जाजरकोट भूकम्पः अहिलेसम्म कस्ले कति दिए राहत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २०, २०८० सोमबार १०:५०:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb_ZAt7DJ3Wvd_meXh9ksNht_PSHojvmPjP.jpg)
२० कात्तिक, काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेका पीडितको उद्धार, राहत र पुनःस्थापनाका विभिन्न क्षेत्रबाट राहत घोषणा गर्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १२ करोड नगद जम्मा भएको छ भने यस्तो रकम जम्मा हुने क्रम जारी छ । आइतबारसम्म विभिन्न निकायले करिब १२ करोड रुपैयाँ र अन्य राहत सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको राहत कोषले जनाएको छ ।
आइतबार सम्मको तथ्यांक अनुसार छिमेकी राष्ट्र भारत, चीन, प्रादेशिक सरकार, राजनीतिक दल, गैरआवासीय नेपाली संघलगायत निजी संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत भूकम्पपीडितलाई राहत र पुनर्निर्माणका लागि सहयोग घोषणा गरेका छन् । यसअनुसार आइतबार साँझसम्म कोषमा करिब १२ करोड नगद सहयोगको प्रतिबद्धता आएको कोषको भनाइ छ ।
सरकारले भूकम्पपीडितको राहत एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णय गरिसकेको छ । राहत कोषका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न नौ वाणिज्य बैंकमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता खोलेर सहयोग रकम सो खातामा पठाउन आग्रह गरिएको छ । कोषको खाता रहेका बैंकमा राष्ट्रिय वाणिज्य बैंक, पुतलीसडक, कृषि विकास बैंक, रामशाहपथ, नेपाल बैंक, एभरेस्ट बैंक, नयाँ बानेश्वर, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, लाजिम्पाट, ग्लोबल आईएमई बैंक, ज्ञानेश्वर, हिमालयन बैंक, ठमेल र कमलादी, नबिल बैंक, दरबारमार्ग रहेका छन् ।
गण्डकी प्रदेशले पीडितको राहत तथा पुनःस्थापनाका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनाए ।
निर्माण व्यवसाय विकास परिषद्ले पनि भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ दिने भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले पनि १० लाख प्रदान गर्ने भएको छ । एनआरएनएका संस्थापक उद्यमी जीवा लामिछानेको लगानी रहेको ट्रिप इन होटल समूह (जर्मनी) ले पनि पीडितका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग घोषणा गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतका लागि उक्त सहयोग उपलब्ध गराउने घोषणा लामिछानेले सामाजिक सञ्जालमार्फत गरेका छन् ।
भूकम्पबाट प्रभावित क्षेत्रमा आपत्कालीन मानवीय सहायताका लागि औषधिसहित चिकित्सकको टोली त्यसतर्फ पठाइएको मुख्यमन्त्री पाण्डेले बताए । पोखरा महानगरपालिकाले शनिबार नै भूकम्पबाट घाइतेको उपचारका लागि औषधिसहित राहत सामग्री पठाएको छ । महानगरपालिकाले भूकम्प प्रभावितलाई ५० लाख नगद सहयोग गर्ने घोषणा पनि गरिसकेको छ ।
पीडितलाई आईएमई समूहले १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । ग्लोबल आईएमई बैंक, आईजीआई पु्रडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेडलगायत आईएमई समूहका र आईएमई फाउन्डेसनमार्फत भूकम्पबाट प्रभावितका लागि १ करोड ५० लाख रुपैयाँ नगद सहयोग रकम घोषणा गरेको हो ।
मोरङको आरजु राइस मिलले १० टन चामल दिने भएको छ । १० लाख बराबरको चामल बेलबारी नगर प्रमुख दिलप्रसाद राईमार्फत आइतबार पीडितलाई राहतस्वरूप प्रभावित क्षेत्रमा पठाएको हो । उक्त मिल बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतको हो । बुद्ध एयरले एक करोड रकम सहयोग गर्ने घोषणा गरिसकेको छ ।
युनिलिभर नेपालले पनि राहत सामग्री दिने भएको छ । उसले आफ्ना उत्पादन हर्लिक्स, सुप, औषधोपचार सामग्री, ७ सय थान ब्ल्यांकेट, २५० थान पाल र थप खाद्यान्न भूकम्पपीडितलाई वितरण गरिएको बताइएको छ । नेपाल उद्योग परिसंघले उद्यमी व्यवसायी एवं व्यवसायिक संघ संस्थालाई भूकम्पबाट प्रभावित नागरिकलाई राहत एवं पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न अपिल गरेको छ ।
एनआईसी एसिया बैंकले पनि ५१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषमा उक्त रकम नगद सहयोग गर्ने घोषणा गरेको हो । भूकम्प पीडितलाई प्राइम कमर्सियल बैंकले २५ लाख ५१ हजार सहयोग गर्ने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूकम्पपीडितलाई पार्टीका तर्फबाट २५ लाख र आफ्ना सांसदको १ महिनाको तलब दिने भएको छ । कांग्रेस सांसदले पनि आधा महिनाको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् । कांग्रेसले पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा शनिबार नै गरिसकेको छ ।
भारत सरकारले नेपालका भूकम्पपीडितलाई राहत सामग्री सहयोग गरेको छ । भारतले १६ करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको हो । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धताअनुरुप आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगन्ज ल्याइएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
भारतीय वायसेनाको एक विशेष विमान सी–१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर आएको हो । उक्त सामग्री भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए । राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरुका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लीपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटरजस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधि रहेको दूतावासले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज देशभरको मौसम सफा रहने, हिमाली भागमा हल्का हिमपात हुने
माघ १७, २०८१ बिहिबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले छात्राबासहरुको अनुगमन गर्ने
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
फागुन ५, २०८१ सोमबार
नेपाली विद्यार्थी मृत्यु प्रकरणमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री डा. देउवा
फागुन ५, २०८१ सोमबार
नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसक्यो : प्रधानमन्त्री ओली
फागुन ५, २०८१ सोमबार