असन्तुलित बजार: नेपालमा उत्पादन अनुसार किनेर खाइदिने जनसंख्या भएन, सरकार हेर्दैन
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार १३:५१:५९
१४ मंसिर, काठमाडौं । सिजन अनुसार वस्तुको उत्पादन बढी तर, किनेर खाइदिने जनसंख्या कम भएर यतिबेला नेपाली किसानहरू मारमा छन् । बजार सन्तुलित बनाउ सरकारी संयन्त्रहरु नहुँदा उत्पादित वस्तु सडकमा फाल्नुपर्ने समस्या नेपालमा बढिरहेको छ । यसको नियमन खासमा कृषि मन्त्रालयले गर्नुपर्ने हो । तर, बजारको माग र आपूर्तिलाई व्यवस्थापन गर्ने शक्ति मन्त्रालयसँग छैन ।
सरकारले यसअघि दूधको मूल्य बढायो । तर, सीमा क्षेत्रमा नेपाली दूधको मूल्य भन्दा भारतबाट आउन दूधको मूल्य कम भयो । मूल्य बढाउँदा नेपाली किसानहरू झन घाटामा गएर दूधको मूल्य घटाएर मिलाउनु पर्यो भन्दै मेचीदेखि महाकालीसम्म किसानहरू सरकार गुहार्न पुगे । सिजनमा मुस्ताङको स्याउले बजार पाएन । काठमाडौंमा महँगो मूल्य तिरेर विदेशी स्याउ उपभोक्ताले किन्नुपर्यो । अण्डा, ब्रोइलर कुखुरादेखि हरेक उत्पादन यतिबेला बजारको अभावमा छन् ।
बजार नि कस्तो भएको छ भने मूल्य सस्तो हुँदा पनि किनेर खाइदिने मान्छे कम छ अर्थात् उत्पादनका तुलनामा उपभोग गरिदिने जनसंख्या कम भयो । नेपाली उत्पादनलाई अरू देशमा निर्यात गर्ने सरकारी प्रयास छैन । उत्पादकहरुको पहुँच पुग्दैन । अनि उत्पादित वस्तुहरु सडकमा फाल्नुपर्छ । हेर्दा सामान्य देखिए पनि नेपालमा आफूले फलाएका वस्तुहरू खपत नभएर फाल्नुपर्ने रोगको विकास भइसकेको छ ।
बिहीबारको मात्र परिस्थिति हेर्ने हो भने मधेशमा उखुको सिजन छ त्यहाँ किसानले मूल्य पाएका छैनन् । गोरखामा दूध उत्पादन बढी भएर भने अनुसार बिक्री हुन छाड्यो । काठमाडौं आसपासका बजारमा सय थरीका तरकारी किनिदिने मान्छे नभएर कुहिने अवस्थामा छन् । यसको बजार चक्र मिलाइदिने सरकार भए समस्या आउने थिएन । तर, सरकारको ध्यान यसतर्फ छैन ।
बजारमा मागको तुलनामा आपूर्ति बढी भएपछि तरकारी फालाफालको अवस्था छ । आन्तरिक उत्पादन बढे पनि त्यस अनुसार उपभोक्ता नहुँदा तरकारी बिक्नै छाडेको व्यापारीहरू बताउँछन् । काउली, बन्दा, ब्रो काउली, विभिन्न प्रकारका हरियो साग, गाजर, मुला लगायत मौसमी तरकारीको थोक मूल्य कम्तीमा १० देखि ५० रूपैयाँ प्रति किलो छ । तरकारीको मूल्य घट्नुमा माग कम, आपूर्ति बढी हुनु नै मुख्य कारण रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
उपभोक्ता कम, तरकारी बढी भएर मूल्य घटेको तरकारी व्यवसायी राजेन्द्र रिजाल बताउँछन् । ‘युवा जति विदेश गए, अहिले खाने मान्छे छैन, तरकारी बढी भएर मूल्य घट्यो,’ उनले भने । रिजालले किसानबाट खरिद गरी ल्याएको तरकारी दुईदेखि तीन दिन राख्छन् । सो अवधिमा तरकारी बिक्री नहुँदा कम मूल्यमा बेच्नुपर्ने या त कुहिएर फाल्नुपर्ने उनको गुनासो छ । ‘एक बोरा तरकारी ल्याउँदा कम्तीमा पाँच हजार खर्च हुन्छ,’ उनी भन्छन्, ‘तीन दिनमा तरकारी बिकेन भने कि घाटा खाएर बेच्नु पर्याे, कि फाल्नु पर्छ ।’
कालीमाटी बजारमा तरकारीको आपूर्ति नियन्त्रण नभएकाले पनि आपूर्ति बढी भएको समितिले उल्लेख गरेको छ । कालीमाटी बजारमा दैनिक आठ सय मेट्रिक टन तरकारी आपूर्ति हुने समितिको भनाइ छ । यहाँ आपूर्ति हुने कृषि उपजमध्ये करिब ८० प्रतिशत हरियो तरकारी हुन्छ । वार्षिक रुपमा कालीमाटी बजारमा ६३ प्रतिशत आन्तरिक उत्पादन आपूर्ति हुन्छ भने ३७ प्रतिशत आयातित कृषि उपज भित्रिने गरेको छ ।
चालू आर्थिक वर्षको चार महिनामा झन्डै १२ अर्ब रूपैयाँ बराबरको तरकारी आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा नेपाली उपभोक्ताले ११ अर्ब ८७ करोड २३ लाख २० हजार रूपैयाँको तरकारी उपभोग गरेका हुन् ।
विभागका अनुसार चार महिनामा ११ अर्ब ८७ करोड रूपैयाँको तरकारी आयात हुँदा ४२ करोड ८९ लाख रूपैयाँको मात्रै निर्यात भएको छ । ११ अर्ब ४४ करोड रूपैयाँ तरकारीमा नेपालको व्यापार घाटा भएको विभागले उल्लेख गरेको छ । चार महिनामा तरकारी आयात–निर्यात गर्दा नेपालले २ अर्ब २ करोड रूपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।
यता, गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीय स्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् । गोरखा नगरपालिका–९, स्थित जय गोरखकाली एग्रो एण्ड डेरी फार्मले उत्पादन गर्दै आएको दुई सय लिटर दूधले बिक्री नभए पनि खेर फ्याक्नु परेको फार्म सञ्चालक भीमसेन बस्नेतले जानकारी दिए ।
सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । जिल्लामा रहेका उखु मिलमध्ये हरिवन नगरपालिका–११ स्थित रहेको इन्दुशङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी गरेको छैन । यसबाट समस्यामा परेको जिल्लाका उखु उत्पादक किसानले उत्पादन गरेको उखु सस्तोमा सक्खर उद्योगलाई बेच्न थालेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदै
जेठ १५, २०८१ मंगलबार
गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा, प्रदेशतर्फ मधेशमा धेरै
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
बजेटको आकारअनुसार शिक्षामा बढेन लगानी
जेठ १५, २०८१ मंगलबार
सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइने
जेठ १५, २०८१ मंगलबार
विभिन्न क्षेत्रमा लाग्दै आएको करका दरबारे के भन्छ बजेट ?
जेठ १५, २०८१ मंगलबार
बजेट हावादारी भयो, सुधारका कार्यक्रम देखिएनः कांग्रेस
जेठ १५, २०८१ मंगलबार
बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य
जेठ १५, २०८१ मंगलबार
सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने
जेठ १५, २०८१ मंगलबार