चिसोले महोत्तरीका दलित बस्तीका विचल्ली, बुढापाकादेखि बालबालिकालाई जोगाउन गाह्रो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस २८, २०८० शनिबार १७:१६:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/ghur_V6TaYYYzlo_FLHfkPJgXp.jpg)
२८ पुस, महोत्तरी । पुस अन्त्यतिर मधेसमा चिसो बढ्दो छ । मधेसका जिल्लामा घाम देखिँदा हर्षबढाइँ हुन्छ । बाक्लो हुस्सुले डम्म ढाकेर चिसो स्याँठ चलिरहँदा सर्वसाधारण काममा निस्कन सकेका छैनन् । पछिल्लो साता बढेको चिसोकै कारण महोत्तरीका विद्यालयमा जाडो बिदा दिइएको छ । माघेसङ्क्रान्ति पर्व नजिकिए पनि हाटबजारमा चहलपहल घटेको छ ।
चिसोले सबै क्षेत्रलाई प्रभाव पारे पनि यहाँका गरिब तथा दलित बस्तीको अवस्था नाजुक छ । पराले झुप्राका गुजुमुज्ज बस्तीमा ससाना नानीको जाडो छल्ने सहारा सडकमा मिल्किएका चिथ्रा थाङ्ना, प्लाष्टिक र कसिङ्गर सोहोरिएर बालिने ‘घुर’ (कसिङ्गर जम्मा पारेर बालिएको आगो) बनेको छ । न ओढ्ने, ओछ्याउने न शरीर ढाक्ने लुगा १ शीतले भिजेका कसिङ्गर सल्काउँदा निस्कने धुँवाको मुस्लोभित्रको ‘घुर’ वरिपरि बसेर मनमनै तातोको अनुभूति गर्नपर्ने जिन्दगी यहाँका मुसहर, बाँतर, मेस्तर, डोम, चमार र दुसाध बस्तीमा देखिँदो छ ।
‘यो मुटु कमाउने जाडोमा न बनिबुतो गर्न निस्कन सकिन्छ न घरमा पानीबाहेक तताएर खाने सरदाम केही छ’, भङ्गाहा–३ सकरी बस्तीको मुसहरीटोलकी रामराजी सादा (मुसहर) भन्छन्, ‘बच्चाबच्ची स्याहार्न मुस्किल छ ।’ सो बस्तीकी अगुवा रामराजी बढ्दो चिसोका कारण दैनिक ज्यालादारी श्रम गरेर गुजारा गर्नुपर्ने आफूहरूमा लागि जाडो मौसम सधैँ कष्टदायक रहँदै आएको बताए ।
महोत्तरीको मध्य र दक्षिणी भेगमा लाग्दो पुसदेखि नै बिहान हुस्सुले ढाक्दै आएको छ । उत्तरीक्षेत्रमा कहिलेकाहीँ झल्याकझुलुक देखिने घाम पनि पारिलो हुँदैन । झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि जाडोको कहर निकै बढेको हो । महोत्तरीको उत्तरी भेगको पूर्वपश्चिम राजमार्ग वरपर मङ्सिरसम्म बिहानै घाम देखिए पनि पुस लागेयता भने यो भेगमा पनि धेरैजसो यसपालि बिहानैदेखि डम्म हुस्सुले ढाक्दै आएको छ । बाक्लो हुस्सुसँगैको चिसो सिरेटो चल्ने क्रमले हात गोडा कठ्याङ्ग्रिएर कुनै काममा निस्कन नसकिएको यहाँका सर्वसाधारण बताउँछन । मध्य र दक्षिणी भेगमा त घाम नदेखिएको कैयौ दिन हुन्छन । अहिले बहने चिसो हावाले लगलगी मुटु कमाउने जाडो बढाएको जलेश्वर नगरपालिका–२ का सामाजिक कार्यकर्ता जिरेखन पासवान बताउँछन् ।
निरन्तरको चिसोले व्यापार व्यवसायमात्र नभएर कृषि कार्य पनि प्रभावित भएका छन् । अहिले नै यस्तो विजोग भएपछि अब माघसम्म कस्तो होला ? भन्ने सोचेर नै यहाँका बुढापाका जाडो कसरी काट्ने भन्ने चिन्तामा छन् । ‘खै उमेरले भर्खर ६० नाँघियो , यसरी लगलगी कमाउने जाडो त यसअघि त्यति भोगेको सम्झनै छैन’, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका ६१ वर्षीय किसान सत्यनारायण यादवल भन्छन्, ‘खै परारको (कोभिड–१९) कहरले चाँडै जाडो बढाएको त हैन ?’ परार र त्यसअघिको वर्षको कोरोना कहर सम्झदै यादवले लख काटे ।
बढ्दो जाडोले यसभेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन । दैनिक ज्यालादारी गरेर गुजारा गर्नपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नपर्ने अवस्था बनेको छ । ‘जाडो त सबैलाई हो तानि ! हुनेखाने जाडोबाट बच्ने सरजाम (बन्दोबस्त) घरमै जुटाउलान, हामी बनी (मजदुरी) गरेर गुजारा गर्नेको चैँ के हविगत हुने हो अब’ जिल्लाको बलवा नगरपालिका–१० को मुसहरीटोलका पलट माझी मुसहरले चिन्ता व्यक्त गरे ।
चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र ससाना नानीहरुको स्याहार, सम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर ओरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्तीहरु बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन । जिल्लाका सबैजसो स्वास्थ्य संस्थाहरू रूघाखोकी, श्वास प्रश्वास र हाडजोर्नी दुख्ने व्यथाका बिरामीले भरिभराउ देखिँदा छन । ‘बढ्दो चिसोले ग्रामीण बस्तीमा बिरामी हुनेक्रम निकै बढेको छ, अस्पताल आएका बिरामीलाई सेवा दिन हामीलाई भ्याइ नभ्याइ परेजस्तै छ’, बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा चन्द्रमणि खत्रीले भने ।
यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाहरुले धमाधम सूचना प्रशारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै ओरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर ओरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गर्एिका छन । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर ‘घूर’ नबाल्न आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने कार्यालय प्रमुख सुनिता गुप्ता बताउँछन् ।
चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठ, खानपिनका सामग्री र न्याना लुगा जुटाउने पहलकदमीका लागि स्थानीयतहसँग सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन । ‘क्षति हुन थालेपछि मात्र राहतका पोका बोक्ने बानी छ हाम्रो, अब स्थानीयतहको नेतृत्व चनाखो हुनपर्छ,’ प्रयास महोत्तरी (सामाजिक संस्था)का अध्यक्ष प्रवीण कर्णल भने, ‘अहिलेको तदारुकताले क्षति रोक्न सकिन्छ ।’ गरिब बस्तीका बासिन्दाले जाडोबाट बचाउने उपायका लागि आआफ्ना बस्तीका स्थानीयतहका प्रतिनिधि गुहार्न थालेका छन ।
यसैबीच जिल्लाका औरही र मनराशिशवा नगरपालिकाले गरिब बस्तीहरु र बाक्लो ओहोरदोहर हुने चोकमा आगो बाल्ने चाँजो मिलाएका छन । जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५वटै स्थानीयतह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ । ‘हामीले जिल्लाका १५ वटै स्थानीयतहलाई तत्काल आवश्यक सहयोग, समन्वयका लागि अनुरोध गरेका छौं’, जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णले, ‘समयमै तदारुकता अपनाइयो भने क्षति रोक्न सकिन्छ ।’ पछिल्ला तीन/चार दिनयता ठाउँठाउँमा आगो बाल्ने र गरिब बस्तीमा ओढ्नेको प्रबन्ध भएको कर्णले बताए । गौशाला नगरपालिका–९ मा गरीब परिवार पहिचान गरी ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
तपाईंको नङले तपाईंको स्वास्थ्यको बारेमा के बताउँछ ?
फागुन ३, २०८१ शनिबार
के तपाई कपालमा ड्रैन्ड्रफ भएर हैरान हुनुहुन्छ ? यी घरेलु उपचार गर्नुहोस्
फागुन ३, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार