महासचिव गुटेरेसको देउवा, ओली र घिमिरेसँग छुट्टाछुट्टै भेटवार्ता
नेपालबहस संवाददाता
कात्तिक १२, २०८० आइतबार १७:७:१५
१२ कात्तिक, काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सभामुख देवराजसँग भेटवार्ता भएको छ । देउवा, ओली र घिमिरेसँग गुटेरेसले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।
संघीय संसद भवन नयाँबानेश्वरमा आज अपरान्ह उनीहरूबीच शिष्टाचार भेट भएको हो । सो अवसरमा उनीहरूबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले जानकारी दिए ।
महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसंघका अन्य अधिकारीहरू सहभागी थिए ।
महासचिव एन्टोनियो गुटेरेस र नेकपा एमालेका अध्यक्ष ओलीबीच पनि संसद भवन नयाँबानेश्वरमा नै भेटवार्ता भएको हो । सो अवसरमा महासचिव र अध्यक्षबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा राजन भट्टराईले जानकारी दिए ।
यस्तै सभामुख देवराज घिमिरे र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच पनि आजै भेटवार्ता भएको छ । भेटका क्रममा राष्ट्रसंघका महासचिवले नेपालको संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयार रहेको बताए । सभामुखको सचिवालयका अनुसार गुटेरेसले भनेका छन्, ‘संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्छ भन्ने विश्वास व्यक्त लिएको छु ।’
राष्ट्रसंघका महासचिवसँगको भेटमा सभामुख घिमिरेले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताए । सभामुख घिमिरेले भनेका छन्, ‘दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको छ । आशा छ हामी निकट समयमा नै ऐन निर्माण गर्नेछौं ।’
महासचिव गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान नेपाल आइपुगेका हुन् । उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए । साथै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँगसमेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।
भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्दैछन् ।
भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । यही कात्तिक १४ गते मंगलबार अपरान्ह उनले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार