आफैंले असफल भनेका मन्त्रीहरुको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री र अर्थमन्त्रीबीच नोकझोक, प्रचण्ड महतलाई हटाउन खोज्ने देउवा रोक्ने !
कुसुम सेञ्चुरी
माघ २६, २०८० शुक्रबार १४:२९:५२
२६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिरको पहिलो साताबाटै मन्त्रिपरिषद पुनर्गठन गर्ने हल्ला गरेर पनि सरकार चलाइरहेका छन् । उनले करिब दुई महिना अघि आफैंले नालायक घोषणा गरेका मन्त्रीहरूको साथ लिएर सरकार चलाइरहेका हुन् । गत मंसिरमै उनले मुख्यसचिव, सचिवहरूलाई साथमा राखेर मन्त्रीहरूले राम्रो काम गर्न नसकेको भन्दै आफ्नै मन्त्रिपरिषदका सदस्यहरूलाई नालायक घोषणा गरेका थिए । आफ्नो दलका नेताहरूलाई मन्त्री बनाउने बहानामा उनले सरकारमा रहेका अन्य दलका मन्त्रीहरूलाई समेत नालायक घोषणा गरेका थिए । उनले कडा शैलीमा कार्यक्षमता नभएका मन्त्रीहरू परिवर्तन गर्ने र सरकार अघि बढ्ने बताएका थिए ।
त्यस बेला उनले मन्त्रीहरू हटाउने तयारी गरेपछि सिंहदरबारमा कर्मचारीहरूले विभागीय मन्त्रीहरूलाई असहयोग गर्दै आइरहेका छन् । तर पनि प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरू फेर्न सकेका छैनन् । ‘राष्ट्रिय सभाको निर्वाचनपछि परिवर्तन गर्ने तयारी थियो तर पर्याप्त छलफल नभएका कारण रोकिएको छ’, स्रोतले भन्यो ।
पार्टीभित्रका आफ्ना सांसदलाई मन्त्री पदको भाग पुर्याउन पनि प्रचण्डका लागि मौजुदा मन्त्रिपरिषदमा हेरफेर गर्नुपर्ने बाध्यता रहेको छ । तर उनले यो बाध्यतालाई सहजै पुरा गर्ने अवस्था छैन । पुस १० गते एक वर्ष पुगेको अवसरमा देशबासीको नाममा प्रचण्डले सम्बोधन गर्दा पनि मन्त्रिपरिषदमा हेरफेर गरेर भएपनि जनताको काम गर्ने बताएका थिए । यति बेला पनि उनी पटक–पटक मन्त्री हेरफेरको कुरा गरिरहेका छन् । १० पुसमा तेस्रो कार्यकालको एक वर्ष पूरा गरेपछि प्रचण्डले कार्यक्षमता प्रमाणित गर्न नसक्ने मन्त्रीलाई हटाउने प्रष्ट संकेत गरेका थिए तर त्यसको कार्यान्वयन हुन सकिरहेको छैन ।
‘जनतालाई साक्षी राखेर आज म माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्न सक्ने अवस्थामा छैन,’ प्रचण्डले पुस १० मा भनेका थिए, ‘हामी सबै आफूले निभाएको भूमिकालाई न्याय गर्नुपर्ने दबावमा छौँ । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने अब कसैले पनि ठाउँ ओगटिरहनु हुँदैन, छोडिदिनुपर्छ । यो अरूका लागि उपदेश होइन, आफैंसँगको वाचा हो ।’ तर अहिले पनि प्रचण्ड आफ्नै कारणले खुम्चिएका छन् ।
मन्त्री हेरफेरमा नेकपा एसबाहेक अन्य दलले तत्कालै साथ दिने अवस्था देखिएको छैन । नेकपा एसमा भने सांसदहरुलाई पालो पुर्याउनु पर्ने भएकाले दुई मन्त्रीहरू बेदुराम भुसाल र प्रकाश ज्वालालाई फिर्ता बोलाएर पार्टीका अन्य नेताहरूलाई पठाउने तयारी छ । तर गठबन्धन दलमा मन्त्री परिवर्तन गर्ने विषयमा छलफल नहुँदा रोकिएको छ । संसद भवनबाट बाहिरिँदै गर्दा केही दिन अघि माधवकुमार नेपालले हल्ला गरेर मन्त्री परिवर्तन हुँदैनन्, मन्त्री परिवर्तन गर्दा बढी हल्ला गर्नु हुँदैन भनेका थिए ।
पछिल्लो पटक विदेश भ्रमणमा युगान्डा पुगेका प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूले ठीक ढंगले काम गर्न नसकेको बताएका थिए । उनी फर्केर आएपछि पनि यही कुरा दोहोर्याएका थिए । खास गरी प्रचण्डले अर्थमन्त्री परिवर्तन गर्न खोजिरहेका छन् । गत मंसिरको अन्तिम साता अर्थमन्त्री डा. प्रकाशशरण महतलाई लक्षित गरेर काम नभएको बताएपछि त्यसै दिन बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीबीच नोकझोक भएको थियो ।
अर्कोदिन धितो पत्र बोर्डको ‘सौता’ हाल्ने (नयाँ स्टक एक्सचेन्जको लाइसेन्स) प्रकरणमा पनि प्रधानमन्त्री र अर्थमन्त्रीबीच नोकझोक चलिरहेको छ । अर्थ मन्त्रालयले सो विषयमा पुनः अध्ययन गर्नुपर्ने भन्दै अड्काइरहेको छ । त्यसकारण पनि मुख्य गरी अर्थतन्त्रका विषयमा प्रश्न उठ्दै आएकाले प्रचण्डले डा. प्रकाशशरण महतलाई हटाएर कुनै प्रभावशाली नेतालाई अर्थ मन्त्रालयको जिम्मा दिन खोजेको नेताहरूको दाबी छ । तर, महतलाई हटाउन देउवा तयार नभएका कारण पनि यति बेला मन्त्रिपरिषद गठनमा बाधा उत्पन्न भएको गठबन्धन दलका एक नेताले बताए ।
माओवादीका प्रवक्ता अग्नि सापकोटाले मन्त्रिपरिषद पुनर्गठन, हेरफेर प्रधानमन्त्रीको प्राधिकार भएकाले समय क्रममा हेरफेर हुनु नौलो कुरा नभएको बताए । उनका अनुसार प्रधानमन्त्रीको मुड मन्त्रिपरिषद हेरफेरमा रहेको छ । स्रोतका अनुसार फागुन ७–१० को महासमिति बैठकसम्म मन्त्री हेरफेरको नामै उच्चारण नगर्ने पक्षमा कांग्रेस सभापति रहेका कारण पनि प्रचण्ड खुम्चिएका छन् । महासमिति बैठकलगत्तै सरकार बजेटको तयारीमा लाग्नुपर्ने भएकाले अर्थमन्त्री हेरफेरको संभावना निकै कमजोर रहेको बताइन्छ ।
नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्रिपरिषद हेरफेर प्रधानमन्त्रीको स्व विवेकमा भर पर्ने भएकाले यसको बारेमा खास चर्चा आवश्यक नभएको बताए । गठबन्धन दलहरू मिलेर सरकार बनाइएकाले दलहरूबीच छलफल चल्नु पनि स्वाभाविक भएको उनको दावी छ । ‘शीर्ष नेताहरूले यो विषयमा केही सोचिरहेका होलान्, मन्त्री परिवर्तन गर्ने विषय हल्ला गरेर होइन, यो त कुनै पनि आकस्मिक रुपमा हुनुपर्ने हो’, प्रवक्ता खतिवडाले भने । अहिले माओवादीसहित कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी गरी ८ दलको संयुक्त सरकार छ ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिएपछि आफ्नो कार्यकालको एक वर्ष पूरा हुनै लाग्दा विभागीय मन्त्रीहरूको कार्यसम्पादन समीक्षा गर्ने जानकारी दिएका थिए । मन्त्रिपरिषदलाई पूर्णता दिएपछि साउन २६ गते प्रधानमन्त्री प्रचण्डले ‘कार्यसम्पादन नियमावली–२०६४’मा टेकेर विभागीय मन्त्रीका बीचमा वार्षिक कार्यसम्पादन सम्झौता गरेका थिए । सम्झौता अनुसार काम नगर्ने मन्त्रीहरूलाई कारबाही गर्ने चेतावनीसमेत उनले दिएका थिए ।
कार्यसम्पादन सम्झौता २०८०–८१ को नीति, कार्यक्रम, बजेट, प्रधानमन्त्रीले संघीय संसदमा गरेको सम्बोधन, सरकारका सचिवलाई दिएको निर्देशन, सरकारको एकीकृत कार्य योजना आदि सूचकलाई आधार बनाइएको थियो । उक्त सम्झौता पत्रमा सम्पादन गर्नुपर्ने प्रमुख कार्य समावेश गरी छुट्टाछुट्टै बनाइएको थियो । कार्यसम्पादन सम्झौतामा कार्यक्रम र क्रियाकलापको सूची तथा सो जिम्मेवारी पूरा गर्नुपर्ने समय सीमा उल्लेख गरिएको थियो । सम्झौतामा प्रत्येक मन्त्रालयले गरेको कामको अलग–अलग कार्यसूची तयार पारिएको थियो । जसमा नतिजा सूचक, भार, इकाइ, अघिल्लो आर्थिक वर्षको समग्र स्थिति र चालू आर्थिक वर्षको लक्ष्य निर्धारण गरिएको थियो ।
सम्झौतामा कार्यसम्पादनको प्रगति मासिक रूपमा प्रधानमन्त्री कार्यालयमा अनलाइन प्रणालीबाट पठाउनुपर्ने, त्यसलाई मासिक तथा वार्षिक प्रतिवेदन र मूल्याङ्कनको आधार बनाउने उल्लेख भएको प्रधानमन्त्री कार्यालयले जनाएको थियो । सोही अनुसार प्रचण्डले मंसिरको अन्तिम साता चौमासिक समीक्षा गर्दा अधिकांश मन्त्रीको रिपोर्ट कार्ड नकारात्मक रहेको थियो । नकरात्मक रिपोर्ट कार्ड भएका मन्त्रीहरूलाई हटाउने प्रयासमा लागिरहे पनि प्रचण्ड असफल भएका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपइन्टरपोलको सूचीमा आतंकवादी समूहमा रहेकालाई चोख्याउने प्रयास
भदौ २६, २०८१ बुधबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
उपसभामुख पद जोगाउन रविको हारगुहार, प्रधानमन्त्री ओलीसँग मिलेन कुरा
भदौ २६, २०८१ बुधबार
गृह मन्त्रालयद्वारा ५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा
भदौ २६, २०८१ बुधबार
राजसंस्था र हिन्दू अधिराज्य पूर्नस्थापना गर्ने आन्दोलनको तयारीमा जुट्दै राप्रपा
भदौ २५, २०८१ मंगलबार
उपसभामुख हटाउने चर्चाकाबीच कांग्रेस सांसदहरूलाई उपत्यका नछाड्न निर्देशन
भदौ २६, २०८१ बुधबार
टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट
भदौ २६, २०८१ बुधबार
नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री ओली
भदौ २६, २०८१ बुधबार
पार्टी बलियो बनाउन कार्यकर्ताको सक्रियता आवश्यक : प्रवक्ता महत
भदौ २६, २०८१ बुधबार
बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
भदौ २६, २०८१ बुधबार