स्याङजा जिल्ला सम्मेलनको निम्तो पत्रलाई लिएर कांग्रेसको केन्दीय तहमै भाडभैलो, शेखर, विश्व र गगन नजाने पक्का
नेपालबहस संवाददाता
माघ ८, २०८० सोमबार १८:२३:४९
८ माघ, काठमाडौं । नेपाली कांग्रेसको स्याङजा जिल्ला सम्मेलनको निम्तो पत्रमा राखिएको मर्यादाक्रमलाई लिएर पार्टीको नेतृत्व तहमै विवाद देखिएको छ । जिल्ला पार्टी कार्यालय स्याङजाबाट माघ १० गते जिल्ला सम्मेलन गर्ने भन्दै पठाएको निम्तो पत्रमा पार्टीका वरिष्ठ नेता एवं सांसद डा. शेखर कोइरालाको नाम अन्तिम लाइनमा राखिएको छ । सबै निम्तालुकाे नामकाे अगाडि मा. राखिएपनि उनको नामको अगाडि माननीयसमेत राखिएको छैन ।
जिल्ला सचिव दामोदर लम्सालले हस्ताक्षर गरी पठाएको निम्तो पत्रमा पार्टीका शीर्ष नेता एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि पछाडिको लाइनमा छन् । उनले स्याङजा कांग्रेसको मात्र नभएर सिंगो कांग्रेस बनाउन आफूले खेलेको भूमिकाको कदर नभएको बताएका छन् । उनले सभापति देउवापछि आफू नै वरिष्ठ नेता भएको दावी गर्दै आएका छन् । पार्टी नेताको हिसाबमा उनी पुराना नेता हुन् । यो निम्तो पत्रलाई लिएर स्याङजा कांग्रेसमा पनि भाँडभैलो सुरु भएको छ ।
स्याङजा कांग्रेसकाे संस्थापन समूह र इतर समूह बीच यही विषयलाई लिएर घम्साघम्सी मात्र भएको छैन, केन्द्रीय तहमा पनि विवाद निकालेको छ । जिल्ला सभापति राजु थापा पार्टीको पूर्णबहादुर खडका खेमाका हुन् । अहिले उपसभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाबीच को वरिष्ठ नेता भन्नेमा विवाद छ । यसैले पनि सभापति थापाले शेखर कोइरालालाई अन्तिम वक्ताको रुपमा बोलाएको कांग्रेस नेताहरू बताउँछन् । थापाले जिल्लाकै पुराना नेता गोपालमानलाई पनि अमर्यादित ढंगले निम्तो दिएको भन्दै कांग्रेस संस्थापन पक्षले नै असन्तुष्टि जनाएकाे छ ।
गण्डकी प्रदेशले डा. शेखर कोइरालालाई सभापति देउवा पछाडि दोस्रो मर्यादाक्रममा राखेर प्रदेश सम्मेलन सम्पन्न गरेको थियो । तर स्याङ्जा काग्रेसका सचिव लम्सालले मर्यादाक्रम लत्याउँदै सबै नेतालाई माननीय लेख्दा कोइरालालाई माननीयसम्म नलेखेर ठूलो अपमान गरेको नेताहरू बताउँछन् । लुम्बिनी कांग्रेसले पनि कोइरालालाई देउवा पछाडिको नेताका रुपमा आमन्त्रण गरेको थियो । पछिल्लो समय सभापति देउवाले आफू उपस्थित प्रायः कार्यक्रममा कोइरालालाई आफूपछिको नेता मान्दै आएका छन् ।
उपसभापति खड्का र कोइरालाबीच अहिले कांग्रेसका सभापति देउवापछिको बरियतामा को भन्ने विवाद कायमै रहेपनि देउवाले कोइराला नै हो भन्ने कुरा विभिन्न कार्यक्रममा देखाइसकेका छन् । कांग्रेस विधानमा वरिष्ठ नेताको पद नभएपनि कांग्रेस पार्टीमा परम्परागत रूपमा यो सम्मान दिने गरिएको छ । यसअघि गिरिजाप्रसाद कोइरालाको पालादेखि नै यस्तै हुँदै आएको छ ।
यसअघि कांग्रेसमा सभापतिको प्रतिस्पर्धामा हारेका व्यक्तिलाई वरिष्ठ नेता मानिँदै आएको थियो । देउवाले आफू गिरिजाप्रसाद र सुशील कोइरालासँग सभापतिमा हारेपछि वरिष्ठ नेताको पगरी लिदै आएका थिए भने अघिललो पटक आफूसँग सभापतिको प्रतिस्पर्धामा हारेका रामचन्द्र पौडेललाई पनि वरिष्ठ नेताको पगरी थमाएका थिए । तर १४ औं महाधिवेशनपछि भने देउवाले कांग्रेसको त्यो परम्परागत मान्यता र संस्कृतिलाई कुल्चन थालेका छन् ।
स्याङजा कांग्रेसको निम्तो पत्र नै विवादित भएपछि १० गते उक्त सम्मेलनमा जाने कि नजाने भन्ने नेताहरूमा दुविधा सुरु भएको छ । कानुन मन्त्रीसमेत रहेका पार्टी उपसभापति धनराज गुरुङ निम्तोपत्र अनुसार जिल्ला सम्मेलनमा सहभागी हुने कि नहुने भन्ने दुविधामा देखिएका छन् ।
अन्तिममा निम्तो दिइएका डा. शेखर कोइरालाले स्याङजा सम्मेलनमा सहभागी नहुने जनाइसकेका छन् । पार्टी महामन्त्रीहरू पनि सम्मेलनमा उपस्थित नहुने भएका छन् । महामन्त्री गगन थापाले निम्तो पत्र अनुसार स्याङजा सम्मेलनमा नजाने भन्ने निर्णय नै गरेका छन् । अर्को महामन्त्री विश्वप्रकाश शर्माकाे त्यो दिन झापा जाने कार्यक्रम छ । निम्तो पत्र अनुसार पार्टीमा निकै ठूलो विवाद ल्याउने भएपछि महामन्त्रीहरूले स्याङजा नजाने मनस्थिति बनाएका हुन् ।
राष्ट्रिय सभा निर्वाचनलाई लिएर सत्ता गठबन्धनले १० गते झापा संयुक्त कार्यक्रम राखेको छ । यस कार्यक्रममा गठबन्धनका शीर्ष नेताहरू उपस्थित हुने भनिएको छ । झापा जानुपर्ने भएमा सभापति देउवा पनि स्याङजा छाडेर झापा जाने छन् । कृष्णप्रसाद सिटौलालाई जिताउन गठबन्धनले कार्यक्रम राखेको हो । महामन्त्री विश्वप्रकाश शर्मा पनि उक्त दिन झापामै रहने बताइएको छ । आफ्नै जिल्लाको सम्मेलन भएपनि गोपालमानले सुरुमै असन्तुष्टि जनाएका छन् । यसैले १० गतेको कांग्रेसको जिल्ला अधिवेशन उपसभापति खड्का मात्र सहज रुपमा उपस्थित हुने देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार