राष्ट्रियसभा सदस्य निर्वाचन, कहाँ कसरी हुँदैछ मतदान ?
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार ११:३८:५७
११ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि सुरु भएको मतदान जारी छ । सातै प्रदेशमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । गण्डकी प्रदेशबाट चुनिने तीन सदस्यका लागि मतदान जारी छ । पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा रहेका दुई मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चार दलका आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको सूचना अधिकारी न्यौपानले जानकारी दिए । सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसले अन्य र अपाङ्गता÷अल्पसङ्ख्यक कलस्टरमा क्रमशः गोरखाका किरणबाबु श्रेष्ठ र तनहुँका पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ ।
महिलामा नेकपा (माओवादी केन्द्र)बाट पर्वतकी मनरुपा शर्मा चुनावी प्रतिस्पर्धामा छन् । नेकपा (एमाले)ले अन्य कलस्टरतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, महिलातर्फ गोरखाकी सम्झना देवकोटा र अपाङ्गता÷अल्पसङ्ख्यक कलस्टरमा हेमन्द्र शेरचनलाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्यमा कास्कीका रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठलाई उम्मेदवार छन् । राप्रपाले अपाङ्गता÷अल्पसंख्यकतर्फ भने उम्मेदवार उठाएको छैन । अन्य, महिला र अपाङ्गता÷अल्पसङ्ख्यकतर्फ यसअघि निर्वाचित तीन सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिन लागेकाले ती सिटमा निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा प्रदेशसभाका ६० र स्थानीय तहका एक सय ७० गरी कूल दुई सय ३० मतदाता रहेका छन् । चुनावमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार रहेको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार रहेको छ ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ मतदाता छन् । जसको कूल मतभार दुई हजार सात सय चार रहेको छ । बाइस प्रदेशसभा सदस्य र ६८ स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको एमालेको मतभार दुई हजार चार सय ५८ रहेको छ ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ३० गरी कूल नौ सय ९४ मतभार रहेको छ । दुई जना प्रदेशसभा सदस्य मात्र रहेको राप्रपाको एक सय छ, तीन स्थानीय तहको प्रमुख र उपप्रमुख रहेको राष्ट्रिय जनमोर्चाको ५७, एक प्रदेशसभा सदस्य र एक स्थानीय प्रमुख रहेको नेकपा (एकीकृत समाजवादी) को ७२ र स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित मनाङको ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङको १९ मतभार छ ।
उता, राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मतदान गरेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनले मतदान गरेका हुन् । निर्वाचनमा यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र)की चम्पा कार्की, नेकपा (एमाले)की रुक्मिणी कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उद्धव पौडेल चुनावी मैदानमा छन् ।
राप्रपा र एमालेले एकार्कालाई सघाउने निर्णय गरेका छन् । एमालेले आफ्ना उमेदवार पर्शुराम अधिकारीलाइ निष्क्रिय गराई राप्रपालाई सघाउने सहमति गरेको हो । कोशी प्रदेशमा मतदान जारी छ । सत्ता गठबन्धनसँग ५ हजार ४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४ हजार ६४२ छ । केही मत क्रस गराएर नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा एमाले–राप्रपा गठबन्धन छ । सत्ता गठबन्धन भने मत क्रस हुन नदिने प्रयासमा छ ।
यसैबीच राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर आएका मोरङको ग्रामथान गाउँपालिका प्रमुख जयप्रकाश गच्छदार थारु बेहोस भएका छन् । उनी बुधबार राति बेहोस भएर ढलेपछि उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । अध्यक्ष थारू अचेत अवस्थामै रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए ।
यसैबीच, लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यतर्फ मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलो मतदान गरे । स्थानीय तहतर्फ नरुलाल चौधरीले पहिलो मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । राष्ट्रियसभा निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष हुन् । मतदानपश्चात् आजै मतगणना गरिने आयोगले जनाएको छ ।
यस्तै कर्णाली प्रदेशमा मतदान जारी छ । प्रदेश निर्वाचनको कार्यालय सुर्खेतमा बिहान नौ बजेदेखि नै मतदान सुरु भएको हो । मतदानका लागि स्थानीय तह र प्रदेश सभा सदस्यका लागि दुईवटा मतदान केन्द्र राखिएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालीकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश सभाका सदस्यहरूको मतभार संख्या दुई हजार १२० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ । योमध्ये सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार ७७९ मतभार संख्या छ । यो भनेको एमालेको भन्दा तीन गुणाले बढी हो । एमालेको मतभार संख्या एक हजार १९५ मात्रै छ ।
यता, मधेश प्रदेशमा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले गरेको मधेश बन्द घोषणाको आंशिक प्रभाव परेको छ । बन्दले राष्ट्रिय सभा निर्वाचनलाई असर गरेको छैन । राष्ट्रियसभाका दुई सदस्य चयन गर्न मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहान नौ बजेदेखि मतदान जारी छ । मतदान शान्तिपूर्ण छ ।
बन्द सफल बनाउन भन्दै आजपाका नेता–कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । आठवटै जिल्लामा आजपाका नेता–कार्यकर्ता बन्दका लागि सडकमा प्रदर्शन गरिरहेको प्रवक्ता चन्द्रभुषण साहले जानकारी दिए । बन्द गराउने क्रममा जनकपुरको रामानन्दचोकबाट प्रहरीले केही नेता–कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । प्रहरीले बन्दको प्रभाव खासै नपरेको र सवारी साधनहरु पनि चलिरहेको जनाएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य चयन गर्न मतदान जारी छ । राष्ट्रियसभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदान शुरु भएको हो । प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले पहिलो मत खसालेका छन् ।
राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान स्थल बनाएको छ ।
सोहीअनुसार मतदान भइरहेको छ । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ६ जनाले उम्मेदवारी दिएका छन् ।
यता, बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त चार सदस्य पदको लागि मतदान जारी रहेको छ । स्थानीय भुटनदेवी माविको भवनको (क) मतदान केन्द्रमा प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईले पहिलो मतदान गरेका थिए ।
उक्त भवनमा मतदान केन्द्र (क) मा प्रदेशसभाको लागि र (ख) मा स्थानीय तहका प्रमुख, उपप्रमुखको लागि मतदानस्थलको प्रबन्ध मिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए ।
उक्त मतदान कार्यको लागि प्रदेशसभाको एक सय १० जना र स्थानीय तहका दुई सय ३७ जना गरी कूल तीन सय ४७ जनाले मतदानमा सहभागी हुने उनले जानकारी दिए । आजै अपराह्न ३ बजेको समयभित्र मतदान कार्य सम्पन्न भएलगत्तै दलका उम्मेदवारको सहमतिअनुसार अपराह्नबाट मतगणना कार्यको लागि आवश्यक तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए।
सो निर्वाचनको लागि सत्ता गठबन्धन, नेकपा (एमाले), राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट १५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । दुवै मतदान केन्द्रमा सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले सुरक्षा प्रदान गरिरहेको र मतदाता प्रवेश गर्ने पश्चिम ढोका र मतदान कार्य सम्पन्न गरिसकेपछि उत्तरतर्फको मूल ढोकाबाट आवतजावत गर्ने सुविधा मिलाइएको मकवानपुरका प्रजिअ सुर्यप्रसाद सेढाईंले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार