तीन अर्बमा तीन वटा जहाज किन्न टेन्डर खोलेपछि नेपाल एयरलाइन्समा किचलो सुरु, विवादमा तानिए किराँती
नेपालबहस संवाददाता
मंसिर ८, २०८० शुक्रबार १६:५३:२२
८ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगम विगत देखि नै भ्रष्टाचार प्रकरणमा सबैभन्दा अगाडि आउने सरकारी स्वामित्वको संस्था हो । यति बेला आन्तरिक उठानतर्फ जहाज नभएको भन्दै मन्त्रिपरिषदको अनुमति बिना विभागीय मन्त्री सुदन किराँतीले तीन वटा सानो आकारका जहाज खरिद गर्न बोलपत्र आह्वान गर्न लगाएका छन् ।
जहाज किन्न भनेर खुलाइएको विज्ञापनमै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीका तर्फबाट भनिएको छ । यो विज्ञापन खुलाएपछि जहाज खरिदबारे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि चासो देखाएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महत पनि जहाज खरिद गर्ने प्रक्रियामै असहमत देखिएका छन् । जहाज खरिद गर्न अर्थ मन्त्रालयको अनुमति आवश्यक हुन्छ । तर, अर्थले मन्त्री किराँतीको जहाज किन्ने योजनालाई सहमति दिएको छैन ।
एकातिर निगम दुई वटा ठूला जहाज खरिद गरेको ऋणमा डुबेको छ भने अर्को तिर चीनबाट ल्याइएका ६ वटा जहाज के गर्ने र त्यसको वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने निधो छैन । सरकारले बजेट दिएको छैन, निगमसँग आर्थिक स्रोत छैन र अर्थ मन्त्रालयले अनुमति नै दिएको छैन । यो अवस्थामा तीन वटा साना जहाज खरिदका लागि भनेर निगमले बोलपत्र आह्वान गरेको छ ।
निगमको पुनः संरचना नगरी विमान खरिद गर्न उपयुक्त नहुने भन्दै अर्थले सहमति नदिएको हो । अर्थको सहमति विना बोलपत्र खोलेपछि यसभित्र के रहस्य राखिएको छ भन्दै मन्त्री किराँतीको आलोचना भइरहेको छ । खासमा जहाज किन्न निगमसँग स्रोत छैन । अर्थ मन्त्रालयले नै व्यवस्थापन गरि दिनुपर्छ । तर, दुर्गम क्षेत्रमा उडान भर्न सक्ने ३ वटा साना जहाज खरिद गर्ने योजना भन्दै ४५ दिनको म्याद दिई बोलपत्र आह्वान गरिएको छ ।
करिब तीन अर्बमा नयाँ तीन जहाज किन्ने प्रक्रिया सुरु गरेको निगमसँग हाल आफूसँग कुनै स्रोत छैन । जहाज खरिद गर्ने निगम सञ्चालक समितिको निर्णय पनि सर्वसम्मत हुन नसकेको बताइएको छ । निगमको ७ सदस्यीय सञ्चालक समितिमा अर्थ मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था छ । सहसचिव धनीराम शर्मा सञ्चालक समितिमा छन । तर, उनले संस्थागत पुनः संरचना नभई जहाज थप्न नमिल्ने भन्दै नोट अफ डिसेन्ट लेखेर बैठकबाटै बाहिरिएका थिए ।
निगमको पुनः संरचना नगरी विमान खरिद गर्न उपयुक्त नभएकाले व्यवस्थापन सुधार गरेपछि मात्रै निगमलाई व्यावसायिक रूपमा सञ्चालन गरेर जहाज थप्नुपर्ने उनको तर्क छ । निगमबारे विभिन्न कालखण्डमा भएका अध्ययनले पनि निगमको पुनः संरचनाको विषयलाई सुधारको मुख्य विषय बनाइएको छ । अहिलेकै अवस्थामा निगम आर्थिक रूपमा बलियो हुन सक्ने सम्भावना विभिन्न अध्ययनहरुले देखाइसकेका छन् । चालू वर्षको बजेटमा निगमको पुनः संरचना गर्ने भनिएको छ ।
तत्कालीन समयमा नै ४० वर्ष पुराना ३ विमानले निगमको व्यापार सुधार्न नसकेपछि आन्तरिक उडानमा निगमको उपस्थिति बलियो बनाउन भन्दै ०७१ सालमा तत्कालीन सरकारले अनुदान र ऋण गरी ७ अर्ब ४६ करोडमा ६ वटा चिनियाँ जहाज थपेको थियो । ०७७ साउनसम्म निगमलाई उल्टै साढे दुई अर्ब हाराहारी थप नोक्सानी दिलाएपछि चिनियाँ जहाज सदाका लागि ग्राउन्डेड गरेर राखिएको छ ।
६ चिनियाँ जहाजको दैनिक बीमा खर्च मात्रै कम्तीमा ४ लाख छ, अझ एउटा विमान दुर्घटनामा परेर क्षतिग्रस्त भइसकेको छ । चिनियाँ जहाजमा झन्डै साढे ७ अर्ब लगानी र साढे २ अर्ब सञ्चालन घाटासहित १० अर्ब नोक्सानी छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग चिनियाँ जहाजको व्यवस्थापनसहित व्यावसायिक योजना मागेको थियो । त्यो अहिलेसम्म बुझाएको छैन ।
अहिले निगम ऋणमा छ । दुई न्यारोबडी र दुइटा वाइडबडी एयरबस खरिद गर्न कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका वित्तीय निकायबाट निगमले लिएको झन्डै ३४ अर्ब ऋण नियमित रूपमा तिर्न समेत सकेको छैन । साँवा र ब्याज थपिँदा निगमको ऋण गत असारसम्म ४८ अर्ब पुगेको छ । यसमध्ये नागरिक लगानी कोषबाट लिएको १२ अर्ब ऋण साँवा–ब्याजसहित १७ अर्ब नाघेको छ ।
यस्तो अवस्थामा निगमले कसरी जहाज खरिद गर्न सक्छ भन्ने प्रश्न उठिरहेका बेला मन्त्री किरातीले निगममार्फत बोलपत्र गराएका छन् । क्यानेडियन जहाज निर्माता कम्पनी डी ह्याभिल्यान्ड एयरक्राफ्ट कम्पनीबाट बिना प्रतिस्पर्धा सोझै जहाज खरिद गराउन निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वार्ता गरिरहेका छन् । जहाज खरिदका लागि पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषदबाट निर्णय गराउने भने पनि मन्त्रिपरिषदमा नलगी बोलपत्र आह्वान गरिएको छ ।
मन्त्रिपरिषदबाट निर्णय गराएर जहाज खरिद गराउन पर्यटन मन्त्रालयको कर्मचारीले नै मन्त्री किराँतीलाई असहयोग गरेका थिए । मन्त्रालयका कर्मचारीले नमानेपछि मन्त्री किराँतीले सोझै जहाज खरिद गराउन समिति पनि बनाएका थिए । तर, यी योजना असफल हुने भएपछि अन्ततः फाइल निगममा फर्काएर निगमलाई आफै निर्णयकार देखाएर बोलपत्र गरिएको छ ।
यसअघि निगमका लागि खरिद भएका सबै १० जहाजको मुद्दा अख्तियारमा र संसदीय समितिमा विचाराधीन छन् । यसै पनि पहिलेकै खरिद प्रक्रियाको विवादबाट किनारा नपाउँदै नयाँ जहाज खरिदमा अघि बढ्नु तर्कसंगत नहुने तर्क कर्मचारीले राखेका हुन् । तर, मन्त्री किरातीले जसरी पनि जहाज थप्ने निर्णय गरेपछि कर्मचारीहरू यसबाट व्याक भएका थिए ।
अहिले निगमसँग सरकारबाट उठाउनुपर्ने चार्टर भाडा, कोभिडमा कोरोनाको खोपलगायतका स्वास्थ्य सामग्री ढुवानी, ओम्नीबाट लिनुपर्ने रकम, बीमाबाट प्राप्त रकम लगायतको बक्यौता डेढ अर्ब हाराहारी रहेको छ । जहाज खरिद गर्न ३ अर्ब हाराहारी रकम चाहिने र डेढ अर्बको स्रोत निगमका नाममा रहेको सोल्टीको शेयर बिक्री गर्ने तयारीमा निगम पुगेको छ ।
दुर्गम क्षेत्रका आम जनताको ठूलो मागलाई सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन भन्दै निगमले फूलपातीको अघिल्लो दिन सञ्चालक समितिबाट जहाज खरिदको निर्णय गरेको थियो । जहाज खरिदमा मन्त्रालयका कर्मचारी हच्किनुमा यसअघि तीन पटक खरिद भएका न्यारोबडी, चिनियाँ जहाज र वाइडबडीको खरिदमा भएको अनियमितता र त्यसले निम्त्याएको भ्रष्टाचार काण्ड पनि हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
मह उत्पादक किसानको समस्याबारे अध्ययन गर्न समिति गठन
असोज ६, २०८१ आइतबार
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी
असोज ६, २०८१ आइतबार
प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी
असोज ६, २०८१ आइतबार
अमेरिकामा सामूहिक गोलीबारीमा ४ जनाको मृत्यु
असोज ६, २०८१ आइतबार