एशियाकै ठूलो कर्णाली चिसापानी आयोजना, ११ खर्ब ४७ अर्ब खर्चिएर ९ वर्षमा सम्पन्न गरिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस १३, २०८० शुक्रबार १३:३४:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/karnali_zYhFrv9RCw_KH7l8xFGsk.jpg)
१३ पुस, काठमाडौं । हालको मूल्यअनुसार ११ खर्ब ४७ अर्ब लागत रहने दक्षिण एशियाकै सबैभन्दा ठूलो कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाइएको छ ।
नेपाल विद्युत् प्राधिकरणले कूल १० हजार आठ सय मेगावाट क्षमताको सो आयोजना आफ्नै साधन र स्रोत प्रयोग गरेर अध्ययन प्रक्रिया अगाडि बढाएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी, जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक चूर्णबहादुर ओली, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले यही पुस ९ र १० गते आयोजना स्थल र प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्यो ।
नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्रमा सक्ने गरी नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको हो । सरकारले आयोजनालाई विशेष महत्व दिएर अध्ययन प्रक्रिया अगाडि बढाएपछि स्थानीयबासीमा उत्साहको सञ्चार भएको छ ।
कर्णाली चिसापानी पुलले पश्चिम नेपालमा भित्र्याएको विकासलाई निरन्तरता दिन उक्त आयोजना निर्माणको चर्चाले स्थानीयलाई उत्साहित बनाएको छ । सुर्खेतको पञ्चपुरी गाउँपालिकाका अध्यक्ष खड्ग विकले आयोजनालाई सफल बनाउन आफूहरुको तर्फबाट सार्थक सहयोग रहने बताए । बर्दिया र कैलाली जोड्ने कर्णाली चिसापानी पुलदेखि झण्डै दुई किलोमिटरमाथि प्रस्ताव गरिएको आयोजनाको बाँध निर्माण हुनेछ ।
कूल दुई सय ७० मिटर अग्लो बाँध निर्माण गरेर कर्णाली नदीको पानी जम्मा पारिनेछ । प्राधिकरणको हालको अध्ययन अनुसार ढुङ्गा र माटो भरेर निर्माण हुने ‘रक फिल ड्याम’ निर्माण हुनेछ । सो बाँधका कारण कूल एक सय ६७ किलोमिटर लामो ताल बन्नेछ । कर्णाली नदीमा कूल एक सय किलोमिटर, भेरी नदीमा ४५ किलोमिटर, सेतीमा १६ र ठुलीगाडमा छ किलोमिटर लामो ताल बन्ने अध्ययनमा संलग्न प्राधिकरणका वरिष्ठ इञ्जिनियर नसिबमान प्रधानको भनाइ छ । आयोजनाले बर्दिया, कैलाली, सुर्खेत, अछाम र डोटी जिल्लाकानदी किनारका बस्ती र संरचना प्रभावित हुनेछ ।
सन् १९८९ को अध्ययनअनुसार आयोजनाबाट कूल ११ हजार पाँच सय ७० हेक्टर क्षेत्रफल र ५४ हजार छ सय स्थानीय प्रभावित हुनेछन् । पछिल्लो अवस्थालाई अध्ययन गरेर प्रभावित क्षेत्रको स्पष्ट पहिचान हुने प्राधिकरणको भनाइ छ ।
कर्णाली नदीको दायाँ किनारमा भूमिगत विद्युत् गृह निर्माण गरिनेछ । उक्त विद्युत् गृहमा पानी पु¥याउनका लागि एक हजार दुई सय मिटर लामो सुरुङ निर्माण हुनेछ । भूमिगत विद्युत् गृहमा छ सय मेगावाट क्षमताका १८ वटा टर्वाइनबाट १० हजार आठ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट वार्षिक रुपमा २० हजार आठ सय ४२ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ ।
उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
सो आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय तथा भारतलगायतका देशमा निर्यातका लागि सात सय ६५ केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरिएको छ । पाँच वटा सर्किट रहने उक्त प्रसारण लाइनका साथै दुई सय २० केभी क्षमताको थप अर्को प्रसारण लाइन निर्माण हुनेछ । ऊर्जा उत्पादनको क्षमता र प्रसारण लाइन निर्माणका हिसाबले यो आयोजना आफैमा एउटा ठूलो र रणनीतिक महत्वको आयोजना रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
प्रतियुनिट लागतका हिसाबले यो आयोजना असाध्यै सस्तो र आकर्षक आयोजना भएको दाबी गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भन्नुभयो “प्रतियुनिट लागत हालको मूल्यअनुसार तीन दशमलव तीन सेन्ट बराबर मात्रै रहने अनुमान छ । असाध्यै छोटो सुरुङ र सहज निर्माण स्थल पनि अर्को आकर्षक पक्ष हो ।”
निर्माण हुनेछ ‘रिरेगुलेटिङ’ बाँध
आयोजनाको अर्को आकर्षक पक्ष भनेको ‘रिरेगुलेटिङ’ बाँध हो । कर्णाली चिसापानी पुलबाट छ किलोमिटर लामो र अधिकतम २४ मिटर उचाई रहने सो बाँध निर्माण हुनेछ । मुख्य आयोजनाबाट बिजुली निकालेर बाहिर गएको पानी सिधै खोलामा फाल्दा नदीमा बाढी आए जस्तो हुने भएकाले त्यसलाई नियन्त्रण गरेर नियन्त्रित रुपमा पानी पठाउने ध्येयका साथ उक्त बाँध समेत प्रस्ताव गरिएको छ । सो बाँधबाट थप ८४ मेगावाट बिजुली उत्पादन हुनेछ । ऊर्जाका हिसाबले थप छ सय २१ गिगावाट घण्टा बराबरको ऊर्जा थप हुनेछ । सोही आयोजनाको पानी थप नियन्त्रण गर्ने गरी ‘पम्प स्टारेज’ परियोजना समेत अगाडि बढाउने लक्ष्य छ । यसबाट एउटै आयोजना थप तीन प्रकृतिमा सञ्चालनमा आउनेछ । पम्प स्टोरेज समेत सञ्चालनमा ल्याउँदा थप पाँच हजार तीन सय ७४ मेगावाट बराबरको बिजुली थप हुनेछ ।
सिँचाइमा पनि फाइदा
सो आयोजना निर्माण भएपछि नेपाल र भारतमा समेत सिँचाइ सुविधा विस्तार हुनेछ । अध्ययनमा संलग्न इञ्जिनियर प्रधानका अनुसार नेपालतर्फ एक लाख ९१ हजार हेक्टर र भारततर्फ तीन लाख २० हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । बहुउद्देश्यीय प्रकृतिको सो आयोजनाको निर्माणपछि मत्स्यपालन, बाढी नियन्त्रण, जलवायु तथा पर्यावरणको संरक्षण हुनेछ । खानेपानीको सहज उपलब्धताका लागि समेत आयोजना थप महत्वपूर्ण हुनेछ । आयोजना निर्माणपछि सहज रुपमा जल यातायात सञ्चालन गर्न सकिनेछ । त्यसबाट पर्यटकीय गतिविधि समेत विस्तार भई थप मुद्रा आर्जन हुनेछ । भारतको उत्तर प्रदेशबाट नजिक रहेको, नेपाल भारत सीमाबाट झण्डै ४० किलोमिटर मात्रै उत्तरमा रहेका कारणले पनि आयोजना थप आकर्षक बन्ने विश्वास लिइएको छ ।
निर्माण अवधि नौ वर्ष
हालको अध्ययनअनुसार सो आयोजना निर्माणका लागि कम्तीमा पनि नौ वर्ष लाग्नेछ । आयोजना ठूलो क्षमताको भएकाले पनि केही थप अवधि लाग्न सक्नेछ । यस्तै आयोजना निर्माणको चरणमा ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुनेछ । प्रतिमेगावाट लागत रु १० करोड ६२ लाख बराबर हुने भएकाले समेत सस्तो र आकर्षक रहेको छ ।
सरकारले सो आयोजनाको सम्पूर्ण अध्ययन गर्न प्राधिकरणलाई जिम्मा दिएको छ । ठूला आयोजनाको काम अगाडि बढाउने, ऊर्जा सुरक्षा तथा बाढी नियन्त्रण र पानीको जोहो गर्ने लक्ष्यका साथ सरकारले ‘रणनीतिक महत्व’को सो आयोजना अगाडि बढाइएको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतको भनाइ छ ।
ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को गत कात्तिक २३ गतेको बैठकले सो आयोजनाको समग्र पक्षको अध्ययनका लागि प्राधिकरणलाई जिम्मा दिएको हो । सो आयोजनाको विस्तृत सम्भाव्यता तथा वातावरणीय अध्ययन र विस्तृत इञ्जिनियरिङ डिजाइन प्राधिकरणले गर्ने मन्त्री बस्नेतको कथन छ ।
आगामी तीन वर्षभित्र अध्ययन सम्पन्न गरी निर्माणको ढाँचा एवम् तल्लो र माथिल्लो तटीय क्षेत्रमा हुने जोखिम तथा प्राप्त हुने लाभसम्बन्धी सिफारिससहितको प्रतिवेदन ऊर्जामन्त्रालयमार्फत सरकारमा पेश गरिनेछ । सो अध्ययनको सम्पूर्ण खर्च समेत प्राधिकरणले बेहोर्ने छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सो आयोजनाको अध्ययन गर्ने जिम्मेवारी पाए लगत्तै आयोजना स्थलमा काम समेत शुरु भइसकेको बताउनुभयो । उहाँले सो आयोजनाको समग्र पक्षको अध्ययन समयमै सम्पन्न गर्ने र त्यसका लागि आवश्यक जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो ।
सो आयोजनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि प्राथमिकतामा राख्नुभएको छ । उहाँले गत भदौ १ गते प्राधिरकणको ३८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा सो आयोजनाको अध्ययन अगाडि बढाउने बताउनुभएको थियो ।
यसअघि पाँच पटक भएको थियो अध्ययन
नेपालमा हालसम्म पहिचान भएका र जडित क्षमताका हिसाबले सबैभन्दा ठूलो मानिएको आयोजनाको पहिलो सम्भाव्यता अध्ययन नै छ दशक पहिले भएको थियो । सन् १९६० मा पहिलो पटक प्रारम्भिक रुपमा आयोजनाको पहिचान भएको थियो । सन् १९६२ देखि १९६६ सम्म जापानी कम्पनी निप्पोन कोइले अध्ययन गर्दा एक हजार आठ सय मेगावाट बराबरको आयोजना निर्माण हुने प्रतिवेदन दिएको थियो । अष्ट्रेलियाको स्नोइ माउण्टेन हाइड्रोइलेक्ट्रिक कम्पनीले सन् १९६८ मा गरेको अध्ययनमा पनि तीन हजार छ सय मेगावाट बराबरको क्षमताको पहिचान भएको थियो । नरकन्सल्टले सन् १९७६ मा पुनः अध्ययन गरेको थियो ।
सन् १९८६ देखि १९८९ सम्म हिमालयन पावर कन्सल्टले अध्ययन गर्दा आयोजनाको कूल क्षमता १० हजार आठ सय मेगावाट हुने पहिचान गरेको थियो । सोही अध्ययनका आधारमा प्राधिकरणले थप अध्ययन गरिरहेको छ । त्यतिबेला अध्ययनका लागि निर्माण गरिएका विभिन्न संरचना पुरिइसकेको भएपनि केही भने आयोजना स्थलमा फेला परेको इञ्जिनियर प्रधानको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमका संसदीय सभापतिका लागि आज निर्वाचन
फागुन ४, २०८१ आइतबार
सुदूरपश्चिम प्रदेश नीति आयोगमा दुई सदस्य नियुक्त
फागुन २, २०८१ शुक्रबार
विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण
माघ २९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार