तन्नेरी नहुँदा गाउँ सुनसान, छैन दशैँको रौनक
नेपालबहस संवाददाता
कात्तिक ३, २०८० शुक्रबार १४:४:२१
३ कात्तिक, म्याग्दी । उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल । पूर्वतर्फ बागलुङको पञ्चकोट । हेर्दा खेरि निकै सुन्दर र मनमोहक लाग्छ, ज्यामरुक कोट । खेतका फाँटमा पहेलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । बेफुर्सदिला छन् उमेरले ५० काटेका पाका गाउँलेहरू पनि ।
केही वर्षअघि सम्म म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे, सानालेख, गौश्वारा र फापर खेतमा सोह्रश्राद्ध नसकिँदै लिंगे पिङ हालेर युवाहरू दशैँको तयारी गरिसक्थे । अहिले बडा दशैँको छैटौँ दिन बितिसक्दा पनि गाउँमा न कतै लिंगे पिङ, न त युवाहरू नै देखिएका छन् । विद्यालय उमेरका बालबालिका र ५० नाघेका पाका नागरिक आ–आफ्नो काममा व्यस्त छन् । बडा दशैँको रौनकले गाउँलाई छोएको छैन ।
पाँच सात वर्षअघि सम्म तीजसँगै दशैँको रौनक सुरु हुन्थ्यो । सोह्र श्राद्ध सकिने बित्तिकै रातो माटो र सेतो कमेरोले घर लिपपोत गर्ने, चिउरा कुट्ने, अचार राख्ने, घर सफा गर्ने र गोरेटा बाटो सफा गर्ने काममा युवा नै कस्सिने गर्दथे । पछिल्ला केही वर्षयता ज्यामरुककोटमा मात्रै होइन म्याग्दीमा नै युवाहरू वैदेशिक रोजगार र परिवार बसाइँसराइ गरी शहरतिर बस्न थालेपछि गाउँघरमा चाडपर्वको रौनक हराउँदै गएको बेनी नगरपालिका–२ का ६८ वर्षीय डिलबहादुर सापकोटाले बताए ।
बेनी–२ ज्यामरुककोटका वडाअध्यक्ष यामबहादुर कार्कीका अनुसार गाउँबाट पछिल्लो चार वर्षयता वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने युवाहरुको संख्या बर्सेनि बढ्दै गएपछि गाउँ युवाविहीन भएको छ । एक वर्षमा सरदर ५० देखि ८० जनासम्म युवा वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन् । अध्ययनका लागि जानेहरुको संख्या पनि उत्तिकै छ । त्यसका साथै बसाइँसराइ गरेर सहर र मधेसतिर जानेहरु पनि बाक्लै छन् । पछिल्लो डेढ वर्षमा २४ घरपरिवारले बसाइँसराइ गरेका छन् ।
पाहारिलो घाम लाग्न सुरु भएपछि खेतका फाँटमा धान थन्क्याउने काममा किसान व्यस्त छन् । असोजको अन्तिम साता परेको पानी र चलेको हावाहुरीबाट थन्क्याउने बेलाको धान नासिने पो हो कि भनेर चिन्तित बनेका किसान कात्तिक लागेपछि मौसम घमाइलो बन्दा खेतको फाँटमा व्यस्त हुन थालेका र दसैँको रमाइलोले भन्दा पनि धान भित्र्याउने चटारोले किसान बेफुर्सदिला बनेका सानालेखका नारायण शर्माले बताए ।
कामकाजका लागि, उच्च शिक्षाका लागि र वैदेशिक रोजगारका लागि बाहिर रहेकाहरु गाउँ फर्किन थालेका भए पनि कामको चटारोले गर्दा दशैँको रौनक नदेखिएको उनको भनाइ छ । घरमा कमेरो र रातो माटोले लिपपोत गर्न घरभित्र धुवाँ लगाएर राखेका मकैका झुत्ता थाङ्नेमा राखेर लिपपोत गर्दै गर्दा बडा दशैँ आएको छुट्टै आनन्द हुन्थ्यो । बडा दशैँ लागि भनेर खेतको कान्लामा घाँस साँच्ने गरिन्थ्यो ।
गाउँघरका युवादेखि बूढापाका मिलेर खरबारीमा गई बाबियो काटेर रातमा पिङको लुठो बाटेर दिनमा बाँसको चार लिङ्गो गाडेर पिङ बनाउने गाउँमा हराउँदै गएको छ । अहिले रोजगारीको सिलसिलामा गाउँबाट बाहिर देशहरुमा जान थालेसँगै दशैँमा रौनक थप्ने लिंगे पिङ खेल्ने संस्कृति हराउँदै गएको हो । विशेषगरी युवा पुस्ताले लिंगे पिङ निर्माण गरेर खेल्ने र रमाइलो गर्ने चलन थियो, अहिले गाउँमा युवाहरु नै छैनन्, पाको पुस्तालाई फुर्सद पनि छैन, जाँगर पनि चल्दैन, ५२ वर्षीय टेकबहादुर क्षेत्रीले भने ।
पछिल्लो समय प्रविधिको विकास भएसँगै गाउँघरमा समेत मनोरञ्जनका अन्य साधनहरु प्रशस्तै आएकाले पनि पिङतर्फ आकर्षण घटेको बूढापाकाहरु बताउँछन् । युवाहरु रोजगारीका लागि विदेश गएका छन् । युवाहरु विदेशिएका कारण पिङ बनाउने जनशक्तिको अभावसमेत बढ्दै गएको छ । पिङ बनाउनका लागि बाबियो काटेर ल्याउने, लुठो बाट्ने र चारवटा बाँस गाड्न कम्तीमा आठ÷दशजना आवश्यक पर्दछन् ।
युवा पलायन, प्रविधिको विकास र बसाइँसराइका कारण चाडपर्वको मौलिकता तथा परम्परागत ग्रामीण परिवेशमा पनि परिवर्तन आएको छ । रातो माटो र कमेरोले पोतिएका घर गाउँमा देखिन छाडेका छन् । इनामेल र आयातित रङ्गले घर रङ्गीन थालेपछि गाउँका मड्किना गृहिणीहरुले बिर्सिसकेका छन् । ढिकीमा चिउरा कुट्ने परम्परा हराएर गएको छ । सबै चीज बजार आश्रित भएको छ । नयाँ लुगा लगाउन दसैँ नै पर्खनु पर्दैन ।
बडा दशैँ नयाँ लुगा लगाउने र मासु खाने पर्वका रूपमा चिनिए पनि यी दुवै चीजको सहजताले दसैँको रौनक हटेको छ । अहिले घरहरू रातो माटो र कमेरो माटोले पोतिँदैनन् । मौलिक शैलीका घरलाई सिमेन्टबाट बनेका आधुनिक घरले विस्थापित गरिसकेका छन् । सहरदेखि गाउँसम्म आधुनिक घर बनाइएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार