वाणिज्य बैंकका कर्मचारीको लापरवाहीले एउटाको एटिएम अर्कैले लगेर पैसा निकालेपछि ...
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार १३:४७:१६
३ माघ, झापा । राष्ट्रिय वाणिज्य बैंक शिवगन्ज झापामा एक जना ग्राहकले जम्मा गरेको रकम दोस्रो व्यक्तिले झिकेको विषयले अहिले बैंकका कर्मचारीलाई तनाव दिएको छ । दुबै पक्षबीच सहमति भइसकेको विषयमा मिडियावाजी भएको भन्दै बैँकले स्पष्टिकरण दिएको छ ।
शिवसताक्षी नगरपापलिका ६ की आशाकुमारी राजवंशीले जम्मा गरेको रकममध्ये ३ लाख ४३ हजार रकम गौरीगञ्ज १ देवीगडाका दिपेन्द्रकुमार राजवंशीले झिकेका थिए । उनले झिकेको रकम पीडितको खातामा स्थानीय प्रशासन, राजनीतिक दलका नेता, जनप्रतिनिधि र समाजका अगुवाको रोहवरमा ब्याजसहित फिर्ता गरेका पनि थिए ।
रकम फिर्ता गर्दा दुबै पक्षबीच कुनै मनमुटाव नगर्ने भन्दै हात मिलाएर गएको राष्ट्रिय बाणिज्य बैंकका शिवगञ्ज शाखा प्रमुख घनश्याम निरौलाले बताए ।
उनका अनुसार छलफल वाणिज्य बैंकमै भएको थियो । प्रहरी, जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय तहका नेतासमेत सहभागी छलफलमा पीडकले पीडित समक्ष माफ मागेर गएपछि पुनः सञ्चारमाध्यममार्फत बैंकको विश्वसनीयतामाथि शंका उत्पन्न गराइएको निरौलाले बताए । ‘दुबै पक्षबीच मेलमिलाप भएर गएपछि पीडितले सकिएको घटनालाई लिएर सञ्चारमाध्यममार्फत पुनः प्रचार गरे,’ निरौलाले भने ।
यसरी भएको थियो घटना
खातावाला आशाकुमारीका श्रीमान कृष्णकुमार राजवंशी वैदेशिक रोजगारमा थिए । उनले विदेशबाट कमाएर पठाएको रकम श्रीमतीको खातामा जम्मा हुँदै आएको थियो । विदेशबाट घर आएका बेला आफ्नो खातामा कति रकम जम्मा भइसकेको रहेछ भनेर कृष्णकुमार बैंक गएका थिए । उनलाई नगद काउन्टरबाट एक लाख ५५ हजार रुपैयाँ छ भनियो।
उनले ‘कहाँ हुन्छ यति मात्र? मेरो पैसा धेरै छ’ भनेका थिए । त्यसपछि काउन्टरका कर्मचारीले पटक–पटक गरेर एटिएमबाट नगद भुक्तानी भइसकको बताए । उनले फेरि थपे, ‘मैले एटिएम लगेकै छैन, कसरी निस्कियो पैसा?’
यो दोहोरो संवादपछि काउन्टरका कर्मचारी झस्किए । कर्मचारीले शाखा प्रमुख निरौलाको कार्यकक्षमा उनलाई लिएर गए । घटनाका बारेमा शाखा प्रमुखले गम्भीर चासो लिए । बैंकमा सेवाग्राहीको भिड लागेको कारण शाखा प्रमुख निरौलाले ‘अपरान्ह ४ बजेपछि तपाईंको केस हेर्छु है’ भनेर कन्भिन्स गरे । पीडित पनि ‘हुन्छ’ भन्दै घरतिर लागे ।
यसरी पत्ता लाग्यो
शाखा प्रमुखले एटिएम नै नचलाउने ग्राहकको रकम गायब भएको विषय करिब १५ मिनेटमै पत्ता लगाए र रकम निकाल्ने गौरीगञ्जका दिपेन्द्रकुमार राजवंशीलाई बैंकबाट पहिलो पटक फोन गरे । उनले एटिएम साटिएछ भन्दै तुरुन्त बैंकमा आउन आग्रह गरे । यतिबेला ४ः१५ भएको थियो ।
फोनमा उनले पैसा निकालेको मिति र रकमबाहेक अरू कुरा भनेनन । शाखा प्रमुखले सोधेको प्रश्नमा उनले सही जवाफ दिएका थिए । जुन कुरा बैंकको स्टेटमेन्टसँग मिल्थ्यो । शाखा प्रमुखले फोनमा भन्दा दिपेन्द्रले ५ बजेसम्ममा ‘म बैंकमा आउँछु’ भनेका थिए । तर उनी आएनन । उनी बैंकमा नआएपछि शाखा प्रमुख झन आत्तिए । तोकिएको समयमा नआएपछि फेरि फोन गरे । ‘सर मेरो आउने साधन छैन, म भोलि आउँछु’ भने । पहिलो पटक आउँछु र दोस्रोपटक आज आउन भ्याइनँ भनेपछि शाखा प्रमुखले इलाका प्रहरी कार्यालय शिवगञ्जमा खबर गरे । उनी प्रहरी लिएर गौरीगञ्जस्थित राजवंशीको घरतिर हुइँकिए।
शिवगञ्जको प्रहरी टोलीले ‘पछि केही पर्न सक्छ’ भनेर प्रहरी चौकी कुन्जीबारीको टोलीलाई पनि तैनाथ रहन आग्रह गरेको थियो । उक्त टोली पनि साथैमा राजवंशीको घर गयो । राति करिब ८ बजे गाउँमा सोध्दै प्रहरीसहितको टोली राजवंशीको घरमा पुगेको थियो ।
कहिलेदेखि निस्कियो रकम?
दिपेन्द्र राजवंशीले २०८० असोज ३ गतेदेखि २०८० कात्तिक १७ गतेसम्म पटक–पटक गरेर ३ लाख ४३ हजार रुपैयाँ निकालेका थिए । कुनै दिन त पाँच पटकसम्म रकम निकालेका थिए । एकै दिन धेरै पटक रकम निकाल्दा चाहिँ दिपेन्द्रलाई यो रकम आफ्नो होइन भन्ने कुराको हेक्का हुनुपर्ने थियो । दिपेन्द्रले अघिल्लो दिन र भोलिपल्ट पनि रकम निकालेका छन । यसरी सरसर्ती हेर्दा छोराले पठाएको रकम हो र होइन भन्ने कुरा उनलाई राम्ररी थाहा भएको हुन सक्ने बैंकले जनाएको छ ।
एउटाको एटिएम अर्कैलाई
आशाकुमारी राजवंशीको एटिएम दिपेन्द्रकुमार राजवंशीकोमा परेछ । दोस्रो व्यक्तिले एटिएम लगेको हुँदा रकम भुक्तानी भएको पाइएको निरौला बताउँछन । यो घटनामा दिपेन्द्रकुमारले जानाजान रकम झिकेको हो वा होइन दैव जानुन । तर, प्रहरी र बैंकका शाखा प्रमुख घनश्याम निरौलाका अगाडि उनले भूलवश रकम निकालेको बताए ।
‘मेरो छोरा वैदेशिक रोजगारका लागि रोमानियामा छ । उसैले रकम पठायो भन्ने भयो र आवश्यकता अनुसार रकम निकालें। पैसा पठाएको छ भन्थ्यो । तिरोबारोका लागि रकम निकालेको हो,’ दिपेन्द्रकुमारले बताए ।
‘बैंक कर्मचारीले एटिएमका लागि तयार गरेको नामावली एक्सल सिटमा तलमाथि परेको रहेछ । कपिपेष्ट गर्दा भूलवश एउटाको एटिएम अर्कोकोमा जान पुग्यो । हामीले त्यसबेलाको सिसीटिभी फुटेज हेर्यो । त्यसबेला बैंकमा धेरै भिड भएकाले यो घटनालाई भूलवश भयो भन्ने हामीले ठहर गर्यौं। यो नियोजित पटक्कै होइन,’ शाखा प्रमुख निरौलाले भने ।
यसरी फिर्ता गरे
बैंकका शाखा प्रमुखले राजवंशीलाई २४ घन्टाभित्र यो रकम फिर्ता गर्न उर्दी गरे । उनले ‘सर यो अवधिमा सक्दिनँ’ भने उसो भए तीन दिनमा फिर्ता गर्न अनुरोध गरे । उनले यो समय पनि छोटो भएकाले १५ दिनको समय मागे । जनप्रतिनिधि, राजनीतिककर्मी, प्रहरीसँग १५ दिनभित्रमा रकम जम्मा गर्ने उनले प्रतिवद्धता जनाए । उनले तीन पटकमा दोस्रो व्यक्तिको खाताबाट निकालेको रकम उनकै खाताबाट जम्मा गरे । कात्तिक २४ मा १ लाख, मंसिर ४ मा १ लाख ४० हजार र मंसिर ५ मा १ लाख ३ हजार फिर्ता गरेका थिए । यो रकम उनले चलाएबापत समाजले तोकेको ७ हजार ५ हर्जना पनि जम्मा गरिदिएका थिए ।
बैंकलाई लागेको दुख
सञ्चारमाध्यममा आएको जस्तो बैंक कर्मचारीको यो घटनामा कुनै पनि कारणले संलग्नता नभएको निरौला बताउँछन । ‘जसले रकम झिकेर लग्यो उसैले फिर्ता गरेको छ । बैंकका कर्मचारी र बैंकको नामबाट जम्मा भएको होइन । यो घटनालाई जोडेर केही व्यक्तिले राजनीतिक स्वार्थपूर्तिका लागि प्रहरीमा निवेदन दिन पीडितलाई बाध्य पारिएको हाम्रो बैंकको बुझाई छ,’ निरौलाले भने, ‘पीडितले इलाका प्रहरी कार्यालय झिलझिले र राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा उजुरी गरेका थिए । बैंकलाई नै विपक्षी बनाई निवेदन दिनुअगाडि घटनाका बारेमा बैकसँग बुझिदिएको भए बैंकको पनि स्पष्टताको अधिकार सुरक्षित हुनका साथै बेलैमा कुनै दुःख हुँदैनथ्यो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार