अतिक्रमणको चपेटामा भरतपुरका पुङ्गीखोला
नेपालबहस संवाददाता
फागुन ८, २०८० मंगलबार १४:४९:३
८ फागुन, भरतपुर (चितवन) । भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पु्ङ्गीखोला चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमाङ्कन तथा संरक्षणको काम सुरु गरेको हो ।
महानगरपालिकाले पुङ्गीखोला सीमाङ्कन तथा संरक्षण समितिसमेत बनाएको छ । अहिले यो समितिले सिमाना छुट्याउने काम गरिरहेको छ । आधाभन्दा बढी नापजाँच गर्दा पुङ्गीखोलामाथि ५० भन्दा बढी घर परेको महानगरपालिकाका नापी अधिकृत विकास देवकोटाले बताए । उनका अनुसार पुङ्गीखोला अतिक्रमण गर्नेमा वडा कार्यालयदेखि विभिन्न क्लब रहेका छन् ।
दियालो फुडल्याण्डले पुङ्गीखोला र सिँचाइको जग्गा गरेर करिब दुई कठ्ठा जमिन अतिक्रमण गरेको उनले बताए । “हामीले अहिले नै यति भन्न सक्ने अवस्था छैन । प्रारम्भिक अनुमान गर्दा दुई कठ्ठा हाराहारीमा अतिक्रमण भएको छ”, उनले भने । पर्खाल र टपमात्र पर्ने घरहरूको सङ्ख्या धेरै रहेको उनले बताए । खोला र नहरबाट तीन मिटर छाडेर भौतिक संरचना बनाउनुपर्ने हुन्छ । तर कतिपयले खोलाको सिमानाबाटै घर उठाएका छन् । सीमाङ्कनको काम एक महिनाभित्र सकिने उनले बताए ।
भरतपुर महानगरपालिका २ स्थित रामकृष्ण टोलका रामकृष्ण गुरुङ २०२५ सालमा लमजुङबाट चितवन झर्दा नारायणगढ क्षेत्रमा फाट्टफुट घर थिए । उनी हाल बस्दै आएको रामकृष्ण टोल छेउबाट पुङ्गीखोला फराकिलो हुँदै बग्दथ्यो । आजभोलि त्यो फराकिलो खोला उनले देख्न नपाएको बताउँछन् । खोला साँघुरिँदै गएको छ । अहिले मानिसले खोला मिच्दै गएका छन् । “यहाँ यो खोला कहीँ साँघुरो र कहीँ फराकिलो हुँदै बग्थ्यो”, पूर्वशिक्षकसमेत रहनुभएका गुरुङले भने, “अहिले ठुल्ठूला मान्छेले खोला अतिक्रमण गरेर संरचना बनाएका छन् ।” स्थानीय तहले खोलाको जग्गा संरक्षण गर्नुपर्ने उनले बताए ।
भरतपुर महानगरपालिका ११ गणेशधामबाट सुरु हुने यो खोला वडा नं २, ३ र वडा नं ४ को रामघाट बाह्रघरे हुँदै रामघाटमा पुगेर नारायणी नदीमा मिसिन्छ । साढे छ किलोमिटर रहेको यस खोला सबैभन्दा बढी वडा नं २ मा मिचिएको छ । रामकृष्ण टोल, जलदेवी टोल, समता स्कुल, दुई नम्बर वडा कार्यालय, मिल्स एरिया, वडा नं ३ को आनन्दमार्गमा खोला बढी मिचिएको छ ।
भरतपुर महानगरपालिका वडा नं २ को वडा कार्यालय पूरै खोलाको जमिनमा पर्दछ । भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाट महानगरपालिकाको कार्यापालिकाको बैठकले पारित गरेपछि भवन निर्माण गरिएको बताए । उनका अनुसार खोला र ऐलानी जग्गा गरेर पाँच कठ्ठाको हाराहारीमा वडाले ओगटेको जग्गा छ । यो खोलाको चौडाइ एक नासको छैन ।
सब्जीमण्डी र लायन्सचोकबाट पश्चिमतर्फको एनपिआइ कलेज क्षेत्रमा नक्साको लगतसमेत भएको छैन । यस क्षेत्रमा खोला बगिरहेको क्षेत्रलाई हेरेर लगत सङ्कलन गर्ने एकखालको मौखिक सहमति भएको छ । अन्य स्थानमा ६ देखि ६५ मिटरसम्म फराकिलो भएर खोला बगेको नापी अधिकृत देवकोटाले बताए ।
महानगरपालिकाले अतिक्रमणको चपेटामा परेको पुङ्गीखोलामा तलाउसहित दायाँबायाँ हरियाली उद्यानसहित सौन्दर्यीकरणका लागि विभिन्न संरचना बनाउने योजना बनाएको छ । अहिले गणेशस्थानबाट कामसमेत सुरु भएको छ । प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम र भरतपुर महानगरपालिकाको साझेदारीमा रु एक करोडको लागतमा तलाउ निर्माण र हरियाली उद्यानसहित सौन्दर्यीकरणका काम गरिएको छ ।
गुरुयोजनामा उद्यान, फुटपाथ, साइकल ल्याण्डलगायतका संरचना बन्नेछन् । खोला अतिक्रमण गरेर बनाइएका सम्पूर्ण संरचाना हटाइने भरतपुर महानगरपालिका प्रमुख नरेन्द्रकुमार राना बताउँछन् । “खोला अतिक्रमण कसैले गर्न पाउँदैन । बनेका संरचना छन् भने सबै हटाइन्छ”, उनले भने, “वडाको भवन बनेको भए पनि भत्किन्छ ।” तलाउ निर्माण रु ६६ लाखमा सक्नेगरी कायाक कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ । तलाउ निर्माणपश्चात खोलाको संरक्षण र पर्यटकीय स्थान निर्माण हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात
असोज १४, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री राईद्वारा प्रकाशलाई जग्गा प्रदान
असोज १३, २०८१ आइतबार
नख्खु खोलाबाट तीन जनाको उद्धार गर्ने चणिकलाललाई सुदन किराँतीले गरे सम्मान
असोज १३, २०८१ आइतबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज १५, २०८१ मंगलबार
पहिरोका कारण मेची राजमार्ग अवरुद्ध
असोज १५, २०८१ मंगलबार
जडिबुटीस्थित होटलबाट जुवातास खेलिरहेका सात जना पक्राउ
असोज १५, २०८१ मंगलबार
तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण
असोज १५, २०८१ मंगलबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार