काठमाडौंको शंकरापुरमा डीएसपी नेतृत्वको प्रहरी टोलीमाथि स्थानीयको आक्रमण, १४ जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर २, २०८० शनिबार ११:५६:१
२ मंसिर, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा सब स्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्ने विषयमा अवरोध गर्दै आएका स्थानीयले सुरक्षाकर्मीकाे टोलीमाथि आक्रमण गरेका छन् । स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरीका डीएसपी देवराज राईसहितको टोली घाइते भएको छ ।
शंखरापुर नगरपालिका–३ लप्सी फेदीका स्थानीयहरूले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन । प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
आज बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० जना पक्राउ परेका छन् । शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए ।
जिल्ला सुरक्षा समिति, काठमाडौँको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत सब–स्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायव उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोस्ट राख्ने निर्णय गरेको थियो । आक्रमणमा डीएसपीसहित केही प्रहरी घाइते भएका छन् । प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ ।
नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौँ उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००–२२०–१३२–११ केभी सब–स्टेसन निर्माण गर्न लागिरहेको छ ।
सब–स्टेसन निर्माणका लागि आवश्यक पर्ने सब–स्टेसनका लागि ५० जना जग्गाधनीहरूको करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । जग्गाधनीहरूले मुआब्जा तथा क्षतिपूर्ति रकम सहमतिले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड रूपैयाँ वितरण गरिएको छ ।
तर, राष्ट्रिय सीमान्त करण विरुद्ध अभियान (समान, नेपाल) नाममा सञ्जालको उक्साहटमा प्रभावित जग्गाधनीभन्दा पनि असम्बन्धित व्यक्तिहरूले विगत तीन वर्षबाट सब–स्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणले पटक पटक छलफल गरे पनि कुनै सहमति भएको छैन । मानव बस्तीमा सब–स्टेसन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नु पर्ने माग राख्दै समान, नेपालको ब्यानरमा त्यस क्षेत्रमा प्रदर्शन हुँदै आएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयका जायज मागलाई पूरा गरिएको तर केही गैर सरकारी संस्था र असम्बन्धित व्यक्तिहरूको उक्साहटका कारण सब–स्टेसन निर्माणमा अवरोध भइरहेको बताए । सब–स्टेसन निर्माणमा त्यहाँका स्थानीयले भने सहयोग गरिरहेको घिसिङले बताए ।
उनले लप्सी फेदीसम्म विद्युत ल्याउन प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको र यदि सब–स्टेसन निर्माण गर्न नसकिएमा उक्त विद्युत प्रवाह गर्न नसकी काठमाडौँ उपत्यकामा लोडसेडिङ गर्नु पर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।
सब–स्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सी फेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ । नयाँ खिम्ती–बाह्रबिसे–लप्सी फेदी ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लम्सीफेदी सब–स्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सब–स्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १३२ केभी. सब–स्टेसन सम्पन्न हुने चरणमा छ ।
प्राधिकरणले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिएको र उपलब्ध विकल्पहरू मध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेकोले सब–स्टेसन अन्यत्र सार्न नसकिने प्रस्ट पार्दै आएको छ । जग्गाधनीहरूले छिटो मुआब्जा चाहियो भन्दै राजी खुसीले रकम बुझेका थिए । नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैङ्क (एडीबी) को ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलियतपूर्ण ऋण सब–स्टेसनहरू तथा प्रसारण लाइन निर्माण भइरहेको हो ।
नयाँ खिम्ती–काठमाडौँ ४०० केभी तथा लम्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन र चार वटा सब–स्टेसनहरू गरी अनुमानित लागत करिब १८ अर्ब रूपैयाँ रहेको छ । लप्सी फेदी र चाँगुनारायण सब–स्सटेन निर्माणका लागि पहिलो ठेक्का सम्झौता २८ मङ्सिर २०७४ (१४ डिसेम्बर २०१७) मा भएको थियो । ठेकेदारले लप्सी फेदी सब–स्टेसन निर्माणका लागि एक वर्ष काम गरेको थियो । तर, ठेकेदारको काम सन्तोषजनक नभएपछि ठेक्का तोडी ४ मङ्सिर २०७७ (१९ नोभेम्बर २०२०) नयाँ ठेक्का लगाइएको थियो ।
पहिलो ठेकेदारले काम गर्दा लप्सी फेदीमा कुनै विरोध भएको थिएन । तर, दोस्रो ठेकेदार काम गर्न गएपछि काममा अवरोध भइरहेको छ । अवरोधका कारण हालसम्म सब–स्टेसन निर्माण स्थलमा कुनै पनि कार्य प्रगति हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार