‘युद्धले खुट्टा गुम्यो, चाहनाले सीप सिकायो’
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १७:४०:३४
२७ पुस, बागलुङ । कात्तिकको महिना । गाउँमा कामको माचो (चाप) थियो । खेतमा पाकेको पहेंलपुर धान । भित्र्याउन गाउँलेलाई भ्याइन भ्याइ थियो । गुल्मीबाट कामको खोजीमा बागलुङको ग्वालीचौर झरेका भीमबहादुर विक ‘तानातान’मा थिए । उनलाई एक महिनाको छोरा र सुत्केरी श्रीमतीलाई दाना पानी जुटाउनु थियो । विसं २०५९ कात्तिक २५ गते विक बागलुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरको दारेगौँडामा दाइँमा खेताला बने ।
सुत्केरीलाई साँझ–बिहानका लागि खाना लिएर फर्किने वाचासहित बिहान घरबाट निस्केका भीमबहादुरको जीवनमा एकाएक अँध्यारो छायो । जनयुद्ध चरम उत्कर्षमा पुगेका बेला थियो । कुन बेला के हुन्छ कसैलाई थाहा थिएन । ग्वालीचौरको दारेगौँडामा गस्तीमा रहेको नेपाली सेनामाथि विद्रोही पक्षले विद्युतीय धराप आक्रमण गर्याे। स्थानीय दाईका दाइँका गोरु धपाइरहनुभएका भीमबहादुरले एकैपटक जमिन थर्किनेगरी ठूलो आवाज सुने । आवाजको गति बेगबारे भीमबहादुर अझै पनि बोल्न सक्दैनन् । आवाजको गति मत्थर अन्त नभइ भीमबहादुरको बाँया खुट्टाको घुँडामाथि गोली लाग्यो । खुट्टाको मूल नसा नै चुँड्यो । क्षणभरमै खेतमा काम गरिरहेका भीमबहादुर दाई भएकै ठाउँमा पल्टिए ।
घटनामा दुई जना नेपाली सेनाका जवान मारिए । धराप पड्केर आफ्ना जवानको मृत्यु भएपछि सेनाले अन्धाधुन्ध गोली चलायो । ‘आँखै अघि धेरै जना ढले । कोही म जस्तै घाइते भए । कसैले संसारै छोडे’, विकले भने, ‘मेरो त सर्वस्व सकियो । झन्डै छोराछोरी टुहुरा भएका थिए ।’ घटनामा ११ जना सर्वसाधारण मारिए । बाँकी छ जना घाइते भएकाको उनले सुनाए ।
घाइतेमध्ये खिमबहादुर जिसीको २०६० सालमा उपचारकै क्रममा मृत्यु भएको नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक राजीव घिमिरेले बताए । उनका अनुसार भीमबहादुर, खुसीराम विकलगायतका घाइते अहिले पनि दुःखजिलो गरेर जीवन बिताइरहेका छन् ।
‘कपडाको टालो बाँधेर एक महिना गोली भएकै अवस्थामा जसोतसो चलेँ । गोली खुट्टामै थियो । ऊबेला कसले उपचार गरिदिने ? खर्च पनि त थिएन’, भीमबहादुरले ती दिन सम्झँदै भने, ‘एक महिनापछि उपचार त भयो तर नसो सोझिएन ।’ गण्डकी अस्पताल पोखरामा सामान्य उपचारपछि घर फर्किएका भीमबहादुरको अहिले पनि देब्रे खुट्टा चल्दैन । वैशाखीको भरमा हिड्छन् । वैशाखी दोस्रो खुट्टाको भूमिका खेलेका छन् ।
तीन छोरी र दुई छोराका बाउ नै अशक्त भएपछि परिवार पाल्ने जिम्मेवारी आमा सुमित्राको काँधमा आइपर्यो । निमेक नै गरेर उनले छाक टारिन् । कहिले स-साना छोराछोरी बोकेरै मेलामा पुग्ने त कहिले एक्लै मेलापात गरेर घर खर्च चलाएको सुमित्राले सुनाइन् । घटना भएको २१ वर्ष बित्यो । युद्धरत माओवादी र सरकारबीच शान्ति सम्झौता भयो । सम्झौतापछि भीमबहादुरले पनि एकपटक सरकारबाट एक लाख रुपैयाँ लाख राहत पाए । ‘गाउँकै एक जना सरले कागज बनाउनेदेखि सबै काम गरिदिनुभयो । बजार जाँदा–आउँदा खर्च दिनुभयो’, विकले ती शिक्षकलाई सम्झिए, ३० हजार खर्च भएको रहेछ । ७० हजार हात लाग्याथ्यो । अरु केही पाएको छैन ।’ भीमबहादुरले आफू भूमिहीन भएको बताए । ‘बडिगाड–५ मा रहेको अहिले घर पनि सार्वजनिक जग्गामा छ । तीन जना छोरीको बिहे भयो । घाइते हुनेबेला एक महिनाका विष्णु विक अहिले २१ वर्षका भए । परिवारका दुःख भने अझै हरिएका छैनन्’, उनले भने । ‘जेठोले भारतमा सामान्य काम गरेर आफ्नो खर्च चलाउँदै छ । कान्छो घरमै छ, निमेक पाहुर गर्नेबाहेक हाम्रो आम्दानी केही छैन’, सुमित्राले भनिन्, ‘हाम्रा लागि त भगवान पनि बैरी बनेर आयो, घर धान्ने मुलीलाई नै उमेर छँदै ढलायो ।’
भीमबहादुरले वैशाखीकै सहारामा धेरै काम गर्ने प्रयास गरे । कहिले चोयाका सामग्री बनाउने त कहिले बसेरै गर्न सकिने कामको खोजी गरे । उनले कामबाट कहिल्यै जस नपाएको बताए । कुनै ठूलो सहयोगको आशा नगरेको बताउँदै उनले जीवन गुजार्ने सीप खोजिरहेको बताए ।
थोरै लगानी र मेहनतले प्रशस्त आम्दानीको स्रोत खोजिरहेका भीमबहादुर आजभोलि च्याउखेती गर्न थालेका छन् । ग्रामीण स्वास्थ्य सुधार परियोजना (बिवाइसी)नामको सामाजिक संस्थाले उनलाई च्याउखेतीको तालिम दिएको थियो । घरछेउमै सानो घर निर्माण गरेर च्याउ खेती थालेका भीमबहादुरले बाँच्ने आधार खेती बनाउने चाहना राखे । सजिलो काम भएकाले मैले धेरै गर्नसक्ने तर न त जग्गा छ, न त पुँजी’, उनले भने, ‘कसैको साथ÷सहयोग पाए सामान्य खर्च चलाउने काम गर्न सक्थेँ ।’
स्थानीय बजारमा च्याउको खपत हुने भएकाले आशा पलाएको भीमबहादुरको भनाइ थियो । तालिममार्फत च्याउ खेती सिकेकाले आर्थिक सहयोग पाएमा व्यवसायिक रुपमा यहीँ खेती गर्ने योजना रहेको उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार