नाका एक धन्दा अनेक, प्रहरी र तस्करबीच यस्तो छ सेटिङ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८० शनिबार १८:३०:५७
४ कात्तिक, विराटनगर । बडादशैं मनाउन सबै मग्न भइरहेका बेला मोरङ लगायतका पूर्वी नाकाहरूमा व्यापक तस्करी मौलाएको खबर छ । कोशी प्रदेश मातहतका सीमावर्ती जिल्लाहरू मोरङ, सुनसरी, झापा र इलामका सीमा नाकाहरूबाट व्यापक तस्करी फस्टाएको हो । अवैध राजश्व छली रोक्न सीमा नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको मिलेमतो मै तस्करहरूले लाइन मिलाएर दैनिक करोडौंको सामान आयात निर्यात गर्न थालेका छन् । तर तस्करी नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मी कै मिलेमतोमा तस्करीले बढावा पाइरहेको छ ।
यसै सन्दर्भमा कोशी प्रदेशको राजधानी मोरङ जिल्ला प्रहरी कार्यालयको प्रमुख छन् प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेल अनि प्रहरी नायव उपरीक्षक (डीएसपी) रन्जन कुमार दाहाल । डीएसपी दाहाल प्रवक्ता पनि हुन । तिनै एसपी दीपक पोखरेलका घुमुवा छन् वरिष्ठ नायव निरीक्षक (सई) राजेन्द्र कटवाल । एसपी पोखरेल डीएसपीका रुपमा प्रहरी वृत लैनचौर (स्रोहखुट्टे)मा ईन्चार्ज रहँदा पनि यिनै कटवाल घुमुवाका रुपमा कार्यरत थिए । त्यतिबेला उनको ठमेल क्षेत्रमा निकै ठूलो रजगज चल्ने गरेको लैनचौरका प्रहरी कर्मचारीहरू नै अहिले चर्चा गर्छन ।
पोखरेलको वढुवा पछि एसपीका रुपमा गत मंसिरमा मोरङ सरुवा भएपछि उनैले वरिष्ठ सई कटवाललाई सँगै लिएर मोरङ जिल्लाको घुमुवा बनाएका छन् । सई कटवालको दरबन्दी भने कोशी प्रदेश प्रहरी कार्यालयमा छ तर उनी मोरङ जिल्लाको कर्मचारी प्रशासनमा कार्यरत छन् । आईजीपी बसन्त बहादुर कुँवरले मातहत कसैलाई पनि घुमुवा राख्न नपाइने परिपत्र गरेपनि “खाने मुखलाई जुँगाले छेक्दैन” भने झैं प्रहरीका हाकिमहरूले क्राइम टोली, अनुसन्धान टोली जस्ता विभिन्न नाम धारण गराएर तस्कर र अवैध धन्दावालासँग पैसा उठाउन घुमुवाको रुपमा परिचालित गर्ने गरेका कयौं दृष्टान्त देशभरका युनिटमा छन् ।
दरबन्दी कोशी प्रदेशमा तर कार्यरत जिल्ला प्रहरी कार्यालयको महत्वपूर्ण मानिने कप्र शाखामा देखाएर काम भने घुमुवाको रुपमा गराइन्छ भने त्यहाँ केही न केही नियत गलत छ भनेर बुझ्नु पर्ने हुन्छ । खासमा कप्र शाखाको काम प्रहरी कर्मचारीहरूको आन्तरिक सरुवा मिलाउने हो । वरिष्ठ सई कटवाललाई हालै दिइएको एउटा पुरस्कारले पनि एसपी पोखरेलको खटनपटनमा विरोधाभास देखाउँछ । किनभने हालै मात्र कटवाललाई कोशी प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले भदौ महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गरेको भन्दै कटवाललाई भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेको हो ।
विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै कटुवाललाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पुरस्कृत भएका प्रनानी कटवालले मोरङ र सुनसरी जिल्लामा श्रृङखलाबद्ध भएको लुटपाटको घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्नुका साथै ड्युटीमा खटिएको प्रहरी टोलीलाई आक्रमण गरी घाइते बनाई लुटेर लगेको प्रहरीको चाइनिज पेस्तोल समेत बरामद गर्न सफल भएको भनिएको छ । केही दिन अगाडि सुनसरीको बर्जुमा डियुटीमा खटिएको प्रहरी टोलीलाई कुटपिट गरी हतियार लुटने समूहलाई कटुवालले पक्राउ गरेका थिए । यसरी अपराध अनुसन्धानमा कटुवालले उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको दावी छ ।
यहीनेर प्रश्न उठेको हो । कप्र शाखामा कार्यरत प्रहरीले कसरी बाहिर घुमेर अपराध अनुसन्धान गरे भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यदि उनी कप्र शाखामा मात्र कार्यरत हुन्थ्ये भने अपराध अनुसन्धान उनको दायरा भित्र पर्दैन । तर खासमा उनलाई कप्रसहित क्राइम टोलीका रुपमा अपराध अनुसन्धानका साथसाथै घुमुवाका रुपमा परिचालित गरिएको यही तथ्यबाट बुझ्न सकिन्छ । यही पुष्टिका लागि माथिको प्रसंग निकालिएको हो । “दाल मे कुछ काला हें” भने झैं अब उनले घुमुवाका रुपमा गरेका काम कारबाहीको चर्चा गरौं ।
मोरङ प्रहरीको एक उच्च स्रोतले आफ्नो नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार एसपी पोखरेलका अति विश्वासपात्र वरिष्ठ सई कटवालले हरेक युनिट इन्चार्जसँग टेण्डर गराएर ५०, ६०, ७० देखि एक लाखसम्म उठाएर मोरङ जिल्ला भित्रको प्रहरीको आन्तरिक सरुवा गर्ने गरेका छन् । साथै त्यसरी सरुवा भै जानेले हरेक महिना पनि मासिक रुपमा तोकिएको पैसा बुझाउनु पर्ने हुन्छ र यदि कसैले दिन आनाकानी गरे उसको त्यहाँबाट तुरुन्तै सरुवा हुन्छ ।
सोही स्रोतले दिएको अर्को जानकारी अनुसार वरिष्ठ सई कटवालले तस्करहरूसँग लाइन मिलाउने काम पनि गर्दै आएका छन् । मोरङका धेरैजसो युनिटहरू सीमा नाकामा पर्ने भएकाले उनले सबै युनिटहरूमा जिल्लाको तर्फबाट अलग्गै घुमुवा खटाएका छन् । हरेक इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र युनिट इन्चार्जका आआफ्नै घुमुवा परिचालित भएपनि कटवालले एसपी पोखरेलको तर्फबाट भन्दै छुट्टै घुमुवा परिचालन गरेका हुन । त्यसरी हरेक युनिटमा जिल्लाबाट खटिएका घुमुवाहरुको संयोजन गर्ने र रकम कलम असुल्ने जिम्मा भने कटवालले सहायक हबल्दार गणेश श्रेष्ठलाई दिएको स्रोतको भनाई छ । बाहिरी दुनियाँमा देखाउनकै लागि उनलाई प्रहरी चौकी बखरीमा कार्यरत रहेको देखाइन्छ भने उनी सिभिलमा खजान्चीको रुपमा सबैतिरबाट पैसा उठाएर वरिष्ठ सई कटवाललाई दिने र कटवालले माथिसम्म बुझाउने गरिएको सो समाचार स्रोतको दावी छ ।
घुमुवा परिचालन गरि तस्करहरुबाट पैसा उठाएको प्रसंग बारे ठाडै इन्कार गर्दै एसपी पोखरेलले भने, “नेपाल प्रहरीमा घुमुवा भन्ने हुँदैन, राखिदैन बरु खबर संकलनका लागि गुप्तचर परिचालन गरिएको हो । जिल्लामा सिभिलमा रहने गरी सीआईटी शाखा गठन गरिएको र सो शाखामा वरिष्ठ सई राजेन्द्र कटवाल पनि रहेको बताए । सिभिलमा परिचालन नगरी अपराध अनुसन्धान र नियन्त्रण सम्भव नभएको बताउँदै एसपी पोखरेलले नेपालबहससँग भने, “कटवालकै पहलमा हातहतियार, तरवार लागु औषध लगायतको सफल अनुसन्धान सफल भएको हो । उसलाई ह््यारेस गर्न कथा बुनिएको हो ।”
को को हुन जिल्लाबाट इलाका र युनिटमा खटिने प्रहरीका घुमुवा ?
झापासँग सीमाना जोडिएको र मोरङको दोस्रो प्रमुख शहरका रुपमा परिचित इलाका प्रहरी कार्यालय उर्लाबारीमा दर्शन, इप्रका बेलबारीमा सहायक हबल्दार राजकुमार र सुलभ चौधरी, इप्रका रंगेली र सिजुवामा प्रज रघु यादवलाई खटाइएको छ । काँकडभिट्टा, इलाम लगायतका सीमा नाकाबाट तस्करी भई आउने सामान र तस्करहरूसँग लाइन मिलाउने साथै तेतरिया, बेलबारी, उर्लाबारी लगायतका ठाउँमा बाह्रमासे ठूला जुवाखालबाट पैसा असुल्ने खेती यिनै घुमुवामार्फत हुने गरेको स्रोतको भनाई छ । तेतरियामा यसअघि चल्ने गरेको ठूलो जुवा नेपालबहसमा समाचार आएपछि हाल बेलबारी क्षेत्रमा चल्ने गरेको छ । सो जुवाखालबाट प्रहरीका लागि मासिक २५ लाख भन्दा धेरै जाने गरेको स्रोतको भनाई छ ।
यसै गरी इलाका प्रहरी कार्यालय रानी मातहत रहेका चौकी तथा युनिटहरूबाट व्यापक मात्रामा तस्करी चालू रहेको बताइएको छ । रानी मातहतको प्रहरी चौकी मटिअर्वामा प्रहरी सहायक निरीक्षक (असई) रुपेश सिंह र उनकै भाई सन्दीप सिंहले जिल्लाको घुमुवाको रुपमा काम गर्ने गरेका छन् । असई रुपेशको दरबन्दी भने रानी स्थित गणमा हो ।
कुन तस्करको के धन्दा ?
मटिअर्वा विराटनगरको प्रमुख तस्करी हुने नाका मध्ये पर्छ । तस्करका प्रमुख नाईके हुन बब्लु अग्रवाल । विराटनगरको ठूलो तस्कर मध्ये नाम आउने बब्लुले आफ्नो मातहत अरु छोटे तस्करहरू परिचालन गरी तस्करी धन्दा बर्षौदेखि निर्वाध चलाउँदै आएका छन् । बरगाछी घर भएका उनले विराटनगर एयरपोर्टबाटै तस्करीका कपडा काठमाडौं पठाउने गरेको बताइन्छ । यो नाकाबाट समसुल मियाँले मटर, केराउ, सुपारी, मरिच लगायतका सामान भारततर्फ अवैध रुपमा पठाउने गरेका छन् । यस्तै जुनेद भन्ने तस्करले राँगा भैसी र किराना आइटमको तस्करी गर्ने गरेको स्रोतको भनाई छ ।
त्यसै गरी तबरेज मियाँले हडडी र छालाको काम गर्ने गरेका छन् । अर्को कल्पना भन्नेले किराना आइटमको काम गर्ने गरेकी छन् । उनले दुहवीका चौधरी महिलाहरूको समूह जसको नाईके हुन पूजाको ममी भन्ने । यो समुहमा ५/६ जना रहेका छन भने खनारको अर्को समुह छ जसले कल्पनाका लागि किराना आइटमको काम गर्ने गरेको भनाई स्रोतको छ । त्यस्तै गुड्डु मियाँले बब्लु अग्रवालका लागि कपडाको अवैध काम गर्ने गरेका छन ।
त्यस्तै रानी भन्सारबाट चाँदनी, अकबर, सुरेश, सवनम लगायतले सटिङ सुटिङ, कुर्ता सलवारका कपडाको अवैध कारोबार गर्ने गरेका छन् भने सीताले तरकारीको कारोबार गर्ने गरेकी छन् । हरियो तरकारी, आलु प्याज लगायतका सामानको एकपटक भन्सार पुर्ची काटेर सोही पर्चीबाट १० औं पटक तरकारी ल्याउनु उनको धन्दा हो । उनलै सजावटका फुलहरूको पनि कारोबार गर्ने गरेकी छन् ।
यसै गरी शंकर जलानीको समूहले डियूटीवाला प्रहरी मिलाएर १०/१५ जना महिला परिचालन गरी कपडाको तस्करी गर्ने गरेका छन् । उनले सबै सामान विराटनगर स्थित बब्लुको गोदाममा दिने गरेका छन् । दक्षिण गेट रानीबाट धीरु काले, पशुपति, विजय भगतर अनिकेत भगत दाजुभाइ र सूधीरले कपडा लगायत नुनदेखि सुनसम्मको धन्दा गर्ने गरेको समाचार स्रोतले जनाएको छ । यी सबैको मुख्य ठेकेदार भने लक्ष्मण रौनियार रहेका छन् । उनका दाई राज कुमार रौनियार भन्सार एजेण्टको काम गर्ने अनि भाइले तस्करको एजेण्ट भई काम गर्ने गरेको विराटनगरका व्यवसायी बीच चर्चा हुने गरेको छ । तस्करीका माध्यमबाट छोटो समय मै अथाह सम्पति जोडेका यी दाजुभाइको पुर्ख्यौली पेशा भने रोडमा सय पचासको कपडा बेच्नु थियो ।
रेनु साह 'लिपिष्टिकवाली' र मिथुन साहले पनि दरैया नाकाबाट तस्करी धन्दा चलाइरहेका छन् । जनार्दन यादव र हरि यादवले पनि यही नाकाबाट कपडा, किराना आइटम लगायतको कारोबार इटहरीका लागि सप्लाई गर्ने गरेका छन् । यहाँबाट अवैध सामान निकालेर पूजाको ममी भन्नेलाई इटहरी डेलिभरी दिने गरेको बताइन्छ ।
त्यसै गरी तस्करहरू दीलिप साह, सुरेश साहले नोचा नाकाबाट चिनी लगायतको किराना आइटमको धन्दा गर्ने गरेका छन् । यस्तै श्रवण साहले मझारे नाकाबाट धान, गहुँ, मटर, केराउ, सुपारीको काम गर्ने गरेकोमा अहिले धान, गहुँ, कवाड र गिट्टी वालुवाको तस्करी गर्ने गरेका छन् । यसै गरी छेरु, उमेश साहले खयरवानाबाट धान गहुँको अवैध आयात गर्ने गरेका छन् । नोचा नाकाबाट किराना आइटमको तस्करी गर्ने दीलिप साहले बखरी नाकाबाट ठूलो मात्रामा बिषादी हालिएको भारतीय माछा नेपाल भित्र्याउने गरेका छन् । भारतबाट भन्सार तिरेर पनि माछा आयात गर्न कानुनत बन्देज छ तर प्रहरीसँगको मिलेमतोमा अखाद्य माछा ठूलो परिणाममा दिनहुँ नेपाल भित्रिने गरेको छ ।
यस्तै नोचा नाकाबाट नाजिर मियाँ र सिजुवा नाकाबाट तोहित मियाँले गाई गोरु भारततर्फ लाने गरेका छन् । हरेक हप्ता बेलबारीमा लाग्ने मेलाबाट एकैपटक ५/७ सय गाई गोरु उठाएर यी दुई नाका हुँदै गोरु तस्करी हुने गरेको छ । यसवापत नाजिरले मासिक रुपमा साढे तीन लाख र तोहितले साढै ४ लाख नेपाल प्रहरीका घुमुवामार्फत एसपीसम्म पुर्याउने गरेको दावी समाचार स्रोतको छ । डीआईजीलाई भने एक एक लाखका दरले र सम्बन्धित इप्रका इन्चार्जलाई २५/३० हजार मात्र पुग्ने गरेको बताइन्छ ।
यसरी मोरङका विभिन्न नाकाबाट तस्करी संचालन गर्ने तस्करहरूको छुट्टा छुट्टै समुहले जिल्लाका घुमुवामार्फत कारोबार हेरी १ लाख देखि ५ लाख मासिक रुपमा बुझाउने गरेको एक तस्करले नाम नबताउने शर्तमा नेपालबहसलाई बताए । अब भन्नुस् मोरङमा प्रहरीको ध्यान शान्ति सुरक्षा तर्फ छ कि तस्करी गराएर राज्यलाई करोडौं राजश्व घाटा लगाएर आफू रातारात मालामाल हुने तर्फ छ ? प्रश्न गम्भीर छ ।
समाचारको विषयमा प्रष्ट हुन नेपालबहसले मोरङका एसपी दीपक पोखरेलसँग सम्पर्क गर्दा मोरङमा कुनै तस्करी नभएको भन्दै समाचार पूर्णत गलत भएको दावी गरे । प्रहरीका् मनोवल गिराउने उद्देश्यले सञ्चार माध्यमलाई भ्रमित पार्ने गिरोह सल्बलाएर बताउँदै एसपी पोखरेलले भने, “मैले इमान्दारिता बेचेको छैन, कही कतै चुकेको पनि छैन, प्रहरीको चेन अफ कमाण्डमा अनुशासित तवरले कर्तव्य पालना गरिरहेका छौं ।” कतै बदमासी र तस्करी भइरहेको सूचना पाए सञ्चारकर्मीले पनि आफूलाई जानकारी दिन अनुरोध गर्दै उनले भने, सीमित स्रोत र साधनको प्रयोगबाट नेपाल प्रहरीले अधिकतम काम गरिरहेको छ । हाम्रो आँखा छलेर कसैले कतै तस्करी गरिहाले पनि हामी नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयूक्त टोलीले काम जनशक्ति परिचालन गरि नियनत्रणको प्रयास निरन्तर जारी राखेका छौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार