दशैँमा पनि अर्थले दिएन उखु किसानको २९ करोड
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १५:२८:१०
२८ असोज, सर्लाही । सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने २९ करोडभन्दा बढी अनुदान बापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् ।
जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई ४१ लाख क्विन्टलभन्दा बढी उखु बेचेका किसानले राज्यले उपलब्ध गराउनुपर्ने अनुदानबापतको प्रतिक्विन्टल ७० का दरले २९ करोड २५ लाख ५२ हजार सात सय ४९ उखु बेचेको सात महिना हुँदासमेत नपाएको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।
उनका अनुसार दसैँको मुखमा पनि उखु बेचेको अनुदानबापतको रकम नपाउँदा जिल्लाका किसान निराश भएका छन् । उखु बेचेको अनुदानबापतको रकम नदिँदा जिल्लाका उखु उत्पादन किसानमा दसैँ कसरी मनाउने भन्ने चिन्ता बढेको अध्यक्ष मैनालीले बताए । जिल्लाका इन्दुशंकर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौललाई आर्थिक वर्ष २०७९÷८० मा किसानले ४१ लाख ७९ हजार तीन सय २४ दशमलव ९९ क्विन्टल उखु बिक्री गरेका थिए ।
त्यसमध्ये राज्यले दिनुपर्ने अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदासमेत नपाएको बागमती नगरपालिका–४ का किसान केदारनाथ प्रसाईँले गुनासो गरे । अहिलेसम्म अर्थ मन्त्रालयबाट उखुको अनुदान रकम प्राप्त नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक पुरुषोत्तम बरालले बताए । उनका अनुसार कार्यालयलाई रकम प्राप्त भएपछि करिब दुई साता आन्तरिक तयारी गरेपछि किसानको खातामै रकम पठाउन सकिने छ ।
सरकारले आव २०७९÷८० मा उखुको मूल्य प्रतिक्विन्टल ६ सय १० निर्धारण गरेको र त्यसमध्ये चिनी उद्योगले प्रतिक्विन्टल ५ सय ४० भुक्तानी गर्ने र बाँकी प्रतिक्विन्टल ७० सरकारले अनुदानबापत उपलब्ध गराउने सहमति भएको नेपाल उखु उत्पादन किसान महासंघका अध्यक्ष मैनालीले बताए । उनका अनुसार राज्यले दिनुपर्ने अनुदानबापतको रकम उखु बिक्री गरेको सात महिना भइसक्दा समेत उखु उत्पादक किसानले नपाउँदा किसानमा थप निराशा छाएको छ ।
आफूहरुले पटक–पटक अर्थ मन्त्रालयमै पुगेर ताकेता गर्दा पनि सरकारले जिल्लामा अनुदान रकम पठाउन आलटाल गर्दै आएको अध्यक्ष मैनालीले आरोप लगाए । गत वर्ष पनि दसैँको मुखैमा उखुको अनुदान रकम निकासा भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार
‘प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत’
असोज ३, २०८१ बिहिबार
‘विश्वशान्ति तथा मानवकल्याण नै सबै धर्मको मूल निचोड हो’
असोज १, २०८१ मंगलबार
स्थगित भयो पत्रकार महासंघको निर्वाचन
असोज ४, २०८१ शुक्रबार
अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
तनहुँमा पनि स्ट्रबेरीखेती
असोज ४, २०८१ शुक्रबार
हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी रु पाँच छुट
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार