गलकोट दरबार पुरानै स्वरुपमा फर्कियो
नेपालबहस संवाददाता
मंसिर ३, २०८० आइतबार १६:२०:४४
♦ खेमराज गौतम
३ मंसिर, गलकोट । बागलुङको ऐतिहासिक गलकोट दरबार स्वरुपमा फर्किएको छ । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा रहेको गलकोट दरबारको पुनर्निर्माण गरिएको हो । द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका परिवार विस्थापित भएपछि दरबार जीर्ण भएको थियो । अहिले दरबारका झ्याल ढोका पुरानै स्वरुपमा फेरिएको छ भने रङ्गरोगनपछि चिटिक्क भएको छ ।
दरबारको पुनर्निर्माणसहित दरबार वरपर अहिले धमाधम भौतिक संरचना तयार भइरहेका छन् । लामो समयसम्म मर्मत सम्भार नहुँदा दरबारका झ्याल ढोका बिग्रिएका थिए । दरबार आन्तरिक पर्यटकको आकर्षणमा पर्दै गएपछि दरबारलाई पुनर्निर्माणसहित रिसोर्ट बनाउन थालिएको हो ।
दरबार आकर्षणको केन्द्रको रुपमा विकास भइसकेपछि पर्यटकलाई लक्षित गरी आवासीय सुविधा सहितको रिसोर्टको काम पनि धमाधम चलिरहेको छ । दरबारमा रहेको पुरानो घर र गोठलाई मौलिक रुपमा पुनर्निर्माण गरिएको छ भने तत्कालीन मल्ल राजाले निर्माण गरेको पोखरीको समेत पुनर्निर्माण थालिएको छ ।
गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास रहेको एक सय वर्षभन्दा पुरानो गलकोट दरबार घुम्न आउने पर्यटक बढेपछि मल्ल परिवारकै सक्रियतामा दरबारको पुनर्निर्माणसँगै साजसज्जा लगायतको काम धमाधम भइरहेको छ । तत्कालीन भरतबम मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेपछि उहाँकै पुस्ताले दरबारको संरक्षण थालिएको हो ।
दरबार संरक्षणसँगै आम्दानीकोसमेत स्रोत बढाउन दरबारमा रिसोर्टको सुविधा थप गर्न थालेको तत्कालीन राजा भरतबम मल्लका नाती मञ्जेश बम मल्लले बताए । मञ्जेशबम मल्ल, विजयबम मल्लसहित चारजना मिलेर गलकोट दरबार क्षेत्रलाई रिसोर्टमा परिणत गर्न थालिएको हो । विजयबम मल्लका अनुसार आगामी तीन महिनाभित्रै रिसोर्ट सञ्चालनमा ल्याउनेगरी धमाधम संरचना तयार भइरहेका छन् । दरबारमा फोटो खिच्ने स्थान, रुखमाथि कटेज, झुला, विद्युतीकरण लगायतको काम भइरहेको छ । दरबारमा रहेको बगैँचा, पानी पोखरी, कुवालगायत अन्य संरचनालाई समेत थप आकर्षक बनाउने कार्य भइरहेको छ ।
गलकोट दरबारमा आउने पर्यटकको सङ्ख्यामा उलेख्य वृद्धि भएपछि दरबार क्षेत्रको संरक्षण, पुनर्निर्माणसहित आवसीय सुविधा सहितको रिसोर्ट बनाउन थालिएको गलकोट नगरपालिका–५ हरिचौरका वडाध्यक्ष तथा दरबार संरक्षणका अगुवा पवन हमालले जानकारी दिए । “द्वन्द्वकालमा मल्ल परिवार विस्थापित भएपछि जीर्ण बनेको थियो, अहिले जीर्ण दरबारलाई मर्मत सम्भार गरेर चिटिक्क पारेका छौँ, हाम्रो मुख्य उद्देश्य भनेको आन्तरिक पर्यटक प्रर्वद्धन नै हो, दरबारलाई सङ्ग्रहालयको रुपमा विकास गर्ने, दरबार घुम्न आउने पर्यटकलाई दरबारको ऐतिहासिक विषयवस्तु सहितको सूचना केन्द्र स्थापना गर्ने र दरबारमा आएका पर्यटकले यही खान बस्ने सुविधा मिलाउनका लागि पूर्वाधार थप गरेका हौँ,” हमालले भने, “अन्य दरबार वरपरका अन्य भौतिक संरचना परम्परागत, ढुङ्गाले छाएर बनाएका छौँ ।”
हमालका अनुसार दरबार संरक्षणसँगै आन्तरिक पर्यटकबाट आम्दानी गर्ने र दरबारलाई दीर्घकालीन रुपमा पर्यटकीय केन्द्रका रुपमा बनाउन आर्थिक स्रोतसमेत आवश्यक पर्ने भएकाले रिसोर्ट निर्माण गर्न थालिएको हो ।
हमालका अनुसार पहिलो चरणमा दरबार मर्मत र अन्य भौतिक संरचनामा रु ५० लाख खर्च अनुमान गरिएको छ । पर्यटकको आवश्यकताअनुसार पूर्वाधारमा क्रमशः लगानी बढाउने सोचमा रहेको हमालको भनाइ छ ।
पर्यटन प्रबर्द्धनसँगै दरबार परिसरको जग्गामा कृषि गर्ने योजनासमेत उक्त युवा समूहमा छ । दरबार ९१ वर्ष पुरानो रहेको छ । दरबार परिसरमा नाति मन्जेश बम मल्लले माछापोखरी बनाएर विभिन्न प्रजातीका माछासमेत पाल्दै आउनुभएको छ । उक्त गलकोट दरबार र वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ ।
वि.सं २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधव मल्ल आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्ल द्वन्द्वको समयमा मारिएको थियो । वि.सं २०५९ वैशाखमा भएको हत्यासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ गएपछि दरबार जीर्ण बनेको थियो । पछिल्लो सममा नाति मन्जेश बम मल्लले दरबारको संरक्षणमा चासो दिएपछि स्थानीयवासीले सघाएका छन् । वि.सं १९६८ को अन्त्यतिर राजा नारायणबम मल्लको निधन भएपछि भरतबम मल्ल गलकोट राज्यका अन्तिम राजा भएका थिए ।
विसं १९८९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मक शैलीमा बनेको यो दरबार हेर्न, फोटो खिच्न र टिकटक बनाउनका लागि बागलुङ बजार, चितवन, काठमाडाैँ र नेपालका विभिन्न क्षेत्रबाट घुम्न आउने गरेका छन् । दरबारको पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर हुँदै दरबार झण्डै पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः म्याद थप गर्न रवि लामिछानेलाई अदालत पुर्याइयो
मंसिर २७, २०८१ बिहिबार
धरानमा शनिबारदेखि तीन दिनसम्म योमरी महोत्सव हुँदै
मंसिर २७, २०८१ बिहिबार
जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार