग, शिक्षा वा अन्य विषयमा रहेको समस्या यस्ता हुन् वा अहिले भइरहेको विषयलाई यसरी सुधार्नुपर्याे भनेर बहस हुन छाड्दा त्यसमा विभिन्न अतिवादी धार्मिक तथा जातीय समूहहरूले ठाउँ लिएका छन । समस्याको वास्तविक एजेन्डामाथि छलफलका लागि अभियान सुरु गरेका हौं ।’
समाजवादीले अभियान अन्तर्गत कृषि, रोजगारी, बर्सेनि बढ्दो आप्रवासन, उद्यम र उद्यमीको अवस्था, सरकारी संयन्त्रहरूको प्रभावकारिता, सार्वजनिक शिक्षाको गुणस्तर, भ्रष्टाचार, जातीय विभेद र छुवाछूत उन्मूलन, महिला हिंसा तथा बलात्कार, सस्तो लोकप्रियता, असहिष्णुता र घृणाका विषयमा प्रश्नहरू सूचीबद्ध गरेको छ । राजनीतिक अस्थिरता, राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भएको आक्रमण, सामान्य मानिसको जीवनमा व्यवस्थाले ल्याउन नसकेको परिवर्तनका विषयमा आममानिसको धारणा बुझ्ने र त्यसमा आफ्नो एजेन्डालाई अघि सार्ने कार्यक्रम रहेको छ ।
असोज २८ सम्म चल्ने अभियानमा देशभर कम्तीमा ८० वटा साना–ठूला कार्यक्रम सञ्चालन गर्ने योजना पार्टीको छ । मंसिरमा भएको आमनिर्वाचनमा अपेक्षाभन्दा कमजोर प्रदर्शन गरेको समाजवादीले आफूलाई एमालेभन्दा फरक देखाउनका लागि देशव्यापी अभियान सुरु गरेको हो । २०७८ भदौमा एमालेबाट विभाजित भएर बनेको सो दल मंसिरमा भएको निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतमा ३ प्रतिशत पनि कटाउन नसक्दा राष्ट्रिय दल बन्नबाट चुकेको छ ।
त्यसअघि भएको स्थानीय तहको निर्वाचनमा पनि खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । कांग्रेस र माओवादीसँग गठबन्धन गरेको एकीकृत समाजवादीले प्रतिनिधिसभामा चुनावमा प्रत्यक्षतर्फ १० स्थान जितेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भंग भएपछि निरन्तर रूपमा सरकारमा रहँदै आए पनि समाजवादीले पार्टी छाडेर अन्यत्र जानेलाई रोक्न भने सकेको छैन ।
‘एजेन्डामा केन्द्रित भएर छलफल गर्न नसक्दा कमजोर भएका हौं र एमाले हुँदा तथा नेकपा हुँदा पनि यही विषय उठाउँदै आएका थियौं,’ महासचिव भुसालले भने, ‘हामीले फरक एजेन्डाको कुरा गरेका छौं, त्यसलाई स्थापित गर्नेछौं ।’ माघमा हुने महाधिवेशनअघि नै दलभित्र अध्यक्ष नेपाल र अर्का नेता खनालबीच वैचारिक विषयमा दुई धार देखिएको छ । यस्तो अवस्थामा शुरु भएको समाजवादी अभियानमा खनालका अतिरिक्त रामकुमारी झाक्री पनि सहभागी भई काठमाडौं फर्किसकेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
असोज ४, २०८१ शुक्रबार
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड
असोज ४, २०८१ शुक्रबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
सुपथ मूल्य पसलमा सामाग्री किन्ने उपभोक्ताको भिड [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिँदै
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
असोज ४, २०८१ शुक्रबार
यी हुन सहकारी ठगेर फरार भएका २९ जना, को कुन देशमा बसेका छन लुकेर ?
असोज ४, २०८१ शुक्रबार
वसन्तपुरमा ‘हाथु हायेकेगु' प्रसाद खान महिलाहरूको तँछाडमछाड [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार