अन्ततः डीआईजी पोखरेलको नेतृत्वमा सरस्वतीको मूर्ति विसर्जन
नेपालबहस संवाददाता
फागुन ७, २०८० सोमबार १७:४७:१०
७ फागुन, रौतहट। पछिल्लो चार दिनदेखि थन्किएको सरस्वतीको मूर्ति अन्ततः विसर्जन गरिएको छ । रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु लगाएर मूर्ति विसर्जन गरिएको हो । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णयअनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो ।
ईशनाथ ७ घिउरा गाउँ विद्यालय छेउको सार्वजनिक पोखरीमा यसअघि भएको सहमतिअनुसार मूर्ति सेलाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा सोमबार जिल्ला समन्वय समितिको सभाकक्षमा बसेको बैठकमा नेपाल प्रहरीका डीआईजी पोखरेल, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धानका डीआईजी सञ्जय यादव, तथा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।
बैठकलगत्तै संघीय सांसद किरण कुमार साह, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादव, तीनै जना डीआईजी, दलका प्रतिनिधि सम्मिलित टोली स्थलगत पुगेर चार दिनदेखि थन्किएको मूर्ति विसर्जन गरिएको हो । यसअघि संघीय संसद किरणकुमार साहको पहल तथा सीडीओ रेग्मीको अध्यक्षतामा ईशनाथ ७ घिउरा गाउँमा डिजे बाजासहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँ छेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा विसर्जन गर्न लैजाने सहमति भएको थियो । सोही निर्णयअनुसार मूर्ति विसर्जन गरिएको छ ।
शनिबार भएको सहमतिअनुसार सरस्वतीको मूर्ति सेलाउन लैजाने समूहमाथि घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका घाइते भएका थिए । त्यसपछि बिग्रिएको स्थितिलाई नियन्त्रणमा लिन सीडीओ हिरालाल रेग्मीले शनिबार साँझ ५ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका थिए । कर्फ्यु अवधिमै उच्छृङ्खल गतिविधि भएपछि स्थानीय प्रशासनले आइतबार कर्फ्यु क्षेत्र फराकिलो बनाएको छ ।
कर्फ्यु जारीसँगै उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी सात सय जनशक्ति परिचालन गरिएको छ । सीडीओ रेग्मीले आइतवार सूचना जारी गर्दै ईशनाथ नगरपालिका वडा २, ३, ४, ५, ६ र ७ मा समेत अनिश्चितकालीन कर्फ्यु जारी गरेका थिए ।
पूर्वमा बन्जराह मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैयादेखि जयनगरसम्म चार किल्ला भित्र कर्फ्यु जारी गरिएको थियो। कर्फ्यु अवधिमा शनिबारदेखि नै सरस्वतीको मूर्ति बाटो छेउमा प्रहरीको निगरानीमा राखिएको थियो । रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ, सशस्त्र प्रहरीका एसपी माधव रेग्मी २४ सै घन्टा खटेका थिए भने उक्त क्षेत्रमा अप्रिय घटना हुन नदिन नेपाल प्रहरीका पाँच सय र सशस्त्र प्रहरीका दुई सय गरी सात सय जवान परिचालन गरिएको थियो ।
रौतहट संसदीय निर्वाचन क्षेत्र २ मा पछिल्लो लामो समयदेखि हिन्दू समुदायले गर्ने धार्मिक अनुष्ठानमा अनेक प्रकारले हस्तक्षेप हुँदै आएको स्थानीयले बताएका छन् । यसै बीच सांसद किरण कुमार साहले पुरानो सहमति विपरीत गरेका माथि कारबाही र आक्रमणमा भएको क्षतिको एकिन गरी क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार