प्रधानमन्त्रीको चिन्ता : जनताका मौलिक हकको प्रत्याभूति नगरी संविधानको संरक्षण होला र ?
नेपालबहस संवाददाता
माघ १३, २०८० शनिबार २३:०:४८
प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वन्यायाधीश समाजका पदाधिकारीहरूसँगको छलफलमा संविधानको पालना हाम्रो दायित्य हो भनेका छन् । हो, संविधानको पालना गर्ने गराउने दायित्व सरकार सञ्चालन कर्ता, सरकारका सबै तह र निकायको हो, न्यायाधीश, प्राध्यापक, वकिल तथा सबै जनताको पनि हो ।
उनले अहिले केही व्यक्तिहरू सामाजिक सद्भाव बिगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको भन्दै पूर्वन्यायाधीशहरुले संविधान पालना गर्न सहयोग गरि दिनुपर्यो भन्ने भावमा उनीहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । संविधान बलियो बनाउन सरकारले जनताका मौलिक हकको प्रत्याभूति गर्नेपर्छ, त्यसलाई प्रधानमन्त्रीलाई कसले सम्झाउने ? त्यो जनताले गर्ने होइन, पूर्वन्यायाधीशहरुले गर्ने होइन, अन्य पेसा, व्यवसायका व्यक्तिले गर्ने त होइन ।
सरकारका कामको समर्थन र आलोचना दुवै हुन्छन् तर जनताबाट सरकारका कमी, कमजोरीको विरोध गर्नु तथा राम्रो गर्नुपर्छ भनिँदा डराउने हो भने गर्ने के त ? जनताको आवाज बन्द गराउने ? अर्को, प्रधानमन्त्रीले संघीय गणतन्त्रलाई बलियो बनाउनुपर्ने पनि बताएका छन् । संघीयतालाई बलियो बनाउने भन्ने तर संविधानमा उल्लेख भएका प्रदेश तथा स्थानीय तहका अधिकार दिन नखोज्ने, कतिपय अधिकार कटौती गर्न प्रयास गर्ने, स्रोतसाधन नदिने केन्द्रीय सरकार हाँक्नेहरूले नै हो नि । प्रधानमन्त्रीले यतातिर ध्यान नदिएर जनताका बोलीदेखि डराउनु लोकतन्त्रविरुद्धको काम हो ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल र भीडको आवाज सुनेर न्यायाधीशहरूले फैसला गर्न नहुने पनि भने । उनको भनाइ आफैंमा ठीकै हो तर केही वर्ष यता न्यायाधीशको नियुक्तिमा माओवादीसहित अन्य ठूला दलका शीर्ष नेतृत्वले कस्तो रवैया अपनाइरहेका छन् भन्ने कुरा भुल्न मिल्दैन । न्यायाधीशजस्तो पदमा न्याय क्षेत्रका अब्बल व्यक्तिको नियुक्ति गर्नुपर्नेमा दलीय भागबण्डा गर्दा परिणाम त्यस्तै आउने नै हो । केराको रुख लगाएर सुन्तला त फल्दैन नि । पछिल्लो समय दलहरूका शीर्ष नेतृत्वले संविधानको भावना र मर्म विपरीत सबै क्षेत्रमा राजनीतिक हस्तक्षेप बढाएपछि ती संस्थाले संविधानलाई सबल बनाउने गरी काम गर्ने कुरै भएन ।
प्रधानमन्त्रीले संविधान र कानुनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । प्रधानमन्त्रीको दलदेखि अन्य सबै ठूला दलहरूले देशका सबै क्षेत्रलाई राजनीतीकरण गरेकाले सामाजिक संस्थाहरू स्वतन्त्र रुपमा गलतलाई गलत र सहीलाई सही भन्न सक्ने अवस्थामा छैनन् । पूर्वन्यायाधीशहरुले सरकारले गरेका गलत काम औंल्याएर अडान लिई सुध्रिन बाध्य पार्न सक्ने अवस्था छैन । प्राध्यापकहरू, नागरिक समाजका व्यक्तिहरू, साहित्यिक संस्थामा संलग्न साहित्यकारहरूले सरकारका गलत कामप्रति औंला ठड्याउन सक्ने अवस्था छैन । यीदेखि अन्य विविधखाले सामाजिक संस्थाहरुले पछिल्लो समय आफ्नो वास्तविक रुप र स्वत्व गुमाइसकेका छन् । यो लोकतन्त्रका लागि ज्यादै खतरनाक अवस्था हो । प्रधानमन्त्रीले यतातिर पो चिन्ता गर्नुपर्ने हो ।
पछिल्लो समय लोकतन्त्र स्थापना भएदेखि नै नेपालमा रहेका प्रायः सामाजिक संस्थाहरु छुद्र राजनीतीकरणका कारण लगभग ध्वस्त भइसकेका छन् । उनीहरूले राष्ट्र र जनताको पक्षमा गर्ने काम पनि कमजोर र काम नलाग्ने अवस्थामा पुगेको देखिएको छ । न्यायाधीशहरूको ज्ञान र न्यायसम्पादनको गुणस्तर खस्केकै छ । प्राध्यापकहरूले दिने शिक्षाको गुणस्तर काम नलाग्ने भइसकेको छ । शिक्षकले दिने शिक्षामा गौरव गर्न सक्ने अवस्था छैन । वकिलहरूको बौद्धिकता समाप्त भइसकेको छ ।
साहित्यकारहरूको साहित्य दलको अपिलजस्तै बन्दै गएको देखिएको छ । नागरिक समाजका अगुवाहरुले आफ्नो स्वतन्त्रता र स्वत्व गुमाइसकेका छन् । उनीहरूले सरकारका गलत कामको विरोध र सरकारलाई जनताको पक्षमा काम गर्न बाध्य पार्न सक्ने अवस्था छैन । सञ्चार क्षेत्र फैलिए, फस्टाएजस्तो देखिए पनि सो क्षेत्रका समर्पित पत्रकारहरूले पनि सहीलाई सही र गलतलाई गलत भनेर लेख्न सक्ने अवस्था गुमाइरहेका छन् । सामाजिक संस्थाहरूलाई यस्तो अवस्थामा पुर्याउने नेताहरूले संविधानको संरक्षण, लोकतन्त्रको संरक्षण, संघीयताको प्रवर्द्धन कसैले गरिदेला भनेर आशा गर्नु स्यालको सिङ खोजे जस्तो हो ।
संविधानको पालना गर्नु वा कार्यान्वयन गर्नु भनेको सरकारले संविधानमा लेखेका जनताका मौलिक हकको प्रत्याभूति गर्नु पनि हो । अहिले सबै जनताले पाउने समान शिक्षाको हक सरकारले दिन सकेको छैन । सरकारले माध्यमिक शिक्षा निःशुल्क भने पनि त्यसको गुणस्तर काम लाग्ने खालको छैन । जसले गर्दा ठूलो संख्याका विपन्न जनताका छोराछोरी गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित भइरहेका छन् । सरकारी स्रोतसाधनबाट चल्ने सार्वजनिक विद्यालयले दिने शिक्षा गुणस्तरका हिसाबले काम नलाग्ने अवस्थामा पुगेको छ । अर्को, गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारबाट सर्वसाधारण जनता वञ्चित छन् । सरकारी औषधालयको अवस्था दयनीय छ ।
स्वास्थ्य परीक्षण गर्ने मेसिन छैनन्, दरबन्दी अनुसारका चिकित्सक छैनन्, सरकारले निःशुल्क दिने घोषणा गरेका औषधी औषधालयमा राखिन्न । सूचनाको अधिकार खोस्न प्रयास भइरहन्छ । भोजन पाउने हक पनि सरकारले पूरा गर्न सकेको छैन । रोजगारीको हक धरापमा भएकाले ठूलो संख्याका युवाहरू कामका लागि विदेश जान बाध्य छन् । दलित, जनजाति तथा महिलाका हक, अधिकारप्रति वास्ता गरिएको छैन । यस्तै अनेकौं मौलिक हकको प्रत्याभूति दिनुपर्नेमा ती सबैलाई वास्ता छैन तर प्रधानमन्त्रीले जनताले सरकारको आलोचना गरे भनेर संविधान धरापमा पर्यो भन्दै चिन्ता गर्नु दुःखद कुरा हो । माओवादीको जोडबलले संविधानसभाबाट बनेको संविधान कुन अवस्थामा छ ? जनताले यसबाट कस्तो लाभ लिइरहेका छन् ? भन्ने सो दलका कमाण्डर तथा राष्ट्रको शासनको बागडोर समाएका प्रधानमन्त्रीले पत्ता नपाउने, आफूले संविधानको संरक्षण गर्न के काम गरेँ भन्ने कुराको ख्याल नगरी अन्तैतिर भट्किनु सामान्य कुरा होइन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जनवाद वा समाजवाद लागू गर्न दिएनन्, सहयोग गरिदिनुपर्यो भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दलालहरूसँग अनुरोध गर्ने त होइनन् ? शंका लाग्न थालेको छ । होइन, प्रधानमन्त्री इमानदार छन् र संविधान संरक्षण तथा लागू भएको हेर्न चाहेका हुन् भने प्रधानमन्त्री दाहालले यी काम गर्न सुरु गरिहाल्नुपर्छ । सरकारका मन्त्रीहरू प्रतिबद्ध हुने हो भने जनताका मौलिक हकको प्रत्याभूति दिन नसकिने कुरा छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
ठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार