पश्चगामी यात्रामा अर्थ : बैंकहरुको नाफा घट्दा समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?
भेषराज पोखरेल
माघ ९, २०८० मंगलबार १३:११:१०
प्रधानमन्त्री तथा अर्थमन्त्रीले अर्थतन्त्र लयमा आउँदै गरेको र अब गतिशील बन्ने बताउँदा सर्वसाधारणलाई हो कि जस्तो लाग्ने भयो । अर्थविज्ञहरुलाई भने राजनीतिक भाषण लाग्यो । वास्तवमा अर्थतन्त्रका बाह्य पक्ष सबल बन्दै गएको देखिए पनि आन्तरिक अर्थतन्त्र सबल हुनुको सट्टा नयाँ, नयाँ खालका मोडहरु देखाउन थालेको देखिएको छ । गत वर्ष राम्रो नाफा कमाएका बैंकहरु अहिले कमजोर देखिन थालेका छन् । यो वर्ष अधिकांश बैंकको नाफा घटेर गएको देखिएको छ ।
अहिले बैंकहरुमा तरलता पर्याप्त छ तर उनीहरूले लगानी गर्न सकेका छैनन् । जब बैंकको लगानी बढ्दैन त्यस्तो अवस्थामा नाफा बढ्ने कुरा आएन । चाहिएको बेला ऋण लिने र लगानी गर्ने अवस्था नरहेपछि उत्पादन मूलक उद्योगहरूको अवस्था पनि कमजोर हुने भयो । यसले आयात, निर्यातको अवस्था पनि कमजोर छ भन्ने स्पष्ट हुन्छ । यस्तो अवस्थामा लगानीकर्तामा अझ उत्साह मर्दै जाने स्पष्ट हुन्छ । बैंक र लगानीकर्ताको यो अवस्थाले सेयर कारोबारमा पनि ठूलै असर पार्ने निश्चित छ । सरकारले जति गफ गरे पनि उपयुक्त नीति अवलम्बन गर्न नसकेकाले अर्थतन्त्र निश्चित बाटोमा नहिँडेर कहिले कुन क्षेत्र कहिले कुन क्षेत्र कमजोर बनेर अर्थतन्त्रलाई प्यारालाइज बनाउने हो त्यसको ठेगान नहुने अवस्था बन्दै गएको देखिएको छ ।
अहिले २० वाणिज्य बैंकमध्ये १७ वटाको कुनै न कुनै रुपमा नाफा घट्न गएको छ । धेरैजसो बैंकको वितरण योग्य नाफा नै नभएको देखिएको छ । बैंकहरुको अपरिष्कृत वित्तीय विवरण अनुसार यो आर्थिक वर्षको ६ महिनामा समग्र रुपमा वाणिज्य बैंकहरुको नाफा लगभग १० प्रतिशतको हाराहारीमा घटेर गएको छ । यो आर्थिक वर्षको ६ महिनामा बैंकहरुले २८ अर्ब ७६ करोड रूपैयाँ नाफा गरेका छन् । अघिल्लो आर्थिक वर्षको यही अवधिमा ३१ अर्ब ९४ करोड रूपैयाँ नाफा कमाएको देखिन्छ । २० वटा वाणिज्य बैंकमध्ये एभरेष्ट बैंक, हिमालय बैंक तथा प्राइम बैंकले मात्रै गत आर्थिक वर्षको भन्दा नाफा बढाएको देखिएको छ । कृषि विकास बैंकको गत साल नाफा ऋणात्मक भएकोमा यो वर्ष केही सुधार गरेको छ ।
बैंकहरुको नाफा किन घट्यो होला ? यसको मुख्य कारण त बैंकहरुको खराब ऋण बढिरहेकाले त्यसमा सुधार गर्न नयाँ ऋण लगानीमा जोड नदिनाले भएको भनिएको छ । सरकारको आर्थिक नीति समग्र अर्थतन्त्रलाई निश्चित बाटोमा हिँडाउन सक्ने खालको छैन । स्वतः आयात, निर्यात बढ्यो, उद्योग व्यापारमा लगानी बढ्यो भने राजस्व उठाउने र खर्च गर्ने मात्रै देखिएको छ । अर्थतन्त्र सुधार गरेर निश्चित बाटोमा हिँडाउनुको सट्टा करका दरमा हेरफेर गरेर गिजोल्ने काम मात्रै गरेको देखिन्छ । सरकारको यही अवस्थामा बैंकहरुले ऋणको प्रकृति नहेरी लगानी गरिरहे । जसले गर्दा खराब ऋणको मात्रा बढ्न गयो । यसले बैंक क्षेत्र नै अप्ठ्यारोमा पर्ने अवस्था आयो । यो आर्थिक वर्षको ६ महिनामा बैंकहरुको खराब कर्जामा सुधार आउनुको सट्टा झन् बढेर गएको छ ।
यो समयमा बैंकहरुको खराब कर्जा ३ दशमलव ३६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको यही ६ महिनाको अवधिमा खराब कर्जा २ दशमलव शून्य ७ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७८।०७९ को पछिल्लो समयदेखि बैंकहरुको खराब कर्जामा नियन्त्रण गर्न राष्ट्र बैंकले घरजग्गा र सवारी साधनमा गइरहेको लगानीमा कडाइ गर्यो । त्यसले बैंकहरुको लगानीको गतिमा अवरोध आयो । पछिल्लो समय खराब कर्जामा सुधार आउनुपर्नेमा अझ बढिरहेको देखिएको छ । अघिल्लो आर्थिक वर्षदेखि नै समग्र अर्थतन्त्र सुस्त गतिले चल्नाले घरजग्गाको लगानी, सवारीसाधनको लगानी तथा सेयर धितो राखेर दिइने ऋणको सीमा बढाए पनि लगानी बढ्न सकेको छैन ।
लगानी नै नबढेपछि बैंकहरुको नाफा बढ्ने कुरा भएन । यस्तो अवस्थामा खराब कर्जामा पनि सुधार आउन सक्दैन । अहिले त्यही भएको हो । अघिल्लो आर्थिक वर्षदेखि नै बैंकहरुले सञ्चालन खर्च बढेको तथा तरलतामा अनिश्चितता रहेको देखाउँदै ऋणको ब्याज भारी मात्रामा बढाए । त्यसले उद्योग तथा व्यापारमा जाने लगानी पनि ठूलो मात्रामा खुम्चिन पुग्यो । उद्योगको उत्पादन र व्यापारमा सक्रियता नआएपछि बैंकको ऋण लगानी बढ्ने भएन । यसले सांगलो (चेन) को रुपमा अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्दै लगेको छ । त्यसको प्रभाव बैंकहरुको नाफामा पर्न गयो । यही अवस्था रहिरहे अब आउँदा दिनमा बैंकहरुको खराब कर्जामा सुधार नहुने र नाफामा पनि अझ नकारात्मक अवस्था देखिने निश्चित छ । यही अवस्था रहिरहे बैंकहरुले अवैध क्षेत्रमा पनि लगानी बढाउने अवस्था पनि आउन सक्छ ।
पछिल्लो समय उपभोग्य तथा मेसिनरी सामग्रीको आयात तथा निर्यात दुवैमा कमी आएको छ । अर्थतन्त्रको आन्तरिक अवस्थामा सुधारका लक्षण देखिन थालेका भए चलिरहेका उद्योगको उत्पादन बढ्नुपर्थ्यो । ती उद्योगहरूले बैंकबाट ऋण लिने क्रममा पनि वृद्धि हुन्थ्यो । जसले गर्दा निर्यातमा पनि वृद्धि हुन सक्थ्यो । अहिले उद्योगहरू धेरै कम क्षमतामा चलिरहेका छन् । अर्को, आन्तरिक रुपमा उत्पादन हुने सामग्रीले नेपालको आवश्यकता त पूरा हुँदैन । दैनिक उपभोग्य सामग्री पनि ठूलो मात्रामा आयात गर्नुपर्छ तर बितेको यो ६ महिनामा त्यस्ता सामग्रीको आयात घटेर गएको तथ्याङ्कले देखाएको छ ।
अहिले सरकारको भन्सार राजस्वको मुख्य स्रोत पेट्रोलियम पदार्थ र सवारी साधनको आयात देखिएको छ । यसले अर्थतन्त्र अत्यन्तै सुस्त गति र अप्ठ्यारो अवस्थामै छ भन्ने स्पष्ट गर्छ । यस्तो अवस्थामा नेपालको अर्थतन्त्र सामान्य रुपमा सुधारिन कठिन छ । प्रधानमन्त्री, मन्त्रीहरूले विदेशी लगानी आह्वान गर्दैमा पनि सुधार हुन कठिन छ । लगानी सम्मेलनले पनि ठूलै प्रगति होला भन्ने देखिन्न । बैंकहरुमा देखिएको यो अवस्था अर्थतन्त्रमा खतराको घण्टी नै हो ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपबिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
ठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार